१०० फिट अग्लो यलम्बरको प्रतिमा

समाचार

आधा काम सकियो, तीन वर्षभित्र पूरा हुन्छ : मेयर

गणेश राई र डम्बरसिं राई

(काठमाडौं/(खोटाङ)– नेपालको इतिहासमा उल्लेख किरातकालको पहिलो शासक थिए, यलम्बर हाङ । तिनै यलम्बर हाङको १०० फिट अग्लो प्रतिमा खोटाङमा निर्माण हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं. १४ बुइपामा यलम्बर प्रतिमा तथा पार्क निर्माण प्रक्रिया अघि बढाएको हो । त्यस निम्ति किरात राई यायोक्खाले प्रचलनमा रहेको यलम्बर हाङको परिमार्जित तस्बिर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

शुक्रबार (२०७६ असोज १० गते) काठमाडौंमा आयोजित समारोहमा यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले मेयर दीपनारायण रिजाललाई प्रतिमा निर्माणका निम्ति यलम्बर हाङको तस्बिर हस्तान्तरण गरेका हुन् ।

काठमाडौंमा आयोजित समारोहमा यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले मेयर दीपनारायण रिजाललाई प्रतिमा निर्माणका निम्ति यलम्बर हाङको तस्बिर हस्तान्तरण गर्दै । तस्बिर सौजन्य : किरात राई यायोक्खा

तीन दशकअघि इतिहास तथा संस्कृतिविद्हरूबीच भएको छलफलपछि यलम्बरको प्रारम्भिक स्केच कलाकार रतन राईले कोरेका हुन् । त्यसलाई कलाकार टेकबीर मुखियाले पूर्णरूप प्रदान गरेका हुन् । किरात राई, लिम्बु, याक्खा र सुनुवार जातिले यलम्बर आफ्नो पुर्खाका रुपमा लिने गरेका छन् । उक्त स्केचलाई तिनै जातिका सामाजिक संस्थाले प्रचलनमा ल्याएका छन् । त्यसैअनुसार प्रदेश नं.१ को विभिन्न भूभागमा यलम्बरको प्रतिमा विस्तार गर्दैआएका छन् । खोटाङमा बन्न लागेको उक्त यलम्बरको प्रतिमा अहिलेसम्म बनेकामध्ये सबैभन्दा अग्लो र पूर्णकदको हुनेछ ।

यलम्बर हाङको तस्बिर

किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले माझकिरातमा बन्न लागेको यलम्बरको प्रतिमाले किरात इतिहासको जगेर्ना गर्नमा महत्वपूर्ण हुने बताए । ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले डेढ वर्षअघि नै यलम्बर हाङको प्रतिमा निर्माण गर्न प्रस्तावसहित यलम्बरको तस्बिरको माग गरेको हो,’ अध्यक्ष राईले भने, ‘यसअघि बनेको यलम्बरको तस्बिर ज्यादै बुढो देखियो । युद्ध लड्ने उमेर बुढो होइन युवा उमेरमै हो भन्ने चौतर्फी गुनासो आयो । त्यसैले पहिलेकै स्केचलाई लिएर कलाकार टेकबीर मुखियालाई फेरि युवा अवस्थाको राजा यलम्बर हाङको शासकीय तस्बिर बनाउन अनुरोध गर्‍यौं । त्यही तस्बिर थप केही परिमार्जनसहित प्रतिमा निर्माणका निम्ति मेयरलाई हस्तान्तर गरेका छौं ।’ संसारभरि जहाँसुकै यलम्बरको प्रतिमा निर्माणमा एकरूपता कायम गर्नका निम्ति यो पहल गरेको उनले जनाए ।

मेयर दीपनारायण रिजालले यसअघि बुइपा गाविस छँदै उतिखेरका जनप्रतिनिधि, अगुवाले अहिलेको थलोमा यलम्बरको ६–७ फिटको यलम्बर हाङको प्रतिमासहित पार्क निर्माण गर्ने प्रस्ताव सारेको बताए । ‘हामी जनप्रतिनिधि भएर आएपछि अगुवाहरूबाट प्रस्ताव आयो,’ उनले भने, ‘हामीले फेरि छलफल गर्‍यौं । यलम्बर हाङ पहिलो किरात राजा थिए र माझकिरातमै उनको प्रतिमा बनाउनु परेपछि नमूनाकै रूपमा बनाउँनु पर्छ भन्ने निष्कर्षमा पुगेका छौं ।’

उपमेयर विनादेवी राईले ऐतिहासिक धरोहर बनाउन सीमित स्रोतका वावजुद बृहत् कार्य योजनाभित्र समेटेको बताइन् । ‘नगरपालिकाको प्रस्तावप्रति संघीय र प्रदेश सरकारका सांसदहरूसमेत सहमत हुनुभयो,’ उनले भनिन्, ‘मुख्यमन्त्रीलाई हाम्रो कार्ययोजना सुनाएपछि सकारात्मक रूपमा अघि बढ्यो । पहिलो डिपिआर (डिटेल प्रोजेक्ट रिपोटए) बन्यो । ए ग्रेडको सामग्री प्रयोग गर्दा बढी महँगो र मिडियम सामग्री प्रयोग गर्दा १४ करोड रुपैयाँ लागत लाग्ने भयो । हामी मिडियमलाई अघि बढाउदैछौं ।’

मेयर रिजालका अनुसार यलम्बर प्रतिमा र पार्क निर्माण कुल लागतमध्ये प्रदेश सरकारले ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत व्यहोर्ने सहमती भएको छ । निर्माणस्थल ३२ रोपनी क्षेत्रफलको सार्वजनिक जग्गा रहेको छ । ‘डिपिआरअनुसार पार्क, बगैंचा निर्माण कार्यमा १ करोड खर्च भइसकेको र सम्पन्न हुने क्रममा छ,’ मेयर रिजालले भने, ‘ढिलो गरी भरखरै यलम्बर हाङको औपचारिक तस्बिर किरात राई यायोक्खाबाट प्राप्त गरेका छौं । अब यही असोजमा टेण्डर आह्वान हुनेछ । ढिलोमा तीन वर्षभित्र बनिसक्ने छ ।’ प्रतिमा निर्माण कार्यमा देशका ख्यातिप्राप्त मूर्तिकारहरूमध्येबाट छनोट गरिने रिजालले बताए ।

वडाध्यक्ष दिनेश राईका अनुसार १०० फिटको प्रतिमा (मूर्ति) निर्माण स्थल भूकम्पीय जोखिमबाट बचाउँन माटो परीक्षण कार्य सम्पन्न भएको छ । ‘नतिजा राम्रो आएको छ र त्यसैअनुसार टिकाउपनको लागि उच्च गुणस्तरको धातु प्रयोग गरिनेछ,’ उनले भने ।

मेयर रिजालले नगरपालिकाको बृहत योजनाभित्र यलम्बर पार्कलगायत ११ पर्यटकीय क्षेत्र निर्माण कार्य जारी राखेको बताए । ‘यलम्बर प्रतिमा तथा पार्कलाई राष्ट्रिय गौरवकै योजना ठानेका छौं, उनले भने, ‘यो निर्माणले किरातीको इतिहास स्थापित गर्ने हो । किरात सभ्यताको प्रतिक हुनेछ ।’ नगरपालिकाले यलम्बर पार्कसहित ११ वटा स्थानलाई पर्यटकीय स्थल चयन गरी निर्माण कार्य जारी राखेको रिजालले जनाए ।

यसअन्तर्गत नुनथलाको माहुरेमा आँखा पोखरी, रुपाकोट भ्युटावर, बगरेभन्ज्याङस्थित पेनटावर, नेर्पाको भुलभुले, मझुवागढीस्थित कालिकादेवी, बुद्धेश्वरगुफा, अल्छेढुङ्गास्थित तिप्सालुङ पार्क, साप्सुधाप धार्मिकस्थल, सहदेवगढी लगायतका छन् । पर्यापर्यटनको केन्द्रविन्दुको रुपमा रहेको रुपाकोटको भ्युटावरबाट सगरमाथा लगायतका विभिन्न हिमश्रृङ्खाला अवलोकन गर्न सकिन्छ । रुपाकोटमा विभिन्न जनावर तथा विभिन्न जैविक विविधताको अध्ययन समेत गर्न सकिने भएकाले पर्यटन प्रबद्र्धनको योजना बनाइएको नगरप्रमुख रिजालले सुनाए ।

नेर्पाको भुलभुले धार्मिक हिसाबले अत्यन्त महत्वपूर्ण भएकाले त्यसको विकास गरिएको उनको भनाई छ । उक्त ठाउँमा रहेको रुवालुङ झरना र वनझाक्री गुफा पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु मानिएको छ । साप्सुढाप, पेनटावर, मझुवागढी, कालिका भगवती, बुद्धेश्वरगुफा लगायतका प्राकृतिक तथा धार्मिक सम्पदा भएकाले यसको विकासले नगरको समृद्धिको मेसो बन्ने तर्क छ ।

स्थानीयले समेत धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासप्रति खुलेरै प्रशंसा गरेका छन् । ‘हलेसी आउने तीर्थालु मझुवागुढीको मझुवामाई, बुद्धेश्वरगुफा नआई मनोकांक्षा पूरा नहुने भन्ने भनाई छ,’ खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन राईले भने– ‘त्यसैले पनि नगरपालिकाको यो अभियान स्वागतयोग्य छ । मझुवागढी क्षेत्र नभई नगर क्षेत्रभित्रको धार्मिक तथा पर्यटकीय क्षेत्र लोभ लाग्दो भएकाले पर्यटक नआई धरै छैन ।’ खोटाङका संघीय सांसद बिशाल भट्टराईले गौरवको योजना गुणस्तरीय सामग्री प्रयोग हुनुपर्ने र समयभित्र सम्पन्न गर्न सबैको सकारात्मक सल्लाह सुझाव र ध्यान पुग्नु पर्ने बताए ।

 

इतिहासमा यलम्बर

Kirat_Sambat_Documents (1)
इतिहासविद् प्राध्यापक डा. जगदीशचन्द्र रेग्मीका अनुसार नेपालको प्राचीन कालमा ३२ पुस्ता किरात राजाहरूको १९०३ वर्ष ८ महिना शासन गरेका थिए । ‘त्यसलाई इतिहासको कालगणनामा जोड्नु पर्दा राजा जयवर्माको मालिगाउँमा पाइएको सालिकको संवत् १०७ अथवा ई. १८५ लाई मिलन विन्दु मान्नुपर्ने हुन्छ,’ रेग्मीले गोपालराजवंशावलीको स्रोत उल्लेख गर्दै लेखेका छन्, ‘ई. १८५ लाई किरात राजाहरूको शासनको अन्त्यको विन्दु मानेर त्यसमा किरात राजाहरूको ज्ञात शासन वर्ष १९०३ वर्ष ८ महिना जोड्दा १७१८ वर्ष ८ महिना ई.पू.को मितिमा पुगिन्छ (१९०३।८–१८५=१७१८।८) । यस हिसाबले ईस्वी पूर्व १७१८।८ मा पहिला नेपाली किरात राजा एलम् (यलम्बर)को शासन सुरु भएको मान्नुपर्छ ।’

यही यलम्बर शब्द किरात वर्गीय जातिहरूले नेपालको ऐतिहासिक कालका किरात राजवंशसित जातीय र भावनात्मक सम्बन्ध गाँसिएको रेग्मीले उल्लेख गरेका छन् । ‘संवत् इतिहासमा उल्लेख प्रथम किरात हाङ (राजा) यलम्बरको नाममा चलेको स्मारक संवत् हो,’ भनेका छन् । किरात समुदायले माघ १ गते किरात संवत्को नयाँ वर्ष मनाउँछन् । जसलाई किरात संवत् कलिगत आधारमा ५०७९ र हाङ यलम्बरलाई स्मारक संवत् मान्दा ३७९८ समाजमा दुई किसिमको संवचत प्रचलनमा छ ।

https://ekantipur.com/news/2019/09/28/156966952442823117.html

Leave a Reply

Your email address will not be published.