अखिल सिक्किम किरात चोङ चुम्लुङको घोषणा–पत्र, १९७३

विचार / ब्लग
अखिल सिक्किम किरात चोङ चुम्लुङको घोषणा–पत्र, १९७३
– इमानसिंह चेम्जोङ
आज तारिख १९ जुलाई १९७३ को दिन पश्चिम सिक्किमस्थित सोरेङ बजारको खेल मैदानमा श्री एच.डी. चोङको अध्यक्षतामा अखिल सिक्किम किरात चोङ चुम्लुङको प्रथम महासभा सम्पन्न भयो । यस सभाले निम्नाड्ढित विषयहरूप्रति दृढ प्रतिज्ञा गर्दै प्रस्तावहरू पारित ग¥यो ।
असाधारण सभाका प्रस्तावहरू :
१. सिक्किमका आदिवासी चोङ समुदायको सामाजिक, शैक्षिक र आर्थिक एवं राजनीतिक एकत्व र त्यसको आवश्यक सुधार तथा सामुदायिक एकीकरणका लागि खोलिएको चुम्लुङलाई “अखिल सिक्किम किरात चोङ चुम्लुङ” का नामले आजको महासभाले नामकरण गरेको छ ।
२. चोङ समुदायका एकत्वमा अनेकता पैदा गर्न केही उछृङ्खल तत्वका व्यक्तिहरूले इचोङ र खरचोङको हल्ला गरी अमिल्दो वातावरण ल्याउन खोजेमा यो चोङ समुदाय त्यसको घोर खण्डन गर्दछ । हामी चोङ एउटै चोङ हौं । सामाजिक तथा सांस्कृतिक परम्परा हाम्रो एउटै छ । जसमा कुनै पनि अन्य जातिले कुनै किसिमको धमिलोपन या बाधा अडचन ल्याउन सक्तैन । यसका लागि सिक्किमबासी सम्पूर्ण चोङहरूलाई एक हुन र त्यस्ता बिरोधी र उछृङ्खल तäवहरूको दरिलो भत्र्सना (खण्डन) गर्न आजको सभाले यो प्रस्ताव पारित गर्दै आव्हान गर्दछ ।
३. आदि इतिहास बाँच्दै आएको हाम्रो मातृभूमि सिक्किमलाई प्रगतिका मार्गमा अगाडि बढाउने चोङ समुदायको कर्तव्य हो र हाम्रो भाषा—लिपि र कतिपय राजनीतिक समानता खोज्न पनि अधिकार भएकाले हाम्रो भाषा र लिपि आदिको उत्तरोत्तर प्रगतिका लागि त्यसको स्थायी व्यवस्था कायम गर्न र उचित साधनहरूसमेत प्राप्त गर्न चोङ समुदाय कटिबद्ध भई शान्तिपूर्ण माग गर्न छाड्ने छैन जबसम्म देशका संविधानमा उपर्युक्त विषयहरूको पूरा निरूपण हुँदैन । यसका साथै हाम्रो समुदाय शैक्षिक एवं अन्य विभिन्न क्षेत्रमा पछौटे भएको हुनाले हामी पछौटे जातिको उन्नतिका लागि विविध अधिकारहरू देशको संविधानले पूर्ण सुरक्षासाथ प्रदान गर्नुपर्छ । उपर्युक्त आदि अधिकार प्राप्तिका लागि जुनसुकै स्थिति र अवस्थामा पनि चोङ समुदाय एक हुन आव्हान गर्छ । आजको सभाले यो प्रस्ताव पारित गरेको छ ।
४. अ्िखल सिक्किम किरात चोङ चुम्लुङको सञ्चालनार्थ एउटा मौलिक संविधान समेत जारी गर्न आजको बैठकले प्रस्ताव पारित गर्दछ । जुन संविधानमा देशको मूल संविधानले हामी चोङ समुदायका लागि निरूपण गरेको शैक्षिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार र स्वतन्त्रताहरूको लगाव अनिवार्य रहनेछ र त्यसको अनिवार्य उपयोगका अतिरिक्त सामुदायिक एकत्व र स्वतन्त्रताको उत्तम व्यवस्था हुनेछ ।
५. उपर्युक्त अधिकार प्राप्तिका लागि आवश्यकताअनुसार चोङ समुदायको प्रतिनिधि मण्डल तथा जुलुस आदि आदि सदर गान्तोकमा समय—समयमा जानेछ । जसका लागि सम्पूर्ण चोङहरूलाई तन, मन, धन, जनका साथ अगाडि बढ्न यो सभा अनुरोध गर्दछ किनभने यो कदम हाम्रो मात्र नभएर भावी सन्ततीका लागि पनि हो । यसमा स्वतन्त्र अस्तित्वको कुनै प्रसङ्ग नउठे तापनि आदि इतिहासको प्रसङग उठ्छ जो पुस्तागत यही पुण्य भूमिमा बिसाउँदै चोङ समुदायले बसोबासो गर्दै आएको हो ।
६. यस चुम्लुङको केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयहरू निम्नाड्ढित स्थानहरूमा रहनेछन् । शाखा कार्यालयहरू सिक्किमव्यापी जुनै ठाउँमा भए पनि रहनेछन् जहाँ चोङ समुदायको बसोबासो छ ।
(क) केन्द्रीय कार्यालय — सोरेङ बजार — पश्चिम सिक्किम
(ख) पूर्वाञ्चल क्षेत्रीय कार्यालय — लिङजेबस्ती — पूर्व सिक्किम
(ग) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय — लिङचोम — पश्चिम सिक्किम
(घ) दक्षिणाञ्चल क्षेत्रीय कार्यालय — नाम्फोक — दक्षिण सिक्किम
(ङ) उत्तराञ्चल क्षेत्रीय कार्यालय — माङसिला — उत्तर सिक्किम
७. तारिख ८ मई १९७३ सालमा सिक्किमको छ्योग्याल, राजनीतिक दलका नेताहरू र भारत सरकारकाबीच गान्तोकमा भएको सम्झौतामा उत्पत्तिको जाति (आदिबासीहरू) माथि कुनै पनि साम्प्रदायिक दलका बहुसङ्ख्यक जातिले कुनै किसिमको दबाव लगाउन सक्नेछैन भन्ने उल्लेख भएअनुसार हामी उत्पत्तिका (आदिबासी) चोङ जाति माथि कसैले कुनै किसिमको दवाव लगाउन सक्नेछैन भनी आजको महासभाले घोषणा गर्दछ ।
८. सिक्किमका बिबिध राजनीतिक दलहरूले चोङ समुदायलाई नेपालीमा गाभेकोमा यो सभा घोषणा गर्दछ कि चोङ जाति नेपाली समुदायको होइन । सिक्किमको उत्पत्तिको जाति आदिवासी हो जसलाई बिना कुनै मंजुरी नेपाली समुदायमा गाभ्न पाउनेछैन ।
९. अखिल सिक्किम किरात चोङ चुम्लुङ २३ मई १९७३ सालको दिन पश्चिम सिक्किमको थर्पु गाउँमा स्थापित भएको हो । फेरि आज १९ जुलाई १९७३ सालको दिन यो अखिल सिक्किम किरात चोङ चुम्लुङको पहिलो महासभा भएको हुनाले प्रतिवर्ष यो महासभाको अधिवेशन सिक्किमको कुनै न कुनै स्थानमा भई बस्नेछ ।
१०. २६ मई १९७३ सालमा सिक्किमको चोङ समुदायले सिक्किम प्रशासक र बोधार्थ प्रधान मन्त्री, भारत सरकार, सिक्किमको संयुक्त संघषर््ा समितिको अध्यक्ष र छ्योग्यालसमेतमा पठाएको स्मरण पत्रका मागहरू माथि कुनै विचार भएको छैन जो कि तिनीहरूको प्राप्ति रसिदसमेत चोङ समुदायले पाइसकेको छ । अतः तत्सम्बन्धी तदारुखताकासाथ निर्णय होस् भनी यो महासभा मांग गर्दछ ।
११. अखिल सिक्किम किरात चोङ चुम्लुङ आफ्नो झन्डोतोलन गर्दछ — जो यसप्रकारको हुनेछ ।
१२. चोङ समुदायमा आर्थिक सङकट र कुनै दुःख आई लागेमा सम्बन्धित विषयलाई लिएर यो चुम्लुङले सिक्किम सरकारमा निवेदन गर्नेछ ता कि समस्या यथाशीघ्र समाधान हुन सकोस् ।
१३. अखिल सिक्किम किरात चोङ चुम्लुङको केन्द्रीय समितिमा आजको यस सभाले निम्नलिखित व्यक्तिहरूलाई पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूमा चुनाव गरेका छन् । उहाँहरूले आआफ्ना पद संविधानका परिधिमा रही सुव्यवस्थित रूपले सभा चलाउनु हुनेछ ।
(१) चुम्लुङदाङबा (सभापति) श्री पी.आर. चोङ
(२) फागो (उपसभापति) श्री डी.बी. चोङ ।
(३) तुत्तु तुम्याङ (मुख्य सचिव) श्री ए.के. चोङ ।
(४) तुम्याङ (सचिव) श्री एल्.पी. चोङ
(५) याङसुम्बा (कोषाध्यक्ष) श्री बी.बी. चोङ ।
(६) फायाङसुम्बा (सहायक कोषाध्यक्ष) श्री जस्ने चोङ ।
पासिङ पादाङ (कार्यकारिणी सदस्यहरू)
(७). पी.एस्. चोङ — उत्तरे चुम्लुङको प्रतिनीधि
(८). डी.एस्. चोङ — दराप ”
(९) एच्.डी. चोङ — सामदोङ ” ”
(१०) पी.एस्. चोङ — सोरेङ ” ”
(११) डी.बी. चोङ — दरमदेन ” ”
(१२) पी.बी. चोङ — सुम्मुक (मुलुके) ” ”
(१३) के. चोङ — आसाम लिङजे ” ”
(१४) एस.बी. चोङ — नाम्फोक ” ”
(१५) एन्.बी. चोङ — अप्पर ” ”
(१६). एस्.एम्. चोङ — माङसिला ” ”
१४. अखिल सिक्किम किरात चोङ चुम्लुङले प्रत्येक क्षेत्रको सामाजिक कार्यपट्टि समान दृष्टि राख्नेछ ।
१५. उपर्युक्त हाम्रो प्रस्तावमा राजनीतिक, सामाजिक, र शिक्षाविषयक पारित भएका हाम्रा प्रस्तावहरू र लिखित विधानहरूलाई सिक्किम सरकारद्वारा झट्टै स्वीकृति दियाजावस् भनी आजको सभाले अनुरोध गर्दछ ।
१६. आजको सभामा पारित भएका सारा प्रस्तावहरू र मौलिक अधिकारका आधारमा बनेको लिखित संविधानलाई प्रेसमा छपाएर अन्य शाखाहरूमा जानकारीका निम्ति वितरण गर्न यो महासभाले निश्चय गर्दछ । यस विषयमा प्रेसमा छपाउन र अरू लागेका खर्चको हिसाब पनि सभाबाट बिहोरिने राय आजको सभाले पास गर्दछ ।
१७. अखिल सिक्किम किरात चोङ चुम्लुङको कार्यान्वयनविषयलाई लिएर चाहिंदो खर्च र सिक्किमको चोङ समुदायको सञ्चालनका निमित्त आजको महासभाले कोष सङ्ग्रह गर्नु अनिवार्य छ (भन्ने निश्चय गर्दछ ) ।
१८. अखिल सिक्किम किरात चोङ चुम्लुङको महासभाले आज ताः १९ जुलाई १९७३ सालका दिनमा पारित गरेका प्रस्तावहरू र लिखित संविधानलाई शिरोपर राखी आफ्नाआफ्ना हस्ताक्षर ग¥यो ।
सारा चोङ एक भई उन्नतिको मार्गमा अघि बडौं !
हाम्रो एकता अमर रहोस् तियाहा !!
इमानसिंह चेम्जोङ, (पहिलो संस्करण वि.सं.२०१३/१९५६, चौथो सं. वि.सं.२०५९/सन् २००३) किरात साहित्यको इतिहास ।
प्रस्तुत आलेख प्राज्ञ अमर तुम्याहाङको फेसबुक वालबाट साभार गरिएको हो । सम्पादक

Leave a Reply

Your email address will not be published.