युवा लेखक गगनबहादुर राईको पुरस्कृत निबन्ध : जनगणनामा किरातीहरूको अवस्था र अबको बाटो

विचार / ब्लग

जनगणनामा किरातीहरूको अवस्था र अबको बाटो

गगनबहादुर राई

नेपाली शब्दकोेश अनुसार जनगणनाको शाब्दिक अर्थ राष्ट्र वा कुनै क्षेत्रको निश्चित जनसंख्या निकाल्न गरिने गणना हो । व्यापक अर्थअनुसार जनगणना जनसंख्या शक्तिको स्रोत हो । विकासको आधार हो । समृद्धिको आधार हो । राजनीतिको अधार हो । प्रजातन्त्रको आधार हो । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक केन्नेथ प्रिविटले दिएको जनगणनाको परिभाषाले पनि यही भनेको छ । उनले भनेका छन्, ‘जनगणना राजनीति र विज्ञानको समिश्रण हो । राजनीति – किनभने शक्ति र अर्थ (पैसा) कति मानिस कहाँ बस्छन् भन्ने कुरासँग सम्बन्धित हुन्छ । विज्ञान – किनभने प्राविधिक रूपले जटिल विधिहरू विभिन्न वैज्ञानिक विधिहरूबाट अनुशरण गरिएको हुन्छ ।’ यसर्थ जनगणना भनेको राजनीति, विज्ञान अनि पहिचान भन्ने बुझिन्छ ।

नेपालमा वि.सं. १९६८ सालबाट जनगणना सुरु भएको हो । हरेक दश वर्षमा हुने जनगणना नेपाल सरकार केन्द्रीय तथ्यांक विभागले सम्पन्न गर्दै आएको छ । हालसम्म एघारौँ जनगणना सम्पन्न भएको छ । २०६८ साल (सन् २०११) को तथ्यांकअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । जातिगत जनसंख्यामा सबैभन्दा बढी क्षेत्री ४३ लाख ९८ हजार ५३ र सबैभन्दा कम कुसुण्डाको २७३ रहेको देखिन्छ । उक्त जनगणनाको तथ्यांकअनुसार किराती जाति राई, लिम्बु, सुनुवार, याक्खा र पछिल्लो समय आफु किरात जाति भनेर दावी गरेका धिमाल, थामी, जिरेल, हायु र सुरेल छन् । राईको जनसंख्या ६ लाख २० हजार ४ रहेको छ । किरात धर्मावलम्बीको जनसंख्या भने ८ लाख ७ हजार १ सय ६९ देखिन्छ ।

यही २०७८ साल जेष्ठ २५ गतेदेखि असार ८ गतेभित्र बाह्रौँ राष्ट्रिय जनगणना सम्पन्न हुने तालिका भएपनि कोभिड–१९ को दोस्रो लहरले तत्कालका निम्ति स्थगित भएको स्थिति छ । देशमा संघीयता लागू भएपछिको यस पहिलो जनगणनामा सम्पन्न गर्न ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक कर्मचारीलाई तथ्यांक संकलनको लागि खटाइने छ । राष्ट्रिय जनगणना २०७८ सफल पार्न ८ ओेटा समन्वय संयन्त्रको व्यवस्था गरेको छ । जसमा राष्ट्रिय जनगणना निर्देशक समिति, राष्ट्रिय जनगणना समन्वय समिति देखि स्थानीय जनगणना समन्वय समित र वडास्तरीय सहजीकरण समितिलगायत छन् ।

जनगणनाले देशभरिको जनसंख्याको बनोट, घरायसी सेवा सुविधाको अवस्था, लैंगिक अवस्था, ज्येष्ठ नागरिकको अवस्था, बालबालिकाको अवस्था, शैक्षिक अवस्था, श्रमशक्तिको अवस्था मृत्यु तथा मातृमृत्युदरको अवस्था, प्रजननको अवस्था, अपांगता, जातजाति, भाषा, धर्म लगायत विविध पक्षको अवस्थाको बारेमा तथ्यपूर्ण जानकारी लिइने छ । नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुल साँस्कृतिक देश हो । जात जातिभित्रको थर, उपथर अनि नामको पछाडि लेखिने उपनामले गर्दा जनगणनामा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । कुनै पनि जातिको लागि भाषा उसको पहिचान हो अनि शक्ति पनि । तर अहिलेको प्रविधिको चमत्कारपूर्ण विकास अनि अंग्रेजी भाषाको व्यापारिकरण र विश्वव्यापिकरणले धेरै जातिका भाषाहरू लोप भइसकेका छन् भने बचेखुचेका अन्य भाषाहरू अर्धमृत अवस्थामा छन् । तिनीहरूका आयु छोटिने क्रम छँदैछ ।

भाषिक समस्याको कारण (जस्तो– गणकले सोधेको प्रश्नावली नबुझ्नु, जातिलाई भाषाको रूपमा बुझनु अनि भाषालाई जातिको रूपमा बुझनु, पुख्र्यौली भाषाको प्रयोग गर्नु) । धर्म भनेको विश्वास अनि आस्था हो । धर्म सम्बन्धी प्रश्न गर्दा जानी नजानी स्वभाविक रूपमा बायस हुन सक्दछन् । उदारहणको लागि– गणकले प्रस्टसँग प्रश्न सोध्न नसक्नु, भाषाको समस्या हुनु । अर्कोतर्फ धार्मिक सहिष्णुताले पनि जनगणनालाई प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । जस्तो – दशैँ, तिहार आदि चाडपर्वहरूलाई सुचकको रूपमा लिइनु (गैह्र हिन्दुले पनि दशैँ तिहार मान्ने चलन छ ।) अनि व्यवहार र सदभाव हावी हुनु । (जस्तै हिन्दुको मन्दिरमा पुजा गर्ने तर मुल धर्म अर्कै मान्ने)। यिनै कारणले जनगणना विश्वसनीय, सत्यतथ्यपूर्ण र वैज्ञानिक हुन सकेको देखिदैन ।

आदिवासी जनजातिले जाति, भाषा, धर्म र संस्कृतिलाई पहिचानको कडीका रूपमा लिने गरेका छन् । त्यसैअनुसार राज्यले राष्ट्रिय जनगणना २०४८ को प्रश्नावलीमा धर्म, जान÷जाति, मातृभाषा र दोस्रो भाषा व्यवस्था गरेर सम्बोधन गरेको पाइन्छ । सो जनगणनादेखि चार किरात संस्था (किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याख्खा छुम्मा र सुनुवार सेवा समाज)ले यी विषयमा साझा सहमतिसमेत गरेको पाइन्छ ।

ती साझा सहमतिका विषयहरू निम्न थिए :

१. जाति – राई, लिम्बु, याक्खा, सुनुवार

२. मातृभाषा : राई समुहका २८ ओटा भाषामध्ये एक, लिम्बु, सुनुवार, याक्खा

३. दोस्रो भाषा : आफू नजिकको कुनै एक भाषा

४. धर्म : किरात ।

त्यस्तै पछिल्लो पटक २०७५ असार १५ गते अन्य किरातजन्य संस्थाले यिनै विषयमा साझा सहमतिमा दस्तावेज कायम गरेका छन् ।

माथि उल्लिखत विषयमा संस्थागत सहमति हुँदाहुँदै पनि बाह्रौँ राष्ट्रिय जनगणना २०७८ नजिकिदैै गर्दा किरात जाति तथा समुदायमध्येका राई जातिहरू अन्योलमा परिरहेको देखिन्छ । सामाजिक सन्जालमा राई मित्रहरूले जनगणनाको विषयलाई लिएर व्यक्तिगत फरक मत राखेका छन् । कसैले ‘राई’ कुनै जाति नभएर ‘पद’ अथवा ‘पदवी’ भनेर आफना विचार राखेका छन् । कसैले भने ‘राई’ जाति नै हो भनेर दावी गर्दै सवै राईहरू एक हुनुपर्ने र एकताको सूत्रमा वाँधिएर आगामी जनगणनामा प्रस्तुत हुनुपर्ने विचार राखेको पाइन्छ । यसै विषयलाई लिएर कसै कसैले जनगणनामा जातको महलमा ‘बाहिङ’, ‘आठपहरिया’, ‘कुलुङ’ आदि र धर्मको महलमा ‘हिन्दु’, ‘स्वर्गिक मार्ग’ लेखाउने भनेको देखिन्छ ।

मेरो बुझाइमा किरात जातिको एकता नै शक्ति हो । राई जातिभित्र बाहिङ, आठपहरिया, कुलुङ, लोहोरुङ आदि थर र भाषा दुवै हो । हामी सम्पुर्ण किरात राईहरू यो भूमि चुम्ने आदिवासी हौं । आप्mनो मातृभाषा, परम्परागत रीतिरिवाज, साँस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्थान ऐन २०५८ को परिच्छेद १ को धारा २ को (क) ले यही परिभाषा गरेको छ । सूचिकृत ५९ आदिवासी जनजातिमध्ये राई जाति एक हो ।

आजको किरात राई एकजुट र शक्तिशाली हुनुको सट्टा फुट्ने र चोइटिने क्रम तीव्र गतिमा भइरहेको देखिन्छ । विगत दुई दशकदेखि किरात राई आदिवासीबाट आठपहरिया, बाहिङ, बान्तावा, चाम्लिङ, खालिङ, कुलुङ, लोहोरुङ, मेवाहाङ बाला, नाछिरिङ, साम्पाङ, थुलुङ र याम्फुहरू जातीय भाषिक समूहको नाममा सुचीकरण हुनलाई बारम्बार प्रयत्नरत छन् । ऐतिहासिक समाजको धमिरा बनेर अघि बढिरहेका यी समूहरूले एकतामा बल हुन्छ भन्ने कुरा नबुझेको जस्तो देखिन्छ ।

नेपालमा तथ्यांकभन्दा पनि मिथ्यांक बढी छ भनेर अभियन्ताहरूले भन्दैआएको छ । भनेका छन् कि जबसम्म हाम्रो सभ्यता किरात, साझा जाति राई र धर्म किरात (मुन्धुम) भनेर समस्त समाजमा सन्देश प्रवाह गर्न सक्दैनौं तबसम्म यस समुदाय पछौटेपनमा गुज्रिनेछ । विकासको सट्टा क्रमिक रूपमा विनास, विलय र विभाजित हुँदै जानेछ । आजको सूचना प्रविधिको युगमा भुमण्डलीकरण, राजनीति, अर्थतन्त्र, विकास, व्यापार, खोज अनुसन्धान, कुटनीतिजस्ता हरेक कुरामा एकता, सहकार्य, सवलता, लगनशीलता, अध्ययनशीलता र धैर्यधारणको आवश्यकता छ ।

तर किरात राई समाजचाहिँ चोइटिएर सानो सानो समूहमा विभाजित भइरहेको देखिन्छ । यो हाम्रो दुर्भाग्य हो । यो समस्यालाई शिक्षित, अशिक्षित सबै राईहरू तथा हाम्रो साझा सामाजिक संस्था किरात राई यायोक्खा नेतृत्वले गम्भीर भएर सोच्नुपर्दछ । आफू भलो त जगतै भलो भनेझैँ सबैले आफूबाटै सकारात्मक कदमको प्रारम्भ गर्न सकिएमा मात्र हाम्रो जाति तथा समुदायमा एकतावद्ध गर्न सकिन्छ । तर यदि विविध कारणले हाम्रो किरात जाति तथा समुदाय फुटको बाटोलाई रोजेर अघि बढिरह्यौं भने भाइ फुटे गँबार लुटे हुनुको विकल्प रहन्न । समुदाय नै विभाजित गरेर राज्यसत्तासँग राजनैतिक, भौगोलिक, सामाजिक, साँस्कृतिक, आर्थिक अधिकारको लागि लड्न असम्भव छ । लड्नको लागि हाम्र्रो पहुँच पुग्दैन ।

राई जातिको इतिहास देखिको एकताको भावना र संस्कारलाई कुल्चेर आउने सामाजिक विचलन र विखण्डनले समाजलाई कुन दिशातिर लैजाला अनुमानमात्र गर्न सकिन्छ । विशाल किरात राई जाति तथा समुदाय केही निश्चित व्यक्तिहरूको स्वार्थपुर्तिको लागि विभाजनतर्फ अग्रसर भएर अल्पमत र अल्पसंख्यक अवस्थामा पुगेमा यस समुदायको भविष्यको जिम्मा कसले लिन्छ ? त्यसको पीडा हाम्रा आगामी सयौं पुस्तासम्मले खेप्नु पर्नेछ ।

हामीले हाम्रो साझा पहिचान बचाउन चाम्लिङ राई, बान्तावा राई, बाहिङ÷बायुङ राई, वाम्बुले राई, खालिङ राई आदि भनेर प्रस्तुत हुँदा जति एकताको प्रदर्शित हुन्छ, त्यसको सट्टा बाहिङ जाति, बान्तावा जाति, चाम्लिङ जाति भन्दा फिक्काझैं महसुस हुन्छ । अहिले यही गल्ती गर्दैछौं कि एउटा वडापालिकाभित्रै अल्पसंख्यकको कोटोमा चित्त बुझाउनु पर्नेछ ।

सायद २०७४ सालको स्थानीय तहको चुनावबाट केही व्यक्तिले अल्पसंख्यक कोटामा सदस्य भइसकेका पनि छन् । अल्पसंख्यकले दयामायाले व्यवस्था गरिएको अल्पसंख्याको कोटामै चित्त बुझाउनु पर्ने हुन्छ । यदि राई जातिमात्र भइदिएको भए भोलि पालिकाको निर्वाचित जनप्रतिनिधि हुनसक्थयो । पहिचान चाहिएको तर अल्पसंख्यक हुँदाको पीडा अहिलेसम्म नखपेको हुँदा एकपटकको निम्ति त त्यो दयाको कोटा ठीकै होला फेरि अर्को पटक माथ्लो निर्वाचित हुने अधिकार भने गुमाइसकेको हुन्छ भन्ने ख्याल पनि हुनैपर्छ ।

तसर्थ, जनगनणा २०७८ मा सबै किरात राईहरू प्रष्ट भएर सहभागी हुनुपर्छ । साझा पहिचान इतिहास र पहिचानको रक्षार्थ हामी राई जाति नै हौं । हामीभित्रको विविधतालाई एकले अर्कोलाई निषेध गरेर होइन, हातेमालो गरेर जोगाउनेतर्फ लाग्नुपर्छ । सम्पूर्ण किरातीहरू स्पष्ट हुन सक्यौँ भने पक्कै पनि हामीले हाम्रो आफनो विरासत, पहिचान अनि पुर्खाले निर्माण गरिदिएका इतिहासलाई बचाउँन सक्नेछौँ ।

अन्त्यमा किरात राई जाति एक, भाषा अनेक भएको समुदाय हो । अहिलेसम्मको जनगणनाको तथ्यांकमा राई जातिभित्रको २५ भाषा उल्लेख गरिएको छ । किरात भनेर दावी गर्ने जाति सबै गरी १२ लाखभन्दा बढी जनसंख्या रहेको छ । हामी किराती हौँ । अवको हाम्रो बाटो भनेको एकता हो । हामी एकतावद्ध भयौँ भने राज्यसत्तासँग राजनैतिक, भौगोलिक, सामाजिक, साँस्कृतिक, आर्थिक अधिकारका निम्ति लडेर हामीले तिरेको करको हिस्सालाई उपयोग गर्न सक्छौँ । हरेक क्षेत्रमा हाम्र्रो पहुँच पुग्छ ।

तर आपसी फुटले प्याचलाई चोइटाएझैं चोइटिदै जाँदा गुदीशून्य हुनेछौं । त्यो भनेको किरात जाति र किरात जातिभित्र किरात राई जाति हुनेछ । दुरदशा सुरु भइसकेको हुँदा राष्ट्रिय जनगणना २०७८ मा किरात राई यायोक्खाले भनेकै बाटो उचित उपयुक्त हुनेछ । जाति– राई, पुख्र्यौली भाषा र मातृभाषा उहिल्यैदेखि बोल्दैआएको भाषा, दोस्रो भाषा– छिमेकीको भाषा र धर्म किरात लेखौं, लेखाऔं । यो जनगणनाको नतिजा सार्वजनिक भएसँगै अल्पसंख्यकको भत्ता लिने लाममा नपरौं ।

मानेभन्ज्याङ–६, हिलेपानी, ओखलढुंगा

gaganbiyogi123@gmail.com

(प्रस्तुत निबन्ध किरात राई साँस्कृतिक कलाकार संघ खोटाङ र काठमाडौंले २०७७।०६।१७ गते संयुक्त रूपमा आयोजना गरेको ‘जनगणनामा किरातीहरूको अवस्था र अबको बाटो’ शीर्षध खुल्ला राष्ट्रिय निबन्ध लेखन प्रतियोगितामा तृतीय पुरस्कार हासिल गरेको थियो । इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष ८ अंक १२, पूर्णाङ्क ८५, २०७८ वैशाख–असार (किरात येले संवत् ३८००/सन् २०२१) मा प्रकाशित आलेख यहाँ प्रस्तुत गरिएको हो ।सम्पादक)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *