प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता

अन्तराष्ट्रिय

दिनेशजंग शाह
न्यूयोर्क — प्रधानमन्त्री केपी ओली ७३ औं राष्ट्रसंघीय महासभाको क्रममा सोमबार साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आयोजित रिपेप्सनमा सहभागी भएका छन् । अमेरिकी राष्ट्रपतिले महासभामा सहभागी राष्ट्र, सरकार एवम् प्रतिनिधीमण्डल प्रमुखहरुको सम्मान स्वरुप, रिपेप्सन गर्ने चलन छ । यसैक्रममा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपतिसँग संक्षिप्त भेट गरेका छन् ।

प्रतिनिधीमण्डलका एक सहभागीका अनुसार ओलीले भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा संक्षिप्तमा ट्रम्पलाई जानकारी गराएका थिए । ट्रम्पले उत्सकतापूर्वक सुनेका थिए ।
प्रधानमन्त्रीले ट्रम्पको संगको भेटलाई प्रशंसा गरे, ती अधिकारीले कान्तिपुरलाई भने । आफ्नो सम्बोधन हुन चार दिन अघि नै आएका ओलीको प्रतिनिधीमण्डलले ट्रम्प संगको छोटो भेटवार्तालाई प्राथमिकता राखेको थियो ।

राष्ट्रसंघीय नेपाली नियोगका एक पूर्व स्थायी प्रतिनिधिले कान्तिपुरसँग भने, ‘अमेरिकी राष्ट्रपतिसँग फोटो सेशनको यो अवसर मात्र हो । यो भन्दा कुनै उपलब्धि त छैन । तर पनि हाम्रो जस्तो मुलुकहरुले आफनो छोटो कुरा राख्न, यो अवसर चुकाउन चाहँदैनन् ।’

दस वर्षअघि प्रधानमन्त्रीको रुपमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले यस्तै भेटवार्तामा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसलाई भेटका थिए । भेटपश्चात्, कान्तिपुरका लागि पक्तिंकार संगको अन्तर्वार्ता उनले बुसको ‘बडी ल्याङ्वेज’ सकारात्मक रहेको टिप्पणी गरेका थिए । सो समयमा तत्कालीन माओवादी पार्टीलाई अमेरिकाले एक्च्युकेटिभ अडर १३२२४ अन्तर्गत ‘स्पेसल्ली डिजाईन ग्लोबल टेररिस्ट’ को सूचीमा राखेको थियो । ६३ औं महासभाको क्रममा सो भेट सहित अमेरिकी प्रतिनिधिमण्डलसंग दाहालले सो सूचीबारे पुनर्विचार गर्न आह्वान गरेका थिए ।

सन् २००९ मा प्रधानमन्त्रीको रुपमा माधव नेपालले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामासँग भेट गरेका थिए । भेटमा आफूले नेपालको संविधान लेखनबारे ओबामालाई जानकारी गराएको टिप्पणी गरेका थिए ।

सन् २०११ मा अर्का माओवादी नेता बाबुराम भट्टराईले प्रधानमन्त्रीको रुपमा ओबामासँग फोटो सेसन गरेका थिए ।

यसैक्रममा ६९ औं महासभामा सहभागी तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र अमेरिकी राष्ट्रपति बाराक ओबामा बीच छोटो भेटवार्ता भएको छ । कोइरालाले आफूहरु संविधान निमार्णमा लागिरहेको राष्ट्रपति ओमाबालाई जानकारी दिएका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले ओबामालाई नेपाल भ्रमणको निम्तो दिनसमेत भ्याएका थिए ।
https://www.kantipurdaily.com/news/2018/09/25/153789204277714556.html

Leave a Reply

Your email address will not be published.