संस्कृति – किरात राई जातिमा साया (प्रतिष्ठा)को महत्व

कला साहित्य -संस्कृति जीवनशैली समाज
चन्द्रकुमार राई हतुवाली

भोजपुर जिल्लाको दक्षिणी भेगलाई हतुवा र आम्चोक नामले चिनिन्छ । यी ठाउँहरूको मुख्य बसोवासी जातिमा किरात राई जाति प्रमुख जाति हो । यहाँका किरात राई जातिले पितृ पूजा गर्दा र साकेन्वाको पूजा गर्दा होस् मानिसको प्रतिष्ठा हेर्ने गरिन्छ । यस कार्यलाई आफ्नो भाषामा साया खाङ्मा भनिन्छ । त्यसैले सायालाई उच्च स्थान दिएका हुन्छन् । यो भएन भने मानिस जिउनुको अर्थ हुँदैन । साया उँचो नभएमा समाजमा उसको स्थान शून्य सरह हुन्छ ।

यस्तो साया हेर्नको लागि उनीहरू पितृ वा साकेन्वा पुज्दा अदुवाको कछुर हानेर हेर्ने गर्दछन् । कुछर एउटा उत्तानो र अर्को घोप्टो परेमा साया उच्च रहेको मानिन्छ । अर्थात् समाजमा उनलाई हेर्ने कुरामा सकारात्मक रहेको हुन्छ भने कछुर काट्दा दुवैपटक घोप्टो परेमा उनको जीउ, प्रतिष्ठा समाजमा राम्रो मानिदैन अर्थात् हेयको दृष्टिले हेरिन्छ । त्यसैले उनीहरू आफ्नो साया राम्रो भएको हेर्न चाहन्छन् ।

सायालाई पनि मुख्यतः दुई भागमा विभाजन गर्न सकिन्छ ः
१. व्यक्ति साया वा पारिवारिक साया ः घरको पितृ पुज्दा व्यक्ति साया अर्थात् पारिवारिक साया हेरिन्छ । यसमा घरको मुली र अन्य सदस्यहरूको साया पर्दछ । तर घरको मूलीको साया हेर्दै अन्यको पनि समावेश भएको मानिन्छ । यसरी साया हेर्दा लक्ष्मी, अन्नबाली, प्रतिष्ठा आदि हेरिन्छ । साया हेर्दा भरसक राम्रो भनिन्छ । तर साया हेर्दा नमिलेमा पनि पुनः पितृहरूलाई सम्झाउने बुझाउने कार्य गरिन्छ । यसपछि बल्ल मानेर सन्ततिहरूको संरक्षण गर्न तयारी हुन्छन् भन्ने विश्वास गरिन्छ ।

२. साप्तेन साया वा समाजको साया ः साकेन्वा पूजाको समयमा भने साप्तेन साया अर्थात् समग्र समाजको प्रतिष्ठा हेरिन्छ । समाजकोे लागि समग्रमा जोखाना हेर्दै बल, आछापिछा नाक्छोङ वा नाक्छोङमाले व्यक्तिगत र परिवारको साया हेर्ने गर्दछन् । यसरी साया हेर्नको लागि साया हेर्ने घरबाट चामल र अदुवा ल्याइएको हुन्छ । त्यही चामलबाट केही अक्षता चामल निकालेर साकेन्वालाई पछ्र्याउदै यारी काट्दै सुब्बेफाब्बे हेरिन्छ । साया क्रमशः नाक्छोङ र नाक्छोङमा साया, केन्छरवा साया, नाइकुमसङ साया, जिम्मावाल साया, साप्तेन साया हेरिन्छ । तर हाल जिम्मावाल नभएकोले जिम्मावाल साया हेर्ने चलन हराएको छ ।

साकेन्वा पुुज्दा निम्नप्रकारको साया हेर्न चलन छ ः
क) नाक्छोङ÷साया हेर्ने
साकेन्वाको मुख्य व्यक्ति भनेको नै नाक्छोङ र नाक्छोङमा हुन् । नाक्छोङ र नाक्छोङमा बिना साकेन्वाको कुनै कार्य हुन सक्दैन । त्यसैले सर्वप्रथम नाक्छोङ र नाक्छोङमाको साया हेर्नु पर्दछ । नाक्छोङ र नाक्छोङमा साया नहेरी अन्यको साया हेर्न मिल्दैन । हेरेको खण्डमा उनको शिर ढल्ने विश्वास गरिन्छ । शिर ढलेमा नाक्छोङ र नाक्छोङमाको शरीरमा चोटपटक पर्नेदेखि लिएर मृत्यु हुन सक्ने, आफैँलाई नभए परिवारका अन्य सदस्यहरूलाई पनि सो घट्ना दुर्घट्ना हुन सक्ने, आर्थिक हानि हुनसक्छ भन्ने विश्वास गरिन्छ । साया भन्नाले नेपालीमा शिर, प्रतिष्ठा, आर्थिक आम्दानीहरू पर्दछन् । नाक्छोङ र नाक्छोङमा साया हेर्दा नाक्छोङ र नाक्छोङमाको शरीर, उनको परिवारका सदस्यहरूको जीउको स्वस्थ्य अवस्था, घटना–दुर्घटना, चोटपटक, आर्थिक अवस्थामा अन्न उत्पादन, वस्तुभाउको अवस्था, आम्दानी हेर्ने गरिन्छ । यसरी नै सामाजिक प्रतिष्ठाको बारेमा पनि हेरिन्छ ।

ख) केन्छरवा साया हेर्ने
केन्छरवा भन्नाले नाक्छोङको सहयोगीलाई केन्छरवा भनिन्छ । यसलाई कतिपय ठाउँमा टाङकावा पनि भनिन्छ । केन्छरवा कतै एक जना त कतै २ जना हुन्छन् । यसरी दुई जना भएमा मुख्य केन्छरवाले तोट्ला ओछ्याउँदै अदुवाको टुक्राहरू राख्ने कार्य गर्दछ भने दोस्रो केन्छरवाले अन्य सामाग्रीहरू मिलाउने कार्य गर्दछ । यसरी नाक्छोङको साया हेरिसकेपछि केन्छरवाको साया हेर्नुपर्दछ । केन्छरवाको साया हेर्दा पनि नाक्छोङ र नाक्छोङमा साया हेरे जस्तै केन्छरवाको शरीर, उनको परिवारका सदस्यहरूको जीउको स्वस्थ्य अवस्था, घट्ना दुर्घट्ना, चोटपटक, आर्थिक अवस्थामा अन्न उत्पादन, वस्तुभाउको अवस्था, आम्दानी हेर्ने गरिन्छ । यसरी नै सामाजिक प्रतिष्ठाको बारेमा पनि हेरिन्छ ।

ग) नाइकुमसङ साया हेर्ने
नाइकुमसङ भन्नाले नाक्छोङको आफ्नै दाजुभाइभित्रको एकजना साकेन्वामा प्रतिनिधि भन्ने बुझिन्छ । नाइकुमसङको काम भने साकेन्वा पूजाको क्रममा केही गल्ती कमजोरीहरू हेर्नु हो भने त्यसको साथसाथै व्यवस्थापनमा सरसहयोग गर्नु पनि हो । साकेन्वा पूजाको समयमा नाइकुमसङको स्थान तेस्रो हुन्छ । केन्छरवाको साया हेरिसकेपछि नाइकुमसङको साया हेर्नुपर्दछ । उनको साया हेर्दा शरीर, उनको परिवारका सदस्यहरूको जीउको स्वस्थ्य अवस्था, घटना दुर्घटना, चोटपटक, आर्थिक अवस्थामा अन्न उत्पादन, वस्तुभाउको अवस्था, आम्दानी हेर्ने गरिन्छ । यसरी नै सामाजिक प्रतिष्ठाको बारेमा पनि हेरिन्छ ।

घ) जिम्मावाल साया हेर्ने
जिम्मावाल भन्नाले जग्गाहरू नापी हुनुभन्दा अगाडि जग्गाको कर तिरोभरो उठाउने व्यक्ति भन्ने बुझिन्छ । यो क्षेत्रमा वि.सं. २०३७ सालमा नापी हुनु अगाडि सम्म जिम्मावालहरूले कर उठाउनुका साथै आफ्नो क्षेत्राधिकारभित्रको सामान्य मुद्दामामिला मिलाउने अधिकार हुन्थ्यो । यसलाई राजनीतिक वा प्रशासनिक प्रभाव परेको हो भन्न सकिन्छ ।

वि.सं. २०३७ सालमा नापी हुनु अगाडिसम्म गाउँको ठूलाबडा, जान्नेबुझ्ने मानिस जिम्मावाल रहेको थियो । त्यसैले उनको नाममा एउटा ढोल छुट्टै रहेको थियो भने हाल केन्छरवा र नाइकुमसङको घरमा जस्तै जिम्मावाल साया हेर्न जानुपथ्र्यो । जिम्मावालको साया हेर्दा पनि शरीर, उनको परिवारका सदस्यहरूको जीउको स्वास्थ्य अवस्था, घटना दुर्घटना, चोटपटक, आर्थिक अवस्थामा अन्न उत्पादन, वस्तुभाउको अवस्था, आम्दानी हेर्ने गरिन्थ्यो । यसरी नै सामाजिक प्रतिष्ठाको बारेमा पनि हेरिन्थ्यो । साकेन्वाको दिन पनि केही समयको लागि ढोलहरूसहित गएर नाचेर आउनु पर्दथ्यो । तर यो चलन नापीले जिम्मावालको अधिकार प्रतिष्ठापित गरेपछि भने हराएको छ ।

ङ) नाक्छोङको दाजुभाइमा सबैभन्दा जेठोको साया हेर्ने
यहाँको किरात राई जातिमा ठूलालाई आदर गर्ने संस्कार छ । त्यसैले साकेन्वा पूजाको समयमा पनि नाक्छोङ र नाक्छोङमाको दाजुभाइमा सबैभन्दा जेठो मान्छे को छ ? उसैको साया हेर्नु पर्दछ । जेठो मान्छेको साया हेर्दा पनि उनको शरीर, उनको परिवारका सदस्यहरूको जीउको स्वास्थ्य अवस्था, घटना दुर्घटना, चोटपटक, आर्थिक अवस्थामा अन्न उत्पादन, वस्तुभाउको अवस्था, आम्दानी हेर्ने गरिन्छ । यसरी नै सामाजिक प्रतिष्ठाको बारेमा पनि हेरिन्छ ।

च) साप्तेन साया हेर्ने
अन्तिममा साप्तेन सायाको पालो आउँछ । साप्तेन भन्नाले समाज भन्ने बुझिन्छ । साप्तेन साया हेर्दा जो अघि आउँछ उसैको साया हेर्नु पर्दछ । यो साया हेर्दा प्रत्येक साप्तेनको जुन घरबाट आएको छ सोही घरको साया हेरिन्छ । अरुको साया हेर्दा जसरी शरीर, उनको परिवारका सदस्यहरूको जीउको स्वास्थ्य अवस्था, घटना दुर्घटना, चोटपटक, आर्थिक अवस्थामा अन्न उत्पादन, बस्तुभाउको अवस्था, आम्दानी हेर्ने गरिन्छ । यसरी नै सामाजिक प्रतिष्ठाको बारेमा पनि हेरिन्छ ।

साप्तेन साया हेर्दा कसैले साकेन्वामा घण्टी, छाता वा भालेको भाकल गरेको भएमा सो कुरा पनि अहिले नै चढाइन्छ । तर भालेलाई भने भोग दिन सुरु गरेपछिमात्र बलि चढाइन्छ ।

यसरी सबैको साया हेरिसकेपछि भोग दिने कार्य सुरु गरिन्छ । साकेन्वालाई भोग दिने कार्य सुरु भएपछि साकेन्वामा साया हेरिदैन । कोही भोग दिन थालेपछि साया हेर्न आएमा थेत्लुङमा हेरिदिनुपर्दछ ।

वि.सं.२०५० सालदेखि २०७४ सालसम्म निरन्तर प्रकाशित पत्रिका ‘लिब्जु–भुम्जु’

यसरी किरात राई जातिमा सायाको महत्व रहेको हुन्छ । व्यक्तिको प्रतिष्ठाले नै उनलाई समाजमा जिउनको लागि मद्दत गर्दछ भने सायालाई भरथेग गर्ने साधनहरूमा लक्ष्मी, अन्नबाली, बस्तुभाउ लगायतका विविध हुन्छन् । त्यसैले यी बस्तुहरू पनि राम्रो होस् भनेर साकेन्वा तथा पितृमा बल माग्ने गरिन्छ । मानिसको साया नै भएन, वा ढल्यो भने उनलाई समाजले नपत्याउने मात्र होइन बिरामी हुनेदेखि मरणसम्म हुने लगायतका हानि नोक्सानी व्यहोर्नु पर्ने आदि हुने विश्वास रहेको छ । यसरी यी साया हेर्ने चलन कति वैज्ञानिकता छ छैन भन्ने कुराको मानवशास्त्रीय विज्ञानको आधारमा पनि केलाउँदै जानु आजको आवश्यकता हो । यतातिर पनि हामी किराती विद्धानहरूको आँखा पर्न गएमा यस अध्ययनले लुकेको महत्वहरूको उजागर गर्न सक्ने थियो ।

(लेखक हतुवाली किरात संस्कृति तथा संस्कार अन्वेषणमा संलग्न युवा संस्कृतिकर्मी हुनुहुन्छ।)
लिब्जु–भुम्जु ४७ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *