उपराष्ट्रपतिद्वारा चीनमा संबोधन

अन्तराष्ट्रिय

लिभु संवाददाता
छेन्दु, चीन– १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई संबोधन गर्न आउनुभएका सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले बेल्ट एण्ड रोड सम्बद्ध राष्ट्रहरुको व्यवसायिक सहकार्य सम्बन्धी सम्मेलनलाई संबोधन गर्नुभएको छ ।

उहाँले बिहीबार दिउँसो सो सम्मेलनलाई संबोधन गर्नुभएको हो । उहाँले सम्बोधनको क्रममा चिनियाँ लगानीकर्ता र विआरआई सम्बद्ध राष्ट्रका व्यवसायिक प्रतिनिधिहरुलाई नेपालमा लगानीका लागि अपिल गर्नुभयो ।

उपराष्ट्रपतिले बिहीबार नै भूकम्पपछि पुनःनिर्मित तुजिएङयान संग्राहलय र जिउलोङ समुदायको बस्तीको अवलोकन भ्रमण गर्नुभयो । उपराष्ट्रतिसँग शुक्रबार विहान चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्त सचिव पेङ छिङ हुवाले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरले जनाउनु भएको छ ।

सम्बोधन भाषण

चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्त समितिका सचिव महामहिम श्री पेङ्ग छिङहुवाज्यू,
विभिन्न मुलुकबाट पाल्नुभएका महामहिमज्यूहरु,
विशिष्ट सहभागीज्यूहरु,
व्यवसायिक प्रतिनिधिज्यूहरु,
पत्रकार मित्रहरु,
भद्र महिला तथा सज्जन बृन्द
निहाउ ! नमस्ते !

– यस ऐतिहासिक सुन्दर शहर छेन्दुमा आयोजना भईरहेको १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको अवसरमा आयोजित ‘द बेल्ट एण्ड रोड कोअपरेसन डेभलपमेन्ट कन्फरेन्स अन बिजनेस कम्युनिटी अफ सेयरड फ्युचर’मा उपस्थित भई ‘ओपन एण्ड सेयरिङ, मेकिङ प्रोग्रेस टुगेदर’ विषयमा आफ्नो धारणा राख्न पाएकोमा मैले अत्यन्त खुशी महसुस गरेको छु ।
– यस अवसरमा चीनमा आगमन देखि नै म र मेरो प्रतिनिधि मण्डललाई प्रदान गरिएको स्वागत सत्कार, न्यानो आतिथ्यता तथा भ्रमणको अत्यन्तै राम्रो प्रबन्धका लागि जनवादी गणतन्त्र चीन सरकार र सिचुवान प्रान्त जनसरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

भद्र महिला तथा सज्जन वृन्द !
– नेपाल र चीनबीच सदियौं पुरानो तथा प्रगाढ, घनिष्ठ सम्बन्ध रहीआएको छ । हाम्रा दुई देशबीच सुमधुर एवम् मैत्रीपूर्ण सम्बन्धको लामो इतिहास छ । हामीलाई इतिहास, परम्परा, मूल्य मान्यताहरु तथा भूगोलले नछुट्टिने गरी जोडेको छ । हाम्रो बीचमा विश्वकै अग्लो शिखर सगरमाथा छ । हाम्रो सम्बन्ध पनि सगरमाथा जस्तै अग्लो छ । नेपाल र चीनबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय सम्बन्ध विविध क्षेत्रहरुमा विस्तार भइरहेको छ । हाम्रा द्विपक्षीय सम्बन्ध पञ्चशीलकोे सिद्धान्तमा आधारित छ ।

– नेपाल एक चीन नीति (वान चाइना पोलिसि) प्रति प्रतिबद्ध छ । नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन समेत प्रतिवद्ध छ । चीनले अवलम्बन गरिरहेको मित्रता, सदासयता, आपसी लाभ, तथा समावेशीताका सिद्धान्तहरुद्वारा निर्देशित छिमेक कूटनीतिको हामी प्रशंसा गर्दछौ ं।
छ। विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो तथा फराकिलो बनाउन हामीले नयाँ सहयोगका क्षेत्रहरु पहिचान गरी ती क्षेत्रहरुमा महत्वपूर्ण उपलब्धि हासिल समेत गरेका छौं । समय समयमा भएका उच्चस्तरीय भ्रमणहरुको आदान प्रदानबाट विद्यमान द्विपक्षीय सम्बन्ध थप मजबुत र फराकिलो हुँदै गएको छ । पछिल्लो केही वर्ष यता दुई देशबीच महत्वपूर्ण सम्झौताहरु सम्पन्न भएका छन् । तीमध्ये पारवहन यातायात सम्झौता, बेल्ट एण्ड रोड इनिसियेटिभ (बिआरआई) सम्बन्धी समझदारी र रेल परियोजनामा सहयोग सम्बन्धी समझदारी महत्वपूर्ण छन् ।

– विगत चार दशकमा खुलापन र सुधारको माध्यमबाट चीनले हासिल गरेको आर्थिक वृद्धि र चिनियाँ जनताको जीवनस्तरमा आएको गुणात्मक सुधारको नेपाली जनता उच्च प्रशंसा गर्दछन् । यस वर्ष चीनले खुलापन र सुधारको ४० औं वर्षगाँठ मनाइरहेको अवसरमा हामी चिनियाँ सरकार र जनतालाई हार्दिक बधाइ दिन चाहन्छौं ।

– चीनका महामहिम राष्ट्रपतिले बेल्ट एण्ड रोड ईनिसियटिभ (बिआरआई) मार्फत् सम्बद्ध राष्ट्रहरुबीच सहयोग अभिवृद्दि गरी मानवताका लागि साझा भविष्य भएको समुदाय निर्माणका लागि अगाडि सार्नुभएको विचारको हामी स्वागत गर्दछौं । बीआरआईले शान्ति, सहयोग, समावेशिता, आपसी सिकाइ, आपसी लाभ र सबैको जित जस्ता भावनालाई अंगालेकोले हामी यसमा सामेल हुन पाएकोमा खुशी छौं । बिआरआई सम्बन्धी द्विपक्षीय समझदारीको कार्यान्वयनमा तीब्रता दिन हिमालय वारपार बहुआयामिक सम्पर्क सन्जाल (ट्रान्स हिमालयन मल्टि डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क) को बृहत्तर फ्रेमवर्क भित्र सहयोग अगाडि बढाउने कुरामा दुवै देशहरु प्रतिवद्ध छन् ।

भद्र महिला तथा सज्जन वृन्द !
– पश्चिम चीनको केन्द्रको रुपमा रहेको सिचुवान प्रान्त र नेपालबीच सरकारी तथा जनस्तरमा घनिष्ठ सम्बन्ध रहँदै आएको छ । दुई देशबीच सिधा हवाई सम्पर्क छ । भौगोलिक रुपमा पनि निकट तथा समान संस्कृतिले समेत जनस्तरको सम्बन्धलाई अझ घनिष्ठ बनाएको छ । नेपाल र सिचुवान प्रान्तबीच सहयोग र सहकार्यका प्रशस्त सम्भावनाहरु छन् । उर्जा उत्पादन, पूर्वाधार निर्माण, व्यापार, जनशक्ति विकास, पर्यटन र लगानी प्रवद्र्धन केही यस्ता क्षेत्रहरु हुन जसमा नेपाल र सिचुवान प्रान्तबीच परिणाममुखी सहकार्य भइरहेका छन् । र, आगामी दिनमा अझ बढी सहकार्य हुने सम्भावना रहेको छ ।

– नेपालमा गत वर्ष सम्पन्न संघीय संरचना अनुरुपको ऐतिहासिक निर्वाचन पश्चात् शान्ति, स्थिरता र समृद्धिको ढोका खुलेको छ । नेपालको वर्तमान सरकारलाई जनताको बलियो समर्थन रहेको छ । अब नेपालको आगामी प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु हो । नेपाल सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को बृहत् लक्ष्य हासिल गर्न अन्य कुराका अलवा स्वदेश भित्र भौतिक पूर्वाधारको विकास गर्नु तथा छिमेकी देशहरुसँग सीमा वारपार सम्पर्क सञ्जाल अर्थात कनेक्टिभिटिको विकास गर्नु आवश्यक रहेको छ । क्षेत्रीय सहयोग विस्तारका लागि समेत सम्पर्क सञ्जालको निकै महत्वपूर्ण भूमिका रहन्छ ।

– गत जुनमा नेपालका प्रधानमन्त्रीले चीन भ्रमण गर्नुभएको थियो । त्यस अवसरमा बिआरआई सम्बन्धी समझदारीको कार्यान्वयनमा तीब्रता दिन हिमालय वारपार बहुआयामिक सम्पर्क सन्जालको बृहत्तर फ्रेमवर्क भित्र रही रेल्वे, सडक, ट्रान्समिसन लाईन, बन्दरगाह, हवाई मार्ग र संचार जस्ता क्षेत्रमा सहयोग अगाडि बढाउन दुई देशबीच सहमति भएको छ । त्यसअनुरुप रेलमार्ग आयोजनामा सहयोग सम्बन्धी कार्य अगाडि बढेको छ । भूपरिवेष्ठित मुलुक भएको कारण रेलमार्ग लगायत सीमा वारपार कनेक्टिभिटि नेपालको प्राथमिकतामा पर्दछ । यसै वर्षको शुरुबाट सीमा वारपार अप्टिकल फाइबर लिंक संचालनमा आईसकेको छ ।

– नेपालका प्रधानमन्त्रीको सन् २०१६ मा भएको चीन भ्रमणको अवसरमा सम्पन्न भएको पारवहन सम्झौताको प्रोटोकलको पाठलाई दुबै देशबीच हालै सम्पन्न बैठकले अन्तिम रुप दिएको छ । मैले चाँडै यसमा हस्ताक्षर हुने अपेक्षा गरेको छु । यसबाट नेपालको चिनियाँ भूभाग हुँदै समुद्रसम्मको पहुँच हुनेछ । यसबाट नेपाल भूपरिवेष्ठित मुलुक नभइ ल्याण्ड लिंन्क मुलुकको रुपमा परिवर्तित हुनेछ ।

– नेपालको अर्को छिमेकी मुलुक भारतसँग पनि राजमार्ग, रेलमार्ग, ट्रान्समिसन लाइन, सूचनामार्ग तथा इन्धन पाइपलाईन मार्फत् सीमा वारपार कनेक्टिभिटिको विस्तार भईरहेको छ । यी कदमहरु दक्षिण पश्चिम चीनलाई दक्षिण एशियासँग नेपाल मार्फत् जोडिन कोशेढुंगा साबित हुनेछन् भन्ने हामीले विश्वास लिएका छौं ।

भद्र महिला तथा सज्जन वृन्द !
– मेरो विचारमा बिआरआई अन्तर्गतका परियोजनाहरुको उद्देश्य हिमालय क्षेत्रमा उपलब्ध प्रचुर श्रोत साधनहरुको उच्चतम उपयोग गर्दै त्यस क्षेत्रका बासिन्दाहरुको जीवनस्तर उकास्ने अभियानमा केन्द्रित हुनुपर्दछ । यसका लागि बीआरआईमा आवद्ध मुलुकहरुबीच सहयोग र परिणाममुखी सहकार्यको जरुरी पर्दछ ।

– नेपालका लागि निर्यात व्यापार विस्तार, जलविद्युत, कृषि, पर्यटन तथा लगानी प्रवद्र्धन प्राथमिकताका क्षेत्रहरु हुन् । त्यसैगरी सडक सञ्जाल, रेलवे, उर्जा उत्पादन एवं वितरण जस्ता आधारभूत पूर्वाधारहरुको निर्माण एवं सीमावारपार रेलवे, राजमार्ग, सञ्चार, ट्रान्समिसन लाईन लगायतका क्षेत्रमा विकास गर्ने हाम्रो आकाक्षां रहेको छ । र, व्यापार घाटालाई सन्तुलनमा ल्याउने उद्देश्य रहेको छ । यसका लागि बृहत् लगानी, उन्नत प्रविधि, अनुभवको आदान प्रदान, वस्तु विनिमय र सहकार्यको जरुरी छ । नेपालमा प्रशस्त मात्रामा प्राकृतिक श्रोत साधनहरु उपलब्ध छन् भने चिनियाँ नागरिक र संस्थाहरुसँग प्राविधिक तथा वित्तीय श्रोत साधनहरु रहेका छन् । तसर्थ विकासका लागि दुवै देशबीच उपलब्ध श्रोत साधनहरुबीच तालमेल कायम गर्नु आवश्यक देखिन्छ ।

– यस अवसरमा सम्मेलनमा चीन लगायत विभिन्न देशबाट भाग लिन आउनु भएका सम्पूर्ण लगानीकर्ताहरुलाई नेपालमा उपलब्ध लगानीका प्रचुर संभावनाहरुबाट फाईदा लिन म हार्दिक अनुरोध गर्दछु । नेपालको प्रचलित ऐन कानून र नीतिहरु लगानीमैत्री रहेका छन् । विदेशी लगानीको सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ । आर्जित मुनाफालाई शतप्रतिशत स्वदेश लैजान पाउने सुविधाको कानूनी व्यवस्था गरिएको छ । नेपालमा लगानी गरेर तपाईंहरुलाई घाटा हुँदैन, नाफा नै हुन्छ । म विश्वास दिलाउन चाहन्छु ।

– कनेक्टिभिटिका अलावा बिआरआईको एक प्रमुख अवयव जनस्तरको सम्बन्ध विकास गर्नु पनि रहेको छ । पर्यटन क्षेत्रमा नेपाल तथा चीनबीच सहकार्यका प्रशस्त सम्भावनाहरु रहेका छन् । चीनका विभिन्न शहरहरु नेपालको राजधानी काठमाडौसँग हवाइमार्गबाट जोडिएका छन् । दैनिक आधा दर्जन जति उडानहरु भइरहेका छन् । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेको सन्दर्भमा नेपाल भ्रमणका लागि चिनियाँ नागरिकहरु माझ प्रचार प्रसार गरिदिन र भ्रमण गर्न चिनियाँ पर्यटन व्यवसायीहरुलाई यस मञ्चबाट आव्हान गर्दछु ।

– मलाई विश्वास छ, आगामी दिनमा नेपालले चिनियाँ सरकार र जनतासँग अझ बढी आपसी सहयोग र साझेदारीको माध्यमबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न सफल हुनेछ । साथै, यस सम्मेलनमा भाग लिन आउनु भएका सम्पूर्ण चिनियाँ एवं सहभागी मुलुकका व्यवसायी तथा लगानीकर्ताहरुलाई नेपालमा लगानीको लागि पुनः आव्हान गर्दछु ।

अन्त्यमा, यस सम्मेलनको पूर्ण सफलताको कामना गर्दै मेरो मन्तव्य यही टुङ्ग्याउँछु ।
धन्यवाद ! से से !

फोटो क्याप्सन – भूकम्पपछि पुनःनिर्मित तुजिएङयान संग्राहलयको अवलोकन गर्नुहुँदै उपराष्ट्रपति नन्दबहादु पुन पासाङ ।

Leave a Reply

Your email address will not be published.