घुन्सा दुर्घटनाको १५औं स्मृति : शुभचन्द्र राईले लेख्नु भएको छ– ‘उम्मेदवारीको सम्झौता र गोपाल राई’

विचार / ब्लग

घुन्सा दुर्घटनाको १५औं स्मृति : उम्मेदवारीको सम्झौता र गोपाल राई
– शुभचन्द्र राई

स्कूले विद्यार्थी जीवनमा कम्युनिष्ट विचार धाराबाट प्रभावित भए तापनि क्याम्पस जीवनमा म विशेष गरी जनजातीय राजनीतिसँग नजिक हुन पुगें । २०४६ सालको जन आन्दोलनले प्रजातन्त्रको पुनरबहाली गरेपछि जनजातीय राजनीतिलाई मूल मुद्धा बनाई जन्मिएको नेपाल राष्ट्रिय जनमुक्ति मोर्चासँग आवद्ध भई मैले आफ्नो औपचारिक राजनैतिक जीवन शुरु गरे । पछि नेपाल राष्ट्रिय जनजाति पार्टी र नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा एकीकृत भई नेपाल राष्ट्रिय जनमुक्ति पार्टीको जन्म भयो । तत्कालीन अवस्थामा धुरन्धार रुपमा जातीय मुद्धा उठाउने पार्टी राष्ट्रिय जनमुक्ति पार्टीमात्र थियो त्यसैले यो पार्टीलाई घोर साम्प्रदायिक, विखण्डनवादी, मतुवाली र चुच्चे बिरोधी थेप्चेहरूको पार्टी भनेर भनिन्थ्यो ।

यो पार्टीमा मैलै सुनसरी जिल्ला सचिव, क्षेत्रीय सचिव, युवा मोर्चाको जिल्ला अध्यक्ष र विद्यार्थी मोर्चाको केन्द्रीय महासचिवसम्म भएर काम गरें । बीचमा पार्टीका अध्यक्ष मालबरसिंग थापा र महासचिव गोरेबहादुर खपाङ्गीको समूह र संगठन सचिव कमला छाराहाङ्गलगायत केन्द्रीय सदस्यहरू जगन किरात, सुरेश राई, विश्व आर्टिएस किरात, रामकाजी राई, निलबहादुर थिङको समूहहरूको विवादले गर्दा पार्टी २ भागमा विभाजित भयो ।

हामीले पार्टीलाई पुनः एकीकरण गर्न र नेतृत्वहरूलाई मिलाउन धेरै प्रयासहरू ग¥यौ तर सफल हुन सकेनौं । अन्तत्वगत्वा कार्य कर्ताहरू पनि विभाजित हुने क्रममा म युवा पुस्तालाई नेतृत्व गर्ने निलबहादुर थिङले नेतृत्व गर्नु भएको जनमुक्ति पार्टी नेपाल समूहमा समाहित भएँ र मलाई त्यतिबेला पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी सुम्पेको थियो ।

यसैबेला २०५६ सालको आम चुनाव आइपुग्यो । मलाई पार्टीले ओखलढुङ्गा क्षेत्र नं. २ को संसदीय उम्मेद्धारको रुपमा चयन गरेर पठायो । ओखलढुङ्गाको क्षेत्र नं. २ मेरो जन्म स्थल हो र त्यस क्षेत्रमा अधिक वाम्बुले राईहरूको बसोवास रहेको छ । यस क्षेत्रबाट त्यागी वयोवृद्ध नेता बलबहादुर राई (बाहिङ/रुम्दाली राई)ले एकछत्र विजय पाउँदै आउनु भएको थियो । नेपाली कांग्रेसबाट पुनः उनै वयोवृद्ध नेता बलबहादुर राईलाई नै उम्मेद्धारको टिकट दिइने हल्ला चलेको थियो । तर, कांग्रेसका युवाहरू युवा नेता गोपाल राईलाई टिकट दिइनु पर्छ भन्नेमा आवाज चर्काएका थिए । त्यसो त २०५१ सालमा गोपाल राईले पार्टीले टिकट नदिएपछि आफ्नै काका बलबहादुर राई र क्षेत्र नं.१ का उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेद्धवारी दिएका थिए, भलै पराजित किन हुन नपरोस् ।

जनमुक्ति पार्टीले मलाई उम्मेद्धवारको रुपमा चयन गरिसके पनि सो क्षेत्रमा कुनै राजनैतिक जनआधार थिएन, न संगठन र न कार्यकर्ता थियो । तर एउटै बलियो आधार भनेको जातीय मत थियो । सो क्षेत्रको उम्मेद्धवारको रुपमा मेरो नाम बाहिर आएपछि मेरोबारे निकै जनचासो बढेको थियो । एक्कासी सांसदको रुपमा उठ्न आँट गर्ने व्यक्तिको बारेमा चर्चा हुनु स्वाभाविकै थियो । त्यसमा पनि म वाम्बुले राई भएकोले वाम्बुले राईहरूको मत नै २ नं. क्षेत्रको निर्णायक मत थियो ।

सुनसरीको धरान बसाई, कार्यक्षेत्र, राजनीतिशास्त्रमा एम.ए.सम्मको अध्ययन, साहित्यमा कथा लेखन, पत्रिका सम्पादन तथा प्रकाशन सामान्यत यसैमा पहिचान थियो । धरानको एउटा बोर्डिङ्ग स्कूको प्रिन्सिपल भएकोले पनि सार्वजनिक कार्यका निम्ति मेरो आत्मविश्वासको पातो हो । वक्तृत्वकला पार्टीभित्र म निकै राम्रो मानिन्थें ।

मेरो नाम चर्चामा आएपछि बलबहादुर राईलाई नै टिकट मिलेमा मलाई निकै राम्रो अवसर थियो । युवा पुस्ताबाट खुल्ला रुपमै मलाई समर्थन र सहयोग मिल्ने थियो । तर अन्ततः राजनीतिक समीकरण गरी काका बलबहादुर राईले भतिजा गोपाल राईलाई टिकट छोडि दिएपछि राजनैतिक माहौल परिवर्तन भयो ।

उम्मेद्धवारी दर्ता गर्ने पहिलो दिन म पनि आफ्नो दल, बलसहित ओखलढुङ्गा सदरमुकामतिर लागें । मेरो समूहमा करिब ४० जना खाँटी युवाहरू मात्र थिए । उँबु गा.वि.स.काटेर केत्तुके गा.वि.स. पुग्दा त्यहा“ निकै भीड लागेको थियो । गोपाल राई र बलबहादुर राई उम्मेद्धवारी दर्ताको लागि आफ्नो कार्यकर्तासहित त्यहा“ पुगिसक्नु भएको थियो भने मानिसहरूलाई अर्को जिज्ञासा थियो, शुभचन्द्र राईलाई हेर्ने ।

मेरो टोलीसहित म केत्तुके पुगेपछि त्यहाँका नेताहरूले मलाई सर्लक्कै घेरा हाले । र अनुरोध गरे– ‘तपाईको नाम हामीले सुन्यौं, सहयोग पनि गर्ने थियौं, तर गोपाल राईले टिकट पाउनु भएछ । राजनीतिक त्यागका आधारमा पनि उहाँलाई भारी मतले जिताउनु पर्छ । तपाई दुवै जना राई नै पर्नुभयो । जातीय मतको आधारमा पनि धेरै भोट काटिन सक्छ । त्यसैले तपाईलाई अर्को पल्ट सहयोग गर्नेछौं । यो पटक गोपाल दाइलाई सहज वातावरण बनाउन मद्दत गर्नुहोस् ।’ काठमाडौदेखि गोपाल राईलाई जिताउन सँगै आएका साथीहरूले पनि कुरा दोहो¥याए । उनीहरूले त्यहाँ हाम्रो वार्ताको लागि ठाउँको व्यवस्था पनि गरिसकेका रहेछन् । म र मेरा केही सहयोगी साथीहरू अनि गोपाल राई र उनका केही सहयोगी साथीमात्र वार्ता स्थलमा गयौं । गोपाल राई र मेरो जीवनमै पहिलो पटक भेट थियो त्यो । हामी बीच परिचय आदान–प्रदान भयो ।

गोपाल राईलाई मैले मेरो कल्पना भन्द अलिक फरक पाएँ । मैले सम्झेको थिएँ उहाँ मोटो घाटो हुनुहुन्छ होला तर सिकुटे ज्यान हुनुन्थेछ । हाम्रो वार्ता केवल ३० मिनट जति भयो । मैले आफ्नो लक्ष्य उद्देश्य र जातीय मुद्दाहरूबारे विचार राखें । उहाँले मेरो कुराहरूमा असहमति जनाउनु भएन । उहाँले भन्नुभएको एउटै शब्द अहिले पनि मलाई याद आइरहन्छ । भन्नुभएको थियो– “शुभचन्द्रजी, म यसपाली भीरदेखि फर्केको छु मैले आफ्नो सम्पूर्ण जीवन राजनीतिमा बिताएँ । त्यसको परीक्षाको फल पनि मैले यसलाई ठानेको छु । राजनीतिक धर्मले मैले तपाईलाई उम्मेद्धवारी नदिनुहोस् भनेर भन्न मिल्दैन तर यसपाली सहयोग गर्नु भए राम्रो हुने थियो ।” मैले साथीहरूसँग सल्लाह गर्नेछु भनेर वार्ता टुङ्ग्याएँ । सहजकर्ताको रुपमा कटारी गा.वि.स.का तात्कालीन अध्यक्ष रामकुमार राई, उँबु गा.वि.स.का अध्यक्ष लक्ष्मण राई र केत्तुके गा.वि.स.का अध्यक्षलगायत हुनुहुन्थ्यो ।

त्यसपछि हाम्रो टोली ओखलढुंगातर्फ बढ्यो । हिड्ने बेलामा पनि सबैको अनुरोध त्यही थियो । राति बासमा साथीहरूसँग निकै लामो विचार विमर्श भयो । अन्तमा गोपाल राईलाई मौका दिन पर्ने निष्कर्षमा हामी पुग्यौं । भोलि पल्ट उम्मेद्धवारी दिने दिन बिहानै हाम्रो समूहले पार्टीको झण्डासहित ओखलढुंगा बजार एक फन्को लगायो र मैले गोपाल राई बस्नुभएको कोठामा पुगेर उहाँलाई विजयको शुभकामना दिएँ । उहाँ खुशी हुनुहुन्थ्यो । उहाँले दरो हात मिलाउँदै धन्यवाद दिनु भयो ।
चुनावमा उहाँले विजय हासिल गर्नुभयो । पछि उहाँ भूमि सुधार राज्यमन्त्री बन्नु भयो । किरात राई यायोक्खा सुनसरीले २०५७ सालमा धरानमा आयोजना गरेको राष्ट्रिय ‘वृषमान जसरानी राई स्मृति साकेला कप’ प्रतियोगितामा उहाँलाई हामीले प्रमुख अतिथिको रुपमा निमन्त्रणा ग¥यौं । त्यो नै हाम्रो दोस्रो भेट थियो । प्रतियोगिता पश्चात् मैलै कार्यक्रममा खिचिएका उहाँका केही फोटाहरू एउटा पत्रसहित पठाइदिएको थिएँ । जसमा लेखेको थिएँ–

माननीय मन्त्री गोपाल राईज्यू, नमस्कार ।
सर्व प्रथम किरात राई यायोक्खा, सुनसरीको आयोजनामा सम्पन्न किरात राई सांस्कृतिक महोत्सव तथा प्रथम ‘वृषमान जसरानी राई स्मृति साकेला कप’ प्रतियोगिताको अवसरमा प्रमुख अतिथिको रुपमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पालिदिनु भएकोमा किराया, सुनसरीको सचिवको हैसियतले तथा व्यक्तिगत तर्पmबाट हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु । धरानमा तपाईको व्यस्तता तथा पदीय कार्यभारको कारणले गर्दा व्यक्तिगत भलाकुसरी हुन सकेन तथापि मैले पुरानै गोपाल राईलाई भेटेको विश्वास लिएको छु ।
ओखलढुङ्गा २ नं. क्षेत्रमा किरात राई युवा पुस्ताको काँधमा आएको राजनैतिक नेतृत्वको जिम्मा कवै उम्कनु हुन्न भन्ने मेरो दृढ धारणा रहेको छ । जसको प्रथम ऐतिहासिक जिम्मा तपाईको काँधमा परेको छ । यसलाई तपाईले बडो कुशलतापूर्वक डोहो¥याउनु पर्ने छ र भोलि पुनः अर्को पुस्तालाई जिम्मा लगाउनु पर्ने छ ।
विशेष कार्यक्रममा खिचिएका केही तपाई संलग्न फोटाहरू पठाइदिएको छु । यी तस्बिरहरू भविष्यसम्मै स्मृति चिन्हको रुपमा रहने छन् भन्ने विश्वास लिएको छु ।
–तपाईको शुभचन्द्र राई, धरान ।

यस बीचमा राजनैतिक परिवर्तनहरू भइरह्यो । देशमा सशस्त्र द्वन्द्व चर्किरहेका थियो । उहाँ विभिन्न पदमा र राजनीतिमा सधै क्रियाशील रहनु भयो । धरानमा आउनु भएको बेला उहाँले प्रायः मलाई सम्झनु हुन्थ्यो । भूतपूर्व सिडिओ प्रेमकुमार बान्तावाको घरमा दुई पल्ट हाम्रो भेटभएको छ । जनआन्दोलनका क्रममा उहाँको सक्रियता राजधानीमा केन्द्रित थियो भने हामी पूर्वाञ्चलमा निरन्तर लागिपरेका थियौं । अन्ततः सात दल र सशस्त्र राजनैतिक धारलाई लिएर उठेको नेकपा (माओवादी)को नेतृत्व, आम आदिवासी जनजातिलगायतका पक्षको सामूहिक आन्दोलनले मुलुकलाई शान्तितर्फ डो¥यायो । सामन्ती राजतन्त्रलाई निर्मूल पार्दै गणतन्त्रतर्फ डो¥याउने काम भयो । म संलग्न पार्टी नेतृत्व फुट र प्रतिगममा लागेपछि म सामाजिक संगठनमा लागें । नेपाल आदिवासी जनजाति महासंघमार्फत् आफ्ना मुद्दालाई सशक्त पार्दै लोकतान्त्रिक जनआन्दोलन सफल पार्न होमिनु प¥यो । जुन सफलताले गर्दा हाम्रा नेता गोपाल राईहरू फेरि मन्त्री हुनपाए ।

मन्त्रीत्व कालमै २०६३ असोज ७ गते ताप्लेजुङ्ग जिल्लाको घुन्सा क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी उहाँ र उहाँकी धर्मपत्नीलगायत देश–विदेशका विशिष्ट व्यक्तित्वहरूको असमायिक निधनको खबर सुन्नु पर्दा विश्वासै हुन सकेको थिएन । तर सत्यलाई स्वीकार नगरी पनि धर थिएन । आखिर सत्य त्यही थियो ।

यसरी ओखलढुङ्गा जिल्लाको २ नं. क्षेत्रको एक जनजाति युवा नेता सदाको लागि अस्ताए । देशमा जातीय समानुपातिक प्रतिनिधित्व, आत्मनिर्णयको अधिकारसहित जातीय स्वायत्तता, समावेशीकरणका मुद्दाहरु उठिरहेको परिप्रेक्षमा आदिवासी जनजाति किरात राईहरूको बाहुल्य रहेको ओखलढुङ्गामा गोपाल राईको अनुपस्थिति खट्किएको छ भने अब अर्को गोपाल राईरूको काँधमा नेतृत्व सुम्पनु पर्ने देखिएको छ ।

२०६४ भदौ २५ गते
धरान, सुनसरी ।

 

(प्रस्तुत आलेख गोपाल–मीना राई स्मृति प्रतिष्ठान, नेपाल (भाग १)द्वारा प्रकाशित ‘गोपाल–मीना राई स्मृति ग्रन्थ’ (२०६४), पाना नं.३२६–३३१ रहेको छ । घुन्सा हेलिकोप्टर दुर्घटनाको १५औं स्मृति दिवसका सन्दर्भ पारेर प्रतिष्ठानका अध्यक्ष लेखबहादुर राईको अनुमतिमा अनलाइनमा प्रकाशन गरिएको हो । प्र.सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *