घुन्सा दुर्घटनाको १५औं स्मृति : धीरेन्द्र रुम्दालीको नमेटिएको जिज्ञासा ‘गोपाल राईलाई सोध्न बाँकी प्रश्न’

विचार / ब्लग

घुन्सा दुर्घटनाको १५औं स्मृति : गोपाल राईलाई सोध्न बाँकी प्रश्न
–धीरेन्द्र रुम्दाली

हामी केटाकेटी हुदाँ गोपाल राईको बारेमा अनेकानेक साहसिक प्रसङ्गहरू सुन्ने गथ्र्यौं । जसले हाम्रो बाल मस्तिष्कमा उहाँको अरु मान्छेभन्दा पृथक छाप छोड्नुका साथै देख्न, भेट्न पाए हुन्थ्यो भन्ने बनाइरहन्थ्यो । त्यही मध्ये मैले सम्झिरहने एउटा प्रसङ्ग छ । सम्भवत कुरा ०३६–३७ सालतिरको हुनुपर्छ । यो घटना भने उदयपुरको कटारीस्थित उहाँकै अहिलेको रहेको घरको हुनुपर्छ । प्रहरीले उहाँको व्यापक खोजी गरिरहेको थिएछ । सोही बेला प्रहरीसँग जम्काभेट हुन लाग्दा उहाँले हत्तपत्त महिला भेषभुषामा सजिएर गाग्रोमा पानी भर्न खोलातिर गएको अभिनय गर्नु भएछ । उहाँको निवासदेखि पूर्वपट्टि रहेको तावाखोला छ, र त्यही नाकाबाट तराई क्षेत्र प्रवेश गर्न सकिन्छ । उहाँ त्यतैबाट भागेर प्रहरीको पञ्जामा पर्नबाट जोगिनुभएछ ।

हुन त यो घटना उहाँको लागि सामान्य हुनपर्छ । तर हामीले भने यो घटनालाई निकै आश्चर्यका साथ लिन्थ्यौं । किनभने हामो बाल मस्तिष्कमा प्रहरी सर्वगुण सम्पन्न हुन्छन् भन्ने भ्रम थियो । र अर्को कुरा एउटा पुरुषले कसरी नारीको भेषभुषामा प्रहरीलाई झुक्काउन सक्छ ? भन्ने लाग्थ्यो । त्यही उत्सुकताले नै हाम्रो बाल मस्तिष्कमा उहाँको व्यक्तित्वको गहिरो छाप परेको थियो । हुन त उहाँ मेरो गाउँले र साइनोले फुपाजु हुनुहुन्थ्यो । तर पुरानो नाता–सम्बन्धका कारण उहाँलाई म काका भन्थें ।

अध्ययनको सिलसिलामा म पनि बाहिरै रहेको र उहाँ पनि राजनीतिमै व्यस्त हुनुहुने हुँदा उहा्ँसँग त्यति भेटघाट हुदैनथ्यो । नेतासँग भेटघाट हुने भनेको चुनावको बेला हो । तर २०५१ सालमा उहाँले ओखल्ढुङगाको दुवै क्षेत्रबाट कांग्रेसको विद्रोही उम्मेदवार हुनुहुदाँ म तन्नेरी भइसकेको थिइन । त्यसैले पनि उहाँसँग त्यति धेरै नजिकिन पाइएन । विशेषत ०४६ साल पछिको नेपालका नेताहरू चुनावको बेला मात्रै गाउँघर जाने परम्परा झाँगिएको थियो । त्यसबाट उहाँ पनि मुक्त हुन सक्नुभएन भन्ने नै लाग्छ । उहाँसँग भेट्ने मौका कम मिलेको थियो ।

उहाँसँग पहिलो भेट ०४७ साल ताका भएको हो । प्रजातन्त्रको माहौल लिएर गाउँ आउनु भएको थियो । त्यसबेला हाम्रा गाउँका अधिकांश युवाहरू उहाँको स्वागतका लागि सदरमुकाम ओखल्ढुङ्गा पुगेका थिए । तिनै युवाहरूले अबिरजात्रा गर्दै कांग्रेसको झण्डासहित उहाँलाई आफ्नो जन्म गाउँ मोली ल्याइपु¥याएका थिए । बाटैमा पर्ने हाम्रो घरमा निस्किएर उहाँले परिचय गर्दै हाम्रो पढाइको बारेमा सोध्नुभएको थियो । उहाँको पातलो शरीर, चाउरिएको गाला र प्रहरीको गोलीबाट केही बिकलाङ्ग बनेको हत्केलाले धाप मार्दै ‘राम्रो पढ्नु पर्छ है’ भन्दै दिनुभएको शुभेच्छा अहिले पनि सम्झना ताजै छ ।

उहाँसँगको दोसो भेट किरात राई यायोक्खाले २०५७ सालमा सुनसरीको धरानमा आयोजना गरेको ‘वृषमान–जसरानी स्मृति कप साकेला नृत्य प्रतियोगिता’मा भएको थियो । उहाँ त्यसबेला भूमि सुधार तथा व्यवस्था राज्यमन्त्रि हुनुहुन्थ्यो साथै सो कार्यक्रमको प्रमुख अतिथि पनि । पूर्वाञ्चल भरीका हजारौं किरात राईहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा उहाँले किरात एकताको कुरा मात्रै होइन किरातीहरू प्रकृतिपुजक भएको समेत बताउनुभएको थियो । म त्यसबेला किरात राई विद्यार्थी संघको तर्फबाट कार्यक्रम व्यवस्थापन गर्ने स्वयंसेवकको रुपमा कार्यरत थिएँ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा आउनुभएको कारण त्यहाँ मैले आफ्नो व्यक्तिगत नाता सम्बन्धलाई त्यति महत्व दिइन । उहाँको व्यक्तित्वले भने मलाई प्रभाव पारिरहेकै थियो ।

यसपछि उहाँ अर्थराज्य मन्त्री हुँदा पुनः भेट भएको थियो । त्यसबेला उहाँलाई मैले एउटा फरक व्यक्तित्वका रुपमा चिन्ने अवसर पाएँ । उहाँलाई मैले अलि कठोर व्यक्तिको रुपमा चिन्थे तर त्यसको ठीक विपरीत हुनुहँुदो रहेछ । खासगरी उहाँ प्रकृतिपुजक भएको मैले पाएँ । विहानै उठेर बगैचामा फूलको स्याहार सुसार गर्नु उहाँको दिनचर्या नै रहेछ । जुन कुरा त्यसपछिको उहाँसँग भएको भेटहरूले पनि सावित गरेको थियो । बाहिर कतै जाँदा अरु कसैसँग उहाँले माग्ने भनेकै फूलको विरुवा थियो । आफ्नो बगैचामा रहेको फूलभन्दा अरु कुनै नौलो देखे उहाँलाई माग्न कुनै अप्ठ्यारो महसुश हुदैनथ्यो । पछि वन राज्यमन्त्री हुदाँ साथीभाइहरूसँग के भन्ने गर्थे भने वास्तवमै प्रकृतिको बारे बुझ्ने मान्छे नै वन मन्त्री हुनुभएको छ ।

उहाँ वन मन्त्री हुनुभएकै बेला पूर्व भ्रमणमा निस्किनु भएको थियो । म त्यसबेला धरानमै थिएँ, उहाँ त्यही बाटो भएर धनकुटा जानुभयो । तर उहाँसँग भेट्ने अवसर भने पाइएन । सम्भवतः उहाँ धनकुटाबाट उदयपुर हुदै ओखलढुंगा, त्यसपछि ताप्लेजुङमा पुग्नुभएको रहेछ । म भने किरात राई विद्यार्थी संघको कामको सिलसिलामा उदयपुरको बेलटार पुगेको थिएँ । बेलटार पुग्नु अघि बसाहा नजिकै विपरीत दिशाबाट आइरहेको ट्रक हिलोमा फसेपछि हामी जाममा परेका थियौं ।

बादलले आकाशै ढपक्क ढाकेको र मुसलधारे पानी दर्किरहेको थियो ०६३ भदौ ७ गते । बेलुकी बेलटार बजार पुगेपछि वन राज्यमन्त्रि गोपाल राईसहित २४ जना विशिष्ट व्यक्तित्वहरू ताप्लेजुङको घुन्सामा हेलिकप्टरमा बेपत्ता भएको समाचार साथीहरूले मलाई सुनाए । पत्यार लागेन । तर, रेडियोमा त्यही खबर सुनेपछि हामी सबै स्तब्ध भयौं । त्यति खबर सुनेपछि घन्टैपिच्छे रेडियोमा कान थापेर थप जानकारीको प्रतिक्षामा रह्यौं । पानी रोकिने छाँटकाँट देखिएन, अझ उहाँसँगै ठूलीआमा (गोपाल राईकी श्रीमती) पनि हराउनुभएको छ भन्ने खबरले झन शोकमग्न भयौं । मसँगै झापाका पत्रकार दिपेनबाला राई पनि हुनुहुन्थ्यो ।

उहाँको परिवारको बारेमा स्थानीय साथीभाइहरूले राखेको थप जिज्ञाशा मैले मेटाउने प्रयास गरें । उहाँसहित श्रीमति मीना राई पनि दुर्घटनामा पर्नुभएको कारण पनि सर्वसाधारणले उहाँको बालबच्चाको बारेमा चिन्ता गरेको हुनुपर्छ । मेरो जानकारीमा रहेजत्ति मैले गोपाल काकाको परिवारको बारे जानकारी गराएँ । त्यो कालो दिन जसले कसैको आमा, बाबा, आफन्तमात्रै खोसेन, एउटा जुझारु युवा नेता समेत खोसेर लगेको छ । हुन त उहाँले आफ्नो गाउँको बारे गर्नुभएको बेवास्ता प्रति औंला ठड्याउनेमध्ये म पनि एकजना पर्छु ।

कारण उहाँ ०५६ सालको चुनावमा सांसद हुनुभएपछि गाउँ फर्केर एकदिन जानुभएको थिएन । उहाँले किन गाउँ फर्कनु चाहनु भएन यो प्रश्नको जवाफ अब सम्भवत पाउन गाह्रो छ । जुन प्रश्न उहाँलाई म भेटेर सोध्न चाहान्थें । जसरी उहाँ कांग्रेस भित्र पनि विद्रोही नेताको रुपमा परिचित हुनुहुन्थ्यो, त्यसैगरी हामी मोलीका युवाहरू पनि उहाँलाई आफ्नो गाउँलाई बेवास्ता गरे विद्रोह गर्ने प्रस्ताव उहाँलाई राख्न चाहन्थ्यौं । तर त्यो प्रस्ताव पनि अधुरै रहेको छ । हामी यस अर्थमा पनि उहाँहरू (पूर्वमन्त्री तथा विधायक बलबहादुर राई र गोपाल राई) सँग असन्तुष्ट थियौं÷छौं कि उहाँहरूले चाहनु भएमा केही समयमै मोलीमा टेलिफोन लगायतका सुविधाहरू पुग्न सक्थ्यो । तर उहाँहरूले आफ्नो गाउँलाई भन्दा अन्य गाउँलाई बढी महत्व दिनुहुन्थ्यो ।

अझ हामी युवाहरू त गोपाल राईलाई किन पनि बढ्ता आलोचना गर्न चाहन्थ्यौं भने उहाँ विद्रोही उम्मेदवार हुनुहुदाँ उहाँलाई सघाएका थियौं । त्यसबेला यतिसम्म भएको थियो कि एकै घरका बाउ–छोरासमेत रुख र भ¥याङको भिन्दा–भिन्दै समूहमा विभाजन भएका थियौं । स्मरण रहोस् बलबहादुर राईको रुख र गोपाल राईको भ¥या¥ङ चुनाव चिन्ह थियो । उहाँहरू (बलबहादुर राई र गोपाल राई) काका–भतिजा त केही समयपछि मिल्नु भयो क्यार । तर गाउँघरमा पानी बाराबार चल्यो ।

यसर्थ पनि गोपाल राईले विकासको आँधीबेहरी ल्याउनुपर्छ भन्ने हिसाबले पनि उहाँलाई हामी आलोचना गर्ने गथ्र्यौं । मोली गाउँ राष्ट्रलाई दुई–दुई जना मन्त्री हुन योग्य व्यक्तित्व दिएर पनि जन्मथलो र गाउँले अझै अन्धकार र विना सूचनाविहीन बेखबर छ । मातृभूमिको यो पीडाबारे एक जिम्मेवार युवाको हैसियतले उहाँसमक्ष गाउँ नफर्कनुको बारे सोध्न चाहन्थें । जुन जिज्ञाशा सदासदाको लागि अनुत्तरित भएको छ । तथापि उहाँको भौतिक शरीरले मोली गाउँलाई पुनः देख्न नपाए पनि गोपाल राईको सिद्धान्त र आदर्शको बाटो भएर हजारौं युवाहरू दिनानुदिन राष्ट्र निर्माणमा जुटिरहनेछन् भन्ने मैले विश्वास लिएको छु ।

२०६४ भदौ २५
धरान, सुनसरी ।
(गोपाल–मीना राई स्मृति प्रतिष्ठान, नेपाल (भाग १)द्वारा प्रकाशित ‘गोपाल–मीना राई स्मृति ग्रन्थ’ (२०६४)मा छुटेको आलेख यहाँ प्रकाशन गरिएको छ । प्र.सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *