नियात्रा – सेतो शहर सेन्टोरिनी

विचार / ब्लग
मुकेश राई

ग्रीसबाट करिब २०० कि मि दक्षिणमा एगिन सागर Agean Sea मा अवस्थित ग्रीसको अधिपत्यमा रहेको धेरै दीपहरु मध्येको एउटा सुन्दर दीप सेन्टोरिनी ! सत्रौ शदाब्दीमा ज्वालामुखीले तहसनहस बनाएर रहेको भुभाग जहाँको ज्वालामुखी हाल निस्कृय अवस्थामा रहेको सेतो शहर जुन ग्रीसमा रहेको बिभिन्न सुन्दर टापुहरु मध्ये एउटा बिशेष पर्यटकिय स्थान हो ! यही सुन्दर दीपमा यस् बर्षको छुट्टी सदुपयोग गर्ने योजना बनिसकेको थियो ! जसको निम्ती हामी ३ परिवारका ९ जना सदश्यहरुले हवाई टिकट र होटल बुक ४ महिना अगावै गरिसकेका थियौँ ! ४ अगस्त २०१८, शनिवार करिब दिनको दुई बजे हामी गेटविक एयर्पोर्ट तिर लाग्यौ ! हामीले कार एयरपोर्ट कै पार्किङमा एकहप्ताको निम्ती छोड्न बुकिङ गरिसकेका थियौ ! यसो गर्दा ट्याक्सी भन्दा सस्तो र सहज हुन्थ्यो ! एयर्पोर्टबाट करिब १५ मिनेट जति टाढा थियो त्यहाँ कार बुझाए पछि प्रत्येक १० मिनेटमा छुट्ने निशुल्क सटल बसको ब्यवस्था थियो ! करिब ५ बजे तिर हामी गेटविक एयरपोर्ट पुगिसकेका थियौ ! हाम्रो उडान जाँदा नर्वेजियन जहाज दिईेको समय भन्दा करिब् एक घण्टा ढिलो मात्रै उड्यो ! झन्डै ३:३० मिनेटको उडान पश्चात थिरा एयरपोर्टमा अवतरण गर्दा स्थानिय समय ११ बजेको थियो ! एयरपोर्टबाट इमिग्रेसनबाट बाहिर निस्कदा होटलको मिनिबस हामीलाई पर्खिरहेको थियो ! त्यहाँबाट २० मिनेटमा नै हामी होटल पुग्यौ ! फिलिपियोन नामक उक्त चार तारे होटल निकै नै चित्ताकर्षक थियो ! स्टाफहरु निकै विनयशिल र सहयोगी थिए ! हामी भोली बिहानै देखी हुने अदभुत स्यान्टोरिनिको रमाइलो भ्रमणको नौलो उमंग र आजको यात्राको थकानले सकेसम्म चाडै नै आफ्नो आफ्नो बेड तर्फ लाग्यौ !

श्रीमती सुशीला लाबुङ राईका साथ लेखक

ग्रीसको झन्डै ६,००० को हाराहारीमा रहेको ससाना दीपहरु मध्ये झन्डै २२७ दीपहरुमा मात्रै मानववस्ती रहेको छ ! यो ग्रीसको दक्षिण तिर रहेको साइक्लाड्स (Cyclades) दीपहरुको समुहहरु मध्ये सान्टोरिनी पनि एक उत्कृष्टमा पर्दछ ! फिरा, ओया र अथिनोस यहाँको मुख्य शहर हो ! यसबाहेक ससाना गाउँहरु अक्रोटिरी, फिनिका, कमारी, मेसारिया, पेरिसिया आदी छन ! अप्रिलको अन्तिम साता देखी अक्टोबरको अन्तिमसम्म मात्रै पर्यटकको चहलपहल् हुने यो दीप बाँकी ५ महिना ठण्डा मौसमको कारण प्राय सुनसान हुने गर्दछ ! अत्याधिक चिसो र खराब मौसम हुने भएकोले यो समयमा होटल र यातायतहरु सबै ठप्प रहन्छन ! थिरा अन्तराष्ट्रिय विमान स्थल कमारी भन्निने सानो गाउँको उत्तरतर्फ् अवस्थित छ ! अन्तराष्ट्रिय भएता पनि निकै अव्यवस्थित र साँघुरो विमानस्थल भएको भान हुन्छ !

५ अगस्त २०१८, हामी बसेको फिलिपियोन होटल यहाँको केन्द्र मानिने फिरा शहरको एकदम नजिक अवस्थित छ !
बिहान करीब आठ बजे उठ्यौ अनि दैनिकी पश्चात होटलको ग्राउन्ड फ्लोरमा रहेको रेस्टुरेन्टमा खाजा खान आउँदा प्रेम दाई र तेज दाईको परिवारहरु आईसक्नु भएको थियो ! हामीले पनि खाजा लियौ जुन ग्रीसको परम्परागत थियो ! रोटी, अन्डा, सलामी, ससेज, ओलिभ, फेटा चिज फ्रेस जुस, चिया कफी र सेरियल ! खाजा पस्चात हामी घुम जानको निम्ती तयार भएर होटलको अगाडी जम्मा भयौं ! राती आईपुग्दा अध्यारोमा नदेखिएको अलौकिक दृष्य देखेर हामी चकित भयौ ! सेतो होटल, सेतै शहर, सामुन्ने अगाडी निलो समुन्द्र, समुन्द्रमा तरिरहेको ठुला ठुला पानी जहाज अनि सिधा अगाडी समुन्द्रको बिचमा कालो पहाड जुन शुसुप्त अवस्थामा रहेको ज्वालामुखीको पहाड थियो ! त्यही नै फोटो खिच्दै रमाउँदै ४० मिनेट जत्ति समय खर्चियौ ! ब्यस्त जीवनको दु:ख, पिर पन्छ्याएर उन्मुक्त रमाउन निस्किएको हाम्रो आजको कार्यक्रम नै यही फिराको सौदर्यमा रमाउने थियो यसैले हामीलाई समयको पाबन्दी थिएन ! झन्डै ३७, ३८ डिग्रीको गर्मीमा कालो चस्मा, टोपी, रुकस्याकमा पानी, फलफूल अहिलेको प्रविधिले प्रदान गरेको फोनको क्यामेरा अनि डि एस एल क्यामेराले फोटो खिच्दै हामी सुस्त गतिमा अगाडी बड्यौ !

फिरा शहरको सबै उच्च स्थानमा अवस्थित बजार गाडी निषेधित क्षेत्र थियो ! प्राय सेतो घरहरुको बिचमा सानो गल्ली जस्तो लाग्ने बाटोको दाँया बाँया रेस्टुरेन्ट, कपडाहरु अनि सान्टोरिनीको चिन्ह अंकित सौगात पसलहरु बाक्लै रुपमा सजिएको थियो ! रेस्टुरेन्टका साज सज्जा सेतै टेबल कुर्सीहरु सबै प्राय सेतो, पसल पसलमा बिक्रिको निम्ती राखिएका विभिन्न डिजाइनका कपडाहरु पनि प्राय सबै सेतै देखिन्थे ! भनिन्छ फिरा सन्टोरिनीको सबैभन्दा आकर्षक शपिङ शहर हो ! यहाँ घुम्दै जाँदा यस्तै भान भईरहेको थियो ! पर्यटकको केन्द्र बिन्दु भएकोले होला रेस्टुरेन्टहरु निकै स्तरिय देखिन्थे ! गेटमा टाँसिएको मेन्यु कार्डमा आँखा दौड्याएँ, निकै महंगो थियो ! यहाँ हिड्दै जाँदा एकातिर निलो समुन्द्र अनि अर्कातिर सेतो शहरको दृष्यले मनै उल्लासमय बनाउँथ्यो ! यसरी हामी फिराको अनुपम सौदर्यमा रमाउँदै फोटो खिच्दै शहरको अग्लो स्थान सम्म पुग्यौ ! पारी देखिने कालो पहाड अर्थात ज्वालामुखीबाट निर्मित पहाड निया कमेनीको निम्ती केबल कार त्यहिँबाट जान्थ्यो साथै त्यहिनेर खच्चरबाट पनि जाने ब्यवस्था थियो जे होस् हाम्रो अर्को दिन गर्ने योजनामा ति कुराहरु पनि छदै थिए ! फिराको रात्री जीवन हेर्न बाँकी थियो अहिलेको निम्ती हाम्रो दिनको कार्यक्रम स्थगित गर्यौ ! होटल आईपुगे पछि कोही स्वीमिङ खेल्न थाले, कोही फ्रिजबाट निकालेर तरबुजा खान थाले, मलाई भने निकै थाकेको महसुस भईरहेको थियो यसैले मज्जाले ताजा सुन्तलाको जुस पिएर शित्तलमा सुस्ताएँ !

साँझको खानाको निम्ती फेरी हामी सबै तयार भएर बजार तिर लाग्यौ ! प्राय सबैले खानामा ग्रीसको परम्परागत जिरोस भनिने पोलेको सुङुरको मासु, भात अनि सलाद खाए मैले चाँही माछा मन पर्ने भएकोले ग्रीस शैलीमा तयार भएको सि बास (माछा) र ग्रिल आलुको परिकार खाएँ ! त्यसपछि हामी आज दिनमा हिंडेकै बाटो रात्रीको रौनक हेर्दै रमायौ ! साँचै नै उही स्थान, उही बाटो तर फिरा शहरले हामीलाई दिन र रातको बिल्कुलै फरक सौदर्यमा फरक अनुभुति दिदै थियो !

६ अगस्त, सोमबार, हिज झै होटलमा नै बुक भएको खाजा खायौ अनि अर्को शहर ओया तर्फ लाग्यौ ! झन्डै ४५ मिनेटको बस यात्रामा १ युरो ८० सेन्ट भाडा जुन बेलायतको तुलनामा निकै सस्तो थियो ! कालो पत्थरिलो ससाना पहाडहरु बिच उकाली ओराली नागबेली झै घुमाउरो साघुँरो बाटो भएता पनि वरपर देखिने सेतो रङको सुन्दर भवनहरुमा आकासे निलो रङ पोतिएका वस्तीका बिच बिचमा बनिएका डुमहरुले साँचै नै अवर्णिय आकर्षण प्रदान गरेका थिए ! ति वस्तीका वर पर चट्टान र खस्रो माटोको कारण निकै नै निरस लाग्ने बगैचाहरुमा पनि ओलिव, अंगुर, फिग्स (नेभारा) र क्याक्टस खेती गरिएको थियो ! यही प्रकृतिको सुन्दर छटाको दृष्यावलोकन गर्दै ओया पुग्यौ ! यो शहर प्राचिन ग्रीसको परम्परागत कला र संस्कृतिको नमुना शहर हो भन्दा फरक नपर्ला ! यहाँ अवस्थित क्यासल अफ अगिओस निकोलस अनि त्यहीबाट पश्चिम तर्फ फैलिएको एगिन सागरको निलाम्य चमक र त्यही अवस्थित निया कमेनी अर्थात ज्वालामुखीद्वारा निर्मित पहाड, सेतो शहरको बिच बिचमा बनिएको निलो डुम र चर्चहरुले मनै फुरुङ हुन्थ्यो !

यही रमणिय दृष्यहरुहरुले गर्दा गर्मी र हिडाइको थकान पनि बिर्सिएका थियौ ! करिब ४:३० तिर हामी त्यहाँको प्रसिद्ध सुर्यास्त हेर्ने स्थानमा पुगिसकेका थियौ ! बिहानै टन्नै खाजा खाएकोले पनि होला उत्तीसारो भोक लागेको थिएन तर भरै सुर्यास्त हुने समयसम्म भोक लाग्छ भन्ने हेतुले हल्काफुल्का खाजा खाने सल्लाह भयो ! त्यही अनुसार तेज दाई र प्रेम दाईले नजिकै रहेको बजारबाट ड्रिन्क्स र हल्का नास्ता लिएर आउनु भयो ! यही खाँदै फोटो खिच्दै सुर्यास्त हुने समय पर्खिदाँ मान्छेको घुईँचो अत्याधिक बढिसकेको थियो ! हुन त आफ्नै जिल्लामा रहेको अन्तु सुर्योदय हेरेको भएता पनि समुन्द्रको सतहमा हुने सुर्यास्तको अनुभुति साचैँ नै बर्णन गर्न नसकिने सुन्दर थियो ! फोटोहरु लिने कोशीस गरेँ तर सामान्य क्यामेरा भएकोले गर्दा पनि होला आफुले जीवन्त हेरेर महसुस गरेको दृष्य ५०% पनि फोटोमा उतार्न सकिएन ! हुन पनि यसैले गर्दा नै आफु सशरिर उपस्थित भएर अनुभव गर्नुको भिन्नै महत्व रहन्छ ! जति नै रमाइलो गरिरहेको भएता पनि मन चाँही एक प्रकारले आफ्नै जिल्लामा अवस्थित अन्तुबाट देख्न सकिने सुर्योदय पनि कम छैन तर इलाम जस्तो देश कै सुगम मानिने पहाडी जिल्लामा पनि अहिलेसम्म गतिलो यातायातको साधनको अभावमा भने जस्तो पर्यटक पुग्न नसकेको अवस्था सम्झिएर अलिकती पिडा महसुस भईरहेको थियो !

७ अगस्त, मंगलबार: आजको भ्रमणको पहिलो चरण निया कमेनी (ज्वालामुखी निर्मित टापु) जाने अनि दोस्रो चरणमा रातो बिच (Red Beach) जाने योजना बनिसकेको थियो ! वास्तवमा युरोप यात्राको निम्ती तेज लिम्बु दाई निकै अनुभवि ब्यक्ति हुनु हुन्छ र हामी यसपल्ट उहाँकै योजना अनुरुप यात्राको मज्जा लिईरहेका थियौ ! होटल, फ्लाईट लगायत कहाँ, कसरी घुम्ने सम्पूर्ण जिम्मेवारी उहाँले नै उठाइरहनु भएको थियो ! सदा झै हामी १० बजेतिर आवश्यक सरसमानहरु बोकेर बाटो लाग्यौ ! जाँदा पोर्टसम्म केबुलकारमा जाने र भरै उकालोमा फर्किदा खच्चरमा फर्किने सल्लाह थियो ! हामी समयमा नै आएकोले केबुलकारको निम्ती धेरै कुर्नु परेन, केबलकारमा ६ जना बस्न सकिन्थ्यो ! पोर्ट पुग्न १० मिनेट पनि लागेन तल झरिसके पछि पानीजहाजको टिकट काट्यौ ! झन्डै १५० जना जस्तो यात्रु बोक्ने क्षमता भएको पानीजहाजमा सुरक्षाकर्मीहरुले चढाइसके पछि शुरु भयो हाम्रो सामुन्द्रिक यात्रा ! समुन्द्रमा जहाज जति किनाराबाट टाढिन्थ्यो उचाईमा रहेको सेतो शहर उत्ति नै नजिकिदै गएको भान हुन्थ्यो निकै पर पुगेपछि समुन्द्रबाट देखिएको कालो चट्टाने पहाडमा रहेको निख्लम सेतो फिरा र ओया शहर अनि वरपर रहेको निलोरङको डुमहरुको सौदर्य हेर्न लायक थियो !

जीवनको एउटा अनमोल अनुभूतिको पल, यो यात्रा एगिन सागरको छातीमा शनै: शनै: अगाडी बढ्दै जाँदा तरङ्गिदै किनारा तिर लम्किरहेको तरङ जस्तै मेरो मानसपटलमा भुपरिवेष्टित नेपाल पनि कुनै समुन्द्रले छोएको भए कति मनमोहक बन्ने थियो होला भन्ने उहापोह चलिरहेको थियो ! झन्डै २५ मिनेटको सामुन्द्रिक यात्रा पश्चात हामी निया कमेनी पुग्यौ ! पुरातत्विक खोज अनुसार सर्वप्रथम १९७ बि सिमा पहिलो पल्ट् ज्वालामुखी विस्फोट भए यता सन १९५० सम्म क्रमबद्ध रुपमा आठ पटक विस्फोट भए पश्चात निस्कृय रहेको ज्वालामुखी क्षेत्र हो यो ! त्यस टापुमा ठुल् ठुला कालो डडेको जस्ता लाग्ने चट्टान र धुलो बाहेक कतै कतै ससानो काँडे पोथ्राहरु देखिन्थे ! ह्वास्स धुवाँ र केही पोलिएको गन्ध आउने यो ठाउँमा उकालो हिंड्नु पर्थ्यो ! शिखर पुग्न ५ वटा चेक पोइन्ट पार गर्नु पर्थ्यो ! म अलि अस्वस्थ्य भएको कारण तेस्रो चेक् पोईन्टभन्दा अगाडी जाने आँट गर्न सकिन यसैले यहाँ बनाईएको टहरो जस्तो बिसाउनीमा अरुलाई कुर्ने विचार गरेँ ! मसगै सुशिला र दिना बहिनी पनि अगाडी नजाने भए हामीसगै अन्य केही मानिसहरुपनि यतै छोडिए ! झन्डै ४० मिनेट पछि शिखर पुगेर पनि सबै फर्किए हामी उनीहरुसगै जहाज तिर झर्यौ ! यता फर्के पछि पोर्टबाट फिरासम्म खच्चरबाट माथि आयौ ! हुनत केबुलकार देखिनै माथि पनि आउन सकिन्थ्यो तर खच्चरमा चढ्नु पनि रहरै थियो भलै त्यो ३८ डिग्रीको गर्मी र नाक ठोक्किने उकालोमा निरिह माथि चढ्नु पशु अधिकार हनन भएको महसुस नै किन नहोस !

फिरा आएर हल्काफुल्का खाजा खाँदा २ बजिसकेको थियो योजनाअनुसार अब हामी सान्टोरिनिको पुर्विय तटमा रहेको कमारी तिर जानको निम्ती बसमा चढ्यौ ! निकै नै भब्य होटल, रिसोर्ट अनि रेस्टुरेन्टहरु साथै वाइनको फ्याक्ट्री भएका ससना गाउँहरुमा पनि छिचोल्दै बस अगाडी बढ्यो ! फिरा र कमारी बिचको दुरी झन्डै ९ माईल भएता पनि निकै साँघुरो सडक भएको कारण झन्डै ३० मिनेट नै लाग्यो ! हुन पनि कमारी विभिन्न रिसोर्टहरु, कन्टिनेन्टल अनि सिफूड रेस्टुरेन्टहरु, निकै ठुलो सुपरस्टोर र खुल्ला सिनेमाको निम्ती प्रख्यात मानिदो रहेछ ! त्यहाँको हरेक घरहरु खुबै कुशलतापूर्वक सिंगारिएको थियो अनि चारैतिर मगन बेली र लहरे फूलहरुले झकिझकाउ थियो ! ज्वालामुखीद्वारा निर्मित कालो चट्टाने भिरालो पहाडबाट् शुरुभएको समुन्द्रको बगरै कालो बालुवाको थियो ! बगरमा ससना गुम्बज आकारमा बनिएको एकैनासे छाप्राहरु बगरको वल्लो छेउ देखी आँखाले नभ्याईने पल्लो छेउसम्म फैलिएको थियो ! खाँबो गाडेर खरको छानो लगाइएको छाता आकारको यो छाप्रो र सुत्नको निम्ती फोल्डिङ कुर्सिहरु हायर गर्न सकिन्थ्यो ! प्रत्येक् छाप्रोमा दुईजना मान्छे मज्जाले सुतेर वा बसेर समुन्द्रको दृष्यावलोकन गर्न सकिन्थ्यो ! कोल्ड ड्रिन्क्स, फलफूल र स्न्याक्स बेच्न घरि घरि घुमन्ते पसलेहरु घुमिरहन्थे ! निलो समुन्द्रमा डुबुल्की मारेर रमाउने अनि छाप्रोमा बिसाउने कति सुन्दर क्षण थियो साँचै नै बर्षमा एकपल्ट आफ्नो कामबाट फुर्सदको समय मिलाएर गच्छे अनुसार छुट्टी मान्नु भनेको जीवनलाई तरो ताजा राख्नु हो !

कमेनी विचमा सक्दो रमाइलो गर्यौ, समुन्द्रमा खेल्यौ अनि सकेसम्म फोटोहरु खिचेर हामी अब अर्को रमाइलो रेड विच तिर जानुको निम्ती बसमा चड्यौ ! साँघुरो बाटोको कारण बस बिस्तारै अगाडी बढ्यो ! अहिले भने सडकको दाँयाबाँया अङ्गुर र ओलिभको बगान भएकोले धेर थोर हरियाली देख्न पाइयो ! भौगोलिक बनावट चाँही कता कता बोस्निया पुगे जस्तै लागिरहेको थियो ! झन्डै १ घण्टामा हामी रेड विच पुग्यौ ! पर्यटकहरुको निम्ती खेल्न र मनोरन्जनको सुबिधा खासै केही नभएको यो सानो बिच त्यहाँको समुन्द्र निलो भएता पनि बगर अनि पाखा सबै रातै भएको कारण मात्रै आकर्षणको केन्द्र बनेको भान हुन्थ्यो ! यो रेड विचको रमाइलो रातो रङलाई पारी क्षितिजमा अस्ताउँदै गरेको सुर्यको रातो लालीले झनै मनमोहक बनाईरहेको थियो ! यसरी हाम्रो आजको रमाइलो दिनसगैँ बेलायत फर्किने दिन पनि एक दिन मात्रै रह्यो !

८ अगस्त, बुधवार, आज सेन्टोरिनीमा रमाइलो गर्ने अन्तिम दिन भरै साँझ हाम्रो उडान समय १० बजे थियो ! होटलको नियम अनुसार हामीले बिहान ११ बजेसम्म कोठा बुझाईसक्नु पर्थ्यो ! हाम्रो उडान साँझ मात्रै भएकोले समान प्याक गरेर होटलले नै ब्यवस्था गरेको रिसेप्सनमा रहेको स्टोरमा हाम्रो समान राख्यौ ! त्यसपछि क्वाड बाइकमा सेंटोरिनी पुरै घुम्ने योजना अनुरुप तेज दाई र म बाइक हायर गर्न गयौ ! प्रेम दाई र दिदी फिरा बजारमा रमाइलो गर्ने भए ! हामी बसमा हिंडेको बाटोहरु लगायत पहिले नघुमेको गाउँ तिर जता जता मन लाग्यो त्यतै नै घुमेर रमाइलो गर्यौ ! करिब ३ बजे तिर बाइक बुझायौ अनि सेन्टोरिनीको सौगात स्वरुप केही समानहरु किन्न फिरामा गयौ ! उतै नै खाना खायौ अनि होटल फर्केर चाबी बुझायौ ! होटलका सहयोगी मेनेजर थोमस भेसिलोसलाई यहाँ बसिन्जेल गरेको सहयोग अनि हार्दिकताको निम्ती धन्यवाद दिएर होटलले नै बोलाइदिएको मिनिबसमा चढेर एयरपोर्ट तर्फ लाग्यौ !

(ब्रिटिस आर्मीबाट अवकाशपछि हाल बेलायतमा सपरिवार बस्दै आउनु भएका लेखक मुकेश राई गीतकार तथा कवि हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *