वैकल्पिक शक्ति निर्माण अभियन्ता भन्नेहरूले पछिल्लो समय वैकल्पिकमाथि अझ अन्यौलता थपे । बाबुरामदेखि विवेकशीलसम्म, रवीन्द्र मिश्रदेखि रवि लामिछानेसम्म कस्तो वैकल्पिक शक्ति ? कस्तो नयाँ ? कस्तो युवा ? नारा नयाँ पारा पुरानैको कारण जनता झन दिग्भ्रमित हुन गए ।
नेपाली राजनीतिमा वैकल्पिकको चर्चा धेरै भयो । वैकल्पिकको नाममा नयाँ नाटक धेरै मञ्चन भयो । नयाँ र युवाको नाम लिएर निर्वाचनमा केहीले उपलब्धी पनि हासिल गरे । राजनीतिक दल बाहिर रहेका केही स्वतन्त्रले आशातीत राम्रो कार्य पनि इमान्दारका साथ सुरुआत गरे । तर, नयाँ र वैकल्पिकका नामबाट उपलब्धी प्राप्त गरेका दल सुध्रिएनन् । पुरानाभन्दा पनि गएगुज्रेका कुरा छोटो समयमै आफूलाई पुष्टि गरे । त्यसरी नाङ्गो हुनेमा रविको रास्वपा अगाडि देखियो । अझ नाङ्गो हुँदैजाने संकेत देखाइसकेको छ । यद्यपि, यस बीचमा सुध्रिए शुभेक्षा नै भयो । जति सुध्रिए पनि अहिलेको कार्यभार पूरा गर्ने ल्याकत राख्दैनन् । स्वतन्त्रले सानातिना स्थानीय स्तर अथवा अङ्शमा काम गर्न सक्ने हो । हाल गरिरहेका पनि छन् । तर, स्वतन्त्रले आमरूपमा देश कायपलट गरेका रेकर्ड दुनियाँमै छैन । इतिहासमै छैन । नेपालमा पनि सम्भव हुने कुरै भएन ।
आमजनता पुराना पार्टीहरूको चिन्तन–व्यवहारले आक्रान्तमात्रै छैनन्, उनीहरूबाट देश नबन्ने संकेतसमेत पाइसकेका छन् । तसर्थ, विकल्प खोज्न थालिएको हो । राजनीतिक क्षेत्रमा क्रियाशीलहरू मात्रै नभएर गैह्र–राजनितिक पृष्ठभूमि भएकाहरूसमेत विकल्पको पार्टी निर्माण गर्न सकिन्छ भन्ने दृढ विश्वासका साथ कम्मर कसेर लाग्नु अनौठो होइन । देश विषम परिस्थितिमा गुज्रिरहेको छ । विधि–पद्धति, पारदर्शिता र इमानको खडेरी परेको छ । यस्तो बेला परिस्थितिले नै विकल्प खोज्दछ । तर, विकल्प नहुँदासम्म पुरानाभित्रको धेरै खराबहरूमध्ये कम खराबलाई विश्वास गर्नुपर्ने आमजनताको बाध्यता रहेको छ । पुरानाले राणा, राजा र पञ्च फाले । गणतन्त्र ल्याए । उनीहरूले गर्नसक्ने सबै गरिसके । अब, व्यवस्था बदल्ने सन्दर्भमा उनीहरू धन्यवादका पात्र हुन् । अवस्था बदल्न विकल्प चाहिएको हो । यसको लागि विधि, पद्धति, पारदसर्शता र इमानले मात्र पुग्दैन । उत्तिकै मात्रामा क्षमता र दक्षता, भिजन र मिसन पनि आवश्यक छ ।
कुरा जति चर्का गरे पनि आफूले भोगेको अनुभव, गरेको अध्ययनको परिधिभन्दा पर कोही पुग्न सक्दैनन् । विकल्प दिन सुधारवादी वैचारिक धरातललाई सुसंस्कृत बनाउने हो ? वा नयाँ अन्वेषण आवश्यक हो ? पुरानालाई जति राम्रो सुसंस्कृत र सुधार किन नगरियोस् त्यो सारमा जतिसुकै राम्रो, गुणी भएपनि समाजले निरुत्साहित गर्दै लगिदिन्छन् । जसले गर्दा असफलताको शृंखलाहरू सामना गर्न तयार हुनु पर्ने बाध्यात्मक परिस्थिति आइदिन्छ ।
हाम्रा अघिल्तिर उदारवादी अर्थतन्त्रको अन्तरसम्बन्ध निजी क्षेत्रको सृजनशीलतासँग कत्ति जोडेर हेरिनु उचित हो ? सामाजिक सुरक्षा, न्यायोचित वितरण र शास्त्रीय पूँजीवादका अवधारणाहरू विश्वका महारथि मूलुकहरूमा कुन सन्दर्भ र परिस्थितिमा कति लागु भए ? त्यसले कति के असर गरेका थिए ? वस्तुनिष्ठ भएर गहिराईमा पुग्न नसकेसम्म विषयलाई जवर्जस्ती बहसमा ल्याउनु वुद्धिमताभित्र पर्छ जस्तो लाग्दैन । बहसको लागि बहस नभएर निष्कर्ष र निकासका लागि बहस अनिवार्य छ ।
हरेक देशको ढुंगा–माटोको स्वरूप उस्तै देखिन्छन् । सबैले कल्याणकारी अर्थनीतिको उद्देश्यभित्र संस्थागत सामाजिक दायित्व पूरा गर्न व्यक्तिगत सामाजिक दायित्व वहनको निम्ति नागरिकमा अनुभूति जगाउन प्रोत्साहनको प्रस्ताव अघि सार्नु अस्वभाविक होइन । विशेषगरी राज्यलाई करको दायरा र दायित्वको वोध गराउने कुरा नौलो नभएपनि नवीनतम विधि उल्लेख नहुनु स्वभाविकै हो । हरेक देशलाई फरक–फरक हावापानी र वातावरणले सिञ्चित भएको कुरा भुल्नु हुदैन । नेपाली माटोको मनसुनी हावापानीलाई यूरोप, अमेरिका र अन्य कुनै पनि मूलुकसँग दाँजेर कपी, पेष्टको सजिलो सूत्र अपनाउन सोचिएको हो भने समयमै सेफल्याण्ड खोज्नु पर्दछ ।
समयले अनियन्त्रित उचाई लिएपछि अवतरण त परैको कुरा होला ! थोरै ओर्लन पनि जोखिमपूर्ण हुन सक्दछ । डेनमार्क लगायत नर्डिक मुलुकहरूले अपनाएका लोककल्याणकारी राष्ट्रिय पेन्सन, विरामी वीमा, दुर्घटना वीमा, वृद्ध भत्ता, वालवालिका, अपांगता भत्ताजस्ता सामाजिक सुरक्षाका कार्यक्रमहरू लागु गरेका बखत औद्योगीकरणको प्रारम्भिक चरणमा रहेका कारण आर्थिक रूपमा गरिब भए पनि उनीहरूको इन्फ्रास्ट्रक्चरको स्थिति हाल नेपालको अवस्था, समय र मौलिक माटोसँग दाँज्न वैज्ञानिक हुन्छ कि हुँदैन भन्ने सवाल नै मुख्यत अगाडि आउँछ ।
आर्थिक समृद्धि, सामाजिक न्याय र समताको एजेण्डालाई सँगसँगै अघि बढाउँदा नीतिगत लक्ष्य र नतिजाको समानतालाई मध्यनजर गर्दै अवसरको समानतालाई जोडदिने हुनु पर्दछ । तर, अवसरको समानतालाई जोड दिदा सीमान्तकृत र अति पिछडिएकाहरूका लागि कल्याणकारी उपायहरू अवलम्बन गरिएन भने समाज समतामूलक र न्यायपूर्ण बन्नै सक्तैन । यसरी संश्लेषण गरिरहँदा के भुल्नु हुदैन भने नेपाली मात्रै नभएर विश्व मानव समुदाय फगत पेट पाल्नको लागि मात्रै बाँचेको हुदैन । आर्थिक सम्पन्नताले जुन तहसम्म उसको स्तर उठाइदिन्छ, त्योभन्दा कैयौं गुणा माथिल्लो स्तर उसले आफ्नो इच्छा, चाहना, स्वतन्त्रता र आकांक्षा, अस्तित्वको हो भन्ने बुझेको हुन्छ । एउटा कुशल उत्पादक उही हुन पुग्दछ, जो उपभोक्ताको इच्छा, चाहना वमोजिमको वस्तु उत्पादनपूर्व यही हो भन्ने दृढ किटान गर्दछ । यो सन्दर्भ राजनीतिमा अझ बढी लागु हुने गर्दछ । साना–साना सुधारको पाटोलाई मध्यनजर गरेर चालिएका अभियानलाई तत्कालिन कार्यदिशा मान्ने हो भने यसको दीर्घकालिन वैज्ञानिक कार्यदिशा के हुने ? पैरवी गर्नै पर्दछ ।
विचारका डिम्वाशयलाई रौँचिरा गरेर हेर्ने हो भने उदारवादी, नव–उदारवादीहरू एकाएक पूँजीवादी र समाजवादी धारमै गएर अन्ततः मिल्नु परेको दृष्टान्त छन् । यसलाई उपभोक्तावादी समाजले सिर्जना गरेको कुन बाध्यात्मक परिस्थिति भनेर औल्याउने ? बाटोहरू जति घुमाउरो, बाङ्गाटिङ्गा र लामा भए पनि गन्तव्यको टुङ्गो हुनु पर्दछ । यसो नभएसम्म यात्रीहरूमा ऊर्जा भरिदैन । सुधारका कार्य सकारेपछि अरू के गर्ने भन्ने निक्र्यौल अहिले गर्न नसक्नु त्यो भन्दा अगाडि बढ्ने क्षमताको विकास गर्न नसक्नु हो । समयलाई सँगसँँगै डो¥याउने हो भने धेरै समस्याहरू समयले नै हल गर्दछ । थोरै मात्र हामीले प्रयास गर्ने हो । अहिले विकल्प दिने गफ र भाषणभन्दा पनि यसका वैचारिक, सांगठनिक संरचनागत तहमै पोष्टमार्टम गर्न जरुरी छ ।
विचारलाई सघन रूपमा बहसमा ल्याएर ठोस निष्कर्ष निकाल्दै ग्रासरूटमा डेलिभरी गर्ने बेलासम्म बहस नै सुरूआत नहुँदा समस्या झन जटिल बन्दै गएकोे छ । सांगठनिक संरचनाको वैज्ञानिक पद्धति नै अवलम्बन भएको छैन । भावनात्मक सम्बन्ध कायम गर्न धेरै सजिलो मान्ने हो भने त्यो पनि राम्रोसँग वृहत्तर हुन सकेको छैन । जसले गर्दा थप अन्यौलता र दुविधा पैेदा भएको देखिन्छ ।
प्रथमतः संगठन बन्छ कि संरचना बन्छ ? यस्ता विषयहरूको उल्झनहरू गोलचक्करमा फस्ने संकेतहरू हुन् । यसो हँुदा पार्टी नबनेर पाटी बन्न पुग्दछ । पार्टीको विधि, पद्धति र तहगत नियन्त्रण भएर विचारले सुशोभित भई जुनसुकै बेला संगठनमा आइपरेको समस्या समाधान गर्न र नेतृत्वको कार्यक्रम कार्यन्वायन गर्न सहज हुन्छ । सफल हुन्छ । संगठनको समस्या हल गर्न नसक्नेले देशको समस्या हल गर्छ भन्ने आधार के ? त्यसैले, पार्टी र पाटी फरक छ । पाटीको विशेषता भनेको धर्मशाला पाटी–चौतारीमा चोर, दलाल, बदमास, बुद्धिजीवी, पेशाकर्मी मजदूर, भरिया बटुवाहरू सबै बस्न आइपुग्छन् । आ–आफ्नै कुरा सुनाउँछन् । कसैले कसैलाई सुन्दैनन् । पत्याउँदैनन् । एक–अर्कामा शिष्टाचारसमेत हुँदैन । र, अन्तमा आ–आफ्नै बाटो लाग्छन् ।
उनीहरूको जमात निकै ठूलो देखिए पनि अन्तर्यमा कुनै उद्देश्य नै नभएका कारण संगठित भएको मानिदैन । ती भिन्न–भिन्न प्रकृतिका विचारहीनहरूको हूल क्षणिकमात्रै देख्न सकिन्छ । एकातिर पार्टीको नाममा हिरोहरूको सिण्डिकेटको अतिवाद र अर्कोतिर वैकल्पिकको नाममा पाटीहरूको अतिवाद छ । दुई अतिवादमा देश फसेको छ । यसबाट निकास दिनु अहिलेको आवश्यकता भइसकेको छ ।
जीवनमा कति पटक आँखा झिम्क्याइयो । सायद कसैले पनि यसको तथ्याङ्क राखेको हुदैन । एउटा पार्टीको जीवन पनि त्यस्तै प्रकृतिबाट जोडिएर गुज्रिन्छ । आन्तरिक, बाह्य, स्थानीय, क्षेत्रीय, केन्द्रीय विभिन्न किसिमका निर्वाचनहरू भाग लिनु अनगिन्ती आँखा झिम्क्याइए जस्तै हो । यसको खास हिसाब हुँदैन । तसर्थ, आँखा झिम्क्याउने बहानामा काम नै गर्न छाड्नु वुद्धिमताभित्र पर्दैन । कहिले काही खीर पकाउँदा खोले हुनु स्वभाविक हुन्छ । तर, संसार बदल्ने कुरा मात्रै गर्ने र आफू कहिल्यै नबदलिने हो भने परिवर्तनको सुगा रटान व्यर्थ हुन्छ । सुगा कराउँदैमा मूलुक बन्ने भए थुप्रैको थुप्रैखाले स्वर जनताले सुनिसके । आश्वासनका कुराले अघाइसके । जनताले विश्वास गर्न छाडिसके । कुनै पनि समस्याको हल विधिबाट हुन्छ । सूत्रबद्ध हुन्छ । सबैलाई मौका एकपटक आउँछ । सबैलाई मौका एकपटक नै हो । पद्धति, पारदर्शिताको परिभाषा आफ्नो अनुकुल व्यख्या गर्ने हो भने परिस्थितिले कुनैबेला लोप्पा ख्वाइदिन्छ । त्यसैले, बेलैमा सचेत भएर सुरुआतबाटै वैकल्पिक राजनीति पुनर्गठन गरेर अभियानलाई कस्तो वैकल्पिक क्लियर कम्पास सोझ्याउदै गहन पैरवी गर्ने कि ?
(किराती वैकल्पिक राजनीति पुनर्गठन अभियान राष्ट्रिय कार्यदलका सदस्य हुन् ।)
“आर्थिक समृद्धि, सामाजिक न्याय र समताको एजेण्डालाई सँगसँगै अघि बढाउँदा नीतिगत लक्ष्य र नतिजाको समानतालाई मध्यनजर गर्दै अवसरको समानतालाई जोडदिने हुनु पर्दछ । तर, अवसरको समानतालाई जोड दिदा सीमान्तकृत र अति पिछडिएकाहरूका लागि कल्याणकारी उपायहरू अवलम्बन गरिएन भने समाज समतामूलक र न्यायपूर्ण बन्नै सक्तैन । यसरी संश्लेषण गरिरहँदा के भुल्नु हुदैन भने नेपाली मात्रै नभएर विश्व मानव समुदाय फगत पेट पाल्नको लागि मात्रै बाँचेको हुदैन । आर्थिक सम्पन्नताले जुन तहसम्म उसको स्तर उठाइदिन्छ, त्योभन्दा कैयौं गुणा माथिल्लो स्तर उसले आफ्नो इच्छा, चाहना, स्वतन्त्रता र आकांक्षा, अस्तित्वको हो भन्ने बुझेको हुन्छ । एउटा कुशल उत्पादक उही हुन पुग्दछ, जो उपभोक्ताको इच्छा, चाहना वमोजिमको वस्तु उत्पादनपूर्व यही हो भन्ने दृढ किटान गर्दछ । यो सन्दर्भ राजनीतिमा अझ बढी लागु हुने गर्दछ । साना–साना सुधारको पाटोलाई मध्यनजर गरेर चालिएका अभियानलाई तत्कालिन कार्यदिशा मान्ने हो भने यसको दीर्घकालिन वैज्ञानिक कार्यदिशा के हुने ? पैरवी गर्नै पर्दछ ।” प्रश्ननै प्रश्नहरूकासाथ, चुनाैतीपूर्ण लेख । धन्यवाद ।