तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनले १६ बुँदे घोषणापत्रमा छ– ‘विश्वभरिका राई जातिको मुन्दुमअनुकुल एकै प्रकारको माङखिम र सुप्तुलुङ हुनेछ’ (भिडियोसहित)

समाचार

लिभु संवाददाता
काठमाडौं । संसारभरि छरिएर रहेका किरात राई जातिको जातिको मुन्दुमअनुकुल एकै प्रकारको माङखिम र सुप्तुलुङ हुने घोषणा भएको छ । किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिले नेपालको संघीय राजधानी काठमाडौंमा सम्पन्न गरेको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनले १६ बुँदे घोषणापत्र जारी गर्दै किरात राई जातिको सांस्कृतिक एकताको घोषणा गरेको हो ।

विश्वभर एकै प्रकारको माङखिम (पितृघर) निर्माण गर्ने र मुन्दुमी विधिबाट सामुहिक सुप्तुलुङ (चुल्हो) स्थापाना गर्ने प्रस्ताव पारित भएको छ । देश–विदेशमा बसाईसराई, बढ्दो सहरी र विश्वव्यापीकरणले चुलो सस्कार संकटमा पर्दै आएको छ । सामुहिक रूपमा चुलो स्थापना गर्ने र सोहीअनुसार संस्कार गर्ने निर्णय भएको छ । त्यस्तै पितृ र प्रकृतिक दर्शनमा आधारित मुन्दुमद्वारा निर्देशित अवधारणालाई नै किरात धर्म मान्ने निर्णय भएको छ ।

‘किरात राई जातिको इतिहास, भाषा, धर्म र संस्कृति संरक्षण हाम्रो अभियान, विश्व किरात राईहरूको एकताको लागि किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराको साथ यही २०७८ कातिक २७—२९ गते (२०२१ नोभेम्बर १३—१५ तारिख) सम्मेलन सम्पन्न भएको हो ।

किरात राई समुदायमा लिपि, भाषा, चुल्हो, धर्म सस्कार लगायतको बिषयमा छलफल गर्दै नयाँ परिस्थिति अनुसार किरात राई समुदाय भित्र विश्वभर एक रूपता कायम गर्न सम्मेलनको आयोजना गरेको जनाइएको छ । घोषणापत्रमा किरात सिरिजंगा लिपि समृद्ध गर्दै राई समुदायको साथ किराती समुदायले साझा लिपिको रूपमा प्रचलनमा ल्याइने र भारतको सिक्किममा प्रयोग हुँदैआएको किरात खम्बु राई लिपिलाई समेत मान्यता दिने निर्णय भएको उल्लेख छ ।

सम्मेलनपछि यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरमा बुधबार पत्रकार भेटघाट गरी घोषणापत्र सार्वजनिक गर्दै उक्त जानकारी दिइएको हो । नेपालमा जारी १२ औं राष्ट्रिय जनगणनामा केन्द्रीय तथ्यांक विभागले वाम्बुले समुदायको कोड नम्बर ४३ को मूल प्रश्नलाई विभागले त्रुटि गरी याम्बुले, दुमीलाई डुमी बनाएको र अन्य स्थलमा समेत गणकहरूले सूचकले दिएको जानकारी भन्दा फरक विषय लेख्ने काम भएकोले भत्र्सना गर्दै सच्याउन विभागसँग माग गरेको छ ।

किरात राई जातिको आदिम सभ्यता उद्गम स्थल आस्थाको केन्द्रको रूपमा रहेको तुवाचुङ जायजुम, मिथक जोडिएको खुवालुलाई सांस्कृतिक पर्यटन र मुन्दुम टे«ल, ट्याम्कैमैयुङ, साल्पा सिलिचुड, हलेसी, लिब्जु, भुब्जुलगायत जोडेर पर्यटकीय स्थलको रूपमा प्रबद्र्धन गर्न भनिएको छ ।

किरात राई जातिको साकेला उभौली र उधौली चाडमा देशव्यापी कम्तिमा पाँच दिन र आदिवासीहरूले मान्ने सबै राष्ट्रिय चाडहरूमा सार्वजनिक विदा दिइनु पर्ने घोषणापत्रमा छ । सोही अवसरमा सरकारी कर्मचारीलाई दिइने एक महिनाको अतिरिक्त भत्ता साकेलाकै बेला उपलब्ध गराउन सरकारसँग माग गरेको छ । किरात राई समुदायको सांस्कृतिक कार्य गर्ने नक्छो÷नाक्सो, दोवा, माङ्पा, कुवी र तोकायाहरूको लोप हुने अवस्थामा पुगेको कारण वृत्ति विकासको लागि स्थानीय सरकारसँग सांस्कृतिक भत्ता माग गर्ने निर्णय गरेको छ ।

सम्मेलनले राजनीतिक प्रस्तावसमेत पारित गर्दै आवश्यक परे किरात प्रदेश नामकरणको लागि निर्णायक संघर्ष गर्ने भनेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सात प्रदेश कायम भएपनि हालसम्म प्रदेश–१ र प्रदेश–२ को नामाकरण हुनसकेको छैन । किरात राई यायोक्खाले प्रदेश–१ लाई ‘किरात प्रदेश’ नामाकरण हुनुपर्ने राजनीतिक प्रस्तावसहित चरणवद्ध आन्दोलन जारी राखेको छ । नामकरण गर्न प्रदेश संसद, सरकार तथा राजनीतिक दलहरूसँग पहल कदमी गर्ने र आवश्यक परे निर्णयक आन्दोलन गर्ने निर्णय भएको घोषणा पत्रमा छ ।

यसैगरी पृथ्वीनारायण शाहले किरात प्रदेशमा आक्रमण गर्नु पहिले नै जातिको रुपमा स्थापित राईलाई बिखण्डित गर्ने गरी छरिएका भ्रमहरू चिर्दै अझ सुदृढ र बृहत एकता कायम गर्ने प्रस्ताव पारित भएको जनाइएको छ । किरात राई जातिको बृहत्तर एकता अभियान भन्दा फरक धारमा रहेका समुदायलाई सहकार्य, सहमति र राई एकतामा आउन किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनले आह्वान गरेको छ ।

जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाको साथै किरात विश्वविद्यालय स्थापना गर्न सरकारसँग पहल गर्ने भनेको छ । यस्तै किरात राई जातिको इतिहास जोडिएका ऐतिहासिक गढी, किल्ला, दरबार माथि भौतिक निर्माणको नाम अतिक्रम भएप्रति अविलम्ब रोक्न सम्बन्धित निकायसँग माग गरेको छ ।

पत्रकार सम्मेलनमा यायोक्खा केन्द्रीय सचिव तथा प्रचार बिभाग प्रमुख अर्जुन जम्नेली राईले घोषणा पत्र पढेर सुनाएपछि किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजक दिवस राईले थप प्रष्ट पारेका थिए । त्यसैगरी किरात राई यायोक्खाका पूर्व अध्यक्षद्वय गंगाराज राई र यशोदा राई, यायोक्खा बेलायतका अध्यक्ष कल्पना राई, उपाध्यक्ष मेजर योगेश राई, किरात राई सोसाइटी अफ अमेरिकाका सचिव दिवस कोयु राईलगायत उपस्थिति रहेको थियो ।

कात्तिक २७ गते राष्ट्रिय सभागृहमा उपराष्टपति नन्दबहादुर पुन र प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले सम्मेलनको उद्घाटन गरेका थिए । उक्त सम्मेलनमा बेलायत, अमेरिका, दक्षिण कोरिया, हङकङ, भारत, दुबाई, मलेसिया लगायत १४ देशका प्रतिनिधि सहभागी थिए । त्यसपछि ललितपुरको यलखिम रेष्टुरेष्ट बैक्वटमा दुई दिने बन्दसत्रमा किरात राई जाति, इतिहास, भाषा, लिपि, संस्कृतिबारे बृहत् छलफल भई घोषणापत्र जारी गरिएको महासचिव जनक राईले जनाए ।

Leave a Reply

Your email address will not be published.