अन्तर्वार्ता : थाइल्याण्डमा अध्ययनरत युवा वातावरणविज्ञ मनाराज राई भन्नुहुन्छ– ‘वन तथा वातावरणसँग सम्बन्धित अध्ययन अनुसन्धान जारी राख्ने छ…’

विचार / ब्लग

अन्तर्वार्ता :

निकट भविष्यमा विद्यावारिधि पूरा गर्ने धोको छ : मनाराज राई

मनाराज राई

मनाराज राईको जन्म वि.सं. २०४५ साल भदौ महिनामा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ हिलेपानी गाउँमा भएको हो । उहाँ बुवा जबरधन राई (वाम्बुले द्वार्वाङ्चा) र आमा तिबलसरी राईको ६ सन्तानमध्ये जेठा छोरा हुनुहुन्छ । हिलेपानीस्थित श्री महादेवस्थान माध्यमिक विद्यालयमा औपचारिक शिक्षा आरम्भ गरी कक्षा १० को एसएलसी श्री हर्कपुर माध्यमिक विद्यालय, हर्कपुरबाट २०६१ सालमा प्रथम श्रेणीमा उत्तीर्ण गर्नुभयो । सानैदेखि मिहिनेती, परिश्रमी र इमानदार विद्यार्थीका रूपमा परिचित उहाँले आफ्नो रुचिअनुसार त्रिभुवन विश्वविद्यालय वनविज्ञान अध्ययन संस्थान हेटौडा (Institute of Forestry, Hetauda) मा आईएस्सी (२०६२–२०६४) छात्रवृत्तिमा पढ्ने अवसर पाउनु भयो । आईएस्सी उत्तीर्ण गरेपछि वनविज्ञान विषयमै वनविज्ञान अध्ययन संस्थान, पोखरा (Institute of Forestry, Pokhara) बाट छात्रवृत्तिमा बिएस्सी (२०६५–२०६९) अध्ययन गरी विशिष्ट श्रेणीमा पूरा गर्नुभयो । यसका अतिरिक्त उहाँले त्रिभुवन विश्वविद्यालय जन प्रशासन क्याम्पसबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर (२०७२–२०७३) हासिल गर्नु भएको छ । उहाँ लोक सेवा आयोगको परीक्षा प्रतिस्पर्धा गरी २०६९ मा रेन्जर पदमा नियुक्त भई निजामती सेवा प्रवेश गर्नुभयो । उहाँ सुरुमा भोजपुर पोस्टिङ हुनुभयो । त्यहाँ १ वर्ष सेवा गरेपछि २०७० सालमा लोक सेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाट सहायक वन अधिकृत नियुक्त भई हाल सुनसरीमा कार्यरत हुनुहुन्छ । उहाँको उच्च अध्ययन गर्ने सिलसिलामा अध्ययन विदा लिई थाइल्याण्डको King MongkutÚs University of Technology Thonburi (KMUTT) युनिभर्सिटीमा थाइल्याण्ड सरकारको छात्रवृत्ति (TICA) मा एमएस्सी अध्ययन गर्दै हुनुहुन्छ । उहाँसँग लिब्जुभुम्जु डटकमका प्रधान सम्पादक गणेश वाम्बुले राईले इमेलमार्फत् २०७८ असार ३ गते गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईं यतिखेर थाइल्याण्डको कुन ठाउँको विश्वविद्यालयमा अध्ययनरत हुनुहुन्छ ?
हजुर, अहिले म थाइल्याण्डको बैँककस्थित King MongkutÚs University of Technology Thonburi (KMUTT) मा एमएस्सी (Environmental Technology) अध्ययन गरिरहेको छु । यो चाहिं थाईल्याण्डको एक National Research University (NRU) हो । मलाई यो अवसर थाइल्याण्ड सरकार (TICA) बाट छात्रवृत्ति प्राप्त भएको हो ।

तपाईं त वनविज्ञान विषयको विद्यार्थी, अहिले कुन विषयमा अध्ययन गर्दै हुनुहुन्छ ?
शिक्षा प्रणालीमा स्नातकलाई आधार मानिन्छ । यसभन्दा माथि स्नातकोत्तर अलि विशिष्ट हुन्छ । अझ विद्यावारिधि त पूर्णतय विशिष्ट र खोजअनुसन्धानमुलक अध्ययन हुन्छ । मेरो आधार शिक्षा भनेको वनविज्ञान हो । मेरो स्नातकोत्तर अलि विशिष्ट विषय वातावरणीय प्रविधि (Environmental Technology) सम्बन्धमा हो । यो चाहिं २ वर्षे कोर्स (२०१९–२०२१) ब्याजमा हो । अब कोर्स पूरा गर्ने क्रममा छु ।

सन्चैहुनुहुन्छ ? कोभिड–१९ विश्वव्यापी महामारी फैलियो । तपाईं विदेशी विद्यार्थीले के कस्तो कष्ट व्यहोर्नु पर्दैछ ? कोभिड विरुद्धको भ्याक्सिन लगाउनु भयो भएन ?
हजुर, व्यक्तिगत रूपमा सन्चै छु । तर पनि हामीले यही समयमा कोभिड–१९ को ठुलो समस्या भोगिरहेका छौं । लाखौले आफ्नो जीवन गुमाए । सारा विश्व अर्थतन्त्र धरासायी भए । हाम्रो विश्व स्वास्थ्य प्रणालीका कमजोरीहरू उजागर भयो । मेरो यही समय थाइल्याण्डमा बिताइरहेको छु । अरु सबै भोगाइहरू सबै उस्ताउस्तै छन् । हामीले कोभिडपछि सबै अध्ययनहरू अनलाईन प्रणालीमा ग¥यौं । यहाँको राम्रो पक्षचाहिं यहाँ कोरोना लगभग नियन्त्रणमै राख्न सफल भएका छन् । यहाँका नागरिकहरू पनि एकदमै सहयोगी छन् ।

अर्को कुरा थाइल्याण्डको विकासको प्रमुख सिद्धान्त पर्याप्त अर्थ व्यवस्था (Sufficiency Economy) मा आधारित छ । हरेक नागरिकको चेतना र गुणलाई विकासको आधार मानेका छन् र हरेक चिज ठिक्क गर्ने, विवेक पुराएर गर्ने र हरेक जोखिमहरू कम गर्ने भन्ने तीन मध्यपथ हरेक क्षेत्रमा लागू गर्दछन् । थाइल्याण्ड आन्तरिक रूपमा अत्यन्त सवल छ ।

अर्कोतिर खोप सम्बन्धमा, अलि सुखद पक्ष, वैज्ञानिकले निकै चाँडो खोप निर्माण गर्न सफल भए । तर पनि अझै यसको वितरण प्रणाली न्यायसंगत बनिरहेको छैन । थाइल्याण्डमा सरकारले विद्यार्थीहरूलाई पनि प्राथमिकतामा राखेर खोप लगाएकाले मैले पनि लगाउने मौका पाएँ । भ्याक्सिन लगाउनुभन्दा केही दिनअघि पूर्व तयारी मद्यपान नगर्ने, कफी नखाने, साह्रो व्यायाम नगर्ने, अरु कुनै प्रकारको औषधि नलिने, पूरा निद्रा सुत्ने आदि सचेतना डाक्टर–नर्सहरूले दिनु हुन्छ । त्यसपछि खोप रजिष्टर गर्ने सबै अनलाईन सिस्टममा हुन्छ । व्यवस्थापन पनि एकदमै राम्रो छ । खोप लगाइसकेपछि ३० मिनट अब्जरभेसन गर्छन् । त्यसपछि समस्या नभएमा चाहिं केही पारासिटामोल दिएर बिदा गर्छन् । हामीले चाहिं AstraZeneca खोप लगाएका थियौं । हामी धेरैलाई करिब २ दिनसम्म ज्वरो आउने, ढाँड दुख्ने भयो । त्यसपछि अलिकति सुरक्षाको महसुस हुँदोरहे छ । कतिपय ठाउँमा भ्याक्सिन लगाउन डराउने गरेको समाचार पनि आएका छन् तर पनि हामीले विज्ञानमाथि भरोसा राख्नु पर्दछ ।

महामारीको बेला विदेशमा रहँदा देश, गाउँघर कसरी सम्झिनु हुन्छ ? इन्टरनेटको जमाना छ, गाउँघर परिवेशबारे कत्तिको जानकारी राख्नु हुन्छ ?
हजुर, एकदमै अहिले सूचना प्रविधिको समयले सबैलाई जहाँ भएपनि जोडिन सकिने भएको छ । विभिन्न स्रोतमार्फत् आफ्नो देश, गाउँ परिवेशको अपडेट लिइरहेको हुन्छु । बीचमा धेरै घटनाहरू भए । त्यसमध्ये हाम्रो समुदायको एक महत्वपूर्ण कुरा ’खुवालुङ’ सतहमा, बहसमा आयो । मैले पनि कहिले काहीं जीव विकासक्रम ((प्रोटिनबाट सारा जीवहरूको विकास), मानव इतिहास (अफ्रिकाको घाँसे मैदानबाट कसरी मानव विश्वभरि फैलिए)को बारेमा पनि अध्ययन गरिरहेको हुन्छु र मूलतः किरात सभ्यताको खोज अध्ययन कम छन् र यही सन्दर्भमा खुवालुङचाहिं हाम्रो किरातभित्रको एकताको पवित्र स्थल रहेछ । हाम्रो मूल एउटै रहेछ भन्ने कुरा धेरैमा पुग्न गयो र हामीले यसलाई एक बृहत् धार्मिक–साँस्कृतिक स्थलको रूपमा विकास गर्नु पर्दछ भन्ने कुरा पनि बहसमा आयो ।

यहाँ पेशाले वनकर्मी, हाम्रो गाउँ परिवेशको वातावरणीय पक्ष कस्तो पाउनु हुन्छ ?
हजुर, अब हाम्रो चेतनालाई हाम्रो संस्कार, संस्कृतिले पनि प्रभाव पार्दछ । यस हिसाबमा हाम्रो किराती जीवनशैली एकदमै सरलजस्तो लाग्छ । हामी तुलनात्मक रूपमा खुल्ला चेतना भएको रूपमा हुर्किन्छौं । हामी किरातीले आफूलाई प्रकृतिवादी मान्दछौं । हाम्रा पुर्खाहरू तयामा–खियामा –वाम्बुले राईले खाक्चिलुपा रिनाखा भन्छौं) ले लिम्चिङबुङ साक्षी राखेर छुटेको मिथकहरू छन् । त्यस्तै आधुनिक औद्योगिक युग पहिले आदिम कृषि युगमा नै तयामा खियामाले तान बुन्ने सीप सिकेको कुराले हाम्रा पुर्खाहरू त्यतिखेरका वैज्ञानिक मान्न सकिन्छ । त्यस्तै पुर्खाहरू रैछाकुले खाचिलुक्पाले विभिन्न पँक्षी, जीवजन्तुहरूबाट खेती गर्न सिकेको कथाहरू छन् ।

वास्तवमा हाम्रो वर्तमान धेरै ज्ञानको स्रोत प्रकृति नै हुन् र हाम्रा पुर्खाहरूले यही ज्ञानलाई हालसम्म ल्याइपुराएका छन् । माझ किरात मानिने भोजपुरतिर, अहिले पनि दिवंगत पुर्खाहरूको नाममा वरपीपल चौतारीहरू बनाउने प्रचलन छ । वन जंगलमा गाईवस्तु, जीवजन्तुहरूको लागि आहाल बनाउने चलन थियो अहिले पनि धेरै ठाउँका नामहरू आहाले, आहालहरू भेट्न सकिन्छ । अहिलेको समयमा यस्ता हाम्रा परम्परागत संस्कारहरू, चलनहरू अझै महत्वपूर्ण भएको छ ।

यहाँले वातावरणीय विज्ञान र प्रविधि अध्ययन गरिरहनु भएको छ । यो विषय हाम्रो देश, गाउँ समाजका लागि कत्ति महत्वपूर्ण छ ?
हजुर, हरेक विज्ञान र प्रविधिले के उद्देश्य राख्छ भने यसले मानव जीवनलाई सहज बनाओस् । अहिले हामीले विश्वव्यापी समस्याहरू जस्तो जलवायु परिवर्तन आदि भोग्नु परेको छ । अहिलेको जलवायु परिवर्तन मूलतः हामीले यातायात, विद्युत उत्पादन आदिमा बढी कोइला, तेल, ग्याँस आदि कालो धुवाँ निकाल्ने पदार्थको बढी प्रयोग भई हाम्रो जलवायुको अवस्था परिवर्तन हुनु मानिन्छ । हुन त हाम्रो देश, नेपाल यसो हुनुमा खासै जिम्मेवार छैन । तर कस्तो भयो भने यो जलवायु भन्ने चाहिं कुनै सीमामा थुन्न सकिने भएन ।

जस्तो भारतमा किसानले खेतको पराल बाल्छन । त्यसको धुवाँचाहिं नेपाल आएर कालो वर्षाको रूपमा झर्छ । केही वर्ष अघि हामी सबैले कालो वर्षा भएको भोगे देखेकै हो । त्यो हिसाबले यसको असर त सबैतिर पर्छ र मुख्य चाहिं नेपाल हिमालमा भरपर्ने देश अथवा यहाँको पानीको स्रोत धेरैजस्तो हिमालको हिउँ भएकाले जलवायु परिवर्तनले यहाँ पानीको अभाव हुन सक्ने सम्भावना होला । यस्ता सम्भावित समस्याहरूको अध्ययन गर्नु पर्दछ।

अर्कोतिर नेपालले अझै आफ्नो भूगोलअनुसारको दीगो विकासको अवधारणाहरू अबलम्बन गरेको देखिदैन । फलत हामीले बेला–बेला ठुलो–ठुलो क्षति व्यहोर्नु परिरहेको छ । नेपाल सरकारको भू–उपयोग नीति छ जहाँ आवासीय क्षेत्र, औद्योगिक क्षेत्र, व्यवसायिक क्षेत्र, वन क्षेत्र, कृषि क्षेत्र गरी वर्गीकरण गरिएको छ । यसको अर्थ जहाँ अत्यन्त भिरालो छ । उत्पादन हुँदैन त्यसलाई संरक्षित वन क्षेत्र बनाउने र जहाँ बस्न सुरक्षित हुन्छ त्यहाँ बस्ती बसाउने भन्ने हो र यो नै हाम्रो पहाडी देशको उत्तम विकास मोडल हो । यसो हुँदा हामीले हाम्रो सुरक्षित भविष्य निर्माण गर्न सक्दछ । जलवायु परिवर्तनलगायत धेरै किसिमका जोखिमहरू कम गर्न सक्दछौं ।

प्रसंग बदलौं, तपाईं कति सालमा लोक सेवा पास गरेर सेवा प्रवेश गर्नु भयो ? कति वर्ष स्थायी सेवा गरेपछि अध्ययन विदा पाइँदोरहेछ ?
हजुर, मैले लोक सेवा आयोग, धनकुटाबाट २०६९ सालमा सिफारिस भई सरकारी सेवामा प्रवेश पाएँ । बिएस्सी उत्तीर्ण गरेपछि २०७० सालमा सहायक वन अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) मा सफल भएँ । सुरुमा चाहिं अत्यन्त ठुलो कुरा जस्तो लाग्थ्यो तर पछि सकिदोरहेछ भन्ने महसुस भयो । यसको लागि बढी मेहनत र अतिरिक्त मौलिक तरिका, रणनीतीहरू पनि एकदमै महत्वपूर्ण हुने रहेछ ।

त्यसपछि अझ माथिल्लो पदमा पदोन्नति, खुल्ला प्रतिस्पर्धाको लागि स्नातकोत्तर अध्ययन चाहिन्छ । मेरो पनि व्यक्तिगत रूची भएकाले अध्ययनको अवसर खोजें । निजामती सेवा नियमावलीअनुसार ३ वर्ष सेवा अवधी पुगेपछि अध्ययन बिदा लिन पाइन्छ । मलाई यो अवसर पनि प्राप्त भयो र यसमा मलाई सहयोग पुराउनु हुने सबैप्रति आभार व्यक्त गर्दछु।

अब कहिले स्वदेश फर्किनु हुन्छ ? तपाईंको भावी योजना के–के छन् ?
हजुर, अब मेरो अध्ययन २०७८ साउन महिनातिर पूरा हुन्छ । त्यसपछि नियमित वन सेवामै हुनेछ । वन सेवाअन्तर्गत जहाँ पुग्छु त्यहाँको समुदायको सुखको लागि केही गर्ने प्रयत्न रहनेछ । निकट भविष्यमा विद्यावारिधि पूरा गर्ने धोको छ । तत्पश्चात् वन तथा वातावरणसँग सम्बन्धित अध्ययन अनुसन्धान जारी राख्ने सोंच छ । त्यस्तै किरातभित्रका सामाजिक, आर्थिक, वातावरणीय पक्षहरू केलाउन पनि मन छ ।

प्रख्यात कवि रोबर्टफ्रस्टको एक कविताको अंश छ ‘Miles to go before I sleep’  अर्थात् यो शरीर छोड्नुभन्दा अघि धेरै यात्रा गर्नु छ । पश्चिमी दर्शनमा संसार असार छ (Nihilism) भन्दछन् अथवा नत धन कमाउनुको अर्थ छ, नत सन्तान जन्मानुको अर्थछ, नत ख्याति कमाउनुको कुनै अर्थ छ, जीवनको कुनै सार छैन भन्दछन् । दार्शनिकहरूले यसलाई स्विकार्छन् पनि यद्यपि पूर्वीय दर्शनले संसार सार छ भनेर भन्दछ अथवा कर्म र आनन्द नै जीवनको सार हो भन्दछन् । आफ्नो पनि अब स्वान्तसुखाय भनौं अरु, कम्तिमा केही सारपूर्ण कर्महरू गर्ने मेरो प्रयत्न रहने छ ।

फोटो क्याप्सन : थाइल्याण्डको King MongkutÚs University of Technology Thonburi (KMUTT) युनिभर्सिटी हातामा मनाराज राई

नेपाल सरकारका वन अधिकृत श्री मनाराज राईलाई यो इमेलमा सम्पर्क गर्न सकिनेछ : innovative.raiman@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *