वाम्बुले राई भाषाको चलचित्र निर्माणमा विकास सौगातको अनुभव : ‘ढ्वाङ्कुम’ चलचित्रको जन्म

कला साहित्य -संस्कृति मातृभाषा

‘ढ्वाङ्कुम’ चलचित्रको जन्म
–विकास सौगात

 

युवाहरु समाज प्रति सकारात्मक र जागरुक भइदिए समुदाय आफै विकसित भएर जान्छ । त्यस्तै एक वाम्बुले युवा आफ्नो पहिचान, भाषा, संस्कार र संस्कृति प्रति चिन्तित भएर भविष्यमा गौरव गर्न सकिने इतिहास लेखन कार्यलाई केन्द्रविन्दु बनाई गाउँ फर्किन्छ । गाउँ र सहरवीचको चेतनाको स्तर, रहनसहन जस्ता विविध कुराहरुमा भिनन्ता देखिनु स्वाभाविक नै हुन्छ । ती विविध कठिनाइका बावजुद पनि आफ्नो गन्तव्यतर्फ निरन्तर अघि बढ्नु ‘ढ्वाङ्कुम’ चलचित्रका मुख्य पात्रको मूल धर्म हो ।

अझ वाम्बुले राई जातिमा इतिहास लेखन कार्यका लागि धेरै विषयहरु भर्जिन छन् । कुनै विषयबारे खास जानकारी प्राप्त गर्नका लागि अझसम्म मौखिक डाटा संकलन गर्नु यसको अनिवार्यता हो । ती तमाम विषय उपर क्रमिक रुपमा निश्चित समय कालखण्डभित्र दस्तावेजिकरण गर्न सकिएन भने ती सामाग्रीहरु कहिल्यै पनि प्राप्त नहुने किसिमले नष्ट हुने कुरा प्रष्ट छ ।

ढ्वाङ्कुम
ढ्वाङ्कुम वाम्बुले राईहरुको महान् चाड हो । विशेषतः नयाँ बाली घरमा भित्र्याइ सकेपछि ग्रहण गर्दा दुःख विमार नहोस् भन्ने हेतुले पूर्व स्थापित र पूर्वनिर्धारित ढ्वाङ्कुम थानमा प्रत्येक सालको जनैपूर्णिमाको दिन सामुहिक रुपमा मनाउने गरिन्छ । ढ्वाङ्कुम विषय छोटकरीमा प्रस्तुत गर्न सकिने र मिल्ने विषय होइन । तर यहाँ ढ्वाङ्कुमको विवेचना भन्दा पनि ढ्वाङ्कुम चलचित्र बारे केही शब्द लेख्ने जमर्को गरिएको हुँदा ढ्वाङ्कुम चाडको विस्तृत विवेचनालाई थाती राखेर विषय प्रवेश गर्ने अनुमति चाहन्छु ।

ढ्वाङ्कुम चलचित्रको जन्म
सञ्चारजगत र कलाकारिता क्षेत्रमा रमाइरहेका भाइ शन्त कुमार राई अनि म पत्रकारिता र साहित्यमा रुची राख्ने नाताले उहाँसँग बेलाबखत भेट हुनु स्वभाविक नै हो । विगत लामो समयदेखि मातृभाषामा कलम चलाइरहेको हुनाले आफ्नो भाषा, संस्कार र संस्कृतिप्रति अधिक माया हुनु स्वभाविकै हो ।सन्दर्भवस भाइसँग मिलेर केही गरौन भन्ने सल्लाह भयो । लगत्तै मेरो डेरामा बसी छलफल गर्ने गरी भेटको समय निश्चित गरियो । संयोगवश सोही दिन पोखराका एफएममा सञ्चारकर्मीको रुपमा काम गरी गाउँ फर्केर सहकारी क्षेत्रमा लागेका चौरास बहुउद्देश्यीय सहकारी संस्था लि.का कार्यकारी प्रमुख रेन्जाप्रसाद राई भाइ पनि पोखराबाट गाउँ जानेक्रममा मेरो डेरा आइपुग्नु भो । अभिनयमा गहन रुची राख्ने रेन्जा भाइ, म र शन्त भाइबीच पहिलो पटकको बसाइमै वाम्बुले राई मातृभाषामा चलचित्र निमार्ण गर्ने निधो ग¥यौं । यसै दिन चलचित्रको नाम ढ्वाङ्कुम राख्ने प्रारम्भिक खाकाको जन्म भयो ।

ढ्वाङ्कुम शीर्षक छनौट
हामीलाई कुनै व्यवसायिक बजार चाहिएको थिएन । कसैसँग प्रतिस्पर्धा गर्नु र जित्नु थिएन वा कसैको चलचित्रसँग तुलनात्मक रुपमा राम्रो बनाउनु थिएन । नत मूलधारे चलचित्र उद्योगको लागि यसलाई खुड्किलाको रुपमा अपनाउनु नै थियो । थियो त केवल मातृभाषामार्फत् पहिचान, संस्कार र संस्कृतिले भरिएको एक सुन्दर र आफैमा उत्कृष्ट चलचित्रको सौगात आफ्नो समाज र समुदायलाई अर्पिनु थियो । त्यसैको माध्यमबाट हाम्रो तमाम महत्वपूर्ण कुराको दस्तावेजीकरण गर्नु थियो, जर्गेना र प्रचार प्रसार गर्नु थियो ।

हामी जस्ता युवाहरुलाई यस कुराप्रति केन्द्रित गर्ने, आकर्षित गर्ने र आफ्नो मातृभाषा र सामुदाय प्रति दायित्ववोध गराउने एउटा सांकेतिक महाअभियान पनि हो । जसको लागि अन्य कुनै अमूक शीर्षकको माध्यमबाट वाम्बुले विषयलाई छ्यास्स छोएर जानु भन्दा मुलबाटो नै त्यही बनाउँदा प्रभावकारी हुने कुरामा हामी विश्वस्त भयौं र अन्त सम्म दृढ रह्यौं । हामीले प्रमुख विषयलाई नै अँगालेर जानुपर्छ भन्ने थियो त्यसैले ढ्वाङ्कुम नाम छनौट हुनु वाम्बुले राईहरुको महान् चाड हुनु नै प्रमुख कारण हो ।

चलचित्रको सम्पूर्ण नालीबेलीका लागि चलचित्र नै हेरिदिनु हुन सबैमा सादर अनुरोध गर्दै ढ्वाङ्कुमको वास्तविक चित्र त्यहाँ देखाउने भरपुर कोशिस गरिएको जानकारी भने गराउँन चाहन्छु । वर्तमान समयमा वाम्बुले राईहरु जो गाउँभन्दा पर छौं । विभिन्न स्थानहरुमा ढ्वाङ्कुमको अवसरमा भेटघाटको कार्यक्रम आयोजना पनि गर्दै आइरहेका छौं । तर ढ्वाङ्कुमटारमा जस्तो विधिवत ढ्वाङ्कुम मनाउन नपाएका हाम्रा सन्ततीले वास्तविक ढ्वाङ्कुम के हो ? किन र कसरी मनाइन्छ ? भन्ने कुरामा भ्रम पैदा हुँदै जानु पनि चिन्ताको एक कारण हो ।

एउटा वास्तविक प्रसंग कोट्याउँ । एक जना बहिनीले आफ्नो साथीलाई यसपाली काठमाडौंको ढ्वाङ्कुम भेटघाटमा आउन निमन्त्रणा गरिन् । जहाँ म पनि थिएँ । सहरमै हुर्केकी उनका साथीले सोधिन, ‘ढ्वाङ्कुममा के गर्छन् ?’ जवाफ थियो, ‘औपचारिक कार्यक्रम पनि हुन्छ । अरु त गाउँने, नाच्ने, खाने हो ।’ हाम्रो वास्तविक ढ्वाङ्कुम यस्तो थिएन र होइन । सन्देश भने यस्तै प्रकृतिको गैरहेको अवस्था छ । जुन कुरालाई थोरै मात्र भएपनि यस चलचित्रले चिर्न सहयोग नै गर्नेछ ।

निमार्ण अभियान
सानो भन्दा सानो काम होस् वा महान् अभियान नै । जसको उद्देश्य प्राप्तिको लागि पहिलो शर्त कार्य हो । कार्य सम्पादनको लागि आर्थिक रुपमा तयार हुनै पर्छ । हामी तीन भाइ म विकास सौगात, शन्त कुमार राई र रेन्जा प्रसाद राई निर्माता रहने गरी टिम तयार भयो । एक लाख भन्दा बढी सहयोग गर्नेलाई सहनिर्माताको समूहमा राख्ने गरी आर्थिक पाटोको गृहकार्य भयो । हामीले सार्वजनिक रुपमा सहयोगको अपिल नगर्ने तर व्यक्तिगत रुपमा पहल गर्ने निधो ग¥यौं । त्यसैले धेरै महानुभावहरुलाई चलचित्र निर्माण कार्यबारे सूचना भएन र प्राविधिक रुपले पु¥याउन पनि सकिएन । कतिपय सहयोगी मनहरु छुट्न गएको प्रति क्षमा चाहन्छौं ।

कलाकारको खोजी
हामीलाई कलाकारिता मार्फत आफ्नो भूमिका शसक्त रुपमा निभाउन सक्ने तर पारिश्रमिक भुक्तानीमा न्यून हुने र स्थानीय कलाकारहरुलाई पनि अवसर दिने भन्ने हेतुले शन्त कुमार भाइको नेतृत्वमा केही इच्छुक कलाकारहरुको अडिसन भयो । त्यसैको प्रतिफल कलाकार सविता राई ‘प्रयास’ लगायतका कलाकारहरु हुन् । यस भन्दा पहिले शन्त भाइ, चाँदनी राई र रेन्जा राई प्रमुख भूमिकामा रहेन कुरा निश्चित भयो ।

कथा व्यथा
शन्त भाइसँग छलफल गर्दै बडो सशक्त, मार्मिक, प्रेरणादायक र सन्देशमूलक उत्कृष्ट वान लाइन स्टोरी तयार भयो । पट कथाहरु तयार भयो । स्क्रिप्ट पूरै तयार भयो । चलचित्रको पहिलो भाग छायाँकन शुरु भयो । हामीले जति बजेट जोहो गरेका थियौं त्यो बजेट यस कार्यसँगै सकियो । छायाँकनका लागि ढ्वाङ्कुमटार नै जानुपर्ने बाध्यता र सो कार्यको लागि आवश्यक मानव संसाधन लगायतका सामग्रीहरु काठमाडौंबाट लानु पर्ने विवशताले पनि यातायात खर्च, खाजा खाना खर्चले अनुमानित बजेटभन्दा अधिक लागत हुन जानुु स्वभाविक थियो ।

हामीले तयार गरेको बजेटको अनुपात भन्दा लागत बढ्न गएकै कारण कथामा भएका पुरै कुराहरु यसमा समावेश गर्न असमर्थ रह्यौं । राख्नै पर्ने महत्वपूर्ण कुराहरु जानी जानी छुट्टाउनुको पिडा एउटा परिकल्पनाकारले मात्र कल्पना गर्न सक्ने कुरा हो । यस चलचित्र निमार्णको प्रमुख व्यथा नै यही बन्यो र निर्धारित समयभन्दा निकै ढिलो गरी निर्माण सम्पन्न हुन सक्यो ।

आभार तथा धन्यवाद
यसको निर्माण कार्यदेखि च्यारिटी सो सम्ममा विभिन्न क्षेत्र, तह र तप्कका संघ, संस्था, व्यक्ति व्यक्तित्वहरुले सुझाव, सहयोग, समर्थन र उत्प्रेरित गर्नु भएको छ । यस प्रति हाम्रो टिम सदा ऋणी छ । हामी सवैमा हार्दिक आभार प्रकट गर्दछौं । यस चलचित्रका आर्थिक सहयोगदाताहरु, कलाकारहरु, चलचित्रका विविध विधा तथा आयमका सहयोगी साथीहरु र आफ्नो व्यस्त समयको वावजुद पनि प्रमुख अतिथिको रुपमा उपस्थित भई च्यारिटी शो कार्यक्रमलाई थप महत्वपूर्ण बनाई दिनु हुने राष्ट्रिय गानका सर्जक व्याकुल माइला दाजु, प्रदर्शनकार्यमा महत्वपूर्ण भूमिका खेलिदिनु हुने गणेश दाजु, निर्माण कार्य देखि अन्तसम्म सहयोग पु¥याउनु हुने कृष्णजीत दाजु र लिब्जु फिल्मस् प्रा.लि., स्वस्फूर्त रुपमा सहयोग रकम संकलन गरीदिनु हुने दाजु अम्बरबहादुर राई लगायत सम्पूर्ण सहयोगी हातहरु, अतिथिहरुज्यूहरु, पत्रकारहरु, शुभेच्छुक ज्यूहरुमा मनैदेखि आभार प्रकट गर्दै धन्यवाद दिन चाहान्छौं । च्यारिटी शो मा भएको उपस्थिति, त्यहाँबाट प्राप्त प्रतिकृया, अग्रजहरुको हौसला र यस चलचित्रप्रति सकारात्मकताका साथ उत्सुक र जिज्ञासु भएर विभिन्न माध्यमबाट सम्पर्क गरिरहने मनहरुबाट हामीलाई थप ऊर्जा मिलेको छ ।

विषयगत ज्ञानको प्रश्न
कुनै पनि कुरा कहिल्यै पूर्ण हुन सक्दैनन् र शुरुमै सवैभन्दा उत्कृष्ट कार्यसम्पादन सम्भव छैन । जसरी राइट दाजुभाइले पहिलो पटक जहाज उडाएका थिए । त्यसमा विभिन्न कुराहरुको विकास आवश्यकता रह्यो र अझै पनि यसमा थप विकास हुनुछ । सिक्दै जाने कुरा एउटा मानव विशेषता हो । यस सन्दर्भमा केही प्रश्नहरु, जिज्ञासाहरु आउनु स्वभाविक रुपमा लिएका छौं । यसै सिलसिलामा आएका सन्दर्भलाई जोड्दा विषयगत ज्ञान र अनुभवका कुराहरु पनि आउलान् । ज्ञान र अनुभव त कार्यसम्पादन बाट नै प्राप्त हुने हो । हामीले नगरे कसले गरिदिने ? भन्ने प्रश्न आफैलाई गरेर यो कार्यको प्रारम्भ भयो । यसैको प्रतिफल हो– ‘आदिवासी किरात वाम्बुले पहिचानमा आधारित वाम्बुले भाषाको पहिलो चलचित्र ढ्वाङ्कुम ।’

अन्तममा अनुरोध
एउटा महत्वपूर्ण कुरा के हो भने कुनै पोख्त ज्ञाताले मात्र कुनै निश्चित विषयमा हात हाल्ने हो भने त्यस्ता सक्षम व्यक्तिहरु पाउनु अगावै हाम्रो भाषा, संस्कार र संस्कृति लोप भइसक्नेछ । अर्को कुरा सामुदायका व्यक्ति पोख्त र सक्षम भएर पनि यस विषयलाई प्रमुखताका साथ अगाडि बढाइदिएन भने फेरी आशा गर्दा गर्दै हाम्रो भाषा, संस्कार र संस्कृति लोप भइसक्नेछ । त्यसैले सकारात्मक सोचका साथ आफूले सकेको कुरा समाज र समुदायलाई दिनु हाम्रो कर्तव्य ठानेर यहाँसम्मको यात्रा तय ग¥यौं । प्रत्येक युवाले निस्वार्थ रूपमा समुदायका लागि एउटा–एउटा सानो–सानो कार्यमा गर्ने हो भने पनि हजारौं काम एकै साथ सम्पन्न हुन रहेछ । आजसम्मको हाम्रो अनुभववाट यही महसुस गरेका छौं । हामी विनम्र आग्रह गर्दछौं । मन गरिदिनुस् ।

स्वामी विवेकानन्दले जीवन के हो ? भन्ने सन्दर्भमा भनेका छन् ‘जीवन दिनका लागि हो लिनका लागि होइन ।’ हामी आम मानिसले पनि केही लिएर जाने छैनौं । त्यसैले ढ्वाङ्कुम चलचित्र निमार्ण सन्दर्भमा कुनै लोभ, इष्र्या र मनमा पाप नराखी चिन्तन र मनन गरी सम्पादन गरिएको कर्म हो ।

अन्तमा हाम्रो आफ्नो पहिचान, भाषा, संस्कार र संस्कृतिलाई अत्यन्तै माया गरी हाम्रो सानो प्रयासमा हौसला प्रदान गर्नुहुने सवैमा सलाम गर्दै यस अभियानलाई थप शसक्त रुपमा अगाडी बढाउनका लागि सहयोग गर्नु हुने कुरामा पनि हामी विश्वास्त छौं ।

ढ्वाङ्कुम चलचित्र जन्मनु मात्र ठुलो कुरा होइन । यसले बोकेको सन्देश र लक्षित समुदायले यसबाट ग्रहण गरेको सन्देश मुख्य कुरा हो । हामीले उल्लेखनीय कार्य गर्न सक्यौं वा सकेनौं त्यो भविष्यले बताउनेछ । निमार्ण कार्यदेखि यहाँसम्म विविध कमजोरीहरु भए होलान् । माफी चाहन्छौं तर यसको मूल्याङ्कन सीमित दृष्टिकोणबाट मात्र गरिनु हुँदैन भन्ने हाम्रो अनुरोध छ ।

जय वाम्बुले ।

(लिब्जु–भुम्जु त्रैमासिक वर्ष २५, अंक १, पूर्णाङ्क ७३, २०७५ वैशाख–असार मा प्रकाशित सामग्री अनलाइनमा प्रकाशन गरिएको हो । प्र.सं.)

 

Leave a Reply

Your email address will not be published.