व्यक्तित्व : पहिलो वाम्बुले प्राध्यापक डा. पृथ्वीविक्रम राई, उहाँको पुख्र्यौली ओखलढुंगाको माधवपुर हो

जीवनशैली

गणेश वाम्बुले राई

भनिन्छ– सम्झे नजिक, बिर्से टाढा । तर सम्झेर पनि बिर्सेको बिस्र्यै भयो । २०५० सालदेखि ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका प्रकाशन आरम्भ भयो । ०५२–५३ सालतिर मेची बहुमुखी क्याम्पसमा प्राध्यापन गर्नु हुने पृथ्वीविक्रम राईबारे जानकारी मिलेको थियो । उहाँ वाम्बुले राई नै हुनुहुन्छ भन्ने सुनेर लिब्जु–भुम्जु पत्रिकाको केही अंक पठाएको थिएँ । उहाँले पाउनु पनि भयो । केही प्रतिक्रिया पनि लेख्नु भयो । उहाँ सायद त्यतिखेर उपप्राध्यापक हुनुहुन्थ्यो ।

२०७१ सालमा उहाँ त्रिभुवन विश्वविद्यालयको प्राध्यापक पदमा पदोन्नति भएपछि २०७६ मा अवकाश पाउनु भएको खबर सामाजिक संजाल फेसबुकमा देखेपछि मात्र झल्यास्सै याद आयो । ए हे पृथ्वीविक्रम सर त प्राध्यापक भएर पनि रिटार्ड पो हुनु भएछ गाँठे । अनि लाग्यो, सम्झना भनेको एकोहोरो रोटी पाक्दैन भनेजस्तै रहेछ । उहाँले वाम्बुले वंशलाई त्यत्ति नजिक ठान्नु भएन ।

हामीले २०५४ सालमै वाम्बुले राई समाज, नेपाल (वाम्रास) गठन गरेर पनि पुख्र्यौली थातथलो खोजी गर्न सकेनछौं । उहाँ जस्तै अरु पनि वाम्बुले व्यक्तित्वहरू पक्कै हुनुहुन्छ, जो वाम्बुले राई भनेर चिनिनु हुन्न । चिनिन र चिनाउन चाहनु हुन्न । यथार्थ के पनि हो भने मान्छेको वंश खोजीनिधो गर्दै ग¥यौं भने कसै न कसैले अध्ययन अनुसन्धान गर्नेछन् । सम्झनाको त्यान्द्रो जहाँ पुगेको छ, त्यहींनेरबाट यो सम्झनाको पोया फुकाउन लागिएको छ ।

पृथ्वीविक्रम राई वाम्बुले राई वंशको ब्राङख्याल्चो पाछाको हुनुहुन्छ । पुख्र्यौली थलो उहाँकै शब्दमा माधवपुर चौरास हो । यो ठाउँ संघीय नेपाल प्रदेश नं.१ ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँपालिका वडा नं.९ माधवपुर गाउँ हो । अहिले झापा जिल्ला भद्रपुर नगरपालिका–८ मा स्थायी बसोबास गरेर बस्नु भएको छ ।

उहाँको साथमा हुनुहुन्छ– श्रीमती चित्ररेखा राई (देवान/याक्खा) र कान्छी छोरी नालुङमा । जेठी छोरी नायुमा ज्वाइँका साथ अस्ट्रेलिया र माइली छोरी सुम्दिमा ज्वाइँका साथ यु.के मा (हाल ब्रुनाईमा) हुनुहुन्छ । उहाँले संखुवासभाको हातिसुँडेबाट जागीरको सिलसिलामा भद्रपुरमा स्थायी बसोबास गर्नु भएको लक्ष्मी प्रसाद देवानको नातिनी शंकरप्रसाद देवान र भिमकुमारी नेम्बाङ दम्पतीकी छोरीसँग बिहे गर्नुभयो । (सासूआमा प्रसिद्ध मुन्धुमविद् बैरागी काइँलाका बहिनी अर्थात् डबल सुब्बाका चार श्रीमतीमध्ये माइलीतर्फबाट छोरी हुनुहुन्थ्यो ।)

पृथ्वीविक्रम राईले त्रिवि ऐनअनुसार ६३ वर्ष उमेर हदले मेची बहुमुखी क्याम्पसबाट अवकाश लिनुभएको छ । उहाँ भद्रपुरमै रहेको एमरल्ड एकेडेमीको अध्यक्ष तथा संस्थापक प्रिन्सिपल हुनुहुन्छ । यो विद्यालयमात्र नभई स्नातक व्यवस्थापन संकायको पठनपाठनसमेत हुँदैआएको छ । जीवनको उच्चतम सफलता मापन गर्ने शिक्षा नै हो । उहाँले त्रिवि कीर्तिपुर केन्द्रीय क्याम्पसबाट २०३९ सालमा एमबिए हासिल गर्नु भएपछि शिक्षण यात्रा आरम्भ भएको हो ।

‘हामी राविसे (राष्ट्रिय विकास सेवा)को अन्तिम ब्याच हौं,’ उहाँको कथन छ, ‘त्यसपछि पद्मसुन्दर लाओतीले पाँचथरमा फिदिम क्याम्पस खोल्न लाग्नु भएको थियो । म संस्थापक क्याम्पस प्रमुख भएर फिदिममा आठ वर्ष बिताएँ । अहिले त्यो सामुदायिक क्याम्पस भएको छ ।’

वैवाहिक जीवनका सुरुवातसँगै २०४७ सालमा भ्रदपुर ओर्लिनु भयो । त्यसपछि मेची बहुमुखी क्याम्पसमा शिक्षण आरम्भ भयो । २०५० सालमा उपप्राध्यापकमा स्थायी हुनुभयो । त्यसपछि क्रमशः सहप्राध्यापक हुँदै प्राध्यापकमा पदोन्नति भइन्जेल २८ वर्ष २ महिना बित्यो । २०७६ साल जेठमा अवकाश मिल्यो । अहिले अवकाशको जिन्दगी शैक्षिक चिन्तन मननमै बितिरहेको उहाँ सुनाउनु हुन्छ । उहाँले यस अवधिमा अस्ट्रेलिया, भारतलगायत देशहरूको भ्रमण तथा अवलोकन गर्नु भएको छ । यद्यपि पुख्र्यौली थलोतिर पाइला मोडिन पाएको छैन । दाजुभाइ वंशहरूसित सुदूर सम्झनाका कथाहरू बाँकी छन् । कारण माधवपुर गाउँ पृथ्वीविक्रम राईको सोझै सम्बन्ध पनि छैन ।

पुख्र्यौली थलोमा रहनु भएका वाम्बुले ब्राङख्याल्चो राईहरू कति जनाले स्नातक या स्नातकोत्तर हासिल गर्नु भयो÷भएन, त्यो खोजीको विषय हुनसक्छ । तर, माधवपुरका वाम्बुले राई सरकारी र गैरसरकार सेवामा देखिनु भएको छैन । भारतीय र ब्रिटिस सैनिक तथा सिंगापुर पुलिस फोर्समा उच्च ओहदामा पुग्नु भएको रेकर्ड छैन । हिंड्दै छ, पाइला मेट्दै छ के हो ? भनेर गाउँखाने कथाको जवाफमा ‘डँुगा’ हो । किनकि नदीमा माझीले बहनाले खियाउँदै डुँगा वारिदेखि पारि तार्दा बहनाको डोब मेटिदै जान्छ । तर, मान्छे त्यो होइनौं, जो जसको डोब मेटियोस् । त्यसैले पृथ्वीविक्रम राईज्यूको पुर्खाको पाइलाहरू धेरै धेरै परसम्म पछ्याउनु पर्ने हुन्छ ।

उहाँकै बोलीमा नखबीर राई बाजेको पनि बाजे हुनुहुन्थ्यो । उहाँले माधवपुर चौराबाट बसाई सरेर अहिलेको सिरहा जिल्ला चुरिया पहाडमुनि टोड्के मुक्सार झर्नु भयो । यो ठाउँ लहानपश्चिन गोलबजारभन्दा तीन–चार किलोमिटर उत्तरमा पर्दछ । नखबीरका तीनजना छोरा थिए । जेठा कमलमान, माइला धिर्जमान र कान्छा किर्तिमान राई थिए । जेठा कमलमानको चार भाइ छोरा थिए । जेठा अंगतलाल, माइला अमिनलाल, साइला अपमलाल र कान्छा तुङ्जा राई थिए ।

जेठा अंगतलालको एक भाइमात्र छोरा मधुलाल राई थिए । मधुलाल मेरो बुवा हुनुहुन्थ्यो । मधुलाल राईले तीर्थमाया राई (चाम्लिङ होमैछा)सँग विवाह गर्नुभयो । मेरो मावली घर तथा वंश उदयपुरबाट सिरहा जिल्लाको गोबिनपुरमा हो । मधुलाल र तीर्थमाया दम्पतीको दुई भाइ छोरा छौं । जेठा प्रदिप राई र कान्छा पृथ्वीविक्रम राई छौं । मेरा दिदी १ बहिनी २ जनामध्ये एक बहिनीमात्र छन् ।

मेरो दाजु प्रदिपले शान्ति राई, दुर्गा मगर र मैया श्रेष्ठसँग बिहे गर्नुभएको थियो । दाजुका जेठीतर्फ ३ भाइ छोरा, माइलीपट्टि २ छोरा १ छोरी र कान्छीपट्टि एक छोरी छन् । दाजुको निधन भइसक्यो । दाजुको परिवार सिरहा धनगढीमाई नगरपालिका–११ मै रहेको छ ।

मेरी श्रीमती चित्ररेखा राई गृहिणी हुनुहुन्छ । मेरो ३ बहिनी छोरी छन् । जेठी नायुमाले नेपालबाट बिएस्सी नर्सिङ र अस्ट्रेलियाबाट मास्टर्स इन नर्सिङ पढेकी छिन् । जेठीको काभ्रेको बनेपा निवासी गणेशविक्रम लामासँग बिहे गरी अस्ट्रेलियामै बसोबास गरेका छन् । माइली छोरी सुम्दिमाले त्रिविबाट अंग्रेजीमा एमए गरेकी छिन् । ज्वाई ब्रिटिस शैलेष राई बान्तावा दिलुङ्छा व्रिटीस आर्मी छन् । कान्छी नालुम्मा बिए को अन्तिम परीक्षा सकेर घरमै छिन् ।

कमलमानका चारमध्ये साइँला छोरा अपमलालका चार छोरा छन् । उहाँहरूमध्ये तीन भाइको वंश ललितपुरको धोबिघाटमा बसोबास गर्नु भएको छ । माइला धिर्जमान र कान्छा किर्तिमान राईको वंशहरू महोत्तरीको बर्दिबास दक्षिण गौशालामा बसोबास रहेको छ । पुर्खाले मान्दै आउनु भएका मुन्दुम रीतिथितिहरू बुवाहरू भइन्जेल पित्रिपूजा गर्नुहुन्थ्यो । अहिले मूलथलो छोडेर छिन्नभिन्न भएपछि सांस्कृतिक गतिविधि कम भएको छ । तर महत्व त दिन्छौं । समय सन्दर्भ र परिवेशले गर्दा निरन्तरता दिन सकिएको छैन ।

पुख्र्यौली थलो ओखलढुंगा जाँदा दाजुभाइहरूसँग भेटघाट माधवपुर चौरास यतापर्छ भन्ने थाहा पाइयो । तर पुगिएको छैन । आवश्यक छ, तर भेटघाट गर्न सकिएको छैन । कुनै समय जाने विचार छ । पहिले जागीर, अहिले मेची बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्ष छु । नियमले प्राध्यापक हुनुपर्ने रहेछ । एमरल्ड एकेडेमी स्कुल र कलेजको संस्थापक प्रिन्सिपल छु । आफ्नो भाषा आउँदैन । सिक्नै पर्ने हुन्छ ।

मैले २०६५ साल त्रिविबाट विद्यावारिधि उपाधि हासिल गरें । २०७१ सालमा प्राध्यापक भएँ । राष्ट्रपतिको बाहुलीबाट विद्यावारिधिपछि नेपाल विद्याभूषण– क सम्मान प्राप्त गरेको छु । किरात राई यायोक्खालगायत विभिन्न संघसंस्थाबाट शिक्षामा पु¥याएको योगदानवापत सम्मान पाएको छु । मेरा अनुसन्धानमूलक लेखहरू प्रकाशित छन् । तर, पुस्तक कृतिकै रूपमा प्रकाशित छैन । भद्रपुरमा देवकोटा स्मृति भवन पुस्तकालयको संचालक समिति अध्यक्ष पनि रहें ।

उमेश श्रेष्ठ अध्यक्षता रहेको प्याब्सन केन्द्रीय कार्यसमतिमा एक कार्यकाल केन्द्रीय सदस्य थिएँ । झापा जिल्ला जुडो संघको अध्यक्ष अहिले पनि छु । सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष छु । सेवा निवृत्त जीवन, पढ्ने, घुम्ने हो । समय स्वतन्त्रता मूल कुरो हो । आर्थिक रूपमा सबल छु । सामाजिक स्वतन्त्रता महत्वपूर्ण कुरो हो । अब एउटी छोरीको बिहेदान बाँकी छ । त्यसपछि म स्वतन्त्र हुनेछु । नेपाली कांग्रेस पार्टीनिकट प्रजातन्त्रवादी प्राध्यापक संघको प्रथम उपाध्यक्ष (२०७३–२०७६) भएको थिएँ । अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधि छु । समाजको सामान्य जिम्मेवारी निरन्तर रहन्छ ।

(प्रस्तुत लेख : इक लिब्जुभुम्जु वर्ष ८ अंक १५, पूर्णाङ्क ८८, २०७८ माघ–चैत (किरात येले संवत् ३८०१/सन् २०२२) मा प्रकाशित छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *