तेस्रो किरात राई अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौं हुँदै

समाचार

तेस्रो किरात राई अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौं हुँदै

गणेश वाम्बुले राई

काठमाडौं- किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिले तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण करिब दुई वर्ष रोकिएको सम्मेले यही २०७८ कात्तिक २७, २८ र २९ गते काठमाडौंमा हुने मिति तय भएको हो ।

तीन दिने सम्मेलनमा नेपालसहित १९ मुलुकका प्रतिनिधि, विषयविज्ञ, अभियन्ताहरूको सहभागी रहने जनाइएको छ । समितिले बुधबार कोटेश्वरस्थित किरात राई यायोक्खाको कार्यालय हलमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

समन्वय समितिका अध्यक्ष दिवस राईले संसारभरि छरिएर रहेका किरात राई जातिको एकता, पहिचान र अस्तित्व निर्माणका निम्ति अन्तर्राष्ट्रिय सम्मेलन निरन्तरता दिइएको बताउनु भयो ।

‘संसारभरि छरिएर रहेका किरात राई जातिको इतिहास, मुन्दुम संस्कृति, परम्परा खोजी र संरक्षणका निम्ति छलफल, बहस र निष्कर्ष दिन सम्मेलनको आयोजना गरिएको हो,’ तथा किरात राई यायोक्खाको केन्द्रीय अध्यक्षसमेत रहनु भएका राई पत्रकार सम्मेलनमा भन्नुभयो, ‘नेपालमा १२औं राष्ट्रिय जनगणना भइरहेको सन्दर्भलाई समेत किरात राई जातिको एकताका निम्ति सम्मेलन सान्दर्भिक हुने ठानेका छौं ।’

अध्यक्ष राईले सम्मेलनमा राई जातिभित्रका २६ भाषाहरूको अवस्था, किरात सिरिजंगा लिपिको प्रयोग, किरात धर्म र माङखिम, मुन्दुममा सुप्तुलुङको स्थान र प्रयोग, किरात प्रदेश अभियान विषय केन्द्रित भएर बहस गरिने जानकारी दिनु भयो ।

समन्वय समितिका सचिवालय सदस्य तथा यायोक्खाका विदेश विभाग प्रमुख जीवन हाताचो राईले सम्मेलनमा विभिन्न मुलुकबाट प्रतिनिधि चयन गर्ने क्रम जारी रहेको बताउनु भयो ।

‘विश्वमा रहेका किरात राईहरूको साझा सरोकारको विषय बुझेका प्रतिनिधिहरू सहभागी हुनेछन्,’ उहाँले भन्नुभयो, ‘किरात राईहरूलाई अनन्तकालसम्म एकताको सूत्रमा बा“ध्नका निम्ति समन्वय समिति गठन भएको हु“दा सम्मेलनले मुन्दुम, भाषा, संस्कृति, साहित्य, कलाप्रति साझा धारणा निर्माण गर्न सम्मेलनमा टेवा पु¥याउनेछ । र सम्मेलनले घोषणापत्र जारी गरेर विश्वभरिका किरात राईहरूको एकताको सन्देश प्रवाह गर्नेछ ।’

किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष मेजर योगेश राईले बेलायतमा गर्ने भनेर तयारी गरिएको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन कोभिड महामारीले गर्दा अन्तिम घडीमा रोकिएको बताउनु भयो । ‘रोकिएको अन्तर्राष्ट्रिय सम्मेलन अहिले नेपालमै हुन गइरहेको छ,’ बुधबार बेलायत उड्नु अघि पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘यायोक्खा बेलायतबाट आर्थिक, नैतिक सबै किसिमको सहयोग रहनेछ भने भौतिक रूपमा अध्यक्ष कल्पना राई, म र अन्य प्रतिनिधिको सहभागिता रहने छ । समयले साथ दिएमा चौथो सम्मेलन बेलायतमा गर्न सकौं ।’ उहाँ बेलायतबाट साता दिनभित्र पुनः नेपाल फर्किनु हुने जानकारी गराउनु भयो ।

समन्वय समितिका महासचिव जनक राईले सम्मेलनमा भारत, बेलायत, हङकङ, मकाउ, अमेरिका, कतार, युएई, इजरायल, मलेसिया, साउदी, बहराइन लगायत देशका प्रतिनिधि सहभागी रहने जानकारी दिनु भएको छ । त्यसैगरी सम्मेलनमा यायोक्खाको २३ जिल्ला कार्यसमितिका प्रतिनिधि, २६ वटा भाषिक संस्थाका प्रतिनिधि, विषयविज्ञ, अभियन्ता गरी ३ सय ५० जनाभन्दा बढी सहभागिता रहने छ ।

२०६७ साल चैत २७ र २८ गते (सन् २०११ अप्रिल ११ र १२) काठमाडौंमा सम्पन्न पहिलो किरात राई अन्तर्राष्ट्रिय सम्मेलनले किरात राई जातिको एकता कायम गर्न दिशानिर्दिष्ट गरेको थियो । त्यसैगरी २०७१ फागुन ९ र १० गते (सन् २०१५ फेब्रुअरी २१ र २२) भारतको दार्जिलिङ जिल्लाको सिलिगुडीमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले किरात राई जातिको साझा सांस्कृतिक प्रतीक चिन्डो (वाबु)लाई साझाकरण गरेको छ । तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनले किरात राई जातिको साझा सुप्तुलुङ चुला र साझा किरात सिरिजंगा लिपि प्रयोगलाई स्थापित गर्ने जनाइएको छ ।

फोटो क्याप्सन : किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा यही कात्तिक अन्तिम साता हुने तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनबारे जानकारी दिंदै पत्रकार सम्मेलनमा समितिका अध्यक्ष दिवस राई ।

Leave a Reply

Your email address will not be published.