हर्कराज राई ‘बुद्धि’को आलेख : ‘फोकुलेङ कुलो’ गीत बनेको कुलो फेरि यसरी बन्यो

प्रदेश १ विचार / ब्लग

गाउँघरको सेरोफेरो : ‘फोकुलेङ कुलो’ गीत बनेको कुलो फेरि यसरी बन्यो

हर्कराज राई ‘बुद्धि’

इतिहासको अभूतपूर्व कालखण्डमा पुस्तौ पुस्तासम्म पनि रहिरहने गरी सँधै र सबैको निम्ति खासगरी फोकुल गाउँ र फोकुलेहरूको लागि वि.सं.१९६० सालदेखि नै कुलो खन्ने काम सुरु गरे । निरन्तर कडा परिश्रम गरेर १९७६ सालमा सिर्कु खोला र रोम्दो खोला निर्विरोध मुहान कायम हुन गयो । यसरी फोकुल कुलो सम्पन्न गरेर आफ्ना सन्तानहरूलाई नासोको रूपमा छोडेर गए । पौरखी हाम्रो उपोहरू महान कर्म गरेकोमा फोकुल गाउँ र फोकुलेहरूको लागि सधैं अमर रहनु भएको छ । यो ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ फोकुल गाउँको कथा हो ।

मान्छे मर्छ तर उसले गरेको काम र उसले बोलेको बोली कहिल्यै मर्दैन । यो फोकुल कुलोमा हाम्रा बाजेहरूले आजका पुस्तालाई गुन लगाएर स्वर्गे हुनुभयो । उहाँहरूको योगदानलाई फोकुलेहरूले सधैं सम्झिरहेका छौं । बुढापाकाहरूको भनाइअनुसार त्यो समयमा रोग, गरिबी र भोकमरीको चरम समस्यासँग जुधिरहेका थिए । त्यो अवस्थामा गाउँघरमा अन्नभन्डारण गर्ने व्यक्ति कोही पनि पाइँदैनथ्यो । त्यसकारणले गर्दा यहाँका लोग्ने मानिसहरूले डोको, कुम्लो बोकेर टाढाटाढा पुगेर अन्नपात बेसाएर वा किनेर हप्ता दश दिन जति लगाएर घर फर्किन्थे ।

तराईको विभिन्न ठाउँहरू सिरहा जिल्लाको मिर्चैया, गोलबजार, लहान, उदयपुरको अम्टाइ (वर्तमान कटारी बजार) सम्म पुगेर मकै, कोदो, धान, फलाम, मट्टितेल जस्ता सामग्री ल्याउँथे । आवश्यक सामग्रीहरू भारी पु¥याएर घर आउनु पथ्र्यो । त्यतिखेरको समयमा अहिलेजस्तो जताततै चामल पाइदैनथ्यो । बाटोघाटो सडक र पुलपुलेसाहरू थिएन । अन्न बेसाउन गएका घरका सदस्य नफर्केसम्म छिमेकीबाट ऐचोपैचो गरी खोलेनाले खाँदै पर्खिन्थ्यो । बल्लतल्ल पर्देशीले ल्याइपु¥याएको एकभारी बेसा पनि पैंचो तिर्दा आधा मात्रै बाँकी रहन्थ्यो र त्यो बाँकी रहेको अन्न पनि आफूजस्तै अरुहरू वा छिमेकीहरूले पैचो पाग्न आउँदा पनि दिनु पथ्र्यो । समय ज्यादै कष्टपूर्ण थियो । मिठोमसिनो खानेकुरा पाउनु भनेको त टाढाको कुरा हुन्थ्यो । चरम गरिबी थियो । त्यो जमानामा अन्न उब्जाउ थोरै हुन्थ्यो । सधैजसो अनिकाल हुन्थ्यो । कतिपयले भातको साटो खोलेनाले खाएर पनि दिनरात गुजार्नु पथ्र्यो । हिउँदमासमा चाहिं कन्दमुलजन्य फर्सी, इस्कुस, सुठुनी, तरुल इत्यादि जिनिसहरू उसिनेर खाएर छाक टार्थे ।

यसरी आफ्नो परम्परागत संस्कार संस्कृतिक मुन्दुम धर्म मान्दै आएका छौं । बचाउँदै आएका छौं । वाम्बुले राईहरूको मक्तुम संस्कृतिअनुसार फेलि, न्वागि, खाउमो, पुसेजस्ता पित्री कार्य गर्दैआएका छौं । वर्षमा एकपटक न्वागि गर्नैपर्ने हुन्छ । न्वागि कार्य गर्नका निम्ति आफ्नै खेतीमा उब्जाएको धान चाहिन्छ । धानलाई ओखलीमा कुटेर चिउरा र चामल तयार गरिन्छ । त्यो नयाँ अन्नलाई कुलदेवतालाई सबैभन्दा पहिले चढाएरमात्र चलनचल्तीमा ल्याउनु पर्छ । त्यसो गर्दा कुलदेवता खुसी भई त्यस घरमा रोगव्याधी र पिरमर्का कम हुने, लाभकारी हुने र आम्दानी बन्ने जस्ता मुल्यमान्यता कायम छ ।

फोकुल गाउँ एक सुन्दर ठाउँ हो । यहाँको माटो उब्जाउ लाग्ने ऊर्वर छ । त्यसैले यहाँ धान लगायत धेरै किसिमका बालीनाली राम्रै उब्जाउ हुन्छ । तर यहाँ भने पानीको स्रोत छैन । फोकुलेहरूको बेंसी अथवा खोला किनारतिर धान रोप्ने खेत पनि कसैको छैन । तर यहाँका बासिन्दाहरूले न्वागिलगायत अरु धार्मिक कार्य गर्दा धान नभई हुँदैन । तथापि धर्मले पनि मानिसहरूलाई एक हदसम्म गरिखाने सद्बुद्धि प्रदान गर्दोरहेछ । एउटा कथा सुनिन्छ, तिमीले धर्मलाई मान, धर्मले पनि तिमीलाई सहयोग गर्नेछ । यस्तैयस्तै तरिकाले फोकुल कुलो पनि स्थापना भएको देखिन्छ ।

कुरा १९६० सालतिरकै हुनुपर्छ । त्यसबेलाको समयमा फोकुलमा जम्माजम्मी १८–१९ घर थिइछ । त्यस बखत एक दिन फोकुले साउने टोलवासी दिकुआमा भनिनेको विवाह परेको थियो । त्यो विवाहमा भेला भएका अगुवा कर्ताहरूले एकअर्कामा कुराकानी गरेछन् । कहीं कतैबाट भएपनि यस गाउँमा सिंचाई पानी ल्याएर सुख्खा पाखोबारीलाई सिंचित गर्ने भनेछन् । त्यसो हुँदा आफैंले धान फलाएर पित्रिकार्यमा कुलदेउतालाई पनि खुसी बनाउने र आफूहरूले पनि धान उत्पादन गर्न सकिने भयो । उनीहरूमा आपसी सहमति भएछ । सल्लाह बमोजिम फोकुलबाट पूर्वतर्फ साविक उँबु गाविस–३ र वाक्सा–२ सीमानामा पर्ने मसार खोलाको पानीको स्रोत र मुहान हेर्न पुगेछन् । हेरिसकेपछि त्यो खोलाको पानीको स्रोत कम भएको र त्यो पानीले पूरै फोकुल गाउँको जमिनलाई धान्न नसक्ने ठहर गरेछन् ।

फर्केर आएपछि फेरि सरसल्लाह गरेका छन् । त्यसपछि गाउँको उत्तर–पश्चिमतिर रोम्दो खोलातर्फ हेन गएछन् । टाढा भएपनि पर्याप्त पानी भएको मुहान पाएछन् । लगभग ६ हजार मिटर लामो दूरी पर्दछ । यो ठाउँ साविक उँबु–३ र ४ केतुकेको सीमानामा रहेको छ । यस कुलोको मुख्य मुहान रोम्दोखोला हो । यसको सहायक मुहान सिर्कुखोला चाहिं यसै वडा–३ उँबुमा पर्छ । यो कुलो धेरै अप्ठेरो भिरपहरा पर्दछ । त्यतिबेलाका आँटिला, जोशिला १७ व्यक्तिहरू निम्न हुनुहुन्थ्यो । १) वीरध्वस राई २) सार्के राई ३) किताबसिं राई ४) अतिरुप राई ५) हिराधन राई ६) छबे राई ७) शिरधन राई ८) सुबल राई ९) समे राई १०) आशधन राई ११) सर्वधन राई १२) रंगे राई १३) तन्ते राई १४) जमु राई १५) झगरसिं राई १६) मनहर्के राई १७) गोकुल राई ।

उहाँहरूको अथाह परिश्रमबाट १९७६ सालमा रोम्दोखोलाको पानी फोकुल गाउँमा ल्याइपु¥याउन सम्भव र सफल भएको देखिन्छ । यो कुलो खन्ने काम १९६० सालदेखि सुरु गरिएको थियो । त्यो बेला आर्थिक स्रोत र साधनको अभाव थियो । फोकुलदेखि रोम्दोखोलासम्म खन्ने काम १९७६ सालमा सम्पन्न भएको थियो । त्यसपछि निर्वाध रूपमा कुलो चलेपछि पाखोबारीलाई खेत बिराउँदै धान रोप्न थालिएको भन्ने सुनिन्छ ।

यसरी फोकुलको कुलोले सय वर्षभन्दा बढी लामो इतिहास बोकेको छ । खन्टी, कोदालो, बन्चुरा, चपरा र सानोतिनो छिनोको सहाराले डरलाग्दो, अप्ठेरो, भिरपहरा भएको भूगोलको बिचमा अवस्थित कुलो निर्माण गरेको भेटिन्छ । चट्टान काट्न सबैभन्दा ठुलो हन्डर व्यहोरेका थिए । मुहान रोम्दो खोला र सहायक मुहान सिर्कुखोलाबिच भागमा पर्ने तामाखानी अथवा ताँकोटि पहरामा सकस परेको थियो । त्यो भिरमा उहाँहरूले बाँसको चोया काटेर बच्चा बोक्ने जस्तो कोक्रो बुनेर त्यो कोक्रोलाई लामो डोरीले बाँधेर त्यो डोरीलाई माथि पहराको टुप्पोमा भएको रुखमा बाँधेर भिरको बिचमा कोक्रोमै बसेर कपेका थिए । घरलौरी लोग्ने मानिस आफ्नो जाहान परिवारको एक–दुईवटा पटुकी लिएर आउँथे ।

ती पटुकीहरू एकै ठाउँमा जम्मा पारेर गाँस्ने र लामो बनाएर कम्मरमा बाँध्थे । अनि त्यो पटुक पनि कोक्रो बाँधेर झुण्डाएको रुखमा बाँध्थे । त्यसपछि भिरमा तुर्लुङ्ग झुण्डिएको कोक्रोमा टुक्रुक्क बस्थे । साथमा लिएको छिनो र होत्रोले भिर पहराको ढुंगा कोप्दै कुलो बनाउँथे । कसैले कुलोको लाइन जति जति अगाडि बढ्दै जान्छ त्यति त्यति कोक्रो सार्दै जान्थे । कोक्रो सार्दै जाने क्रममा त्यो सिधा माथि रुख छ त्यसैमा बाँध्थे भने नभएको ठाउँमा ठूलो काठको मुढा गाडेर डोरी बाँध्थे । एकैजनाले मात्र सम्भव हुँदैनथ्यो । आलोपालो गर्थे । चट्टान काट्नेले काट्दै गर्छन् । अरुले फेदबाट लामो आकास छुने भ¥याङ बनाएर हिलो माटो माथि ढुंगेकुलोमा पु¥याउँछन् । कुलोको डिलमा आली लगाउँदै पानी चल्ने बनाएका थिए भन्ने सुनिन्छ ।

यसरी काम गर्दै जाने क्रममा फोकुल भन्ज्याङका नौलेको बाबु भनिने धर्मधोस राई चाहिं त्यतिखेरको लक्का जवान थिए । एक दिन साथीहरूसँगै भिरको टेप्पामा कम्मरमा पटुकीले बाँधेको कोक्रोमा बसेर काम गर्दै थिए । त्यतिखेर उनको आमा खाना लिएर आइपुगिन् । छोरा भिरमा त्यसरी कन्ठबिजोग हुँदै काम गरेको देखिन् । आमाको आँखाले देखी सहेन । तत्कालै छोरालाई भनिन् रे– ‘लु छोरा तिमी त्यहाँबाट झरिहाल । तिमी हाम्रो घरको एक्लो छोरा हो । यस्तो डरमर्दो भिरपहरामा केही भइहाल्यो भने हाम्रो सन्तानै मासिन्छ । जाबो पानीको पालो नपाए नपाइयोस् । पानी चाहिंदैन, तिम्रो ज्यान बाँचे पुग्छ ।’ त्यसपछि छोरालाई साथै लिएर फर्किइन् । छोरालाई अर्को दिनबाट काममा पठाइनन् । त्यसैले धर्मधोसलाई पानीको पालो दिएनन् । आज पनि धर्मधोसका सन्तान भनिने भन्ज्यालीहरूलाई पानीको पालो दिइएको छैन ।

यस तरिकाले कुलो खनेर पानी ल्याए । भिरपहरा भएकोले कुलो टिक्न मुस्किल प¥यो । बिग्रिरह्यो । मुहान पुग्न पहरामा तल्लो कि माथ्लोतर्फबाट घुम्नु पथ्र्यो । धेरै दुःख हुन्थ्यो । केही वर्षपछि मुहान सार्ने काम भयो । साबिक मुहानको केही तल करिब सय मिटरमुनि दोस्रो मुहान खन्ने काम भयो । अप्ठेरो भिरमा भएपनि पहिलेभन्दा केही सजिलो भयो । यसरी मुहान हेरफेर गरी कुलो जेनेतेने चलिरहेको थियो ।

२०३३ सालमा सरकारको तर्फबाट दश हजार रुपैयाँ कुलो अनुदान प्राप्त भयो । त्यसपछि त्यो पैसाले तेस्रो पटक मुहान सार्ने काम भयो । त्यो मुहान दोस्रो मुहानभन्दा मुनि हुने भयो । मूल मुहान रोम्दो खोला र सहायक मुहान सिर्कुखोला बनाइयो । त्यो कुलो सिखाई खेत, राप्तिडाँडा, चेपांगु गैरी भएर साराब्रोदेखि साराब्लो खोलासम्म नयाँ कुलो खनियो । पहिलेको कुलोमा जोड्ने काम पनि भयो । अनुदान रकम अपुग भएर घरलौरी श्रमदान गर्दै आए । कुलो सुधार भएपछि गाउँघरको आम्दानी बढ्यो । मोही भाइले रोपाई गर्ने बेलामा मुहानदेखि गाउँसम्म मर्मत सम्भार, सरसफाई गर्ने गर्थे ।

त्यसरी बेलाबखत अनुदान लिने गर्थे । २०५३ सालमा तत्कालीन उँबु गाविसबाट ५७ हजार अनदान पाएका थिए । त्यो रकमबाट आधा दूरी गारो उठाएर सिमेन्ट ढलान गरिएको थियो । त्यसभन्दा यता गाउँतर्फ आइपुग्ने कुलो राम्रो बन्न सकेन । पानी कम आउन थाल्यो । सुख्खा खडेरीले पानीको स्रोत सुक्न थाल्यो । केही वर्षदेखि कुलोमा पानी आउन छाड्यो । कुलो कतिपय ठाउँमा भत्कियो । खेतहरू पाखोबारीमा परिणत भए ।

ठूलो रकम खर्च गरेर सिमेन्टले कुलो ढलान गर्न सके पानी फेरि पनि आउने स्थानीय उपभोक्ताले आँकलन गरे । सरकारको सम्बन्धित निकायमा आफ्नो मागलाई लिएर प्रयास जारी राखे । नभन्दै प्रस्तावित फोकुल रोम्दो सिंचाई कुलो निर्माण योजना केन्द्रीय आयोजनाका रूपमा छानियो र बजेट बिनियोजन भयो । ओखलढुंगा जिल्लाभरिकै कुलोमध्ये लामो र अति विकट भिरपहरामा बनेको कुलोका रूपमा चिनिन्छ । आर्थिक वर्ष २०७३÷७४ मा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बन्यो । बजेट भने आर्थिक वर्ष २०७६÷७७ मा विनियोजन भयो । जम्मा ३ करोड ३५ लाख ९५ हजार रुपैयाँ लागत रहेको छ । यो काम उपभोक्ता समिति र टेन्डरमार्फत काम भई आर्थिक वर्ष २०७७/७८ मा पूरा भएको छ ।

यसरी फोकुल गाउँको सिंचाई कार्य पुनःउत्थान भएको छ । यसबाट समग्रमा ८५–८६ घरधुरी लाभान्वित तुल्याएको छ । गाउँघरमा बसेर आधुनिक कृषिबाली, पशुपालन गर्ने सुनौलो अवसर जुराएको छ । परम्परागत बाली धान, मकै, गहुँ, कोदो फल्नेछ । व्यावसायिक रूपमा लसुन, प्याज, आलु, काउली, काँक्रा, करेला, गोलभेडा आदि इत्यादि नगदेबाली फल्ने छ । मूलभूत कुरा भनेको त इतिहासको एक अभूतपूर्व कालखण्डमा ती १७ जना बाजेले आफ्नो ज्यानको बाजी थापेर बनाएको कुलो सय वर्षपछि अहिलेका पुस्ताले विना अवरोध निर्धक्क भएर उपभोग गर्न पाएका छौं । अब गाउँमै बिजुली बत्तीको समेत व्यवस्था हुने क्रममा छ । लाग्छ, गाउँ अब फोरजी इन्टरनेट, मोबाइल, टेलिफोन, टेलिभिजनसमेतको सेवा सुविधा विस्तार भइरहेकाले जिविकोपार्जनकै निम्ति विदेशिनु पर्ने बाध्यता हट्दो छ भन्न सकिन्छ ।

अन्तमा, शुभचन्द्र राईको रचना, इन्द्रजाबाको संगीत तथा बडाजित राई र इन्द्रजाबा राईको स्वरमा ‘जोजनखो पौलो’ गीति एलबमको वाम्बले राई भाषाको गीतको अंश सम्झिन चाहन्छु—

‘फोकुलङ कुलो
आक्वाल बानुइ ?
ए रिब रिपोङ कुडुलो..’

(फोकुलेको कुलो, कत्ति बस्छ्यौ ए सोल्टिनी माइतीको घरैमा..।)

(यो लेख ‘इक लिब्जु–भुम्जु साहित्यिक त्रैमासिक वर्ष ८, अंक १३, पूर्णाङ्क ८६, २०७८ साउन–असोज (किरात येले संवत् ३८००/सन् २०२१)मा प्रकाशित छ । सम्पादक)

Leave a Reply

Your email address will not be published.