लिब्जु–भुम्जु पुरस्कार प्राप्त कवि कुम्भराज राईको विचार : भर्चुअल कविगोष्ठीका फाइदा

विचार / ब्लग

२३औं वाम्बुले कविता गोष्ठी सन्दर्भ : भर्चुअल कविगोष्ठीका फाइदा

कुम्भराज राई

वाम्बुले राई भाषाको २३ औं कविगोष्ठी भर्चुअल माध्यमबाट (मंसिर २० गते २०७८ मा) सम्पन्न भयो । कोभिड–१९ को कारण २०७७ को २२ औं कविगोष्ठी पनि भर्चुअल माध्यमबाटै भएको थियो । कोभिड–१९ को महामारीले संसारलाई थिलथिलो बनायो । तर यसले धेरैलाई अवसर पनि दिएको छ । वाम्बुले राई भाषाको ऐतिहासिक कविगोष्ठी यसबाट अछुतो रहन सकेन ।

२१ पटकसम्म गाउँघरमा भव्य समारोहको बिच हुँदै आएको कविगोष्ठी २२औं पटकमा आइपुग्दा भर्चुअल माध्यम रोज्न बाध्य बनायो । यसबाट प्रत्यक्ष कार्यक्रममा सहभागी भएर कविगोष्ठी सम्पन्न गर्नु जस्तो मज्जा त पक्कै छैन । तर यसका फाइदाहरू अवश्य छन् ।

थोरै विगत तर्फ जाऊँ । मैले वाम्बुले राई भाषाको कविगोष्ठी पहिलो पटक वि.सं.२०६६ सालमा खोटाङको झाप्पा डाँडामा आयोजना हुँदा सहभागी हुने अवसर पाएको थिएँ । मलाई अझै सम्झना छ । त्यतिखेर कविगोष्ठी सुरु भइसकेपछि कतिपय कविहरूले भित्ता र पाखामा बसेर कविता लेख्न थालेका थिए । प्रतियोगी र अप्रतियोगी कविता वाचन हुँदै गर्दा नयाँ कविता दर्ता गर्ने कविहरू थपिन्थे । कसैको कविता निकै लामो हुन्थ्यो भने कसैको कविता मुक्तक जस्तै छोटो । कतिपय त कविता भन्नैपर्ने बाध्यता जस्तो मात्र थिए ।

सहभागिताका लागि मात्र कविता लेख्ने थुप्रै कविहरू त्यस अघिदेखि पछिसम्म वाम्बुले कविगोष्ठीमा कविता लिएर आउने चलन नै बनेको थियो । यसका फाइदा र बेफाइदाहरू दुवै थिए । धेरैले आफ्नो मातृभाषामा कविता लेख्ने अभ्यास गरेका थिए । साहित्य प्रतिको चेतना विकास भएको थियो । मैले त्यतिखेर यी आँशुकविहरूको बारेमा लेख लेखेको थिएँ । भाषा, संस्कृतिको जगेर्नामा ती कविहरूको योगदान अतुलनीय छ । तर कविताको स्तर वृद्धि हुन सकेको थिएन ।

कविगोष्ठीलाई व्यवस्थित गर्न पटक पटक प्रयास नभएका होइनन् । निश्चित शीर्षक, शब्द, अवधि दिएर कविता दर्ताको आव्हान गरेपनि नियमको पूर्णरूपमा कहिल्यै परिपालना हुन सकेन । यसरी वर्षेनी कवितागोष्ठीले अव्यवस्थित भएको भन्दै आलोचना भोग्नुपरेको यथार्थ थियो । यो आलोचनालाई कोभिड–१९ को कारण सुरु भएको भर्चुअल कवितागोष्ठीले केही राहत दिएको छ । भर्चुअल कविगोष्ठी बढीमा तीन घण्टाभित्र सम्पन्न भएको छ । कविता लेखेर भिडियो पठाउनु पर्ने भएपछि कविहरूले भेषभूषामा सजिएर गोष्ठी हुनुभन्दा अघि कविता पठाएका थिए । त्यसले पूर्व तयारीलाई सहज बनाएको छ ।

कविगोष्ठीमा सहभागी संख्या थोरै देखिए पनि कविता, मातृभाषा र साहित्यप्रति सचेत समूहको उपस्थिति देखिएको छ । संसारभरिका वाम्बुलेले भर्चुअल माध्यमबाट प्रतिनिधित्व गरेका छन् । गोष्ठीको सबै भिडियो रेकर्डेड हुने भएकोले इतिहास कायम गर्न सहज भएको छ । डिजिटल प्लेटफर्मको युगमा संसारभर मातृभाषाको कवितागोष्ठीको प्रचार भएको छ । कविहरूले आफूले लेखेको कविता पटक–पटक सम्पादन गरेर वाचन गर्दा कवितामा निखारपन देखिएको छ । शब्दहरू जोड्नुमात्र कविता होइन भन्ने बुझाइको विकास भएको छ ।

त्यसो त कविता साहित्यको सर्वश्रेष्ठ विधा मानिन्छ । मातृभाषामा कविता लेख्ने अभ्यासमा किरात राई समुदायभित्र वाम्बुलेहरू अब्बल भइसकेका छौँ । यसलाई थप सशक्त बनाउन अब डिजिटल प्लेटफर्मको सदुपयोग गर्न जरुरी छ । आगामी दिनमा भर्चुअल माध्यमबाट सिको सिकेर प्रत्यक्ष गरिने कविगोष्ठीलाई सभ्य, भव्य र छोटो मिठो बनाउन सकिन्छ । वाचन गरिएका कवितालाई विभिन्न माध्यममार्फत् संसारभरका मातृभाषीकहाँ पु¥याउन सजिलो हुन्छ । हिजोआज फेसबुक, मेसेन्जर, ट्वीटर, इन्स्टाग्राम, टिकटकमा पनि वाम्बुले कवितालाई पोष्ट गर्न सकिन्छ ।

भर्चुअल कविगोष्ठीलाई फेरि पनि निरन्तरता दिनुपर्ने सम्भावना अझै छ । महामारी सकिसकेको छैन । त्यसैले आगामी दिनमा यसलाई व्यवस्थित र राम्रो बनाउन सकिन्छ । जस्तो कि कविहरूको भिडियो, अडियोको गुणस्तर कायम गर्न सकिन्छ । कतिपयको अडियोको पृष्ठभूमिमा विभिन्न आवाजहरूले कविता सुन्नलाई डिस्टर्ब गरेको छ । भिडियोको फ्रेमिङ, एंगल, अडियोको गुणस्तर लगायतलाई एकरूपता बनाउन सके निकै राम्रो हुनसक्छ । कविता वाचन गर्दा मुनिबाट नेपालीमा उल्था गरेर सबटाइटल राख्न सकिन्छ । ताकि गोष्ठीमा सहभागी अन्य समुदायकाले पनि कविता बुझ्न सकुन । आदि ।

आशा गरौं आगामी दिनमा भर्चुअल माध्यमबाट कविगोष्ठी गर्ने दिनको अन्त्य होस् । तर हामीले यसबाट सिकेका सकारात्मक सिकाइहरूलाई प्रयोग गर्न सकौँ । प्रविधिको उच्चतम प्रयोगलाई ध्यान दिंदै हामी कुनै एउटा टोल र ठाउँमा सीमित कविगोष्ठीलाई संसारभर रहेका वाम्बुले भाषीहरू माझ पु¥याउन सकौँ ।

Leave a Reply

Your email address will not be published.