शुभलाभ सहकारीले गर्यो वृक्षरोपण

प्रदेश प्रदेश ३ समाचार

लिभु संवाददाता
ललितपुर– विश्व वातावरण दिवसका अवसरमा शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाले वृक्षरोपण गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।

‘ललितपुर महानगरको चाहना, हरियाली सहरको अवधारणा’ नारासहित वृक्षरोपण अभियान सुरु भएको छ । शुभलाभ सहकारी, युएनडीपी र कारितास नेपालको संयुक्त पहलमा महानगरपालिका वडा नं.१७ को सातदोबाटोदेखि पूर्वतर्फ ‘गोदावरी मार्गको सडक किनार वृक्षरोपण’ गरिएको हो । कपुर, काइयो, टिकलगायत बिरुवा रोपिएका छन् ।

उपमेयर गीता सत्याल, वडाध्यक्ष सदर्शन मिश्र, युएनडीपीका निर्देशक रेनोड मेयर, कारितासका उपनिर्देशक रबिन राई, शुभलाभका अध्यक्ष तिखबीर राईलगायत वृक्षरोपण गर्नु भएको छ । त्यस अवसरमा शुभलाभ सहकारी सातौं सिद्धान्तअनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्ष पनि वृक्षरोपण गरेको तर मौसम र प्राविधिक ज्ञानको कमीले सफल हुन नसकेको अध्यक्ष तिखबीर राईले बताउनु भयो ।

त्यसैगरी प्रमुख अतिथि मेयर महर्जनले दुई दशक जनप्रतिनिधिविहीन हुँदा वातावरण संरक्षण हुन नसकेको बताउनु भयो । ‘ललितपुर महानगरपालिकालाई विशेष बनाउन चाहेका छौं,’ उहाँले भन्नुभयो, ‘वृक्षरोपण गर्नु ठूलो कुरो होइन, हुर्काउनु महत्वपूर्ण छ । प्रत्येक आठ–दश फिटको अन्तरमा पाँच–छ फिट अग्लो एकै जातको बिरुवा रोपिनु पर्छ । जुन बिरुवाले वर्षभरि हरियाली दिन सकोस् । थोरै संख्यामा रोपौं तर बाँच्न सक्नु पर्छ । हाम्रो सहर, राम्रो सहर बन्न सकोस् । अबको २ वर्षभित्र सहरको सबैतिर वृक्षरोपण गरिसक्ने छौं ।’ त्यस अवसरमा शुभलाभ सहकारीका पदाधिकारी, सदस्यहरु तथा कर्मचारी र स्वयंसेवकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.