युवा लेखक अभिनाथ राईको सुझाव मानेभन्ज्याङ गाउँपालिकालाई

विचार / ब्लग
अभिनाथ राई

नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट प्रस्तुत गरिसकेको छ । यही क्रममा नेपालको सबै स्थानीय तहमा समेत ससर्त बजेट गएको अवस्था छ । र हाम्रो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाँउपालिकालाई पूर्ण हुने बजेट गएको होला । अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‌( कोभिड–१९) ले गर्दा विकासका कुरामा चनौति थपेको छ, स्थानीय तहलाई र भाइरस हटेपछि उत्तिकै अवसरसमेत छ । यस कुरालाई ध्यानमा राख्दै मानेभञ्ज्याङ गाउँपालिकाले आ व २०७७/७८ को बजेटलाई सबै वडालाई समेट्ने खालको योजना तथा कार्यक्रम ल्याउनु पर्छ र बजेट विनियोजित गर्नु पर्छ । यसका लागि ओखलढुङ्गा जिल्ला मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँपालिकाको मन्त्री सरहका ९ जना वडा अध्यक्षलाई मेरो केही बुँदामा मेरो सुझाव यस प्रकार रहेको छ :

१) विद्युतः यस गाउँपालिका अन्य सुविधा भन्दा अहिलेलाई विद्युतको बढी आवश्यकता रहेको छ । १ नं. वडा मोलीमा पहिला नै केन्द्रिय लाइन बालेको छ । अन्य वडामा बलेको छैन । पालिकाको पहलमा मोली(खाटा(पंखु(केतुके(मानेभञ्ज्याङ सम्मको पोल र तार टाङ्ने काम भएको छ । २ नं. वडा वाक्सा‚ ३ नं. वडा उँबू र ८ नं. वडा राघापूर बाहेक अन्य वडा सोलु जलविद्युत आयोजनाको प्रभावित क्षेत्र भएकोले आयोजनाले नै ३ किलो मिटरसम्म पोल र तार टाङ्ने कार्य ‍हुदै आएको छ । र बांकी क्षेत्रमा पुग्ने साथै सबै वडामा विद्युतको सामग्री र बिजुली बत्तीको पहुँचमा पुग्ने गरी बजेट विनियोजन गर्नु गर्छ ।

२) सडकः मानेभञ्ज्याङ गाउँपालिकामा सबै वडामा सडक संजाल पुगेको अवस्था छ । केहि क्षेत्र जस्तो ४ नं. वडा केतुकेको न्यउरे गाँउमा अझै पूर्ण रुपले सडक पुगेको अवस्था छैन । यस क्षेत्रका लागि विशेष बजेट विनियोजन गर्नु पर्छ । १ नं. वडा मोली देखी पालिका केन्द्र मानेभञ्ज्याङ सम्मको समाबेशी सडकलाई बजेट विनियोजन गर्नु पर्छ । यस भन्दा पहिला पालिकाबाट ७० लाख र प्रदेशबाट १ करोड ३० लाख छुट्टयाएको थियो । र पछि यो सडकमा आ व २०७६र७७ मा तिनै तहका सरकारले बजेट विनियोजन गरेन । दुधकोशीमा भौतिक संरचना निर्माणका लागि चाहिने बालुवा‚ गिटी‚ ढुंगा पाइने भएकोले र यो बाट वडा र पालिकालाई आन्तरिक राजस्व उठ्ने र आम्दानी हुने भएकोले मोली देखि दुधकोशी‚ वाक्सादेखि दुधकोशी‚ उँबूदेखि दुधकोशी माथिल्लो रिचुवादेखि दुधकोशी र जाक्मादेखि जयरामघाट दुधकोशी सम्मको सबै सडकहरुको स्तरोन्नतिको लागि बजेट विनियोजन गर्नु गर्छ । त्यसैगरी केतुके पराङघासदेखि माधापूर सम्मको सडकलाई बजेट छुट्टाउनु पर्छ । मानेभञ्ज्याङदेखि माधापूर हुदै मोलुङ खोला सम्मको सडकको स्तरोन्नति गर्नु पर्छ । र मानेभञ्ज्याङदेखि राघापूर‚ थाक्लेदेखि सातसल्ले सडकलाई प्राथमिकता दिनु पर्छ । मानेभञ्ज्याङदेखि उदयपूर हुदै ब्रासिब सम्मलाई बजेटको व्यवस्था गर्नु पर्छ । र अन्य आवश्यकता पहिचान गरी सडक विस्तार‚ स्तरोन्नति गर्नु पर्छ ।

३) कृषिः अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‌(कोभिड–१९)ले के सिकाएको छ भने जो कृषिमा आत्मानिर्भर रहन्छ ऊ बाच्न सक्छ भनेर । त्यसैले कृषि सम्बन्धि विशेष पहिचान गरी कृषकलाई अनुदान दिनु पर्छ । जस्तो मोलुङ र दुधकोशी आसपासमा बढी आँप फल्ने भएकोले त्यताको कृषकलाई प्रोत्साहन र तालिम प्रदान गरेर आँप खेतीको लागि अनुदान बजेटको व्यवस्था गर्नु पर्दछ । अहिलेको अवस्था हेर्दा पालिकाभित्र बाख्रा पालनको लहर चलेको छ । प्रक्रिया पुर्याउने कृषकलाई अनुदान दिने कार्यक्रम हुनु आवश्यक छ । र गाउँपालिकाले अनुदान दिएर मात्रै हुदैन कृषकबाट उत्पादित वस्तुलाई बजारिकरणको व्यवस्थापन पनि गर्नु पर्यो । यसको लागि पालिका स्तरमा एउटा कृषि संकलन केन्द्रको स्थापना गर्नु पर्दछ र यसको लागि बजेटको उचित व्यवस्था गर्नु पर्छ । र ती वस्तुहरुलाई बजार सम्म पुर्याउने कार्य निती तथा कार्यक्रममा हुनु पर्छ । त्यसैगरी अनुदान दिदा कसरी दिने त ? उदाहरणको लागिः चिसो ठाउँ भन्दा गर्मी ठाउँमा सुँगुर, बँगुर छिटो हुर्किने हुन्छ र चिसो ठाँउको पालकभन्दा गर्मी ठाँउको सुँगुर, बँगुर पालकलाई अनुदानमा प्राथमिकता दिनु पर्ने हुन्छ ।

४) स्वास्थ्यः कोभिड–१९ ले गर्दा विश्व नै आक्रान्त भएको अवस्था छ र स्वास्थ्य नै धन हो भन्ने कुरा यसले सावित समेत गरेको छ । यो अवस्थालाई ध्यानमा राख्दै मानेभञ्ज्याङ गाउँपालिकाले यस बर्षको बजेट विशेष गरी स्वास्थ्यमा विनियोजन हुनु पर्छ । कोभिड–१९ बाट गाँउपालिका सुरक्षित हुनका लागि ९ वटा वडाका सबै स्वास्थ्य चौकीलाई व्यवस्थित गर्नु पर्दछ । यसको लागि भौतिक तथा प्राविधिक सुविधा साथै जनशक्तिको व्यवस्थापन गर्नु पर्दछ । जनशक्तिको अभाव रहेको खण्डमा करारमा नियुक्ति गर्ने व्यवस्था गर्नु पर्दछ । यसको लागि चाहिने बजेटको व्यवस्था मिलाउनु पर्छ । प्रत्येक वडामा सामान्य सुविधा उपलब्ध हुने बर्थिङ सेन्टरको व्यवस्था हुनु आवश्यकता छ । यसलाई चाहिने आर्थिक व्यवस्था पालिकाले मिलाउनु पर्छ । यसले गर्दा गर्भवती महिलाहरु अन्य स्वास्थ्य संस्थामा जान नपरोस ता की कोरोना भाइरसबाट बच्न सकोस् ।

कोरोना भाइरसका कारण लकडाउनले गर्दा विश्व श्रम बजारमा गएका कामदारहरु स्वदेश फर्कने क्रम जारी छ र यसमा पालिका भित्रको कामदारहरु आउने छन् । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्नका लागि कम्तीमा ३०(४० बेडको क्वारेन्टाइनको व्यवस्था गर्नु पर्दछ । नेपाल सरकारले विदेशबाट फर्केकाहरुलाई नेपाल आर्मीको मातहातमा रहेर सिधै सम्बन्धित स्थानीय तहमा पठाउने व्यवस्था मिलाएको छ । बाकी कार्य स्थानीय सरकारले नै गर्नु पर्ने भएकोले गाँउपालिका केन्द्र मानेभञ्ज्याङमा व्यवस्थित क्वारेन्टाइन हुनु पर्ने देखिन्छ । र पछि सम्बन्धित वडामा ती कामदारहरुलाई पठाउने व्यवस्था मिलाउनु पर्छ । यसको लागि उचित बजेट विनियोजन गर्नु पर्ने देखिन्छ । पालिका भित्र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका निम्ति अग्रपंत्तिमा खटिनु भएका स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, पत्रकार र अन्य स्वयंमसेवकहरुलाई पीपीईको व्यवस्था गर्नु पर्दछ । मानेभञ्ज्याङ गाउँपालिका भित्रका दीर्घ रोगीहरुलाई औषधीको व्यपस्थापन गर्नु पर्छ ।

५) शिक्षाः शिक्षा क्षेत्र पनि कोरोना भाइरसले नराम्रो प्रभाव पारेको छ । त्यसैले यसलाई मध्येनजर गर्दै यस आर्थिक बर्ष २०७७र७८ बजेटमा मानेभञ्ज्याङ गाँउपालिकाले शिक्षामा पनि उचित बजेटको व्यवस्था गर्नु पर्ने देखिन्छ । पालिकाभित्र ८ वटा माध्यमिक विद्यालय छन् र यी विद्यालयहरुमा कक्षा १२ सम्म संचालन गर्न भौतिक पूर्वाधारको आवश्यकता र यसको व्यवस्था गर्नलाई बजेट विनियोजन गर्नु पर्छ । साथै अन्य आधारभूत विद्यालयहरुलाई समेत भौतिक विकासको लागि बजेटको व्यवस्था गर्नु पर्छ । निजी विद्यालयको आकर्षण र गाँउबाट सहरमा पढाइको लागि जाने चलन भएकोले गर्दा सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घट्दो छ । अनुगमन गरी कम विद्यार्थी र शिक्षक बढी भएका विद्यालयहरुलाई एक अर्कामा गाभ्ने साथै शिक्षकहरुको व्यवस्थापन गर्ने कार्यक्रम हुनु पर्दछ । विद्यालय तहको कर्मचारीहरुको अन्य कर्मचारीको तुलनामा तलब सुविधा कम छ । पालिकाको आन्तरिक स्रोतबाट विद्यालय तहका सबै कर्मचारीहरुलाई न्यूनतम तलब सुविधाको व्यवस्था गर्नु गर्छ । विद्यालय शिक्षालाई सुधार गर्न र प्राविधिक शिक्षा संचालन गर्न सम्बन्धित निकायका पहल गर्ने । व्यवहारिक शिक्षा प्रदान गर्न प्रत्येक विद्यालयमा इन्टरनेटको सुविधा प्रदान गर्ने र त्यसको लागि आवश्यक विद्युतिय सामग्री उपलब्ध गराउन बजेटको व्यवस्था गर्नु पर्छ ।

६) पर्यटनः पर्यटनलाई नेपालको एउटा आय स्रोतको रुपमा लिइन्छ । त्यसैले यस बर्षको बजेट बाँडफाँटमा लिब्जु, सातसल्लेर सिद्धधाम आदी स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न उचित बजेट विनियोजन गर्नु पर्ने देखिन्छ ।

अन्त्यमा यी माथिका कुरा किन भनेको भन्दा म पनि यस पालिकाको एउटा व्यक्ति भएकोले गर्दा पालिकालाई राम्रो बनाउनका लागि मैले बुझेका कुरालाई सानो सल्लाहको रुपमा मात्रै प्रस्तुत गर्न खोजेको हो । बौद्धिक व्यक्तिहरुको सल्लाह र सुझाव लिएर यस बर्षको योजना तथा कार्यक्रम ल्याउदा प्रभावकारी हुनेछ । एक, दुई वा पाँच वर्षभन्दा पनि दीर्घकालीन प्रभाव राख्नसक्ने योजना बढी प्राथमिकतामा पर्न जरुरी छ ।

मानेभन्ज्याङ गाउँपालिका-३ उँबू, ‍ओखलढुंगा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *