मुकारुङ संघद्वारा सम्मान र प्रशंसापत्र प्रदान

बिशेष समाचार

अब २०८१ सालभित्र मुकारुङ वंशावली निर्माण गरिनेछ :अध्यक्ष मुकारुङ राई
लिभु संवाददाता
काठमाडौं– किरात बान्तावा राई मुकारुङ संघले विभिन्न तहतप्काका व्यक्तिव्यक्तित्वलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ । सम्मान पाउनेमा लिब्जु–भुम्जुका सम्पादक गणेश वाम्बुले राईलगायत रहेका छन् ।

संघका अध्यक्ष गंगाराज मुकारुङ राई (अवकाशप्राप्त कर्णेल तथा प्रसिद्ध गीतकार) र समुदायका अगुवा वासुदेव किरातको बाहुलीबाट आज २०८० माघ २७ गते शनिबार काठमाडौंमा सम्मानपत्र र प्रशंसापत्र प्रदान गर्नु भएको हो ।


सम्पादक राईलाई २०७४ भदौ ३० गते भोजपुरको साङ्पाङमा सम्पन्न संघको आठौं अधिवेशन तथा २६औं मुकारुङ दिवसमा सम्मानपत्र ग्रहण गर्न छुटेको हुँदा अहिले प्रदान गरिएको हो । सम्मान–पत्रमा किराबामु संघको तत्कालीन कार्यसमितिका अध्यक्ष दिलेन्द्र मुकारुङ, महासचिव शुभ मुकारुङ र प्रमुख अतिथि गणेश रसिक (सदस्यसचिव– नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान)को हस्ताक्षर रहेको छ ।


‘शिक्षा, संचार, साहित्य, सांस्कृतिक तथा वाम्बुले समुदायको भाषिक उन्नति र विकासका लागि लिब्जु–भुम्जु सम्पादन, प्रकाशन गरी लेखन क्षेत्रका माध्यमबाट निरन्तर क्रियाशील रही आफ्नो परिवार, वंश, समुदाय, समाज र राष्ट्रप्रति निःस्वार्थ मन, वचन र कर्मले पु¥याउनु भएको विशिष्ठ सामाजिक योगदानको कदर गर्दै..’ सम्मान–पत्रको व्यहोरामा भनिएको छ । सम्पादक राई सम्मान गर्दै किरात राई बान्तावा मुकारुङ संघ परिवारप्रति हार्दिक आभार प्रकट गरेका थिए । २०५० सालदेखि ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) साहित्यिक त्रैमासिक पत्रिका सम्पादन तथा प्रकाशन गर्दै हालसम्म मातृभाषा सेवाका निम्ति आफूलाई समर्पित गरेको बताएका थिए ।


यसैगरी संस्थागत सम्मान पाउनु हुनेमा इन्द्रकुमारी रूङमाहाङमा मुकारुङ राई (आर्थिक सहयोगदाता), नरदेवी रूपाबुङमा मुकारुङ राई (शिक्षा र साहित्य), उर्मिला किराँत मुकारुङ राई (संस्थापक कोषाध्यक्ष), संघका पूर्वअध्यक्ष पृथ्वीराज मुकारुङ राई (संस्कृतिविद् र शिक्षा), निवर्तमान उपाध्यक्ष उद्दिम मुकारुङ राई हुनुहुन्छ ।

यसैगरी अक्षयकोषदाताहरू प्रेमकुमारी एवैमा मुकारूङ राई, प्रभुराम मुकारुङ राई, बोमप्रसाद मुकारुङ राई, शिशुकृष्ण मुकारुङ राई, पुरन्जन मुकारुङ राई, डम्बर मुकारूङ राई, टिका मुकारुङ राई, छेत्राकला मुकारुङमा राई, मानकुमारी मुकारूङमा राई, धर्मराज मुकारुङ राई, स्मृति मुकारूङमा राई तुम्बाहाङ्फे लिम्बु तथा संस्थागततर्फ किराबामु संघ सिक्किम इकाई समितिलाई सम्मानपत्र प्रदान गरिएको छ ।


यसैगरी भोजपुरस्थित अमलादेवी थान पुनर्निर्माणमा सहयोग गर्ने ६६ जना दातालाई प्रशंसापत्र प्रदान गरिएको छ ।


बान्तावा राईभित्र मुकारुङ पाछा एक विशिष्ट रूपमा चिनिन्छ । यो वंशलाई निरन्तर राख्न तथा बिथोलिन नदिन २०४८ सालमा भीमप्रसाद मुकारुङ राईको अगुवाईमा किरात बान्तावा राई मुकारुङ संघ गठन गरिएको हो । वंशको खोजी, चिनाजानी, सामाजिक एकता, सांस्कृतिक एकता, भाषिक एकता, वंशीय एकतालाई निरन्तर राख्ने उद्देश्यले देश–विदेशमा रहेका बान्तावा मुकारुङ राईहरूलाई संस्थागत एकता कायम गर्दै आएको छ ।

सम्मान प्रदान गरेपछि संघका अध्यक्ष गंगाराज मुकारुङ राईले वंश पहिचानका निम्ति संस्था निर्माण गरिएको हो अब वंशावली चाँडै प्रकाशन गर्ने जानकारी दिनुभयो । आफ्नो कार्यकाल १४ महिनामात्र बाँकी रहेको उल्लेख गर्दै अब दुईबुँदे काम गर्ने लक्ष्य राखेको बताउनु भयो ।

‘अब यही २०८० चैत २९ गते झापामा संघको ३३औं साधारण सभा हुनेछ । अमेरिकालगायतका मुकारुङ वंशसँग सम्पर्क भइरहेको छ । बिहारको मात्र सम्पर्क भएको छैन । सिक्किम, दार्जिलिङतिर दैनिक जसो सम्पर्क भइरहेको छ । ३२ वर्ष गइसक्यो । सप्पैको इच्छा, आकांक्ष वंशावली संकलन, प्रकाशन गर्नु रहेको छ । मेरो कार्यकालयको अन्तिम वर्ष २०८१ सालचाहिं म आफैं लागेर, घोटिएर वंशावली पाण्डुलिपि तयार गर्ने प्रण गरेको छु । त्यसलाई अलिकति सरल र बुझ्ने हिसाबले आगामी नेतृत्वलाई दिन सक्छु भन्ने लक्ष्य राखेको छु । सुव्यवस्थित बनाउदै लाने त घरबाटै हो । त्यसपछि टोलमा आउँछ । समाजमा आउँछ । अनि देशमा जाने हो । त्यहीअनुसार जुर्मुराउनु पर्छ ।’ भन्नुभयो ।

त्यस अवसरमा किराबामु संघका परिकल्पनाकार वासुदेव किरात मुकारुङले २०४८ फागुनमा छलफल गरी चैतमा संस्था गठन गरेको बताउनु भयो । यसैगरी संघका पूर्वअध्यक्ष पृथ्वीराज मुकारुङले वंश बिथोलिन नदिन संस्थागत एकताको पहल गरेको बताउनु भयो ।

संघका पूर्वअध्यक्ष दिलेन्द्र मुकारुङले भगवान बुद्धले भनेका ‘संघम शरणम् गच्छामी’को अनुसरण गरेर संघ अघि बढेको बताउनु भयो ।
संघका सचिव शिखर मुकारुङ राईले कार्यक्रम संचालन तथा कोषाध्यक्ष प्रभु मुकारुङले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.