मिडिया फ्ल्यासब्याक
यात्रा हजार माइलको नै किन नहोस्, सुरू त एक पाइलाबाट नै हुन्छ । यो पुरानो कथन दोहो¥याइ रहँदा, मिडिया अर्थात् मेरो पहिलो पत्रकारिताको औपचारिक कदमबारे केही कुरा लेख्ने मनसुवा भयो ।
२०४९÷५० सालतिर वाम्बुले राई भाषाको मुखपत्र त्रैमासिक पत्रिका ‘लिब्जु–भुम्जु’ प्रकाशन सुरू गर्दा त्यसको एक सक्रिय संस्थापक सदस्य म पनि थिएँ । जुन पत्रिकाको त्यति बेलादेखि अहिलेसम्मको सम्पादक गणेश राई हुनुहुन्छ । मेरा परम मित्र गणेश राई जो कान्तिपुर दैनिकको वरिष्ठ उप–सम्पादक सम्मको एउटा जाएन्ट (असुर बलशाली) यात्रा पार गरेर मिडिया क्षेत्रमा राष्ट्रकै एक कलस्सस फिगर ज्यादै महत्वपूर्ण व्यक्तित्वको रूपमा आफूलाई चिनाउन सफल सक्नु भएको छ ।
म भने कलेज पढ्दै पनि एकै दिनमा दुई–तीन वटा क्याम्पसमा क्लास भर्न पुग्ने गर्थें । बिहान सबेरै क्षेत्रपाटी बहुमुखी क्याम्पसमा कक्षा सकेपछि दिउँसो कहिले आरआर र ल त कहिले शंकरदेव र पाटन क्यापम्ससम्म पनि धाइयो । पढ्न कम केटी हेर्न र सान भर्न क्याम्पस धाउँदाको प्रतिफल के भयो भने दुई–तीन पटक ब्याक लागेपछि बल्लतल्ल आईकम पाससम्म भइयो । त्यसपछि रोजीरोटीको लागि मुग्लान (विदेश) तिर लागियो ।
एक सिपाहीको सुरूवाती जिन्दगी कस्तो हुन्छ ? प्रश्न रिटोरिकल छ, जसको जवाफ पनि आफैमा हुन्छ । विश्व प्रसिद्ध साहित्यकार अर्नेष्ट हेमिङवेले कतै कथामा लेखेजस्तो सिपाहीहरूले थाइल्याण्डको ट्रान्जिट क्याम्पमा होस् या साइप्रसको आर एण्ड आर ब्रेकमा प्रायः रक्सी खानु र केटी हेर्नुमा नै दिन गुजारी रहेका हुन्छन् । मेरो जवानी र सिपाही जिन्दगीको सुरुवाती दिनहरू पनि रक्सी र हावा हावामै बित्यो । पल्टनघरमा एउटा चल्तीको भनाइ हुन्छ, ‘जहाँ गए जोगी भातै खाला ।’ मैले पनि भातचै खाइ नै रहेकोछु ।
जाँड र भात खाने क्रममा कहिले काहिँ फुटकर लेख र रिपोर्टहरू पनि लेखी रहन्थें । सन् १९९९ सालतिर कोसोबो लडाइँमा जाँदा मैले लेखेको दैनिकी (संस्मरण) लाई मेरै साथी गणेश राईले त्यति बेला नेपालबाट छापिने राष्ट्रिय दैनिक (सायद कान्तिपुर) पत्रिकामा नै होला, छापी दिनु भएको रहेछ । सो पत्रिका कोसोबोको गोर्खा सैनिक क्याम्पमा पनि आइरहन्थ्यो । त्यहाँ आश्चर्यजनक रूपले मेरो आर्टिकल पनि छापिएपछि मेरो तत्कालिन प्लटुन अर्थात् (स्क्वाड्रन) कमान्डरले मलाई अन्तर्वार्ता लिन आफ्नो कार्यालयमा बोलाउनु भयो । भन्नुभयो, ‘तिमीले राम्रो त लेख्दो रहेछौ । अबदेखि यसरी मिडियामा यस्ता कुराहरू लेख्दा ध्यान पु¥याउनु कि हामीहरूलाई सोधेर कन्फर्म गरेरमात्र लेख्नू किनकि यसरी सेक्युरिटी लिक हुन्छ ।’
मिडिया ह्यान्डलिङ र त्यसको दूरगामी असर के हो भन्ने कुरा नबुझी नै लेख्न थालिएका ती दिनहरू सम्झिँदा अहिले आत्मास्लाघा हुन्छ । अहिले संसारभरि नै अनलाइन र ट्याब्लइड पत्रकारिताको हावी भइरहेको छ ।
कार्यक्रमको जोहो
महिनौं दिनदेखि ‘वर्कशपमा आउने र जाने चाँजोपाँजो मिलानुहोस् है’ भन्ने प्रमिला लाबुङ राई (फोनिज युकेका अध्यक्ष) दिदी र मित्र गणेश राईको अपिलले मलाई प्रेरित गरिरहेको थियो । मेरो आफ्नै पनि इन्ट्रेस्ट र हबीको कारणले गर्दा पनि म सहभागी हुने नै थिएँ । अर्को वाम्बुले जीखा (फोटो पत्रकार जे.बी.) राईलाई पनि सकेसम्म जाऊँ है जाबा भनेर रिक्वेस्ट र कन्भिन्स गर्दै थिएँ । उहाँले त एक हप्ता अगाडि नै फेसबुकमार्फत् कन्फर्म गर्नु भएको देखेँ । मेरो आफ्नो भने कार्यक्रमको अघिल्लो दिनमात्र जाने निश्चित भयो ।
शनिबारको बिहान अलि ढिङ्गने गरेर अबेलासम्म सुत्ने बानीलाई जबरजस्ती तोडेर गाडी गुडाएँ । सप्ताहान्त अर्थात् शनिबार, आइतबार त युकेमा पनि प्रायः ट्राफिक जाम पर्ने रोडहरूसमेत खुला हुने भएकोले समयमै पुगियो । कार्यक्रम स्थल थियो, अल्डरसटको भेटघाट रेस्टुराँ ।
उद्घाटन
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायत शाखाले आफ्ना सदस्य पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नका लागि एक दिने पत्रकारिता तालिमको आयोजना गरेको थियो । प्रमुख अतिथि तुल छन्त्याल र फोनिज युकेका अध्यक्ष प्रमिला लाबुङ राईले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उदघाटन गर्नु भयो । र, फोनिज युकेका पपदाधिकारीहरू, अतिथिहरू र सल्लाहाकारहरूलाई खादा ओढाएर सम्मान गरेपश्चात् शाखाका महासचिव खुशी लिम्बुले कार्यक्रम अगाडि बढाउनु भयो ।
रेडियो अन्तर्वार्ता
सुरुमै रेडियो बिजीडब्लुएसका प्रबन्ध निर्देशक (रिटायर्ड मेजर) सोनाम छिरिङ शेर्पाले पत्रकारिताको बारेमा बोल्नु भएको थियो । उहाँले जर्नलिजमको प्रकार र प्रकृतिको बारेमा छोटो चर्चा गर्नुभयो । ट्याबलोइड न्युजहरूबाट जोगिएन भने नेपालमा घटेको ऋतिक रोशन काण्ड जस्तो पनि हुनसक्छ भनेर सजग गराउनु भयो । उहाँले अन्तर्वार्ता गर्ने तरिकाबारे पनि विशेष चर्चा गर्नु भयो ।
जेरेमी प्याक्सम्यान जस्तो अन्तर्वार्ताका सिपालुहरूको बारेमा पनि केही प्रसंग निकाल्नु भएको थियो । ‘यो संसार इगोले चलेको छ भन्ने रजनिसको भनाइलाई उद्धृत गरेर शेर्पाले आफ्नो अन्तर्वार्ताको टेक्निकको बारेमा खुब चाखलाग्दो बनाउनु भएको थियो । सन् १९७२ मा ब्रिटेनका नामुद पत्रकार सर डेबिड फ्रष्टले अमेरिकन राष्ट्रपति रिचर्ड निक्सनलाई लिनु भएको अन्तर्वार्ता पनि पत्रकारिता इतिहासमा विश्वप्रख्यात छ । यस्तायस्तै विभिन्न महत्वपूर्ण र चाखलाग्दो विषयहरूलाई चर्चा गरेर शेर्पाले आफ्नो प्रेजेन्टेसनलाई टुंग्याउनु भएको थियो ।
प्रमुख वक्ता
हालै बेलायतबाट पत्रकारितामा विद्यावारिधि गर्नु भएका डा. नरेश राईले सिटिजन जर्नजलिजम अर्थात् नागरिक पत्रकारिताको बारेमा प्रस्तुति दिनुभयो । नवौं शताब्दीमा चीनमा सुरू भएर पन्ध्रौँ शताब्दीतिर युरोपमा विकसित भएको थियो पत्रकारिता । १७७५÷७६ तिर अमेरिकामा कोलोनियल राज्य हुँदा पत्रकारितालाई ब्रिटेनले आफूखुसी प्रयोग गरेको बेला फ्रान्सेली नागरिक थोमस पेन भन्ने एक जना बिद्रोही लेखक तथा पत्रकार अमेरिका पुगे । उनले प्रयोग गरेको पेपरलाई ‘कमन सेन्स’ भनेर चिनियो । बेलायती सेनाहरूले चलाएका सैनिक पाम्फ्लेटहरूमा क्रिटिक्स लेख्ने चलनलाई पनि पत्रकारिताको सुरू मानिन्छ ।
महात्मा गान्धीले ‘भारत छोडो आन्दोलन’को बेला छरेको पर्चा नै मिडिया अर्थात पत्रकारिताको औपचारिक खुड्किलो मान्न सकिन्छ । सन् १९४७ सालमा भारतबाट पाकिस्तान छुट्दा र १९७० मा बंगलादेश छुट्दाताकाको प्रचार प्रसारलाई पनि पत्रकारिता ठूलो प्रभाव परेको बेला मानिन्छ । यसरी डा. राईले पत्रकारिता इतिहास र वर्तमानको बारेमा चर्चा गर्नु भएको थियो ।
पत्रकारितापछि नेता
नेपालमा पहिला पत्रकार र ब्यापारी अनि त्यसपछि नेतागिरी अर्थात् राजनीति गर्ने परम्परा छ । त्यसको ज्वलन्त उदाहारण हुन्, बीबीसीका पूर्वप्रमुख रबिन्द्र मिश्र । बेलायतको एक जमानाका नामुद राजनीतिज्ञहरू जो कुनै बेला पार्टी प्रमुख थिए । जस्तो कि एड मिलब्याण्ड र निक क्लेग, जो हिजोआज बेलायतका मूलधारका पत्रिका डेली टेलिग्राफ र फाइनान्सियल टाइम्सहरूमा नियमित कोलुम्निष्ट छन् । नेपाल पत्रकार महासंघ (एफएनजे) युकेका अध्यक्ष नरेश खपांगी मगरको अपडेट थियो यो ।
पत्रकार तारा चाम्लिङ
कार्यक्रमको अन्त्यतिर तारा चाम्लिङ आइपुग्नु भयो । उहाँलाई खादा ओढाएर सम्मान गरिएको थियो । नेपालको कान्तिपुर अनि नागरिक दैनिकमा काम गर्दाको आफ्नो संघर्षशील अनुभव उल्लेख गर्नुभयो । लेखक तथा सम्पादक नायारण वाग्लेको नेतृत्वमा इन्क्लुसिभ मिडिया ग्रुपको पनि छोटो–मीठो चर्चा गर्नुभयो । मिडिया प्रोजेक्टकै सिलसिलामा जर्मनी र त्यसपछि बेलायतमा रहेका परिवारका सदस्यका साथमा भेटघाट आएको जनाउनु भयो ।
बिदौनी
फोनिज युकेका निवर्तमान अध्यक्ष विश्वासदीप तिगेलाले विभिन्न राजनीतिक आन्दोलन र विचारधाराबारेमा बोल्नुभएको थियो । फोनिजकी अध्यक्ष प्रमिला लाबुङ राईले नेपालको संविधानमा प्रेस सम्बन्धी व्यवस्थाका बारेमा विशेष प्रस्तुति दिनुभएको थियो । नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष तुल छन्त्याल, राजनीतिज्ञ पूर्ण लक्सम, होम सुनुवार, मिरा सुनुवार, सुमलकुमार गुरूङ लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
तस्बिर ः जेबी राई
लिब्जु–भुम्जु ७२ बाट