संस्मरण : किरात साम्पाङ राई गूङ् पुस्तकको जन्म
२०५९ सालतिरको कुरा हो । धरानमा क्याम्पस पढ्ने सिलसिलामा चन्द्रकुमार बुल्तिङ र म जाति र उसको पहिचानको बारेमा कुराकानी गथ्र्यौं । पहिचानको दस्तावेजहरूमध्ये भाषा मुख्य दस्तावेज हो । भाषाले जातिको संस्कार, सँस्कृति, परम्परा र इतिहासको प्रमाण जुटाउँछ । कुरैकुरापछि हामीले साम्पाङ भाषाको खोज तथा अनुसन्धान गर्ने छलफल ग¥यौं । किनकि त्यो बेलासम्म साम्पाङ भाषाको लिखित शब्दकोश प्रकाशित भएको थिएन । भाषालाई लिपिवद्ध गरी प्रकाशित गर्ने आवश्यकता रहेको महसुस ग¥यौं । त्यो महसुसलाई ठोसमा बदल्ने सल्लाह नै भयो ।
मैले नाम जुराएँ ‘किरात राई साम्पाङ् भाषा संरक्षण समिति ।’ मैले संस्थाको परिकल्पना, पहिचान (लोगो) र छाप पनि बनाएँ । चन्द्रकुमार र मेरो योजनाअनुसार हामी गाउँ जाने तयारी ग¥यौं । तर, म व्यक्तिगत कामले धरानतिरै अल्मलिएँ । चन्द्रकुमार गाउँ जानु भयो । हाम्रा अग्रज दैवकेशर राईसँग फोनमा कुराकानी भएको थियो । चन्द्रकुमार गाउँ पुगेपछि पुर्खाहरूसँग कुरा हुने वित्तिकै वहाँहरूले बाँध लागेको पानी फुटेजस्तै मनको इच्छा फुटाउनु भयो । सबै हौसिएर तुरुन्तै दैवकेशर राईको अध्यक्षतामा समिति बन्यो । मैले कल्पना गरेको ‘किरात राई साम्पाङ भाषा संरक्षण समिति’ नामक पहिलो औपचारिक तदर्थ कार्यसमितिले मुर्त रुप लियो ।
साम्पाङ राई, थर र भाषाको उद्गम थलो तत्कालिन खोटाङ जिल्लाको ४ गाउँ विकास समिति (गाविस) पाथेका, फेदी, खार्तम्छा र बास्पानी हो । हाल विभिन्न ठाउँ या देशमा रहेपनि ठेट साम्पाङ भाषा यही उद्गम थलोमा मात्र भेटिन्छ । त्यसैले भौगोलिक हिसाबले भाषा संकलन गर्न अप्ठ्यारो थिएन । चेतना र जागरूकताको आवश्यकता पूर्ति हुँदै थियो । बरु मौलिक (Authentic) भाषा संकलनमा चुनौती थियो । किनकि पर्वते भाषाको थिचाइसँगै अंग्रेजी भाषाको रहरे प्रवेशले आदिम भाषाहरू जोखिममा परिरहेको छ । भाषिक जोखिमता अपभ्रंश भएर गाउँपिच्छे लवज फरक हुन थालेको छ ।
म दुई महिनापछि मात्र घर पुगें । म गाउँ पुगेपछि पाथेकामा अग्रज दैवकेशर, चन्द्रकुमार र म सल्लाह ग¥यौं । अब भाषा टिपोट गर्दै संकलन सुरू गर्नुपर्छ भनेर । चार गाविसका जानिफकारहरूको भेलामा भाषा टिपोट गर्ने पक्का ग¥यौं । पाथेकाबाट बुद्धिजिवीहरू दैवकेशर राई र छविराज राई, माखम्लाबाट हस्तराम राई तथा पयापुबाट निरकुमार राईको विश्वासिलो बुजु्रक समूह बनाउने निधो भयो । युवाहरू पाथेकाबाट चन्द्रकुमार र म, खोक्माबाट तिलक तथा माखम्लाबाट गीता र जीतमाया राई उपस्थित भयौं । त्यो नौ जनाको भेलाले एउटा जग बस्यो ।
भाषा संकलनको संकल्प पूरा हुने पक्का भएको कुराले ढक्क छाती फुलाएँ, फुलायौं । हामी फेदी कुहुँडाडाँस्थित मधुराज राईको घरमा भेला भयौं । हामीले भाषालाई नेपाली र अंग्रजीमा उल्था गर्ने निर्णय ग¥यौं । साथै, देवनागरी लिपि, किरात लिपि र अंग्रजी लिपिमा लेख्ने पनि निर्णय ग¥यो । बहु भाषा तथा लिपिमा लेख्ने हाम्रो उद्देश्य भनेको, एक– भविष्यमा देशविदेशमा यसलाई भाषिक स्रोतको रूपमा लिन सजिलो होस् । अर्को– भाषाको मौलिकता (Authenticity) कायम रहोस् भन्ने हो । किनकि कति शब्दहरू एकबाट अर्कोमा उल्था गर्दा केही फरक पर्छ र यसले भाषिक मौलिकतामा चुनौती थपिन्छ ।
चार दिन तीन रात लगाएर करिब पच्चिस सय शब्दहरू संकलन तथा टिपोट ग¥यौं । चन्द्रकुमार र मैले कलम र कापी लिएर नेपाली पदावली शब्दहरू लेख्थ्यौं । त्यसको अर्थ अग्रज भाषाविज्ञहरूले भन्नु हुन्थ्यो । हामीले समूहभित्र पर्ने शब्दहरूलाई एकैठाउँ संकलन गर्ने र सामान्य शब्दहरूलाई वर्ण क्रमानुसार संकलन गर्ने भयौं । समूहमा जस्तैः पदहरू, जनावरहरू, चराचुरुङ्गी, हातहतियारहरू इत्यादि ।
हाम्रो संकलन पद समूहबाट सुरू भयो । पहिलो टिपोटको शब्द मैले लेखेको थिएँ, ‘हँ’ । ‘हँ’को अर्थ राजा हो । हामी युवाहरूलाई हरेक शब्दहरू नयाँ लाग्थे । यो मौलिक शब्दहरू र यसको टिपोटले हामीलाई गर्विलो र रमाइलो तुल्याइरहेको थियो । तर धेरैभन्दा धेरै साम्पाङ भाषाहरूमा एउटै शब्दले दुई वा दुईभन्दा बढी बहु अर्थ जनाउँछ । यसरी सुरू गरिएको भाषा संकलन क्रमशः थपिँदै जाँदा लगभग तीन हजार साम्पाङ भाषा शब्दहरू संकलित भए ।
त्यो समय हाम्रा अग्रजहरूको गर्विलो उत्साह तथा ऊर्जाले हामी युवाहरूलाई यति ऊर्जाशिल बनायो कि विश्राम गर्न ध्यानै गएन । छविराज राई सबैभन्दा पुर्खा हुनुहुन्थ्यो र कुविमी काममा पोख्त व्यक्ति पनि । वहाँ संकलन अवधीभर यति ध्यानमग्न हुनु भयो, हामी धन्य भइरहेका थियौं । त्यो अग्रज समूहमा सबै उस्तै दैवकेशर राईसँग ज्योतिष शास्त्रमा उस्तै दखलले अर्को रोमाञ्चक कुरा हुन्थ्यो । हस्तराम राईको लगाव कोही कसैको भन्दा कमी होइन । एक प्रखर साम्पाङ भाषी तथा ऊर्जाशिल व्यक्तित्वले त्यो अवधी हामीलाई टठिलो राख्यो । दुई चेलीहरू भाषा संकलनसँगै खाना पकाउँदै खुवाउनुले हाम्रो भाषा संकलनले एक पक्का कार्य सम्पन्न गरेको थियो ।
अग्रजहरूले भाषा संकलनबीच घरीघरी मुन्धुमको टुक्राहरू पनि फलाक्नु हुन्थ्यो । रिसिया गाउँनु हुन्थ्यो । त्यो मुन्धुमी रिसियामा मानव जाति र उसको सामाजिक क्रियाकलाप वर्णन गरिएको हुन्थ्यो । त्योभन्दा पहिले पनि कति मुन्धुमहरू सुनेका थियौं । र अहिले पनि सुनिन्छ । तर मुन्धुमको अंशहरू अनुसार किरात जातिमा हिंसाको छनक कहीँ भेटिएन । त्यो मुन्धुमहरूले किरात सभ्यता अहिंसात्मक थियो भन्ने भेऊ दिन्छ । तर ती मुन्धुमका अंशहरू संकलन गर्ने सुरसार चाहिं भएन । अब त्यो मुन्धुमहरूको संग्रह गर्ने इच्छा पनि तन्नेरी भएको छ । संकलन जरूरी छ ।
हामी संकलित शब्दहरूको पाण्डुलिपि बोकेर अग्रजहरू दैवकेशर, हस्तराम, चन्द्रकुमार, ङाखमको अग्नीप्रसाद र म सुनसरी लाग्यौं । तरहरास्थित बागमणि राईको घरमा बृहत् भेला भई छलफल भयो । विराटनगरबाट कानुनविद् भलाकाजी राई, शान्तिनगरबाट सुमन थुलुङ लगायतको भेलामा अझ धेरै शब्दहरू थपिएको थियो । तर अंग्रजीमा उल्था गर्ने निर्णय भने रद्ध भयो । अंग्रेजीमा उल्था गर्दा साम्पाङ भाषाको मौलिकता तथा अर्थ नमिल्ने देखिएकोले रद्ध गरियो । यसको अलावा, सुरूमा देवनागरीमा साम्पाङ शब्द, दोस्रोमा किरात लिपिमा साम्पाङ शब्द र अन्तिम देवनागरीमा नेपाली अर्थ लेख्ने निर्णय भयो ।
साथै, ताराजंग र स्व. सर्वधन राईले त्रिभुवन विश्वविद्यालयको लागि तयार पारेका ‘साम्पाङ भाषा लेखन पद्धति’ लेखले पनि भाषा संकलनमा महत्वपूर्ण सहयोग ग¥यो । भाषिक नियम र पद्धतिअनुसार हामीले शब्दकोश निर्माण गर्ने भयौं । साम्पाङ भाषामा देवनागरीको २६ वटा व्यञ्जन वर्णहरू मात्र प्रयोग हुने भेटियो । तैपनि कति शब्दहरू प्रयोगमा नआएका वर्णबाट पनि उच्चारण भएको पाइयो । जस्तैः ढ्याङा । यसको अर्थ हो ‘लट्ठी’ । ‘ढ’ वर्ण प्रयोग नहुने भएकोले यसलाई ‘ध’ सँग शब्द निर्माण गर्ने भयौं । त्यस्तै साम्पाङ लवज भने ह्रस्वभन्दा दीर्घ मात्रा ज्यादा प्रयोग हुने पनि फेला प¥यो । यी तमाम कुरा पत्तालागे पनि सामान्य ढंगले व्यकरणीय कार्यलाई थाती राख्दै शब्दमा केन्द्रित भएर पुस्तक छाप्ने निधो ग¥यौं ।
त्यसपछि अल्फाडेस्कटप पब्लिसिङमा टाइपिङको जिम्मा दियौं । पब्लिसिङमा किरात लिपिबारे मैले सिकाएँ र सुरू भयो हाम्रो भाषाको टाइपिङ । टाइपिङ सकिएपछि छापाखानाको जिम्मा कानुनविद् भलाकाजी राईले लिनु भयो । र, पाण्डुलिपि पुग्यो, राधारत्न ओखलढुंगा छापाखाना, विराटनगर । हामी सबै छुट्टियौं । कोही गाउँ, कोही मधेशतिरै र म काठमाडौं । छापाखानाबाट खबर आयो प्रकाशकीय र सम्पादक मण्डलको विवरण छैन भनेर । भलाकाजी राईले पछि तयार गरी हस्तान्तरण गर्नुभएछ ।
भाषाले पुस्तकाकार पाई छापिइसकेपछि भने म विराटनगर पुगेँ । कानुनविद् भलाकाजी राई र मैले किताब लिएर आयौं । २०६१ साउनमा धरानस्थित किरात राई यायोक्खाको भवनमा विमोचन भयो । त्यसरी त्यो दुई वर्ष साम्पाङ भाषाको ऐतिहासिक अवधी बन्यो । पछिल्लो समय यही ‘किरात साम्पाङ राई गूङ्’लाई स्रोत मानेर नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गत स्थानीय तहमा प्राथमिक विद्यालयको पाठ्पुस्तक पनि तयार भएको छ । पाठ्यक्रमको लागि भाँगुका शिक्षक राजकर्ण बान्तावा लगायत स्थानीय बुद्धिजिवीहरू लागिरहनु भएको छ । व्याकरणले पूर्णरूप पाउने चरणहरू नजिक भएका छन् । यस्तै यो पुस्तकलाई स्रोतको रूपमा थुप्रै शोध तथा अनुसन्धानहरू भएका छन् । यो साम्पाङ भाषीहरूको गर्वको कुरा हो । साम्पाङ भाषाको उपलब्धि हो ।
(लेखक अग्नी साम्पाङ राई हाल अमेरिकाको न्यू योर्कमा कार्यरत हुनुहुन्छ ।)