अन्तरवार्ताः प्राज्ञ धनु याक्खा भन्नुहुन्छ– ‘नेपाललाई धेरै देशसँग कला, संस्कृतिमार्फत् जोड्न सकिन्छ’

कला साहित्य -संस्कृति बिशेष विचार / ब्लग

‘नेपाललाई धेरै देशसँग कला, संस्कृतिमार्फत् जोड्न सकिन्छ’
प्राज्ञ धनु याक्खा, चित्रकार तथा मूर्तिकार

५२ देशको सहभागितामा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी


खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको संयुक्त आयोजनामा २०८० फागुन ५ देखि १७ गतेसम्म मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा सम्पन्न भएको छ । यसअघि नगरपालिकाकाले २०८० असोज १७ देखि २१ गतेसम्म खोटाङको दसवटै पालिकाको भूगोल, जनजीवनलाई समेटेर चित्रकला कार्यशालाको आयोजना गरेको थियो । सोही कार्यशाला अन्तर्राष्ट्रिय कलाकारहरू सहभागी भएर खोटाङको भौगोलिक स्थान, प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, जीवनशैलीलाई लिएर उतारिएका चित्रकला प्रदर्शन गरिएको हो । प्रदर्शनीमा नेपालसहित भारत, चीन, बंगलादेश, भुटान, अस्ट्रेलिया, इजिप्ट, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनामलगायत ५२ देशका ख्यातिप्राप्त कलाकारको सहभागिता रहेको थियो । सबै राष्ट्रपति रामचन्द्र पौडेलबाट सहभागी देशको झण्डासमेत फराइएको चित्रकला प्रदर्शनीको उद्घाटन भएको थियो । प्रधामन्त्री पुष्पकमल दाहाल, खेलकुद मन्त्री डिकबहादुर लिम्बूलगायत विशिष्ट व्यक्तिहरू उपस्थिति रहेको थियो । यही विषयमा रहेर नगरप्रमुख तीर्थराज भट्टराई र प्राज्ञ धनु याक्खासँग सम्पादक गणेश वाम्बुले राईले गरेको कुराकानी प्रस्तुत गरिएको छ । प्रस्तुत अन्तरवार्ता इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष १० अंक ४, पूर्णाङ्क २३ (लिब्जुभुम्जुको ९६औं शृंखला), २०८० माघ–चैत (किरात येले संवत् ३८०३÷सन् २०२४)मा प्रकाशित छ ।

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सम्पन्न भयो । कस्तो भयो ?
यो मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको संयुक्त आयोजनामा सम्पन्न भएको हो । हामीले जति सोचेका थियौं त्यो भन्दा धेरै गुणा नै राम्रो र प्रभावकारी भएको मैले महसुस गरेको छु । जुन किसिमले यसको कार्यशाला दिक्तेलमा भयो त्यसमा साना बालकदेखि ज्येष्ठ नागरिकसम्म बडो उत्साहजनक उपस्थिति रह्यो । हर्षोल्लासपूर्ण उपस्थिति देख्दाखेरी बडो आनन्दको अनुभूति भयो । त्यसले हामीलाई धेरै ठूलो ऊर्जा दिएको छ ।

कति देशको सहभागिता थियो ?
कार्यशालाको बखतचाहिं १४ राष्ट्रका थिए । त्यसमा प्रसिद्ध कलाकारहरू थिए । त्यो कार्यशालामा खोटाङवासीको सद्भाव, त्यो स्वागत, उहाँहरूको न्यानो अभिवादन देखेर विदेशी कलाकारहरू मन्त्रमुग्ध भए । नेपाली कलाकारहरूमध्ये वरिष्ठ कलाकार विजय थापा हुनुहुन्थ्यो । उहाँले यो असी वर्षको दौडानमा मैले यस्तो देखेको थिइनँ भन्नुभयो ।

खासमा यो मुन्दुम नाम नै लिनुपर्ने चाहिं किन, कसरी भयो ?
हामी आयोजकले अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला र प्रदर्शनीको टाइटल राख्ने क्रममा के राख्ने भन्नेबारे धेरै सोच्यौं । ठ्याक्कै यही भन्नेचाहिं फुरेन । हामीलाई चाहिएको शब्द एकदम सटिक, खोटाङ माझकिरातको प्रतिनिधित्व, प्रतिबिम्ब देखिने होस् भन्ने थियो । त्यही क्रममा इतिहास अध्यता भोगीराज चाम्लिङज्यूले मुन्दुम उपयुक्त हुन्छ भन्नुभयो । त्यही नाम सर्वस्विकार्य बन्यो ।
हामीले काम गरेको भूगोले माझकिरात हो । मुन्दुम शब्दले त्यहाँको सामाजिक जनजीवनलाई समेट्छ । सबैको मुखमा टक्क झुण्डिने साँस्कृतिक शब्द हो यो । यो नामले सबै समुदायको भावना समेटिन्छ । सबैको भावना समेटिने, भावनात्मक कुराहरूलाई जोड्ने साझा शब्दको रूपमा हामीले मुन्दुम राख्यौं ।

कार्यशाला असोजमा भयो । दसवटै पालिकालाई समेटिएको भनिएको छ होइन ?
दसैवटा पालिकामा एकैसाथ पुग्न सम्भव भएन । कार्यशाला भनेको त्यसमा पनि लाइभ (प्रत्यक्ष) निश्चित परिधिभित्र रहेर गर्नुपर्ने हुन्छ । त्यसो हुँदाखेरी हामीले दसैवटा पालिकाको प्रतिनिधित्व हुनेगरी कम्तीमा दुइ–तीनटा चित्र बनोस् भन्ने हाम्रो अपेक्षा थियो । त्यो अनुसार बन्यो पनि । एक–दुइटा छुटेको पछि बनाएर समावेश गरियो ।

यो खोटाङमै जानु पर्ने कारण नगरपालिकाले चासो राखेर हो अथवा धनु आर्ट स्टुडियोले भूगोल रोजेर गरेको हो ?
दिक्तेल कला, संस्कृतिको उद्गम थलो पनि प¥यो । मलाई सामुदायगत आधारमा काम गर्दा राम्रो हुन्छ भन्ने लाग्छ । कलाको प्रचारप्रसार हुन्छ । पर्यटन प्रवद्र्धन हुन्छ भन्ने मूल्यमान्यताका साथ मैले काठमाडौं बाहिर कार्यक्रम गरिरहन्थें । मैले मनाङ र तिलिचो तालमा पनि कला कार्यशाला गरेको थिएँ । दिक्तेलमा चाहिं मेयरसाब (तीर्थराज भट्टराई) पनि कला अनुरागी हुनुहुन्छ । उहाँले दिक्तेलमा कला कार्यशाला राख्नुपर्छ भनेर प्रस्ताव गर्नुभयो । छलफल भएपछि मैले हुन्छ भनें । अन्तर्राष्ट्रिय नै गरौं भन्नेभयो । त्यहीअनुसारको तयारी हुँदैगयो ।

विदेशी कलाकारचाहिं कसरी जुटाउनु भयो ?
म नेपालमा जति कलाका क्रियाकलाप गर्छु, त्यो भन्दा बेसीचाहिं विदेशमा गरिरहेको हुन्छु । त्यसो हुँदाखेरी मैले कमाएको, बनाएको गुडविल (सद्भाव) मार्फत् विदेशी कलाकारहरूलाई मैले संयोजन गरेर यहाँ झिकाएको हो । विदेशमा कार्यक्रम गर्दाखेरी उहाँहरूले मलाई निम्तो गर्नुहुन्छ । मैले पनि कलाकारहरूलाई नेपालमा धेरै पटक बोलाइसकेको छु । कला क्षेत्रको सम्बन्धको कारणले उहाँहरूलाई विश्वास दिलाएर, हामीलाई पनि सहयोग पुग्ने भएको हुनाले मैले अनुरोधसहित निम्तो गरेको हो उहाँहरूलाई ।

तपाईं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग कसरी जोडियो भयो ?
मेयर साब (तीर्थराज भट्टराई)सँगको धेरै अगाडिदेखिको सम्बन्ध छ । सम्बन्धकै कारण हो, मुख्य । अरु कारण छैन । उहाँ पनि चित्रकलाको पारखी हुनुहुन्छ ।

कला कार्यशालामा १४ देशका कति जना कलाकारले कतिवटा चित्रकला सिर्जना गर्नुभयो ?
त्यतिखेर १ सय १० वटा जति सिर्जना गरिएका थिए । जम्मा ४३ जना कलाकार थियौं । यो ठूलै भोल्युमको कार्यशाला हो ।

धनु आर्ट स्टुडियोले लामो समयदेखि व्यवसायिक रूपमा मूर्तिकला, चित्रकलाको प्रवद्र्धन गर्दै आएको छ । कलाकार धनु याक्खा मूर्तिकार हुनुहुन्छ भनेर चिनिरहेका छौं । अहिले अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला र प्रदर्शनी नै सम्पन्न गराउनु भयो । यो चित्रकला र मूर्तिकलाको महत्वबारे बताइदिनोस् न ।

मैले चित्रकला र मूर्तिकला दुइटै पढेको हो । म धेरै प्रचारप्रसार गर्दिनँ । उहिलेदेखि नै मेरो अधिकांश क्रियाकलापमा चित्र र मूर्ति दुइटै हुन्छ । अझ धेरै चित्रकै हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा धेरै ठूलठूलो पुस्तकहरू, आर्टका क्याटलगहरू प्रकाशित भएका छन् । हालै युरोपबाट तीनवटा र कोरियाबाट एउटा प्रकाशित भएका छन् । त्यसमा म र मेरो टिमको कला समावेश छन् । त्यो सबै आर्टको इभेन्ट हो । त्यसो हुनाले चित्रकला र मूर्तिकलाको अलिकति माध्यम फरक हो । त्यसको ग्रामर भन्छ नि त्यसको बनाउने तरिका, फन्डामेन्टल कुराहरू एउटै हुन्छ ।

मेरो आफ्नो सिर्जनात्मक कार्य चित्र र मूर्ति दुइटैमा छ । यसलाई व्यावसायिक रूपमा गर्दै आउँदाखेरी आर्जन गरेको दुइचार रुपे कोष जम्मा गरेर देशको कला, संस्कृतिको जगेर्ना गर्ने, पर्यटन क्षेत्रमा अलिकति टेवा पु¥याउने कोशिस गरेको छु । त्यही अनुरुप कलाका क्रियाकलापहरू गर्दै आएको छु ।
चित्रकला र मूर्तिकला देशको अभिन्न अंग हो ।

यसको माध्यमबाट देशको राष्ट्रिय आम्दानीमा धेरै ठूलो टेवा पुग्छ । यो हामीले महसुस गर्न सकिरहेका छैनौं कि जस्तो लाग्छ । गम्भीरतापूर्वक सोच्ने हो भने नेपालको पर्यटनको मुख्य मेरुदण्ड भन्नेबित्तिकै आर्ट एण्ड कल्चर हो । यही आर्ट एण्ड कल्चरमै प¥यो, चित्रकला र मूर्तिकला । धेरै ठूलो महत्व छ, यसको । नेपालको गरिमालाई बढाउन र दौत्य सम्बन्ध स्थापित गर्न पनि चित्रकला र मूर्तिकलाको अहम भूमिका छ । यो सँगसँगै आर्थिक समृद्धिमा पनि धेरै ठूलो योगदान छ ।

म एउटा उदाहरण दिन्छु– अरनिकोले जोडेको सम्बन्ध कुनै कूटनीतिक सम्बन्धले जोडेको सम्बन्धभन्दा प्रगाढ छ, चीन र नेपालको । त्यसैले गर्दा आज विश्वविख्यात रूपमा चर्चित अरनिकोले त्यसरी जोडिराखेका छन् । त्यसै हुनाले नेपाललाई धेरै देशसँग कला, संस्कृतिमार्फत् जोड्न सकिन्छ । विदेशी कलाकारले पनि नेपालको यो क्रियाकलापलाई सम्मानका साथ हेरिरहेका छन् । नेपालमा पनि यस्तो किसिमको कार्यक्रम हुँदोरहेछ, बडो खुसी लागेको छ भनेर गर्वानुभूति गरिरहेका छन् ।

उहिले यो चित्रकला, मूर्तिकला भन्ने चिज राजा, महाराजा, शासकहरूको शानसौकतको विषय हुन्थ्यो । तर मुलुकमा संघीय गणतन्त्रमा बदलिएपछि चित्रकला, मूर्तिकला क्षेत्र सर्वसाधारण नागरिकको विषय बन्दो छ । यसलाई तपाईं कसरी परिभाषित गर्नुहुन्छ ?
बडा राम्रो कुरा उठाउनु भयो । हिजोचाहिं राजा, महाराजा र केही प्रतिष्ठित व्यक्तित्वहरूले नै यसलाई संरक्षण गर्दै, हुर्काउँदै, सपोर्ट गर्दै आएका हुन् । वहाँहरूको त्यो हार्दिकतालाई पनि हामीले सम्मान गर्नुपर्छ । त्यो नभइदिएको भए आज यो स्थितिमा आउने थिएन । अहिलेको समय कालखण्डमा आइपुग्दै गर्दा चित्रकला, मूर्तिकला सर्वसाधारणको दैलोसम्म पनि आउने क्रम जारी छ । त्यो सहजता संघीयता गणतन्त्रको देशमा ठूलो योगदान छ ।

धातु वा सिमेन्टका मूर्तिकला धेरै टिकाउ होला । तर यो चित्रकला त चाँडै नास हुनसक्छ । त्यो संरक्षण चेतना हामीसँग छ कि छैन ?
यो खालको संरक्षणको कमी छ । यसको सम्बन्धित विज्ञको कमी छ नेपालमा । हावापानी, राख्ने उचित, अनुकुल किसिमको ठाउँ नहुँदाखेरी संरक्षण जोखिमै छ । त्यसको लागि हामीले सम्बन्धित निकायबाट सावधानी अपनाउनु पर्ने हुन्छ । त्यसले गर्दाखेरी सयौं वर्षसम्म टिक्नु पर्ने चित्रकला प्रतिकुल अवस्थाका कारणले चाँडै नास हुनसक्छ ।

यसपालिको चित्रकला प्रदर्शनीमा कति सय चित्रकला राखिएका थिए ?
यसमा २ सय १३ थान चित्रकला राखिएका थिए । त्यसमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड र खेलकुद मन्त्री डिकबहादुर लिम्बूले एउटा–एउटा बनाउनु भएको छ । त्योसमेत २१६ वटा चित्रकला छन् । यी चित्रकलाहरूमध्ये केही थानचाहिं कलाकारलाई फर्काउनु पर्ने हुन्छ । बाँकी दिक्तेलमै लगेर मुन्दुम अन्तर्राष्ट्रिय संग्रहालयको निर्माण गरेर राखिनेछ । यसलाई राष्ट्रको आर्थिक समृद्धिसँग जोड्न सकिन्छ । र विश्वभरि छरिएर रहेका खोटाङ्गे मनहरूलाई पनि एकीकृत गर्दै त्यहाँको आम समुदायको भावना समेटिने खालको संग्रहालय बन्छ ।

संग्रहालयमा राखिने यी चित्रकलाका सर्जकलाई के दिन्छौं कि नाममात्र रहन्छ ?
यहाँ सहभागी कलाकारको व्यक्तिगतभन्दा पनि देशको सम्पदा निर्माणमा दिएको योगदान हो । उहाँहरूको नाममात्र रहन्छ । उहाँहरूको गरिमामय उपस्थिति र सहयोग अपेक्षा रहेकोछ भनेर अग्रिम जानकारी अनुरोध गरिएको छ ।

चित्र र मूर्तिकलाको विस्तारले पचास वर्षपछि कस्तो रूप हुनसक्ला ?
यही गतिमा हो भने पचास वर्षपछि हाम्रो देश पनि सबै त म भन्दिनँ केही युरोपियन देशहरूभन्दा पनि अघि बढ्छ । किनभने कला, संस्कृतिमा अहिले पनि कम छैन । विश्वमै एउटै कुरामा प्रतिस्पर्धा गर्न सक्छौं भने त्यो कला क्षेत्र हो । त्यो पनि आधुनिक कला होइन, हाम्रो परम्परागत कलालाई लिएर प्रतिस्पर्धा गर्न सक्छौं । परम्परागत कला भनेको परापूर्वकालदेखि स्वतस्फुर्त रूपमा गर्दै आएको जनजीवन झल्किने चित्रकला होस् या मूर्तिकलाहरू, उत्कृष्ट कलाहरू छन् । महत्व नबुझेर हामीले कम ध्यान दिएको मात्र हो ।

अहिलेसम्म मुन्दुमसँग सम्बन्धित मूर्ति, प्रतिमा कहाँ कहाँ बनाउनु भएको छ ?
वाम्बुले राई समाज, नेपाल (वाम्रास)को परिकल्पना र अगुवाइमा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं. ३ वामद्यालमा एउटा ऐतिहासिक रूपमा स्वालेवा पार्क बनेको छ । सम्भवतः नेपालकै नमुना हो यो । हाम्रो टिमले बनाएको हो । हलेसीको ऐतिहासिक स्थल तायचुमजायजुममा मैले बनाएको तायामा र खियामाको प्रतिमा रहेको छ । रैछाकुलेचाहिं अर्को साथीले बनाएको छ । मैले बनाएको रैछाकुलेचाहिं हलेसी अलिक पर चिचिङ्गामा राखिएको छ ।

दिक्तेलमा १०० फिटको पहिलो किरात राजा यलम्बर हाङको प्रतिमा बन्दैछ । तपाईंले नै बनाउदै हुनुहुन्छ होइन ?
यलम्बरको प्रतिमा प्रदेश सरकार र स्थानीय सरकारको पहलमा बन्दैछ । मैले अगुवाइ गर्ने पर्ने परिस्थिति आयो । कतिपय ठाउँमा संस्थागत रूपमा बनाइएका छन् ।

समुदायलाई यो चित्रकला, मूर्तिकलाको महत्व बुझाउन के गर्न सक्छौं ?
सुरुमा बुझ्नु पर्ने गुणस्तर भन्ने कामको आधारमा हुन्छ । अर्को मेटेरियल्सको आधारमा हुन्छ । मेटेरियल्सचाहिं राम्रो छैन, काममात्रै राम्रो भएर पनि टिकाउ हुँदैन धेरै । त्यसैले हामीले निर्माण गर्न खोजिरहेका चिजहरू, जसले हाम्रो पहिचान, संस्कृतिलाई चिनाउँछ । स्थापित गर्छ । त्यो चिजहरू मूल्यवान बनाउन हामीले एक नम्बरमा मेटेरियल्स पनि राम्रो छान्नुपर्छ । दोस्रो कामको प्रकृतिलाई हेरेर गुणस्तरलाई ध्यान दिनुपर्छ । अर्को, कुरोचाहिं यो चिजले हाम्रो समुदायमा भावनात्मक एकता कसरी देखाउँछ भन्ने बुझ्न जरुरी छ । हामीले बुझाउन जरुरी छ । त्यसो हुँदा भावना, कर्तव्य र मेटेरियल्स छान्यौं भनेचाहिं त्यसले युगौं युगसम्म पछिको पुस्तालाई नासोकै रूपमा रहन्छ । पुर्खाले यसो गरेका थिए भनेर सन्देश जान्छ । पुस्ता हस्तान्तरणमा महत्व राख्छ ।

अन्तर्राष्ट्रिय मुन्दुम चित्रकला प्रदर्शनीको अवलोकन कतिले गर्नुभयो ?

धेरै संख्यालाई गन्ती गर्न कठिनाइ भयो । हामीले आएका केहीको रेकर्ड पनि राखेका छौं । करिब १२–१३ हजार जनाले प्रदर्शनको अवलोकन गरे । उता खोटाङको कार्यकाशालामा त हजारौं संख्यामा उपस्थित थिए ।

यसले कस्तो सन्देश दिने ठान्नु भएको छ ?
हामी स्वदेशीहरूको हकमा चाहिं हामीले यस्तो चिज बनाउँदै जाँदा, आयोजना गर्दै जाँदा यो ललितकला क्षेत्र पनि राष्ट्रिय समृद्धिको एउटा महत्वपूर्ण अंग रहेछ भन्ने बुझाइ हुनुप¥यो पहिलो नम्बर । दोस्रो नम्बर, हामीले यो चिज बनाउँदै गर्दा, देखाउँदै गर्दा भावनाचाहिं एक हुनुपर्छ । हाम्रो देशको लागि हो भन्ने सन्देश जानुपर्छ र गएको पनि छ । यसले हामी सबै नेपालीलाई गोलबद्ध राख्ने सकारात्मक भावना निर्माण गर्छ ।

र विदेशीहरूको हकमा नेपालमा यस्तो कार्यक्रम हुँदोरहछ । यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा गौरव अनुभूति गरेका छौं । हामी पनि यस्तो किसिमका कार्यक्रमहरू आफ्नो ठाउँमा गर्छौं भनेर युरोप, चाइना लगायतका देशका प्रतिनिधिले भन्दाखेरी मलाई बडो गर्वानुभूति हुन्छ । किनभने हाम्रो नेपालमा विदेशभन्दा राम्रा चिज पनि भएका हुन्छन् । यसले थप ऊर्जा मिलेको छ । एक नागरिकको हैसियतले अन्तर्राष्ट्रिय जगतमा यो सन्देश दिन पाउँदा नेपालको गरिमा, प्रतिष्ठा बढाउने काम गर्न पाउँदा बडो खुसी लाग्छ ।

यसपालिको सिर्जना कलामा मूर्तमात्र कति समेटिएको छ ?
खोटाङ दिक्तेलको दसै पालिका झल्किने चित्रहरू निर्माण गर्ने लक्ष्य थियो । अधिकांश त्यही चित्र छन्, ल्याण्डस्केप टाइपका । कलाकार छनोट गर्दा पनि त्यस्तै विधाकालाई छनोट गरेको थिएँ । मेयर साब र हाम्रो एउटै उद्देश्य कसरी हुन्छ दिक्तेललाई, नेपाललाई अन्तर्राष्ट्रियकरण गर्ने । नेपाली कलालाई अन्तर्राष्ट्रिय जगतमा कसरी पु¥याउने र स्थापित गर्ने ।
नेपाली कलाकारलाई, विदेशी कलाकारलाई जोड्ने । नेपालको सम्बन्ध स्थापित गर्ने । कला, संस्कृतिका माध्यमले त्यहाँ उनीहरूसँग भएका ज्ञान, सीप, प्राविधिक, सांस्कृतिक कुराहरू कसरी आदानप्रदान गर्ने भन्ने रह्यो । त्यो अन्तर्गत हामीले ‘लाइभ अन द स्पट’ (स्थलगत रूपमा प्रत्यक्ष) कार्यशाला दिक्तेलमा आयोजना गरेर चित्र बनाएको हो ।
दोस्रो चरणमा काठमाडौंमा चित्रकला प्रदर्शनी तय गरिसकेपछि एकाध एबस्ट्रयाक्ट (अमूर्त) कला पनि समेटिएका छन् । केही चित्र रियलिस्टिक भएतापनि उनीहरूकै ठाउँको चित्र पनि छन् । सांस्कृतिक आदानप्रदानका निम्ति केही उनीहरूकै ठाउँका राखिएका हुन् । त्यसले फरकपना आउँछ । दौत्य सम्बन्धलाई प्रगाढ बनाउने काम गरेको छ । चित्रकला प्रदर्शनीले नेपालमा यस्तो हुन्छ भनेर सम्बन्ध विस्तारमा प्रवाह प्रदान गरेको छ ।

प्रदर्शनीमा राखिएका चित्रकलाहरू कुन–कुन ठाउँ चिनाउँछ ?
ओखलढुंगा र खोटाङ जोडिने संगमस्थल जयरामघाटको भौगोलिक अवस्थिति, दुधकोसीमा निर्मित पुलसहितको चित्र भियतनामी कलाकारले चित्र कोरेका छन् । त्यसपछि बोजेओढार, हलेसीको रक गार्डेन, केपिलास गढी, महाभीर, दिप्रुङ गाउँपालिका, साकेला गाउँपालिका, दिक्तेल बजार, रावाबेंसी, जन्तेढुंगा छन् । ऐतिहासिक एउटै ढुंगाको कारण जन्तेढुंगा गाउँपालिकाको नाम रहेको छ ।
ऐतिहासिक मूल्यमान्यता बोकेको मनोरम स्थलहरूलाई हामीले चित्रमा उतारेर त्यसको महत्व बढाउने प्रयास गरेका छौं । त्यो चित्र बनाउँदै गर्दा देख्ने सर्वसाधारणले हामीले देख्दा त सामान्य लाग्थ्यो त्यो दृश्य, चित्रमा उतार्दा त बडो भव्य देखिदोरहेछ भन्ने टिप्पणी छ । एउटा संयोग त्यो दिक्तेल बजारको चित्र हेर्दैगर्दा ‘यो अगाडिको सेतो घर र पछाडिको निलो घर, यो घर त मेरै घर हो आहा’ भन्नु भयो । बडो खुसी भएर जानुभयो । त्यसले गर्दा सबैलाई हाँसो छाउँने काम गरेको छ ।

अबको योजना के छ ?
धनु आर्ट स्टुडियोको संयुक्त आयोजनाचाहिं कमै हुन्छ । म त्यति धेरै पनि रुचाउँदिनँ । दिक्तेलको मेयर साब असाध्यै गम्भीर, मिहिनेती, आफैं लेबरजस्तो भएर काममा खटिनु हुन्छ । कला अनुरागी, आफैं पेन्टर भएको हिसाबले संयुक्त आयोजना गरिएको हो । मैले स्पोन्सर लिएर अहिलेसम्म काम गरेको छैन । धनुले फाइदा यसैमा लिन्छन् भन्नसक्छन् । कसैले यसरी गरौंनत भन्छन् भने गर्न सकिन्छ । तर म कसैलाई कन्भिन्स गरेर, लोभलालच देखाएर, प्रभाव पारेरचाहिं गर्दिनँ ।
मेरो एउटै उद्देश्य मेरो सानो प्रयासले ललितकला विधाको सपोर्ट पु¥याउन सकौं । देशलाई चिनाउने केही काम गर्न सकौं भन्ने छ ।
चित्र र मूर्ति बेचेर संकलन गरेको कोषले राष्ट्रिय, अन्तर्राष्ट्रिय चित्रकला, मूर्तिकलाको आयोजना गर्दैआइरहेको छु । नेपाल, दक्षिण कोरिया, युरोपको विभिन्न ठाउँमा आयोजना गर्दै आइरहेको छु । अर्को वर्ष २० वटा देशको चित्रकला कार्यशाला आयोजना गर्ने योजना छ । केही योजना छन् । अमेरिका, युरोपको केही देश र दक्षिण कोरियामा मेरो चित्रकला प्रदर्शनी गर्ने योजना बनिसकेको छ । मेरी श्रीमती र मेरो सोलो प्रदर्शनीको तयारीमा छौं । चाइनामा समय मागिरहनु भएको छ, दिन सकेको छैन ।

तपाईंका जीवनसाथी बिनिता इजम याक्खा, जो कलाकार हुनुहुन्छ, उहाँसँग जीवनयात्रासँगै कति देशमा कला प्रदर्शनी गर्नु भएको छ ?
वैवाहिक जीवनको अठारौं वर्ष भयो । पारिवारिक रूपमा भ्याएसम्म हामी सँगै जान्छौं, स्वदेश र विदेशमा । नभ्याएको बखतमा कहिलेकाही पालो गर्छौं । एक वर्ष बिराएर उनी जान्छिन् । यो वर्ष जाँदैछिन् । र, हाम्रो दुई छोरा छन्– जेठो नुकेन याक्खा र कान्छो नामबिन याक्खा । दुवैजनाले आर्ट राम्रो गर्छन् ।

यो प्रदर्शनीमा कति देशका कति जना कलाकारका कति चित्रकला रह्यो ?

यो प्रदर्शनीमा ५२ देशका १ सय ३७ जना कलाकार सहभागी रहेका थिए । नयाँ पुस्ताको १०–१५ जना थिए । कतिपयले वरिष्ठमात्रै किन राखिएन भनेर सोधे । म गाउँबाट आएको मान्छे । त्यस्तो धेरै ठूलो कुरा नसोचिकन भूइँतहकै सोचिरहेको हुन्छ । त्यसो हुनाले अहिलेका युथहरू भोलि वरिष्ठ हुनेछन् । हाई क्वालिटीका कलामात्रै १० जना राखेर के गर्नु, हामी नयाँ पुस्तालाई पनि प्लेटफर्म दिनुपर्छ । हौसला दिनु पर्छ नि । त्यसकारण उनीहरूलाई के अनुभूति होस् भने नेपालका दिग्गज, विश्व प्रसिद्ध कलाकारहरू पनि चिन्ने मौका पायौं । चित्रकला प्रदर्शनीका माध्यमबाट भेट्ने मौका पायौं । देशको संरक्षक अभिभावक राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीसँग भेट्ने मौका पायौं भन्ने आम युवा जनमानसमा पनि त्यो सन्देश जान्छ । केही क्वालिटीका पक्षलाई बिर्सिदिएर नयाँ पुस्ताका सिर्जनालाई प्रदर्शनीमा सहभागिता गराएका छौं ।

अन्तमा, पाठकहरूलाई के भन्नुहुन्छ ?
उहाँहरूलाई के अनुरोध गर्छु भने सबैले आफ्नो आफ्नो ठाउँबाट प्रयास गर्ने हो । हामीले कला संस्कृतिमार्फत् प्रयास गरेका छौं । यो कुरालाई सकारात्मक रूपले बुझिदिनु होला । छरछिमेकमा साथी, भाइ–बहिनी, छोरा–छोरी, भतिज–भतिजी कोही कलाकार छ भने यो कला क्षेत्र एकदम सुरक्षित क्षेत्र छ । यो सिर्जनाको कुरा हो । यो क्षेत्रलाई माया गरिदिनुहोस् । अनुत्पादक क्षेत्र हो । कामै छैन भनेर त्यसरी नबुझिदिनु होला भनेर अनुरोध गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *