किराँत मुन्धुम लुङ – वर्तमान किरात सामाजिक संस्थाहरूको बेवारिसे आमा

विचार / ब्लग


अमर तुम्याहाङ

१ आमुख
२०४७ सालमा नेपालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि आएको प्रजातान्त्रिक वातावरण र स्वतन्त्रताको लहरले सबै जातजातिलाई छोयो । सङ्घ संस्थाहरू खोल्ने स्वतन्त्रतासँगै विभिन्न राजनैतिक, समाजिक तथा जातीय सङ्घ संस्थाहरू खोलिन थाले । यसै क्रममा जातीय सामाजिक संस्थाका रुपमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा लगायतका किराती सामाजिक सङ्घ संस्थाहरू खोलिए । प्रजातन्त्रान्त्रिक कालमा जन्मिएका ती संस्थाहरू २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनपछि प्राप्त लोकतान्त्रिक युगमा पनि निरन्तर क्रियाशील छन् । तर यहाँ २००७ सालमा नेपालमा प्रजातन्त्रको प्रादुर्भावपछि सोही समयमा किरात समुदायका विद्वत्त वर्गले स्थापना गरेको तर समयक्रमसँगै हाल आएर कसैको स्मृति र जानकारीमा नभरहेको किराँत मुन्धुम लुङ र त्यसले परावर्तन गरेको आलोकको चर्चा गर्ने जमर्को गरिएको छ । यहाँ भू.पू. मन्त्री स्वर्गीय काजीमान कन्दङ्वामार्फत् डा. चैतन्य सुब्बाले प्राप्त गर्नुभएको ‘किराँत मुन्धुम लुङ’को विधानलाई आधार मानेर यो परिचर्चा गरिएको हो ।

२. किराँत मुन्धुम लुङको विधानका उल्लेखित पक्षहरू
किराँत मुन्धुम लुङ नामकरणका सम्बन्धमा १ नम्बरमा भनिएको छ, ‘यो संस्थाको नाम किराँत मुन्धुम लुङ रहनेछ, छोटकरीमा यसको नाम कि.मु.लु. रहनेछ ।’ यसरी नै विधानको स्पष्टिकरण खण्ड २ नम्बरमा भनिएको छ, ‘(क) किराँत भन्नाले सम्पूर्ण किरातीहरूको बोध हुनेछ । (ख) किराँत मुन्धुम लुङलाई अंग्रेजीमा प्ष्चबलत ऋगतिगचब िब्ककयअष्बतष्यल र नेपालीमा किराँत सांस्कृतिक परिषद् मानिनेछ ।’ यसरी नै यस विधानको ३ नम्बरमा दुई वटा उद्देश्यहरू उल्लेख भएका छन् । ती उद्देश्यहरू यस प्रकार छन् ः (क) यो संस्था पूर्णतया सांस्कृतिक संस्था रहनेछ । (ख) किराँती साहित्य र संस्कृतिको अन्वेषण, पुनरोद्धार, संरक्षण, विकास, प्रचार र प्रसार गर्नेगराउने ।

यसपछि प्रचलित विधानहरूमा हुने अवयवहरू उल्लेख भएका छन् । जस्तो कि ४ नम्बरमा कार्यसञ्चालन (सदस्यका प्रकारहरू जस्तै प्रधान संरक्षक, संरक्षक, कार्यकारिणी समिति, सल्लाहकार, साधारण सदस्य), ५ नम्बरमा गठन (प्रधान संरक्षक, संरक्षक, कार्यकारिणी समिति, सल्लाहकार, साधारण सदस्य चुन्ने चुनिने प्रक्रिया) र ६ नम्बरमा दान (प्रधान संरक्षक, संरक्षक, कार्यकारिणी समिति, सल्लाहकार, साधारण सदस्यले दिनुपर्ने सदस्यता शुल्क) उल्लेख गरिएको । विधानको ७ नम्बरमा कार्य समितिका पदाधिकारी तथा सदस्यहरूको काम, कर्तव्य तथा अधिकारका बारेमा उल्लेख गरिएको छ । यसरी नै विधानको ८ नम्बरमा संस्थाको सम्पत्ति कसले, कसरी र कति खर्च गर्न सकिन्छ भनी (क) देखि (च) सम्मको नियमहरूको उल्लेख गएिको छ भने ९ नम्बरमा वार्षिक रूपमा संस्थाको आयव्ययको अडिट गर्नुपर्ने उल्लेख गरिएको छ । विधानको १० नम्बरमा सभा शीषर्क अन्तर्गत वार्षिक सभा, आकस्मिक सभा र अधिवेशनको व्यवस्था गरिएको छ भने ११ नम्बरमा माथि उल्लेखित सभाहरू तथा अधिवेशनमा चाहिने कोरमको व्यवस्था गरिएको छ । १२ नम्बरमा सूचना अवधि (सभा तथा अधिवेशनको), १३ नम्बरमा राजिनामा, १४ नम्बरमा निस्कासन, १५ नम्बरमा पूर्ति (पदपूर्ति) को नियमहरू उल्लेख भएका छन् । १६ नम्बरमा भने किराँत मुन्धुम लुङको शाखा, प्रशाखा वा अरु विभाग गठन प्रक्रियाबारेमा (क) देखि (घ) सम्म चार वटा नियमहरू उल्लेख भएका छन् । विधानको १७ नम्बरमा नियम–उपनियम बनाउने र १८ नम्बरमा विधानमा थपघट र हेरफेर गर्ने प्रावधानबारेमा लेखिएको छ ।

३. विधानका मस्यौदाकारहरू
यस विधानको मस्यौदाकारका रुपमा भूतपूर्व मन्त्री नारदमुनि थुलुङ तथा काजीमान कन्दङ्वा रहेको कुरा विधानमा नै उल्लेख भएको छ ।

४. किरात मुन्धुम् लुङको पहिलो कार्यकारिणी समिति
यो संस्थाको पहिलो कार्यकारिणी समितिका संरक्षक, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरू निम्नअनुसार रहेको उल्लेख भएको छ ।
प्रधान संरक्षक — मेजर बागघन राई, ओ.बी.ई., एम.सी.
संरक्षक — …….. ? ……….
कार्यकायरिणी समिति
सभापति — श्री नारदमुनि थुलुङ, भूतपूर्व मंत्री
उपसभापति —
१. श्री इमानसिंह चेमजोङ, एम.आर.ए.एस.
२. श्री तिलबहादुर लक्सम, बी.ए.
महामंत्री — श्री काजीमान कन्दङवा
सहमंत्री — १. श्री नरोत्तम राई २. सुश्री लीना राई
कोषाध्यक्ष — श्रीमती रत्नमणि मिरास
प्रचार मंत्री — श्री सन्तोष कुमार राई
कार्यकारिणी सदस्यहरू ः
१. सु्श्री सरस्वती राई २. सुश्री मायादेवी सुब्बा ३. श्री प्रेमराज आङदेम्बे
सल्लाहकारहरू
श्री कुलबहादुर लिम्बू, भूतपूर्व मंत्री ओ.बी.आई.एम.बी.ई., श्री देबमान आङदेम्बे, भूतपूर्व उप–मंत्री, पाँचथर, श्री प्रेमबहादुर माबोहाङ (चौबिस), श्री ललितबहादुर तुम्बाहाङफे (तेह्रथुम), श्री खडगबहादु नेम्बाङ (इलाम), श्री चितहाङ लिम्बू –इलाम), श्री जयप्रसाद राई, (पूर्व ३ नं.), श्री नरबहादुर थुलुङ (इलाम), श्री जीतबहादुर थेबे याङरो (याङरोक), श्री रणधोज नेम्बाङ (पाँचथर), श्री परशुराम माकारा (पूर्व ४ नं.), श्री प्रभुराम राई (पूर्व ४ नं.), श्री धनराज सुब्बा (सिलाङ), श्री हरिप्रसाद राई (सिलाङ), श्री शुकराज पेघा (दार्जिलिङ), श्री दौलतदास राई (दार्जिलिङ), श्री इन्द्र राई, बी.ए. (दार्जिलिङ), श्री मुगाधन राई (पूर्व ३ नं.), श्री इ.के. बहादुर सेरेङ (दार्जिलिङ), श्री जगजीत राई (पूर्व ४ नं.), श्री हरिभक्त आङदेम्बे (पाँचथर), श्री चन्द्रहाङ जबेगु (याङनाम), श्री तीर्थमान राई (इलाम), श्री बाबुराम सुब्बा (पाँचथर), श्री मानबहादुर राई (पूर्व ४ नं.), श्री दिल्लीसेर राई (पूर्व ३ नं.), श्री गजुरमान साधु (पूर्व ३ नं.), श्री नारायण प्रसाद नुगो (चौबिस), श्री जे.बी. लिम्बू (मेजर) (दार्जिलिङ), श्री बमबहादुर राई (पूर्व ३ नं.), श्री गजेन्द्रबहादुर तुम्बाहाङफे (तेह्रथुम), श्री श्री धोज लिम्बू अन.कप., श्री सरदारबहादुर ओ.बी.आई., श्री हरिराम राई जमदार (पूर्व ३ नं.), श्री नीरबहादुर राई, (पूर्व ४ नं.), श्री मनबहादुर राई (पूर्व ४ नं.), श्री बखतमान देवान (दार्जिलिङ), श्री लालधोज फुदोङ (साबला), श्री रामपर्ण इङनामफेन (ईवा), श्री कप गोबिन्द सिंह लिम्बू, (सगपु), श्री जगतबहादुर लिम्बू (इसिबु), श्री बिर्खबहादुर लिम्बू (सीमले), श्री अबिदल लिम्बू (खाम्लालुङ), श्री चन्द्रबहादुर कन्दङवा (भित्रीया), श्री कृष्णलाल लिम्बू (यावन), श्री बमबहादुर राई (पूर्व ४ नं.), श्री नन्दधोज देवशा बी.ए. (दार्जिलिङ), श्री लक्ष्मीप्रसाद आङबुहाङ (आठराई), श्री बलबहादुर राई (पूर्व ३ नं.), श्री चन्द्रबहादुर इङनामफेन (ईवा), श्री दीपबहादुर लिम्बू (भित्रीया), श्री अकलबहादुर लिम्बू (फङनाम) र श्री महेश्वर लिम्बू (ताप्लेजुङ)।

५. किराँत मुन्धुम लुङले इङ्गित गरेका पक्षहरू
किरात समुदायका तत्कालीन प्रायः सबै बुद्धिजीवीहरू किरात साहित्य र संस्कृतिप्रति संवेदनशील भएका देखिन्छन् । किरात वंशअन्तर्गतका विभिन्न जातिहरूको फरकफरक भाषा, साहित्य र संस्कृति भए पनि त्यसको संरक्षण गर्ने काममा सामुहिक रुपमा लागे मात्रै सफल होइन्छ भन्ने उनीहरूले महसुस गरेको प्रतीत हुन्छ । अर्को कुरा उनीहरुले समग्र किरातहरुले एक भएर गरिनु पर्ने निश्चित साझा विषयहरू विद्यमान रहेको सन्देश पनि दिएका छन् । यसर्थ पनि किराँत मुन्धुम लुङ संस्थामा माझ किरात, पल्लो किरातदेखि, दार्जिलिङ, सिलाङ (आसाम) आदि ठाउँका लब्ध प्रतिष्ठित किरात बुद्धीजीवीहरू, राजनीतिज्ञहरू एक गठ भएको देखिन्छ । हाल किरात भनी परिचित जातिहरूमध्ये राई, लिम्बू र याक्खाहरूको यस संस्थामा आवद्धता देखिन्छ । के कारणले हो वल्लो किरातका कोँइच सुनुवारहरूको सहभागिता भने रहेको देखिँदैन । यसो भए पनि तत्कालीन यातायात र सञ्चारको प्रतिकुलताका बाबजुद किरात मुन्धुम लुङमा संलग्न सदस्यहरूलाई नियाल्दा भौगोलिक (स्वदेश तथा विदेश) का साथै सो समयका सबै ख्याती प्राप्त भद्रमहिला ताथ सज्जनहरूको उपस्थिति निकै नै आश्चर्य लाग्दो छ । यस्तो एकमना एकता कसरी सम्भव भयो ? यो निकै नै विचारणीय र अनुकरणीय छ, आजका अगुवाहरूका लागि पनि ।
त्यो समयका किराती अगुवाहरू आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति अत्यन्त संवेदनशील भएर ‘मुलुक भित्र वा बाहिर जहाँ पनि यस कि.मु.लु.को शाखा, प्रशाखा वा अरु नै विभागहरू पनि खोल्न खोलाउन सकिनेछ’ (१६.क, पृ. ८) भन्ने व्यवस्था गरी यस संस्थालाई किरातीहरूको अन्तर्राष्ट्रिय संस्थाको रुपमा स्थापित गर्ने प्रयास गरेको देखिन्छ । किराती मूल्य, मान्यता र पहिचान जोगाउनका लागि निकटतम् सम्पर्कमा निरन्तर रहनु पर्ने उनीहरूको स्पष्ट दृष्टिकोणसहितको योजना थियो भन्ने कुरा ‘शाखा, प्रशाखा वा अरु कुनै पनि विभागहरूले आफ्ना आफ्ना क्षेत्रका किराँती साहित्यिक, सांस्कृतिक, पौराणिक वा ऐतिहासिक वस्तुहरूको खोजि, संरक्षण, पुनरोद्धार, प्रचार र प्रसारको ख्याल राखि कमसेकम तीन महिनाको एक पल्ट कि.मु.लु.को केन्द्रमा लिखित रिपोर्ट पठाउनु पर्नेछ’ विधानतः प्रबन्धले स्पष्ट पार्दछ । अर्को चाखलाग्दो विषय के छ भने सो संस्थाको छाप किरात लिपि र त्यसको साथमा नागरी लिपि एकसाथ समेटी बनाइएको छ । यसले किरात लिपिको बारेमा तत्कालीन अगुवा बुद्धिजीवीहरू बीचमा कुनै दुबिधा थिएन भन्ने कुरा पनि स्पष्ट पार्दछ ।

६. किराँत मुन्धुम लुङ संस्था गठनले प्रभाव गरेको शिक्षा
किरात वंश अन्तर्गतका जातिहरूबीच सबैको सरोकार रहने साझा विषयहरू विद्यमान रहेका छन् । तिनको पहिचान गरी समुहिक रुपमा एकताबद्ध भएर सोको संरक्षण र संवद्र्धन गरिनुपर्छ । यसमा नै सर्वहीत छ । यस्ता साझा विषयहरूका बारेमा काम गर्दा राजनैतिक सीमाले बाँधिनु हुन्न, पार्टीगत या वैचारिक साँधले छेकिनु हुन्न भन्ने पनि यसले दिएका सन्देश हो । किराती पहिचान कायम गर्नका लागि किरात वंशअन्तर्गतका विभिन्न जातिहरुबीच एकता अनिवार्य छ भन्ने नै हो । वर्तमान अवस्थामा पनि केही विषयमा किरात जातिहरु स्वतन्त्र रुपमा जान सके पनि त्यस्ता केही विषयहरु छन् जसलाई सामुहिक रुपमा अगाडि बढेमात्र पार लाग्न सक्छ ।
(नोट ः बुँदा नं. २, ३ र ४ मा वर्णविन्यास वर्तमान व्याकरण अनुसार नभएर विधानमा जस्तो लेखिएको थियो सोही अनुसारा राखिएको छ । साथै किरात हुनु पर्नेमा संस्थाको नाम विधानमा किराँत नै उल्लेख भएकाले सोही अनुसार रादिएको छ — लेखक ।)
(लेखक अमर तुम्याहाङ नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य हुनुहुन्छ । सम्पादक)
लिब्जु–भुम्जु ४५ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *