मानव सेवा आश्रमलाई १ लाख ५० हजार प्रदान

समाचार

लिभु संवाददाता
काठमाडौं–होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान ट्रस्टले मानव सेवा आश्रम संस्थालाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

 

आश्रमले बडा दसैं, तिहार, नेपाल संवत् ११४४ र छठ पर्वको अवसरमा सोमबार काठमाडौंंको बनस्थलीस्थित रानीवन पार्टी प्यालेसमा आयोजित एक समारोहमा नगद हस्तान्तरण गरिएको हो । ट्रस्टका अध्यक्ष सीमाविद् बुद्धिनारायण श्रेष्ठ, ट्रस्टका संरक्षक होमबहादुर श्रेष्ठ र प्रेमकुमारी श्रेष्ठ दम्पतीले आश्रमका अध्यक्ष रामजी अधिकारी तथा प्रतिनिधिलाई उक्त राशिको सहयोग हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण गर्दै ट्रस्टका अध्यक्ष श्रेष्ठले इमान्दारितापूर्वक पौरख गरी समृद्ध घरपरिवारको निर्माण गर्न सफल होमबहादुर श्रेष्ठ र प्रेमकुमारी श्रेष्ठका छोराछोरीले आफ्ना जीवित आमा–बुवाको नाममा संस्था गठन गरी सामाजिक कार्य अघि बढाएको बताउनु भयो । गत साउनमा ट्रस्टको शुभारम्भसँगै सुनसरीको इटहरीमा क्रियाशील ‘जेष्ठ नागरिक, हिंसा पीडित महिला, बालबालिका तथा आश्रयविहीन सडक मानवको उद्दार तथा सेवामा संलग्न’ संस्था माया घर नेपाललाई ५० हजार ५्र० रुपैयाँ राशिको सम्मान प्रदान गरिएको जानकारी दिनु भयो ।

‘अहिले हाम्रो ट्रस्टबाट यस आश्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ,’ ट्रस्टका अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘यो सहयोग हाल बेलायतमा रहनु भएको छोरा शिवजी श्रेष्ठले व्यवस्था गर्नु भएको हो । अहिलेसम्म स्वर्गे भएका आमाबाबुको नाममा संस्था खोल्छन् । तर शिवजीलगायत छोराहरूले आफ्नो हाल जीवित आमा–बाबुको नाममा संस्था गठन गरेर आफ्नो खुसी र बाबुआमासँगै रहेर सामाजिक कार्य गर्नु सराहनीय कार्य भएको छ । आज होमबहादुर श्रेष्ठको बुवा सूर्यबहादुर श्रेष्ठको ३५औं तिथिमा यो रकम हस्तान्तरण गर्न पाएकोमा हामी खुसी छौं । मानव सेवा आश्रमले स्विकार गर्नु भएकोमा खुसी व्यक्त गर्दछु । भविष्यमा पनि हाम्रो सम्बन्ध रहिरहनेछ ।’

२०६९ सालमा स्थापित आश्रमले ‘विसं. २०८२ सालभित्र सडक मानव मुक्त नेपाल अभियान’ सुचारु राखेको छ । अभियानका क्रममा यही २०८० असोज २७ गतेदेखि कात्तिक २७ गतेसम्म एक महिने ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८०’ सम्पन्न गरेको छ । त्यस क्रममा २ सय ७१ जनाको उद्धार गरेको आश्रमका अध्यक्ष अधिकारीले बताउनु भयो ।

अभियानमा प्रसिद्ध गायिका आनी छोइङ डोल्माले साथ दिनु भएको छ । आश्रमले अहिलेसम्म २४ जिल्लामा आफ्नै भवन संरचना निर्माण गरेको छ । साथै, आश्रयविहीन जेष्ठ नागरिक, घरबारविहीन नागरिक, महिला र बालबालिकाको उद्धारसहित गाँस, बास, शिक्षाको व्यवस्था गर्दै आएको छ । सडक आश्रित बालबालिकामुक्त गरी बालमैत्री प्रदेश निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै आएको छ ।

अध्यक्ष अधिकारीका अनुसार आश्रम स्थापनाको ११ वर्षमा देशभरि सात प्रदेश १९ जिल्लामा २४ सेवा केन्द्र रहेको छ । हालसम्म देशभरिबाट ९ हजार जनाको उद्धार गरेको छ । तीमध्ये ४ हजार जनाको पारिवारिक पुनर्मिलन भयो । अहिले १ हजार ७ सय जना आश्रमको संरक्षणमा रहेको अध्यक्ष अधिकारीले जानकारी दिनु भएको छ ।

समारोहमा होमबहादुर–पे्रमकुमारी श्रेष्ठ मातृभूमि पहिचान ट्रस्टका सदस्य–सचिव गणेश वाम्बुले राई, कोषाध्यक्ष रामविनय श्रेष्ठलगायत परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो ।

समारोहमा आनी छोइङ डोल्मा, राधिका आमा, पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्री, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतले मन्तव्य राख्नु भएको थियो । त्यस अवसरमा आश्रमले अहिलेसम्म मानव सेवामा हासिल गरेको उपलब्धीहरू र मेची–महाकाली राष्ट्रिय उद्धार यात्राबारे संक्षिप्त वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.