घुन्सा दुर्घटनाको १५औं स्मृति : गोपाल राईको जीवनी
लेखबहादुर राई
पारिवारिक पृष्ठभूमि
नेपालको इतिहासमा वर्णित पल्लो किरात, माझ किरात र वल्लो किरात प्रदेशको विशेषता आ–आफ्नै छन् । तात्कालीन वल्लो किरातमा अहिलेको ओखलढुंगा जिल्ला पनि पर्दछ । यस जिल्लामा चिसंखु, च्यानाम, रुम्जाटार र तलुवा आदि ठाउँहरुमा पहिले किरातीहरूको किपट अर्थात् मौजा थियो । च्यामाजितीको मौजालाई च्यानम, रुङबुढाको रुम्डाटार (हालको रुम्जाटार), तोलो राईको मौजा तलुवा भनिएको भनाइ पाइन्छ । तोलोका सन्तान तोलाचा भएर अर्थात् किरात बाहिङ राईको एक उपथर बन्न पुगेको छ । तोलो किरातहरुको सन्तानमध्ये नवलसिंह राई अहिलेको मोली गा.वि.स. वडा नं. ३ मोलीमा जन्मेका थिए । नवलसिंह राई त्यस ठाउँको तालुकदार एवं राई–मुखिया पद प्राप्त व्यक्ति थिए । त्यसो हँुदा बस्ती बसाउने कर तिरो असुली गर्ने र राज्य सरकारले दिएको निर्देशन पालना गर्ने र गराउने प्रमुख व्यक्ति थिए । उनका पाँच भाइ छोरा र तीन बहिनी छोरीसमेत आठ सन्तान थिए । त्यसमध्ये जेठा छोरा डिकबहादुर राईले गाउँ स्तरीय राजनीति एवं गृहस्थी जीवन बिताएका थिए ।
माइला छोरा कुलबहादुर राई भारतीय (तात्कालीन ब्रिटिस) सेनामा कार्यरत थिए । सेनामा कार्यरत रहँदाकै अवस्थामा नेपालको निरंकुश जहानीय राणा शासनको अन्त्य गरी जनतालाई सार्वभौम सत्तासम्पन्न बनाउनका लागि जननायक वी.पी कोइरालाले सशस्त्र जनक्रान्तिको आह्वान गरेका थिए । आह्वानअनुसार २००७ सालको सशस्त्र जनक्रान्तिमा कुलबहादुर राई जनमुक्ती सेनामा सहभागी भएका थिए । सैन्य तालिमप्राप्त कमाण्डर राईको फौजले ओखलढुंगादेखि पश्चिमतर्फ राणा शासकका पक्षघरलाई परास्त गर्दै किराँती छाप पुग्दा आन्दोलन सफल भएको केन्द्रीय सरकारले घोषणा गरेपछि क्रान्ति रोकियो । त्यसै समयदेखि कुलबहादुर राई नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी प्रहरी सहायक निरीक्षक पदमा २०३३ सालमा सेवा निवृत्त भएका थिए । उनका पहिलो र दोस्रो श्रीमतीको देहावसानपछि तेश्रो विवाह आशालक्ष्मी राईसँग विवाह गरेका थिए । जसबाट तीन छोरा र एक छोरी चार सन्तानको जन्म भएको थियो । जेठो छोरा हजुरबा नवलसिंह राईको प्यारा थिए । उनलाई “कालु” भनेर बोलाउँथे भने वास्तविक नाम “तुलबहादुर” थियो र गाउँमा सबैले बोलाउने नाम “गोपाल” । हो, तिनै नेता गोपाल राई ।
गोपाल राईको जन्म वि.सं. २००६ साल साउन १८ गते मोली, ओखलढुंगामा भएको हो । बहिनी उमा राई (बोलाउने नाम होमा) को विवाह भएर गृहस्थी गरेकी छन् । उनका माइला भाइ बुद्धराज राई सिन्धुली जिल्लामा बसोबास गर्दै आएका छन् । राजनीतिक रुपमा उनी नेपाली कांग्रेस जिल्ला सिन्धुलीका उपासभापति छन् । गोपालका कान्छा भाइ नवराजको बाल्यावस्था मृत्यु भएको थियो ।
बाल्यकाल र शैक्षिक प्रगति
गोपाल राई बाल्यकालमा असाध्यै चकचके, चुलबुले स्वभावको हुनुहुन्थ्यो भने कुनै पनि नयाँ कुरो पाउना साथ नियालेर हेरिरहने बानी थियो । उनको प्रारम्भिक शिक्षा घरमा सरस्वती पूजा गरी गुरु दन्तप्रसाद निरौलाले विधिवत लेखपढ थालेका थिए । उनका आफ्नै साइला बुवा बलबहादुर राई (पूर्वमन्त्री, नेपाली कांग्रेस केन्द्रीय कार्य समितिका सदस्य तथा विधायक) ले २०११ सालमा गाउँमै श्री कालिका मिडिल स्कूलको स्वीकृती लिई स्थापना गरेका थिए र छ । गाउँका केटाकेटी बटुलेर केही समय गोपाल राईकै घरमा पठनपाठनको काम भएको थियो । घरमै अध्ययन गरेपछि जागीरे बुवाको सरुवा धनकुटामा भएपछि ६ वर्षका गोपाल साथमै लागेका थिए । धनकुटाको गोकुण्डेश्वरमा बसेर गोपालले अध्ययन गरेका थिए । त्यस बेलाका सहपाठी सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ थिए ।
भनिन्छ, बुवाले छोरा बाठो होस् भनेर कांग्रेसको आमसभामा भाषण सुन्न पठाएका थिए । तर उनी भाषणभन्दा पढाइ र खेल्ने गर्थे । त्यसबेला सूर्यबहादुर थापा (पूर्व प्रधानमन्त्री) धनकुटा जिल्लाको पार्टी सभापति थिए । धनकुटाबाट बुवाको सरुवासँगै गोपाल राई धरान पब्लिक हाई स्कूलमा चार कक्षामा भर्ना हुनपुगेका थिए । त्यसको वर्ष दिनपछि फेरि झापा सरुवा भएपछि झापाको खजुरगाछीस्थित हाई स्कूलमा पढेका थिए । गोपाल राई पढाइभन्दा पौडी खेल्ने, घोडा चढ्नेमा बढी ध्यान दिन्थे । अरु विषयमा पोख्त भएपनि गणित विषयमा अति कमजोर थिए भनिन्छ । एक दिन साथीहरुसँगै पौडी खेल्न जाँदा पौडी खेल्दाखेल्दै खोलाले बगायो । साथीहरुले निकाल्न सकेनन् । एकजना दमाई थरकी महिलाले बचाएकी थिइन्, जसलाई उहाँ जीवनपर्यन्त आफ्नो दोस्रो आमा भन्नु गर्नुहुन्थ्यो ।
खजुर गाछीबाट ८ कक्षा पढ्दापढ्दै बुवाको फेरि इलाम सरुवा भयो । इलामबाट ८ र ९ कक्षा पास गरेका थिए । इलाममा अंग्रेजी विषय के.बी. सरले (नेपाली कांग्रेसका वर्तमान महामन्त्री तथा विधायक, २०६४ साल) पढाउनु भएको थियो र के.बी. सरकै घरमा बसाई थियो । स्कूलमा वादविवाद कार्यक्रममा सामेल हँुदै गोपाल राई युनियनको सदस्य पनि बनेका थिए । “गाउँ राम्रो कि शहर राम्रो” विषयक वादविवादमा ‘गाउँ’ पक्षमा तर्क प्रस्तुत गरी प्रथम पुरस्कार पाउँदा साहै« खुसी लागेको उहाँ एक प्रसङ्गमा भन्नुभएको छ । बाबुको जागीर जता सरुवा हुन्छ उतै जानुपर्ने एक किसिमको घुमन्ते जीवन अल्लारे उमेरसम्मे भोगेका थिए, गोपाल राईले । उनी इलामबाट २०२२ सालमा ओखलढुंगा आएका थिए । सदरमुकामस्थित पब्लिक हाई स्कुल दस कक्षामा भर्ना भएका थिए । त्यसै वर्षको एलएलसी परीक्षामा सामेल भई दोस्रो श्रेणीमा उत्तीर्ण गरेका थिए । त्यसपछि गाउँमै भूमि सुधारको वचत कार्यक्रममा केही समय काम गरेका थिए ।
त्यसपछि गोपाललगायत सात जना साथीसँग काठमाडौंमा गई बचत सहायक निरीक्षकको सात महिने तालिम लिएका थिए । लोक सेवाको सिफारिसमा २०२३ साल माघ ७ गते उनीलगायत ५ जनालाई सिन्धुपलाञ्चोक जिल्लामा खटाए । त्यहाँका हाकिम नारायण विलास जोशी थिए । उनी कम्युनिस्ट विचारका थिए । उनैको संगतमा माक्र्स र लेनिनका थुप्रै किताब पढ्ने मौका पाएका थिए । साथै त्यस क्षेत्रमा कोदारी राजमार्गको बाटो निर्माण चिनियाँहरुबाट भइरहेको हँुदा उनीहरुसँग निकै सम्पर्क बढेको थियो । जसका कारण माओको लकेट र किताब बाँड्ने पढ्ने कामसमेत गरेका थिए । त्यसै बेला गोपाललाई क्षयरोगको लागेको थियो । एक वर्षपछि पाँचै जनालाई राजविराज सरुवा गरिएछ । राजविराजमा रहँदा आई.ए.को अध्ययन गरी विराट केन्द्रबाट परीक्षा दिएर २०२५ सालमा उत्तीर्ण गरेका थिए । राजनीतिमा आस्था राख्ने भएकाले २०२६ साल साउनमा भोजपुर सरुवा गरिएका थिए । तर, भोजपुर नगएर काठमाडौं भित्रिएर त्रि–चन्द्र कलेजमा स्नातक तहको अध्ययन सुरु गरेका थिए । २०२८ सालमा स्नातक तह उत्तीर्ण गरेका थिए ।
राजनीतिमा प्रवेश
२०२६ सालमा त्रि–चन्द्र कलेजमा अध्ययन सुरु गर्दा जिल्लाका साथीभाइ, अग्रजसित बलियो हिमचिम भएछ । जिल्लाबासी दाजु दुर्योधन गिरी, प्रा. पिताम्बर दाहाल, साइला बुवा बलबहादुर राईको प्रेरणाले कांग्रेस बन्न पुगे । त्यसपछि सगरमाथा छात्र संघको गठनमा सक्रिय रुपमा लागे । नेपाल विद्यार्थी संघको प्रत्येक कार्यक्रममा विशेष भूमिका निर्वाह गर्न थाले । बीचमा भारतमा निर्वासित साइला बुवालाई भेट्न जाने गर्दथे ।
त्यसै बेला बि.पि. कोइराला, गिरिजाप्रसाद कोइराला, भीमबहादुर तामाङ र सरोज कोइरालासित भए भएको थियो । त्यहाँबाट फर्केपछि गोपाल राई झन सक्रिय भएर संगठनमा लागेका थिए । पार्टी प्रतिबन्धित कालमा नेविसंघको संगठनमा लागेर २०२७ सालमा राजधानीको न्यूरोडमा निस्किएको जुलुसको नेतृत्व गरेका थिए । नाराबाजी पम्प्लेटिङ गर्दागर्दै उनलाई प्रहरीले गिरफ्तार गरेका थिए । करीब डेड महिनासम्म त्रिपुरेश्वरको बन्दीगृहमा थुनिएका थिए । यो जीवनकै पहिलो कष्टकर जेल जीवन थियो भन्ने गोपाल राईको कथन थियो । राजनीतिक क्रियाकलापले अध्ययनको बिट मारिसकेका थिए । “राजनीति असीम धर्म र सीताजीको जस्तै अग्नि परीक्षा हुनुपर्छ” भन्ने बिपि कोइरालाको भनाइले उनलाई झन प्रभावित पारेको थियो ।
त्यसपछि २०२८ सालमा गोपाल र दुर्योधन गिरी ओखलढुङ्गा गएर नेविसंघको गठन गरेको थिए । जिल्ला सभापतिका रुपमा लीलानाथ दाहाललाई चयन गरेका थिए । पंचायत शासकको चर्को दमनका कारण उनीहरुले भूमिगत रहेर संगठनको कार्यकलाप सुचारु राखेका थिए । लीलानाथ दाहाल गोपालको दशका सहपाठी थिए । २०२८ सालमा नेविसंघको अधिवेशनमा उनी त्रि–चन्द्र कलेजका प्रतिनिधि थिए भने दाजु दुर्योधन गिरी नेशनल कलेजबाट चितवनको नेविसंघको अधिवेशन सिद्धिएलगत्तै भारतमा रहेका सरोज कोइराला र भीमबहादुर तामाङलाई भेट्न पुगेका थिए । सरोज र भीम सगरमाथा, नारायणी र वाग्मती अञ्चलमा तरुणदलको संगठन बिस्तार गर्दै हुनुहुन्थ्यो । उनलाई ओखलढुङ्गा जिल्ला लगाएतका पहाडी जिल्ला , तरुण संगठन बिस्तार गर्नका लागि ओखलढुङ्गाको सभापति बनाइयो ।
उनीहरूसित केही समय काम गरेपछि ओखलढुङ्गा, सोलुखुम्बु, दिक्तेल, रामेछाम जिल्लामा तरुण दलको संगठन बिस्तार गर्न लागे । तरुण दलको संगठन बिस्तार गर्ने र सशस्त्र क्रान्तिको लागि पूर्वाधार तयार गरे । त्यसै क्रममा २०२९ साल असोज महिनामा रामेछाप पुगेका थिए । रामेछाप सदरमुकाम सरकारी कार्यलयमा कार्यरत आफ्ना पुराना साथी टेकप्रसाद निरौलासमेत सँगै बसी पार्टी संगठनको बारेमा छलफल गरेका थिए । भविष्यमा कुनै पनि बेला सशस्त्र क्रान्ति गर्नु पर्ने हुन्छ । त्यसैले यहाको भौगिलिक अवस्था, प्रशासनिक क्रियाकलाप, र यस क्षेत्रमा ब्रिटिश–भारत र नेपाली सेनाबाट निवृत्त भैसकेका सेनाको लागत संख्या तयार गरेका थिए । उनीहरुलाई संगठनमा समाहित गर्नेतर्फ लागेका थिए । भूमिगत छलफल र जिम्मेवारी बाँडफाँड गरेका थिए ।
ओखलढुङ्गा फर्किएर साइला बुवा बलबहादुर राईलगायत अन्यलाई संगठनमा सशक्त रुपमा लाग्न प्रेरित गरेका थिए । जो संगठनका सदस्य बेनी उनीहरूलाई दिक्तेल जिल्लाको हलेसी मन्दिरमा लाग्ने वालाचर्तुदशी मेलामा बोलाएर औलाबाट रगत निकाली प्रतिवद्धता पत्रमा सही गर्न लगाएका थिए । सही गर्नेहरुमा बलबहादुर राई, खिलानाथ अधिकारी, भोजराज खनाल, देवी बहादुर केसी, चन्द्रकान्त दाहाल, पृथ्वी बहादुर कार्की, प्रेम बहादुर राई, भैरव राई , रामकृष्ण दाहाल र दानबहादुर थापा थिए । त्यसलगत्तै दुधकोशी रभुवामा मकर संक्रान्तिका दिन लाग्ने मेलामा धेरै युवा र सैनिक सेवाबाट अवकाश प्राप्तलाई तरुणदलको सदस्य बनाएका थिए ।
दिक्तेल जिल्लामा नेपाली कांग्रेसको संगठन अन्यत्रको तुलनामा कमजोर थियो । त्यसैले दिक्तेलमा काँग्रेस संगठन बिस्तारमा लागे । २०२९ साल माघ २७ गते बुइपाका देवराज ढकालको घरमा सोलुका अनारसिंह कार्कीका साथ बास बस्न पुगे । ढकाललाई गोपाल राईले तरुणको सदस्य बनाएका थिए । त्यसलगत्तै सर्वधन राई (२०१८ साल ऐसेलुखर्क काण्डका नेता) कहाँ पुगे । सर्वधन राई सदस्य बनाउन खोज्दा मानेन्, किनभने भरखरै निर्वासित जीवन बिताएर नेपाल फर्किका थिए । संगठन विस्तारकै क्रममा गोपाल राई पदम प्रसाद पोखरेलको डेरामा पुगेका थिए ।
उनीहरूको पिछा गर्नेमा प्रहरी र स्थानीय कम्युनिस्ट मित्रहरु थिए । दिक्तेलमा कांग्रेसको प्रभाव बढ्न नदिने चाल चलेको थियो । त्यसै माघ २९ गतेको राति गोपाल राई बसेको घरमा प्रहरी र स्थानीय व्यक्तिले घेरा हालेका थिए भने उनी त्यही घरको छतबाट हाम फाले बजार तर्फ भागेछन् । उनलाई स्थानीय बजारियाहरुको सहयोगमा पक्राउ गरी प्रहरीलाई जिम्मा दिइएयो थियो । पक्रेको बेला नचिनेको व्यक्तिले निधारमा हिर्काएर रगताम्य पारीयो । साथी अनारसिंह कार्की समेतलाई कोर्ट गाउँमा ठिङ्गो लगाएर थुनियो । पदम प्रसाद पोखरेलसमेत आफ्नो डेरामा राखेको निहुँपारी पक्राउ गरे तर दोषी नदेखिएपछि तत्काल छुटे । सदस्यता लिएको रसिदका आधारमा देवराज ढकाल पनि प्रहरी फन्दामा परे । प्रहरीले चार–पाँच दिनसम्म बयान लिएपछि उनीहरुलाई शान्ति सुरक्षा ऐनअन्र्तगत मुद्दा लगाई तीनैजनालाई राजविराज जेल चलान गरिए ।
गोपाल राईकै बयानका आधारमा ओखलढुङ्गाबाट बलबहादुर राई र खिलानाथ अधिकारी (ताल्कालीन जिल्ला पंचायत उपसभापति), भोजराज खनाल, देवी बहादुर केसी, चन्द्रकान्त दाहाल, पृथ्वीबहादुर कार्की, रामहरी दाहाल, बलबहादुर राई (भैरव राई), टंक बहादुर कार्की, दानबहादुर थापा र प्रेम बहादुर राईसमेत गरी ११ जनालाई पक्राउ गरी भोजपुर जेल चलान गरिएका थिए । केहीलाई प्रशासनले फेला पार्न सकेन । भोजपुर लगिएकालाई संघसंस्था ऐन अन्र्तगत कार्यवाही चलाइए भने उनीहरू धन जमानी राखेपछि तारेखमा छुटेका थिए । गोपाल राईलाई बयानका लागि राजविराजबाट हतकडी लगाएर ओखलढुङ्गा पु¥याइएका थिए भने पछि निसंखे, लाछाप रभुवा हँुदै भोजपुर लगिएका थिए । भोजपुरमा बयानपछि उनलाई पनि संघसंस्था ऐनअन्र्तगत मुद्दा चलाइएर पुनः राजविराज जेलमै फिराइएका थिए ।
यता साइला बुवा बलबहादुर राई भोजपुरबाट धनजमानी राखी तारेखमा छुटे । बडाबाबु डिकबहादुर राईले धनजमानी राखिदिएपछि गोपाल राई २०३० साल असोज महिनाको दोसो साता जेलबाट तारेखमा छुटेका थिए । त्यतिखेर उनको वकालत अधिवक्ता दमननाथ ढुंगाना (पूर्व सभामुख) ले गरिदिएका थिए । छुट्नासाथ भारततर्फ बि.पि. कोइरालाको सम्पर्कमा पुगेका थिए ।
तत्पश्चात् २०१७ सालमा गुमेको जनताको अधिकार वहाल गर्न सशन्त्र क्रान्ति सफल तुल्याउने भूमिगत रणनीति जारी भएको थियो । तरुण र भू.पू. सैनिकहरूलाई क्रान्तिमा सहभागी गराउने नीति तीव्र पारिएको थियो । जसको प्रमुख गिरिजाप्रसाद कोइराला थिए । परिणाम स्वरुप २०३१ सालमा ओखलढुङ्गा–सोलु ‘टिम्बुरबोटे काण्ड’ भएको थियो । उक्त काण्डको नेतृत्व क्या. यज्ञ बहादुर थापाले गरेका थिए । गोपाल रार्ई ओखलढुंगातर्फ जाँदैगर्दा प्रहरी टोलीसित भेट भयो । प्रहरी प्रमुखलाई चिनेर भलाकुसारी गर्दा तिनले ‘तेरा सबै साथीहरू मरिसके । त्यस कारण तँ फिरी हाल नत्र तँ पनि मर्छस्’ भन्दा ‘मेरो निश्चित् उद्देश्य पूरा नभएसम्म म फिर्दिन, हजुरले आफ्नो काम राम्रोसँग गर्नु होला’ भन्ने जवाफ दिएका थिए ।
उतिखेर गोपालका पिता उदयपुरको कटारी प्रहरी चौकी इन्चार्ज थिए । त्यसलगत्तै उनी सुनकोसी पार गरी साथीहरूको अवस्थाबारे जानकारी लिंदै गाउँ पुगेका थिए । छलिदै गाउँघरतिर पुगे । पुस महिनाको समय गाउँघरमा बारम्बार प्रहरी, सुराकीहरुको जगजगीले घर, छिमेर, आफन्त कहाँ नबसी अन्यत्रै लुक्दै बसेका थिए । उनका साथमा बन्दोबस्तीका सामान गोलीसहितको पेस्तोल, हाते ग्रिनेट, साईनाईड, नेपालको नक्सा, सानो र ठूलो लाईट थुप्रै गोजी भएको सर्ट र पाइन्ट लगाएर आएका थिए । ओखलढुङ्गा व्यारेक कब्जा गर्ने योजना विफल भएपछि सोलुको टिम्बुरबोटेबाट भागेर बच्न सफल क्या. यज्ञबहादुर थापा आफ्नै पुरोहितको घरमा सुरक्षित महसुुस गरी राति बास बस्न पुगेक थिए । तर, बास दिने नाममा पक्राइयो । सेनाले पक्राउ गरेपछि हेलिकोप्टरबाट काठमाडौं पु¥याइएको थियो । क्या.थापालाई २०३३ सालमा फाँसी दिइएको थियो ।
जब क्याप्टेन यज्ञबहादुर पक्राउ परे त्यसको हप्ता दिनपछि गोपाल राई भारत फिरेका थिए । २०३६ सालमा जनमत संग्रह घोषणा भएपश्चात् २०३७ साल जेठमा राजनीतिज्ञलाई आममाफी दिइएको थियो । जेल र निर्वासनमा रहेका राजनीतिज्ञहरुले आम माफी पाएका थिए । त्यसलगत्तै गिरिजाबाबुका साथ गोपाल र साथीहरु स्वदेश फर्किएका थिए । २०३१ साल माघमा भारततर्फ निर्वासित हुनुपर्दाको क्षण नै गोपाल राईको आमासितको अन्तिम थियो । आम माफी पाएर फर्किदा आमाको देहान्त भएको ६ वर्ष भैसकेको थियो । छोरालाई सरकारले मृत्युदण्ड दिनेलगायतका हल्ला, लथालिङ्ग घर व्यवहार नै आमा दमको रोगी बन्नु पुग्नु भएको थियो । गोपाल राईको सर्वस्वहरण भएको थियो । नेपाल प्रहरी सहायक निरीक्षकको पदबाट २०३४ साललमा निवृत्त वृद्ध बाबु घरव्यवहार सम्हाल्ने स्थितिमा थिएनन् । र छोराको राजनीतिक जीवनलाई बाधा पु¥याउने कुनै काम गरेका थिएनन् ।
आममाफीपछि गृहस्थी जीवन
राजनीतिक संगठन विस्तार, जेल, नेल, सर्वस्वहरण, निर्वासित जीवन बिताइसकेका गोपाल राई वास्तवमै एक खाँटी नेता भइसकेका थिए । राजनीतिक जीवनले गर्दा सामाजिक तथा व्यवहारिक जीवन घरगृहस्थी हुनसकेका थिएन । आममाफीपछि स्वदेश फिरेका गोपाल राई २०३८ सालमा मीना राई (सुनुवार) सित विवाह बन्धनमा बाँधिनु भएको थियो । मीना राई साक्षर हुनुहुन्थ्यो । राजनीतिमा सक्रिय नभएपनि आफ्ना जीवनसंगी गोपाल राईलाई पूर्णरुपमा साथ दिनुभएको थियो । मीना राई नेपाली कांग्रेस महिला संघ ओखलढुंगाको सदस्य हुनुहुन्थ्यो । दम्पत्तिबाट एक छोरा विकास, पुष्पाञ्जली, अञ्जली, रञ्जली र सर्वञ्जलीको जन्म भएको छ । सबै ज्ञान र शिक्षामा उद्धत्त छन् ।
फेरि राजनीतिक जीवनकै कुरा
जनताको मौलिक हक अधिकार बहाली गर्ने क्रममा पटक–पटक जेल, नेल, निर्वासनजस्ता समस्यामा पनि गोपाल राई कहिल्यै हतोत्साहित भएनन् । बरु दृढ र कठोर भएर क्रान्तिको अग्र मोर्चामा लागीपरे । उनी २०४२ सालको शान्तिपूर्ण सत्याग्रहमा करीब ४ महिना जेल परेका थिए । बम काण्ड भयो । त्यसको जिम्मा रामराजाले लिए । उनीलगायत धेरै नेताहरू जेलबाट छुटे । विभिन्न राजनीतिक परिवर्तनका मोडहरू फेरिरह्यो ।
२०४६ सालमा सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा शान्तिपूर्ण जनआन्दोलनको घोषणा भयो । उक्त जनआन्दोलनमा गोपाल राई घरबाटै पक्राउ परेका थिए । अलि कडा जोशिलो, कसैसँग सम्झौता नगर्नेे व्यक्ति भएकाले प्रहरीसँग कडा मुकाविला गरेका थिए । प्रहरीको निर्मम कुटाइपछि पक्राउ परेका थिए, जीवनसंगीनी मीना राई र गोपाल राई । उनीहरूलाई उदयपुर गाईघाट जेलमा राखिएका थिए । २०४६ चैत्र २६ गते राजाबाट बहुदल घोषणापछि छुटेका थिए ।
बहुदलीय व्यवस्था लागू भएपछि प्रतिबन्धित राजनीतिक दलहरू खुल्ला रुपमा संगठन विस्तार गर्न पाए । त्यही क्रममा ओखलढुङ्गा र सोलुतर्फ गोपाल राई पुगेका थिए । सोलुको जुनबेसीमा कांग्रेसको आमसभा भइरहेको बेला उता उदयपुरको कटारीस्थित घरमा बुवा कुलबहादुर राईको स्वर्गबास भएको थियो । २०४७ साल जेठमा बुवाको देहान्तको खबरले शोकाकुल तुल्याएको थियो ।
खुला राजनीतिमा सहभागिता
जनताको मौलिक हक, अधिकार पूर्ण बहालीमा होमिएका गोपाल राईले आफ्नो राजनीतिक थलोका रुपमा ओखलढुङ्गा र उदयपुर जिल्लालाई रोजका थिए । तर २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेस पार्टीले दिक्तेल क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका निम्ति टिकट दियो । अन्तमा झिनो मतले परिणाम सफल हुनसकेन ।
२०५१ सालको मध्यावधि निर्वाचनमा पार्टीले टिकट नदिएपछि अन्ततः ओखलढुङ्गा जिल्लाको दुवै निर्वाचन क्षेत्रबाट भ¥याङ्ग चिन्ह लिएर स्वतन्त्र उम्मेदारी दिंदाको परिणाम पनि उही रह्यो । २०५१ सालमा विद्रोही गोपाल राईका पक्षमा लाग्ने सबै कार्यकर्तालाई एक किसिमले पूरै अछुतको व्यवहार गरियो । यद्यपि पार्टीको केन्द्रीय सभापति गिरिजाप्रसाद कोइराला हुनु भएकाले गोपाल राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरिइए । तर, विवादका कारण दुई महिनाभित्रै उक्त सदस्यता खोसिएको थियो ।
राजनीतिक सफलता
पार्टीगत स्थिति जस्तो रहेपनि गोपाल राईले त्यही परिस्थितिलाई सम्हाल्दै जिम्मेदार विभिन्न जिम्मेवारी बहन गर्नुभयो । २०५६ सालको निर्वाचनमा गोपाल राईले चाहेजस्तै भयो । ओखलढुंगा क्षेत्र नं. २ बाट साइला बुवा नेता बलबहादुर राईले पाउनु भएको टिकट भतिजालाई दिनुभयो । २०५१ सालदेखि युवानेताको पछि लागेका सबै कार्यकर्तासमेत सहजतापूर्वक सहयोग गरे । चुनावी जित पनि सहज भयो । क्षेत्र नं.१ बाट होमनाथ दाहाल विजयी भए । अलि राम्रो छ भन्नुभयो । समय र परिस्थिति अनुकुल भएकैले गोपाल राई २०५६ साल चैत्र १८ गते भूमि सुधार तथा व्यवस्था रान्यमन्त्री बन्नुभयो । एक वर्षपछि २०५७।१०।२५ मन्त्री मण्डल पुनर्गठन हुँदा उहाँ फेरि अर्थराज्यमन्त्री हुनुभयो ।
पछि नेपाली कांग्रेसमा फुट आयो र शेर बहादुर देउवाको नेतृत्वमा मन्त्रीमण्डल गठन भयो । वहाँको सरकारलाई अपमान पूर्वक २०५९ साल असोज १८ गते निलम्बन गरी सत्ता राजा ज्ञानेन्द्रले हात लिए । राजाको प्रत्यक्ष शासनको विरुद्ध दोस्रो जन आन्दोलनले तीव्रता लियो । जुन आन्दोलनमा गोपाल राईको सक्रिय र निरन्तर सहभागिता रह्यो । पटक–पटक गिरफ्तारीमा पर्नुभयो । २०६२ साल माघ १९ गते राजाको निरंकुश शासन थालनी कै दिन डेराबाट पक्राउ गरी हलचोक सशस्त्र प्रहरी कार्यालय र पछि ककनीमा सारिए । करीब २ महिना पछि उहाँलगायतलाई भक्तपुरको दुवाकोट सशस्त्र प्रहरी गणमा पु¥याइए । अन्ततः १९ दिने लोकतान्त्रिक जनआन्दोलनले राजालाई घुँडा टेकायो । २०६३ साल वैशाख ११ गतेको राजाको पराजयपछि नेताहरू जेलबाट छुटे ।
दोस्रो जनआन्दोलनका नेता नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मन्त्री परिषद् गठन भयो । २०६३।२।११ गते गठन भएको मन्त्री परिषद्मा गोपाल राई वन तथा भू–संरक्षण राज्यमन्त्री बन्नु भयो । आफ्नो ४ महिने छोटो अवधिमा आफ्ना मन्त्रालय अन्र्तगतका विभिन्न विभाग शाखाहरूको भ्रमण गरी लोकतान्त्रिक सरकारको आचरण अनुकुल जनताको पक्षमा रहेर काम गर्नुभयो । यहि सन्दर्भमा विश्व वन्यजन्तु कोषबाट ताप्लेजुङ जिल्लाको करीव ६०% प्रतिशत क्षेत्रमा सन्चालित प्रकृति संरक्षण कार्यक्रम “कञ्चनजंगा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्”लाई सरोकारवाला दातृनिकाय र अन्य समूहहरुसँग विधिवत रुपमा समुदायमा हस्तान्तरण गर्नुभएको थियो । फर्कने क्रममा २०६३ साल असोज ७ गते बिहान ९.१५ बजेको समयमा उहाँ, जीवनसंगीनी मीना राईलगायत २४ जना विशिष्ट विज्ञहरू टोली घुन्सामा हेलीकोप्टर दुर्घटनामा परी निधन हुनपुग्यो । यसरी ५ छोरा–छोरी र लाखौं आफन्त, इष्टमित्रलाई छाडी भौतिक शरीर हामीबाट सधै सधैका लागि विलिन हुनपुग्यो ।
गोपाल राई नेपाली राजनीतिमा सुनामीको आँधीजस्तो हुनुहुन्थ्यो । निर्दिष्ट लक्ष्य राखी हिडेका व्यक्ति गन्तव्यमा नपुगी मृत्युवरण गर्नुभयो । यो सबैको लागि अपूरणीय क्षति हो । २०२६ सालदेखि अनवरत संघर्षको अन्त्य २०६३ साल असोज ७ गते हेलिकोप्टर दुर्घटनामा टुङ्गियो । एक क्रान्तिरी व्यक्तित्व हामीबाट सधै टाढियो ।
गोपाल राईको विशेषता
१ धन सम्पत्ति जम्मा गरिनराख्ने ।
२. अरुको दुःखमा आफूले मागेर भएपनि सहयोग गर्ने ।
३ विशेष गरी क्रान्तिका पुस्तक पढ्ने ।
४. पूmल बोटबिरुवाको संरक्षण गर्ने ।
५. सफेद कपडा साधारण जीवन मनपराउने ।
६. आफ्नो कर्ममा विश्वास गर्ने ।
७. सबैभन्दा पार्टी संगठनलाई बढी महत्व दिने ।
८. आपूmले लाएको कपडा गञ्जी, मोजा, रुमाल आदि दिनदिनै आफैले सफा गर्ने ।
९. सधै कनै न कुनै काममा व्यस्त रहने आदि ।
(जीवनी प्रस्तोता लेखबहादुर राई गोपाल–मीना राई स्मृति प्रतिष्ठानका अध्यक्ष तथा स्वर्गीय नेता गोपाल राईका सहोदर ज्वाइँसमेत हुनुहुन्छ । गोपाल–मीना राई स्मृति प्रतिष्ठान, नेपाल (भाग १)द्वारा प्रकाशित ‘गोपाल–मीना राई स्मृति ग्रन्थ’ (२०६४)मा गोपाल राईको जीवनी आलेख पुनः प्रकाशन गरिएको हो । प्र.सं.)