गाउँठाउँको अर्थपूर्ण नामाकरणबारे विशेष राईको आलेख : ढ्वाङ्कुम चोकको परिकल्पना र निर्माण

प्रदेश १ विचार / ब्लग

ढ्वाङ्कुम चोकको परिकल्पना र निर्माण

विशेष राई

वामद्याल अर्थात् उँबु किरात वाम्बुले राईहरूको उत्पत्ति थलो हो । वाम्बुले राईहरूको भाषा, संस्कार तथा संस्कृतिको खोज अनुसन्धान गर्नुपर्छ भने वामद्याल पुग्नुपर्छ । आज संसारभरि जति पनि किरात वाम्बुले राईहरू छरिएर बसेका छौं । भए तापनि हाम्रो पुर्खौली, वंश र इतिहास वामद्यालदेखि सुरुवात हुन्छ । त्यस कारण पनि वाम्बुले राईहरूको पहिचान र अस्तित्वसँग जोडिने इतिहास र सभ्यता उँबुभित्र थुप्रै छन् । हामीले हाम्रो भाषा, संस्कार, संस्कृतिलाई संरक्षण गर्नका निम्ति धेरै अगुवाई र योगदान गर्दैगर्दा यससँग जोडिने वाम्बुलेहरूको थातथलो र इतिहासहरू संरक्षण, प्रवद्र्धनमा लाग्नु आजको आवश्यकता हो । किनकि विकास तथा परिवर्तनका नाममा हाम्रो थुप्रै ऐतिहासिक थातथलो कति भत्किएका छन् भने कतिको अस्तित्व संकटमा परिरहेको तपाईं हामीले देखिरहेकै कुरा हो ।

ढ्वाङकुम चोक स्तम्भ उद्घाटन गर्दै मानेभन्ज्याङ गाउँपालिकाका उपाध्यक्ष सबिता राई

म एउटा उदाहरण लिन चाहन्छु, लिब्जु किरात वाम्बुले राईहरूको पुर्खा हुन् । हामी त्यही जनआस्था र विश्वासले भरभाकलदेखि पुजाआजा गर्दै आइरहेका छौं । र त्यो सत्य पनि हो । तर हिजोसम्म लिब्जु खालि लिब्जु डाँडाको जंगलमा सीमित थियो । आम वाम्बुलेहरूको पहल र योगदानमा आज विश्वले चिन्ने भइसकेको छ । २०७२ सालमा श्री लिब्जु उपो सामाथान संरक्षण समाज नेपाल दर्ता भयो । त्यसअघि २०७० सालमा लिब्जु वन क्षेत्र सामुदायिक वनमा दर्ता गरी स्थानीयहरूले उपभोग गर्न थाले । जसका कारण आज लिब्जुलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास तथा प्रवद्र्धन गर्ने विषयमा केही समस्या आइरहेको छ । कारण हामी वाम्बुले राईहरू संघर्ष र योगदान खालि भाषा, लिपि, संस्कार तथा संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने शब्दमा मात्रै सीमित रह्यो । सम्पूर्ण वाम्बुले राईहरूको प्रतिनिधित्व गर्ने वाम्बुले राई समाज, नेपाल (वाम्रास) २०५४ सालमा स्थापना भएको छ । वाम्रास हाम्रो थातथलोप्रति केन्द्रित हुन सकेन । त्यसकारण हामीसँग धेरै चुनौती थपिएका छन् ।

वाम्बुले राईहरूको ऐतिहासिक थातथलो बचाउनु पर्छ भन्ने उद्देश्यले ढ्वाङ्कुमटारसँगैको चोकलाई ढ्वाङकुमचोक परिकल्पना गरी स्थायी नामाकरण गर्ने योजना बन्यो । जसले गर्दा ढ्वाङ्कुमटारलाई पूर्णरूपमा संरक्षण गर्न सकियोस् भन्ने उद्देश्यले श्री लिब्जु उपो सामाथान संरक्षण समाज नेपाल र ढ्वाङ्कुटार धार्मिक स्थल संरक्षण समिति तथा यहाँका बुद्धिजीवि, समाजसेवीको सल्लाह, सुझाव, पहल र अगुवाईमा आर्थिक संकलन गरी श्रमदानसहित ढ्वाङ्कुमचोक स्तम्भ निर्माण भएको छ । यो स्तम्भलाई वाम्बुले राईहरूको महानचाड ढ्वाङ्कुमोको दिन २०७७ साउन १९ गते मानेभन्ज्याङ गाउँपालिका उपाध्यक्ष सबिता राईको प्रमुख आतिथ्य, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवि, समाजसेवी, पत्रकार, शिक्षक तथा सर्वसाधारणको उपस्थितिमाझ यो स्तम्भको उद्घाटन भएको छ ।

यो भन्दा अगाडि सम्पूर्ण किरात वाम्बुले राईहरूको पहल, योगदान र प्रत्यक्ष आर्थिक सहयोगमा पहिलो पटक वामद्यालमा किरात वाम्बुले राईहरूको पहिचानको धरोहर स्वालेवा पार्क निर्माण तपाईं हामीले गर्दैछौं । साझा संस्था वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्रीय कार्यसमितिको यो परिकल्पना, योजनाअनुसार यो काम सम्भव भएको हो । यो काममा ठाउँ ठाउँबाट वाम्बुले राईहरू जागरुक भई अगाडि बढिरहेका छौं ।

यो हाम्रो सुरुवात हो । यो सांस्कृतिक चेतना विस्तार कार्यलाई अभियानका रूपमा अगाडि बढाउनु पर्छ भन्ने हाम्रो सोंच छ । अब सम्पूर्ण वाम्बुलेहरूले हाम्रो पहिचान, अस्तित्व र इतिहाससँग जोडिएका साम्फालिम डाँडा, त्याम्लिदहको समेत संरक्षण र संवद्र्धन गर्नुपर्छ । र विकासका नाममा वामद्यालको जोरधारा, काकडेम्फु आहाल र ब्अ्वाकुला आहाल मेटिएका छन् । त्यस्तो ऐतिहासिक ठाउँहरूको अवशेषसमेत नरहने गरी विनाश हुँदै गर्दा अब यस विषयमा गम्भीर बहस गर्न जरुरी छ । त्यस कारण आम वाम्बुले जनमानसले समीक्षा गर्न आवश्यक छ । ढ्वाङ्कुमचोक परिकल्पनादेखि निर्माण सम्पन्न गर्न सहयोग पु¥याउनु हुने सम्पूर्ण व्यक्ति व्यक्तित्वहरूमा लिब्जु उपो सामाथान संरक्षण समाज नेपालको तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु । धन्यवाद ।


(लेखक विशेष राई लिब्जु उपो सामाथान संरक्षण समाज नेपालको महासचिव हुनुहुन्छ । इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष ७ अंक ९,पूर्णाङ्क ८२, २०७७ साउन–असोज (किरात येले संवत् ३७९९÷सन् २०२०) मा प्रकाशित आलेख प्रस्तुत गरिएको हो । सम्पादक)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *