२०० वर्षदेखि विभेदको पीडा खेप्दै ब्रिटिस गोर्खाहरू, लण्डनस्थित प्रधानमन्त्री कार्यालय अगाडि ६ दिनदेखि भोक हडताल जारी

अन्तराष्ट्रिय

२०० वर्षदेखि विभेदको पीडा खेप्दै ब्रिटिस गोर्खाहरू
गणेश वाम्बुले राई


काठमाडौं– प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको (२०७८ साउन २५ गते) सोमबार बसेको बैठकले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधन गर्न बेलायतसँग कूटनीतिक वार्ताका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ । नेपाली युवा जो ब्रिटिस गोर्खा सैनिकमा थिए, उनीहरूले दुई सय वर्षदेखिको विभेदमा परेको भन्दै आएका छन् । न्यायका निम्ति चरणवद्ध आन्दोलनसमेत छेडेका छन् । केही सम्बोधन भएका छन् तर विभेद खेप्नेहरू अहिले पनि न्यायकै पर्खामा छन् ।

यतिखेर बेलायतमै न्यायका निम्ति अनसन जारी राखेका छन् । सत्याग्रह संयुक्त संघर्ष समिति अभियान निर्देशक ज्ञानराज राई, बेलायतका सचिव धनबहादुर गुरुङ र सत्याग्रह नेपालका सचिन पुष्पा रानाघले गत जुलाई २१ देखि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि टेन डाउनिङ स्ट्रिटमा १७ दिन रिले अनसन बसेका थिए । आफ्ना मागबारे सुनवाई नभएपछि ६ दिनदेखि आमरण अनसन जारी राखेको नेपालस्थित संघर्ष समितिका महासचिव एसबी घिसिङले जनाएका छन् ।

विभेद पात्र–१ : जगनाथ तामाङ

‘८ वर्ष २ सय ५९ दिन ब्रिटिस गोर्खा सेना भएर काम गरें तर अचानक मान्छे धेरै भयो भनेर हामीलाई रित्तो हात पठाइयो,’ ५२ वर्षअघिको त्यो घटना सम्झिदै जगनाथ तामाङ भन्छन्, ‘मैले त्यतिखेर ३ सय ३५ पाउण्ड पाएँ । नेपाली रुपैयाँ १४ हजारमात्रै हुन्थ्यो । मैले त्यसपछि कुनै पेन्सिन, सेवा, सुविधा केही पनि पाएको छैन ।’

यो पीडा सेभेन जीआर २११५३८४९ नम्बरका लान्सकर्पोरल जगनाथ तामाङको हो, जो १७ वर्षकै उमेरमा बेलायती सेनामा भर्ती भएका थिए । भोजपुरका उनी सन् १९६२ मा धरान डिपोबाट ठेगिएका थिए । आज ७८ वर्षको उमेरमा हिंडिरहेका छन् । बेलायत सरकारले आफूलगायत सयौं ब्रिटिस गोर्खाहरूमाथि अन्याय गरेको महसुस गरिरहेका छन् ।

झल्झली सम्झिरहेका छन्, मलाया (हालको मलेसिया)को घना जंगलमा काँधमा रासन, हातमा राइफल र बमफोक (खुकुरीजस्तै धारिलो हतियार)ले बाटो छिचोल्दै गुरिल्ला युद्ध मैदानमा लडेको क्षण । ‘राइफल पोजिसन लिएर बम्फोकले बाक्लो झाडी छिचोल्दै जाँदै थियौं,’ भन्छन्, ‘हामीजस्ता पहाडे जवानहरूलाई पौडी खेल्न नजान्दा धेरैजनाको ज्यान जंगलबीचको तलाउमा गयो । अजिंगरले निल्न लाग्दा पछाडि फर्किनु परेको थियो । हाँकाहाँकी भन्दा मिलिसिया बिद्रोहीलाई जसले भेट्यो उसले हान्ने हो । त्यतिखेर यो राइफल बोक्ने काममा बेकारमा आएँजस्तो लाग्यो । सिमसार धापमा भासिएर आपतविपत परेको हिजो जस्तै लाग्छ ।’

उनी ललितपुरको लगनखेलमा बसोबास गर्दै आएका छन् । ‘सानो उमेरमा भर्ती भइयो,’ जगनाथको सम्झिन्छन्, ‘कलिलो बुद्धि कति तलब, सेवा सुविधा पाइन्छ भन्ने केही थाहा थिएन ।’ उतिखेर नेपालको पूर्वपश्चिमका गरी २ हजार ४ सय जना भर्ती भएको उनी सम्झन्छन् । भर्ती भएपछि कलकत्ताबाट मलेसियाको सुँघाइपटानी उडायो । त्यहाँ नौ महिना तालिम दिइयो ।

‘त्यतिबेला ब्रुनाईमा बिद्रोह चलेको रहेछ,’ त्यो लक्का उमेरको तातो सम्झना गर्दै भन्छन्, ‘त्यहाँको सुल्तान (राजा)लाई नेपालीले बचायौं । उतिखेर ४२ डलरमा एक तोला सुन किन्न पाइन्थ्यो । चार वर्षमा पहिलो छुट्टी आएँ । एक हजार रुपैयाँको बुङ र र साढे दुई तोला सुन ल्याएर आमालाई दिएको थिएँ ।’ यतिखेर उनी छरछिमेक चिन्ने जान्नेले ‘लाहुरेबा’ भन्ने गर्छन् । आज उनको साथमा उतिखेर भर्ती हुँदाको कागज देखाउने खोस्टामात्र छन् ।

 

विभेद पात्र–२ : हरिबहादुर राई

हरिबहादुर राई, ब्रिटिस आर्मी नं.२११६१६५४ । सन् १९७६ अक्टोबर २७ तारिख धरान घोपा क्याम्पसबाट भर्ती लागेका थिए । भर्ती लागेपछि काठमाडौंबाट सिधै हङकङको सेकोङ पुर्‍याइयो । दस महिने तालिम सम्पन्न भएपछि सेभेनजीआर र पछि फस्ट सेभेनजीआरमा खटाइयो । ब्रुनाई, बेलायत, बेलिज, फिजीलगायत देशमा खटाइयो । ‘फकल्याण्डको वारमा परियो,’ उनी सम्झन्छन्, ‘धन्न बाँचियो । पछि वार मेड पाएर खुसी लाग्यो । तर के गर्नु नखाएको विष लाग्यो । एघार वर्ष पल्टनमा बिताइसकेपछि रित्तो हात फर्कायो ।’

उमेरले ६४ वर्ष पुगेका छन् । ब्रिटिस आर्मी भएको सबै प्रमाणहरू हातैमा छ । ब्रिटिस आर्मी हुनुको शान र जोश अझै छ । छैन, कुनै पेन्सनपट्टा र मासिक पेन्सन रकम । सँगैका सार्थीले घरै बसीबसी मासिक ६० हजार रुपैयाँ पाउँछन् । ओखलढुंगा मानेभन्ज्याङ–३ स्थायी घर भएका उनी न्याय पाउने आशामा ललितपुरको इमाडोलस्थित भाइको घरमा बस्दैआएका छन् । घरि–घरि भूपू ब्रिटिस गोर्खा सैनिकले आयोजना गर्ने न्यायिक आन्दोलनमा सहभागी हुन्छन् ।

विभेदमा पारिनुको कारण खासमा के थियो ? ‘हामीलाई हवाई काण्डमा मुछेर बर्वाद पारियो,’ घटना सम्झिदै भन्छन्, ‘हाम्रो बटालियन टिम सुटिङ प्राक्टिस गर्न जंगल गएर साँझ ढल्किएपछि फर्किएको थियो । क्याम्पमा छिर्नासाथ छलफल चलिरहेको सुनियो । साथीहरूले कागजमा सही गर्न भने । कम्पनी मेजरले सबैले गरिसके तँ पनि गर भनेर कागजमा सही गरायो । त्यसको भोलिपल्ट हामीलाई अचानक खाली खुट्टा निकालियो ।’

सन् १९८७ मार्च १२ तारिखको घटना थियो त्यो । जसलाई ‘हवाई काण्ड’ भनेर चिनिन्छ । पल्टनमा एकजना लिम्बू र एकजना राई प्रमोसन हुनबाट रोकिएको थियो । त्यसरी षडयन्त्र भएविरुद्ध सिपाहीहरूलाई गोराको पक्ष र विपक्षमा उभ्याइएको थियो । एक हुलले पल्टनका गोरा मेजरमाथि जाई लागेर कुटपिट गरेका थिए । ‘हामी भरखर सुटिङबाट आएकालाई जबरजस्ती सही गर्न लगाए, त्यसअघि कतिपय अफिसरले आफ्नो मान्छेलाई भगाएछन्,’ पल्टनघरको सम्झना गर्दै राई भन्छन्, ‘त्यो हुलदँगामा हाम्रो कुनै संलग्ना थिएन । पहिले १७ जना दोषी छन् भनियो । पछि सात जना भनेका थिए । जबरजस्ती सही गराएर मलगायत १ सय ११ जना रित्तो हात फर्काए । हामी माथिको अन्यायविरुद्ध बोल्ने मौका दिइएन ।’ पेन्सन पाउनु पर्ने उनको एकमात्र माग रहेको छ ।

 

ब्रिटिस गोर्खा आन्दोलन

जगनाथ तामाङ र हरिबहादुर राई उदाहरणमात्र हुन् । ब्रिटिस सरकारले सन् १९९७ मा हङकङ भूमि चीनलाई हस्तान्तरण गर्दा १२ हजार ब्रिटिस गोर्खा सैनिक कटौतीमा परेका थिए । विभेदलाई चिर्न भूतपूर्व गोर्खाहरू संगठित रूपमा सन् १९९० यता निरन्तर संघर्षमा छन् । २०४७ असारमा गठित गोर्खा भूतपूर्व सैनिक संगठन (गेसो)ले संघर्षको थालनी गरेको थियो । उतिखेर चारबुँदेमा माग राखेका थिए । गोर्खा सैनिकको पेन्सन ब्रिटिस आर्मीमा कार्यरत बेलायती सेना सरह हुनुपर्ने, बिना निवृत्तिभरण पठाइएका सैनिकलाई निवृत्तिभरण दिनुपर्ने, गोर्खा सैनिकका छोराछोरीलाई व्यक्तित्व विकासको अवसर दिइनु पर्ने र बेलायतमा काम गर्ने अनुमति दिइनु पर्ने भनेको थियो ।

बेलायत सरकारले ब्रिटिस गोर्खाको मागलाई टेकेर सन् २००४ मा बेलायतमा आवासीय अधिकार दिने निर्णय गर्‍यो । जसले गर्दा सन् १९९७ पछि अवकास पाएका गोर्खा सैनिक र उनीहरूका परिवारले बेलायतमा बस्ने सुविधा पाएका छन् । तर समान पेन्सन अहिलेसम्म दिएको छैन ।

‘हामी समानता, सम्मान र मानव अधिकारका निम्ति लड्दै आएका छौं,’ ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव एसबी घिसिङ भन्छन्, ‘दुई सय वर्ष विभेदमा पर्‍यौं । यो समानताका निम्ति बेलायत सरकार र नेपाल सरकारको ध्यानाकषर्ण गराउँदै आएका छौं ।’ अहिलेका प्रमुख मागहरू बेलायती सेनामा भर्ती भएका सबैलाई गोरासरह समान पेन्सन र सुविधा पाउनु पर्ने, नेपालीलाई पनि बेलायती सरहकै नि:शुल्क स्वास्थ्य सुविधा, कटौती तथा मारमा परेका सबैलाई चित्तबुझ्दो क्षतिपूर्ति, वयस्क छोराछोरीलाई बेलायतमा नि:सर्त आवासीय भिसा र विधवाहरूलाई समान पेन्सनको व्यवस्थापन हुनुपर्ने लगायत छन् ।

 

न्यायका निम्ति हारगुहार

२०५३ कात्तिक १२ गते तत्कालीन राजा बीरेन्दलाई गोर्खा सैनिकको आन्दोलनका बारेमा बिन्तिपत्र चढाएका थिए । तत्कालीन एकालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले २०५३ साउन १० गते संसदमा विशेष समय लिएर ब्रिटिस सरकारले गोर्खा सैनिकमाथि गरेको विभेदमाथि विषय प्रस्तुत गरेका थिए । त्यसको केही दिनअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए ।

उनै प्रधानमन्त्री देउवा सोही वर्ष बेलायतको राजकीय भ्रमण गरेका थिए । भ्रमणकै बेला देउवाले आफ्नो समकक्षीसित द्विदेशीय समस्या भन्दा पनि ‘आर्थिक दुरावस्था भएका कारणले गोर्खा सैनिकको पेन्सन वृद्धि गरिनुपर्ने तथा उनीहरूका परिवारलाई पनि नोकरी अवधिमा बेलायत बस्न दिनुपर्ने’ आशय प्रकट गरेका थिए । बेलायतले युद्धकालीन केही गोर्खा सैनिकलाई कल्याणकारी पेन्सन दिइएको छ । बेलायतले समान सुविधा त्रिपक्षीय सम्झौतामा नभएको तर्क गर्दै भारतीय तलब संहिता (पेई कोड)अनुसार दिइएको तर्क अघि सार्दैआएको छ ।

ब्रिटिस गोर्खाहरूको मुद्दा उठानका क्रममा दर्जन संगठन खुलेका छन् । गोर्खा आर्मी एक्स–सर्भिसमेन्स एसोसियसन नेपाल (गेसो), नेपाल एक्स–सर्भिसमेन्स एसोसियसन (नेसा), ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लएस), राष्ट्रिय भूपू सैनिक संघ (आरबिएसएस), ब्रिटिस गोर्खाज स्टडी एण्ड रिसर्च सेन्टर (बिजिएसआरसी) छन् ।

त्यसैगरी ब्रिटिस गोर्खा एक्स–सर्भिसमेन्स (बिगेसो), एक्स सर्भिसमेन्स वेलफेयर कमिटी नेपाल (ईएसडब्लुसीएन), गेर्खा फाउन्डेसन नेपाल (जीएफएन), युनाइटेड स्ट्रगल कमिटी नेपाल (युएससीएन), युनाइटेड ब्रिटिस गोर्खा एक्स–सर्भिसमेन्स एसोसियसन नेपाल (युजिबिजिईएएन), ब्रिटिस गोर्खा सत्याग्रह समिति नेपाल छन् ।

 

भर्ती निरन्त

ब्रिटिस गोर्खा सैनिकको इतिहास सन् १८१५ देखि २०२१ सम्म आइपुग्दा २ सय ७ वर्ष पुगेको छ । नेपाली युवा भर्ती हुने क्रम जारी छ । कोरोना भाइरसका वावजुद गत वर्ष ‘इन्टेक–२०२१’ मा ब्रिटिस गोर्खामा ३ सय ४० र सिंगापुर पुलिस फोर्स १ सय ३४ जना भर्ती गरिएका थिए ।

ब्रिटिस गोर्खामा फस्ट रोयल गुर्खा रेजिमेन्ट (वानआरजीआर) र सेकेन्ड रोयल गुर्खा रेजिमेन्ट (टुआरजीआर) मात्र रहेका छन् । ब्रिटिस गोर्खा मुख्यालयले सन् २०२१ देखि ‘थ्री आरजीआर’ थप्ने नीति लिएको थियो । तर कोभिड–१९ का कारण कार्यान्वयन गरेको छ । नेपाली युवाको आकर्षण घटेको छैन । अहिले ब्रिटिस सैनिकमा ३ हजार ५ सयभन्दा बढी र सिंगापुर पुलिस फोर्समा २ हजार २ सयभन्दा बढी कार्यरत छन् ।

ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव एसबी घिसिङका अनुसार बेलायती गोराहरू आर्मीमा भर्ती हुन चाहँदैनन् । भइहाले थोरै वर्षमै छोड्छन् । तर नेपाली युवा बेरोजगार, मिहिनेती, इमानदार भएकाले बेलायत सरकारले छानीछानी लान्छ । अहिले ब्रिटिस आर्मीमा कार्यरतहरूको सेवा अवधि बढाएको छ भने ब्रिटिस गुर्खाको एउटा इन्फेन्ट्री (बटालियन) थपेको छ । त्यसैगरी इन्जिनियर सेक्सन बढाउन लागेको छ ।

आवरण फोटो क्याप्सन : गोरासरह समान पेन्सन र सुविधा पाउनु पर्नेलगायत मागलाई लिएर बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि भोक हडताल (आमरण अनसन)को पाँचौं दिन (अगस्ट ११, २०२१) ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति अभियान निर्देशक ज्ञानराज राई, समिति बेलायतका सचिव धनबहादुर गुरुङ र सत्याग्रह नेपालकी सचिव पुष्पा रानाघलेलाई सुरक्षार्थ साथ दिन चारसय माइल टाढा स्कटलेण्डबाट आइपुगेको पूर्व ब्रिटिस सैनिक ।
तस्बिर सौजन्य : ज्ञानराज राई

Leave a Reply

Your email address will not be published.