गगन राईको डायरी अंश : २०७७ साललाई फर्केर हेर्दा

विचार / ब्लग

२०७७ साललाई फर्केर हेर्दा

गगन राई

 

हरेक व्यक्तिको व्यक्तिगत दैनिकी व्यतित भइरहन्छ । मलाई त लाग्छ हरक्षण हर समय धैर्यवान, इमान्दार, अनुशासित र मिहेनति बनेर सत्कर्म गरेपछि मात्र उपलब्धीहरू प्राप्त गर्न सकिन्छ । अर्को कुरा रह्यो नर्या वर्षको । उही घाम, उही जून, उही दिन, उही रात । उही आकाशमुनि उही मान्छे उही संसार । नयाँ आखिर के भइदिएर नयाँ वर्ष भनिएको हो ? मेरो विचारमा नयाँ वर्ष एउटा अनुभूति हो ।

एक स्रष्टाको हैसियतले मैले व्यतित गरेको २०७७ सालको समीक्षा र उपलब्धिका केही बुँदाहरू उतार्दैछु, जुन मेरा आँखामा छाइरहेका छन् । वितेका वर्ष भन्दा २०७७ मेरो जीवनमा पृथक भइदियो । यो वर्ष मेरो जीवनमा केही महत्वपुर्ण अनि सम्झन लायकका घटनाहरू घटे । जुन दुखद होइन सुखद बने । कोरोना कहरको यो वर्ष मलाई एउटा अवसर नै भइदियो । त्यसैले मेरो जीवनका ती घटनालाई डायरीको पन्नामा सिमित राख्न मनले मानेन । चुनौतीभित्र अवसर पनि हुन्छ भन्ने मैले पाएको व्यवहारिक ज्ञान बाँड्न चाहेको छु । घटनाक्रम निम्नानुसार छन् :

१. २०७७ असोज ९ : म अध्यापनरत श्री छात्र प्रगति मा.वि. भदौरे, चिशंखुगढी गाउँपालिका–६, ओखलढुंगाको नयाँ व्यवस्थापन समिति गठन हुँदाशिक्षक प्रतिनिधिको रूपमा निर्विरोध निर्वाचित भएँ ।

२. २०७७ असोज १७ : साहित्यिक पेज व्यञ्जन डट कमले मेरो ‘ताराझैँ बिलाएर गयौ ..’ शीर्षकको कविता वाचन गरी भिडियो युट्युव च्यानलमा राखिदियो ।

३. २०७७ असोज २८ : सामाजिक तथा साँस्कृतिक जागरणका लागि ‘विश्वव्यापी छैटौँ अनलाइन यलम्बर संगीत प्रतियोगिता–२०७७’ मा भाग लिई उत्कृष्ट ५० मा छनौट भएँ । प्रतियोगीतामा विश्वभरिका १० देशबाट २ सय १३ जना प्रतियोगीहरू सहभागी भएका थिए । प्रतियोगितामा मैले वरिष्ठ गायक तथा संगीतकार जितेन राईको ‘चिम्सो आँखा थेप्चो नाक ..’ बोलको गीत गाएको थिएँ ।

४. २०७७ असोज २९ : चिशंखुगढी गाउँपालिका, गाउँपालिकाको कार्यालय, शिक्षा युवा तथा खेलकुद शाखा, सेर्ना, ओखलढुंगाले गाउँपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूमा रिक्त हुने शिक्षक दरबन्दीमा करार शिक्षक पदपूर्ति गर्ने प्रयोजनका लागि चिशंखुगढी गाउँपालिकाको शिक्षा (पहिलो संशोधन) नियमावली, २०७६को नियम ५४(४) बमोजिम विषय विशेषज्ञ सूची तयार गर्ने प्रयोजनको लागि आधारभूत तह (निम्न माध्यमिक) को अंग्रेजी विषयको विषय विशेषज्ञमा सूचीकृत भएँ ।

५. २०७७ कातिक ८ : साहित्यिक पेज ग्रुप व्यञ्जन डट कमले मेरो ५ वटा मुक्तक वाचन गरी आफ्नो युट्युब च्यानलमा राखिदियो । मेरा ती मुक्तक यस्ता थिए :
क)
मान्छेले मान्छेलाई नै किन नचिनेको होला
अनि मानवीय मन र सम्बन्ध छिनेको होला
आजकल म सोची बस्छु मेरो देशका नताले
आत्मा बेचेर किन इज्जत किनेको होला ?
ख)
दुई चार दिन तिमीसँगै जिएर खै के पाएँ
मेरो तन अनि मन दुवै दिएर खै के पाएँ
टुटाएर सम्बन्ध आखिर गयौ नौडाँडापारि
आजसम्म पनि तिमी सम्झिएर खै के पाएँ ?
ग)
सन्ध्यामा घाम डुबेको देखेको छु मैले
प्रभातमा जुन निभेको देखेको छु मैले
कसैले बैँस र पैसामा घमन्ड नगर्नू
फुलेपछि फूल झरेको देखेको छु मैले ।
घ)
बधाहरूको भेल तर्छु देशको लागि
अरु के गर्नुपर्छ गर्छु देशको लागि
मेरो देश नै नरहे म कसरी रहन्छु
त्यसैले म मर्नै परे मर्छु देशको लागि ।
ङ)
जिन्दगीको आकाशमा जूनझैँ खुलिदिए
समाई तिमीले मेरा हात सँगै डुलिदिए
संसारकै भाग्यमानी ठान्ने थिएँ आफूलाई
मेरा सुख अनि दुखमा रंगझैँ घुलिदिए ।

६. २०७८ कातिक १८ : शिक्षण पेशा सुरुवातको एक वर्षे परीक्षण काल पूरा गरेँ ।

७. २०७७ कातिक २५ : म अध्यापनरत विद्यालयको प्रधानाध्यापक शंकरप्रसाद कोइरालालाई सरुवा गराई अन्तै पठाइएको पत्रानुसार वि.व्य.स. तथा शि.अ.सं. को बैठकको निर्णयले मलाई निमित्त प्रधानाध्यापकमा सिफारिस गर्यो ।

८. २०७७ कातिक २६ : चिशंखुगढी गाउँपालिकाले उक्त सिफारिस पेश गरेपछि मौखिक रूपमा आधिकारिकता दियो ।

९.२०७७ कातिक २७ : विद्यालयको भौतिक अवस्थाअन्तर्गत फर्निचरको अभाव महसुस गर्दै तत्काल ३० जोर डेस्क बेन्च व्यवस्था गर्न आर्थिक सहयोगको लागि ६ नं. वडा कार्यालय भदौरेमा अनुरोध गरेँ । केही हप्तापछि कार्यालयले फलामे डेस्क बेन्च निर्माण गर्न रु. १,५०,००० (एक लाख पचास हजार रुपैयाँ) बजेट विनियोजन गरिदियो । उक्त रकमले २० जोर फलामे डेस्क बेन्च निर्माण गरी विद्यार्थीहरूलाई सहजता प्रदान गरियो ।

१०. २०७७ कातिक २९ : किरात राई साँस्कृतिक कलाकार संघ जिल्ला कार्यसमिति खोटाङ र काठमाडौंले आयोजना गरेको ‘जनगणनामा किरातीहरूको अवस्था र अबको बाटो’ विषयक खुला राष्ट्रिय निबन्ध लेखन प्रतियोगीता– २०७७ मा तृतीय पुरस्कार (नगद तीन हजार रुपैयाँ) र प्रमाणपत्र हासिल गरेँ । देश तथा विदेशबाट प्रतियोगीहरू सहभागी थिए ।

११. २०७७ मंसिर ७ : स्वयंसेवी अभियान नेपाल, सिद्धिचरण नगरपालिका तथा चिशंखुगढी गाउँपालिकाले आयोजना गरेको ५ दिने समुदायसँग साझेदारी कार्यक्रम अन्तर्गत तलुवा र ठुलाछाप वडाका १० वर्षे आवधिक योजना निर्माण कार्यशाला गोष्ठीमा सहभागी भएँ । विकास र योजना बारेमा धेरै कुरा सिक्ने मौका मिल्यो । कार्यशालाको अन्तमा सिद्धिचरण नगरपालिकाका नगर प्रमुख मोहन कुमार श्रेष्ठ र चिशंखुगढी गाउँपालिकाका प्रमुख निशान्त शर्माको हातबाट प्रमाण पत्रबाट सम्मानित भएँ ।

१२.२०७७ मंसिर १५ : (नोभेम्बर ३०, २०२०) साहित्य विशेष साहित्यिक पेज अन्तर्गत साप्ताहिक पाँच गजल प्रतियोगीतामा रोल्पा जिल्लाका सौगात पुन मगर, सहयात्री रविन कुलुङ, धनगडीका पुष्प चयडा क्षेत्री र ओखलढुंगा जिल्लको मेरो गजल उत्कृष्टभित्र पर्न सफल भयो । मेरो गजल यस्तो छ :

लड्नुपर्छ देशको लागि महान वीरले भन्यो
बचाऊ मलाई त्यो सगरमाथा शिरले भन्यो

थोपा रगत रहेसम्म लड अस्तित्वको लडाइँ
पर्दा साथ दिन म तयार छु तीरले भन्यो

जीवन यात्रा हो कहाँ टुंगिन्छ थाहा हुँदैन
हिँड्दा घुम्तीहरू आउँछन् मुसाफिरले भन्यो

आजैदेखि त्यागिदेऊ लोभ र स्वार्थ तिमीले
दरबार र धन दौलत त्यागेको फकिरले भन्यो ।

१३. २०७७ मंसिर १९ : मुक्तककार सन्तोष अम्गाईले आफनो लाइभ युट्युब च्यानलबाट वाचन योग्य ठानी मेरो एउटा मुक्तक वाचन गरिदिनुभयो । मुक्तक यस्तो छ :

दिएर आँसु आँखामा ढलपल ऊ गएको छ
बनाएर जिन्दगी यो हलचल ऊ गएको छ
गएपछि सारा अवशेष लिएर गए हुन्थ्यो
छाडेर उसको यादको तलतल ऊ गएको छ ।

१४. २०७७ मंसिर २० : वाम्बुले राई समाज, नेपाल (वाम्रास) को २३औ स्थापना दिवसको अवसरमा आयोजित २२औँ वाम्बुले राई भाषा अनलाइन कविता प्रतियोगीतामा अतिथिको रूपमा सहभागी भएर ‘पुछार कुड्ले आः पाचि’ शीर्षकको मेरो कविता वाचन गरें ।

१५. २०७७ मंसिर २१ : सोलु एफ.एम.को एक साहित्यिक कार्यक्रममा मेरो मुक्तक वाचन भयो । मुक्तक यस्तो थियो :

कहिले भरिनु अनि कहिले रित्तिनु पर्ने रैछ जिन्दगीमा
कहिले जम्नु अनि कहिले पग्लिनु पर्ने रैछ जिन्दगीमा
जोसँग अनन्त अनन्त सम्मलाई नजिक हुन चाहन्छौँ
उसैसँग सँधै सँधैको लागि टाढिनु पर्ने रैछ जिन्दगीमा ।

१६. २०७७ मंसिर २२ : मुक्तक विशेष साप्ताहिक रेडियो कार्यक्रम मुक्तक माधुरीको १२२औँ शृंखलामा मेरो एउटा मुक्तक उत्कृष्ट १५ मा छनौट भएर वाचन भयो । मुक्तक यस्तो थियो :

मेरो यो तक्दिरमा सायद हारै हार छन्
त्यसैले त पाइलै पिच्छे छेक बार छन्
आजसम्म एउटै सपना पूरा भा’को छैन
कसरी पूरा गरौँ सपनाहरू हजार छन् ।

१७. २०७७ पौष ९ : साहित्य विशेष साहित्यक ग्रुप पेजद्वारा आयोजित तिहार विशेष मुक्तक प्रतियोगितामा मेरो मुक्तक उत्कृष्ट १० मा छानियो । मुक्तक यस्तो थियो :

पार्नलाई झिलिमिली गाउँ र सहर तिहार आउँदैछ
पुर्याउँनलाई रम्ने र रमाउँने रहर तिहार आउँदैछ
फूलमाला र टीकामा सजिएर देउसी भैलो खेल्न
खुशी अनि उमंगको बोकेर लहर तिहार आउँदैछ ।

१८. २०७७ पौष ११ : साहित्य विशेष साप्ताहिक रेडियोे कार्यक्रम मुक्तक माधुरीको १२४औँ शृंखलामा मेरो मुक्तक उत्कृष्ट दोस्रोमा पर्न सफल भएर सम्मान पत्र प्राप्त गरें । मुक्तक यस्तो थियो :

तिमीले फकाउँदैमा मन्जुर म कसरी हुन्छु
अनि डर देखाउँदैमा थुरथुर म कसरी हुन्छु
म त यो देशको भूमिपुत्र अनि आदिवासी हुँ
तिमीले मलाई लघार्दैमा दूर म कसरी हुन्छु ।
कार्यक्रम सञ्चालक रामप्रसाद सुवेदी ‘संगम’ र मुक्तक छनौट समिति संयोजक मुक्तककार दिनेश धामी हुनुहुन्थ्यो ।

१९. २०७७ पौष १२ : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले मेरो मातृभाषा वाम्बुले राई भाषाको मुक्तक संग्रह ‘छ्वाङल्याक’ कृति प्रकाशन गरी विमोचन गरिदियो । सो समारोहमा प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, किरात राई यायोक्खाका अध्यक्ष दिवस राईलगायतले विभिन्न १४ मातृभाषाका कृति सार्वजनिक गरेका थिए ।

२०. २०७७ पौष १३ : सगरमाथा मुक्तक मञ्चले ‘स्रष्टाको सम्मान नवोदितलाई प्रोत्साहन, मुक्तकको उन्नयनमा हाम्रो अभियान’ भन्ने भावनाले मेरो एउटा मुक्तकको लागि मलाई सप्रेम मायाको चिनो प्रदान गर्यो । मुक्तक यस्तो थियो :

जहाँ पनि ठूला र ठालुका हात देख्दा पीर लाग्छ
अनि स्वार्थी र जालीका जमात देख्दा पीर लाग्छ
बगरमा दिनरात गिटी कुट्नेहरू भोक भोकै छन्
कामै नगर्नेको मुखमा मासुभात देख्दा पीर लाग्छ ।

२१. २०७७ पौष २५ : मुक्तक विशेष साप्ताहिक रेडियो कार्यक्रम मुक्तक माधुरीको १२६औं शृंखलामा मेरो मुक्तक उत्कृष्ट १५ मा छनौट गरी वाचन भयो । मुक्तक यस्तो थियो :

जिन्दगीको सफर त्यति सजिलो हुन्न रैछ
सोचेको र भनेको जति सजिलो हुन्न रैछ
हिंड्नु रैछ काँडा टेकेर अनि डाँडा उक्लेर
ओरालो झरेजस्तै अति सजिलो हुन्न रैछ ।

२२. २०७७ चैत्र २ : ओखलढुंगाबाट प्रकाशन हुने ओखलढुंगा न्युज डटकम अनलाईन पत्रिकाले मेरो ‘नासो’ शीर्षकको कविता प्रकाशन गरिदियो ।

जीवन यात्रा निरन्तर छ । जिउन त छँदैछ । शिक्षणका माध्यमबाट देश सेवा जारी छ । एक सामाजिक साहित्यिक प्राणी हुनुको नाताले समाजमा व्याप्त विकृति, विसंगतिप्रति कलमको निबले फणा उठाइरहने छ । वाम्बुले राई मातृभाषा, साहित्य, संस्कृतिको उत्थान र श्रीवृद्धिमा प्रयास जारी रहनेछ । धन्यवाद ।

मानेभन्ज्याङ गाउँपालिका–६ हिलेपानी, ओखलढुंगा ।

 

 

Leave a Reply

Your email address will not be published.