स्थानीय निर्वाचन २०७९ अनुभव : एक मतदान केन्द्र, जहाँ मतदाता विभेदमा छन्

विचार / ब्लग

गणेश राई
हिलेपानी (ओखलढुंगा)– अहिलेसम्म सबैले जानेको मतदान राजनीतिसँग जोडिन्छ । तर भावनासँग पनि जोडिनेरहेछ । भावनासँग जोडिने कडी हुँदोरहेछ । त्यसको उदाहरण हुन्– आइसरी राई वर्ष ८३ । उनी ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँपालिका–६ हिलेपानी गाउँकी हुन् । उनी बुढ्यौली र अन्य कारणले दुवै आँखा देख्दिनन् । दृष्टि गुमे पनि कान प्रष्ट सुन्छिन्, बोली स्पष्ट बोल्छिन् । दोहोरो संवाद गर्छिन् । कमजोर शरीरका कारण एक ठाउँबाट अर्को ठाउँमा हिंडडुल गर्न सक्दिनन् । अरुले बोकेर लैजानु पर्छ । उनको इच्छाशक्ति छ, चाहेको काम आफैं गर्न पाए हुन्थ्यो भन्ने । तर सक्दिनन् । र यो पटकको मानेभन्ज्याङ गाउँपालिका–६ थाक्लेस्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न पुगिन् । कान्छो छोरा अजकुट राईले आमा आइसरीलाई कुममा बोकेर मतदान केन्द्रसम्म पु¥याए । चिनेजानेका नाता, आफन्तसँग संवाद गरिन्, वाम्बुले राई मातृभाषामा । उनी नेपाली बोल्न जान्दिनन् । मतदान केन्द्रमा अव्यवस्थित लाममा बस्नु पर्दा केही ढिलोमात्र मतदान गर्न प्रवेश पाइन् । उनै छोरोले आमालाई मतदान गर्न सघाए ।

ओखलढुंगाको मानेभन्ज्याङ–६ थाक्लेस्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न उपस्थित ८३ वर्षीया आइसरी राई (बायाँ) आफ्नी बहिनी सीतारत्न राईसँग कुराकानी गर्दै

‘पहिलेजस्तै घरछेउको स्कुलमै मतदान केन्द्र भएको भए यसरी अरुलाई दुःख दिने थिइनँ, लौरोको सहाराले छामछामछुमछुम गर्दै आफैं पुग्थें, आफ्नी नातिनी उम्मेदवार रहेकीले मतदान गर्न उत्साहित भएको उल्लेख गर्दै वृद्धा आइसरीले भनिन्, ‘कमसेकम मैले भोट दिएँ भने मेरो नातिनीको जित हुन्छ भनेर कान्छो छोरालाई बोकाइ मागेर आइपुगेको छु ।’ हो, पहिलेका केही चुनावमा आइसरी राईको घरसँग रहेको श्री महादेवस्थान माविमा मतदान केन्द्र थियो । तर अहिले पायक पर्ने स्थानमा केन्द्र नहुँदा करिब ७ किलोमिटरको उकालो दूरी नाघेर उनी मतदान केन्द्रमा पु¥याइएकी थिइन् । नेकपा (माओवादी केन्द्र)ले मानेभन्ज्याङ गाउँपालिकाको उपाध्यक्षमा चम्पासरी राईले उम्मेवारी दिएकी छिन् ।

आइसरी एक उदाहरणमात्र हुन् । उनीजस्तै दर्जनभन्दा बढी ज्येष्ठ नागरिक अरुको सहारामा उकालो बाटो काटेर मतदान केन्द्रमा पुगेका थिए । यो केन्द्र सिद्धिचरण राजमार्गभन्दा माथिल्लो पाखोमा रहेको छ । यसो त अशक्त, अपांगता भएका, सुत्केरी, गर्भिणी आमाहरू कतिपयको मतदान गर्न जान सकेनन् । कतिचाहिं घुमाउरो बाटो मोटरसाइकलमा चढाएर पु¥याइएका थिए । तर मतदान केन्द्रको भौगोलिक बनोट र व्यवस्थापन कमजोरीले मतदाताले सास्ती खेपेका थिए ।

भूगोलका हिसाबले हिलेपानी क्षेत्र दुधकोसी र सुनकोसी गडतीर आसपासका गाउँबस्ती पर्दछन्, जुन साबिक थाक्ले गाविस वडा नं.५, ६, ७, ८ र ९ को पायक पर्ने स्थान हो । अहिले विद्यमान मतदान केन्द्र साबिक थाक्ले १, २, ३ र ४ वडाका निम्ति मात्र पायक पर्ने स्थानका रहेको छ । मानेभन्ज्याङ गाउँपालिका बनेपछि थाक्ले गाविसलाई वडा नं.६ मा परेको छ । यो पटक मानेभन्ज्याङ–६ को कुल मतदाता संख्या संख्या १ हजार ९ सय ९० जना थियो । त्यसमा तल्लो हिलेपानी भेगका मतदाता संख्या १ हजार १ सय ५० भन्दा बढी रहेको छ । थाक्ले भेकमा करिब ८ सय ४० मतदाता छन् । तल्लो भेगका मतदाताले करिब १५ किलोमिटरको दूरी माथि उक्लिनु पर्ने समस्या र दुःख व्यहोर्दैआएका छन् । सायद दूरीकै कारण स्थानीय निर्वाचन २०७९ मा मानेभन्ज्याङ–६ थाक्ले मतदान केन्द्रको कुल मतमध्ये १ हजार ३ सय ६९ अर्थात् ६८ प्रतिशतमात्र मत खसेको थियो ।

यो मतदान स्थल उत्तर–दक्षिण ढल्किएको ओरालो ठाउँमा जनता आधार विद्यालय रहेको छ । यो ठाउँमा मुस्किलले कच्ची सडक पु¥याइएको छ । विद्यालयसम्म मोटरसाइकल, ह्वीलचेयर जस्ता साधन पुग्दैन । यसपटक भिरालो संरचनामा बनेको विद्यालयभित्र पूर्व र पश्चिम दुईतर्फ मतदाता लामवद्ध हुन सूचना टाँसिएको थियो । वर्णक्रमानुसार ‘अ’ देखि ‘प’सम्म पूर्वी ढोका र बाँकी पश्चिमतर्फ उभिन भनिएको थियो । मतदान केन्द्रभित्र दुईवटा ढ्वाङ राखिएका थिए भने महिला र पुरुषका निम्ति अलग मतदान टेबल थिए । पूर्वतर्फ छिर्ने ठाउँमा करिब २० जना मतदाता लामवद्ध छिडीमुनि गुम्सिएर पन्ध्रबीस मिनेट बस्नु पर्दा आक्रोशित भएका थिए । जबकि त्यही प्रवेशद्वारलाई तल्लो ढिकमा सार्दा सहज हुन्थ्यो, विगतमा त्यसरी व्यवस्था गरिएको थियो । यसपटक खटिएका कर्मचारी, सुरक्षाकर्मी, उम्मेदवार, दलका प्रतिनिधि, स्वयंसेवक कसैले मतदानस्थलमा प्रवेशद्वार व्यवस्थापन गर्न नचाहनु कमजोरी थियो । प्रवेशद्वार साँघुरो भएकाले बुढापाका, अपांगता भएका, काखेबालक च्यापेका आमा, गर्भवतीजस्ताले प्राथमिकतामा पर्न सकेनन् । त्यसले गर्दा केही समय विवाद बढेको थियो, धन्न अप्रिय दुर्घटना भने घटेन । यसअघि त्यस्तो थिएन ।


राति २ बजेदेखि मतदान केन्द्र नजिक पुगेर मतदानको प्रतिक्षामा रहेका मतदाताहरूको परिचयपत्र हेरेर पुष्टि गर्ने कर्मचारी, दलीय प्रतिनिधि र स्वयंसेवकहरूको ढिलासुस्ती उस्तै थियो । निर्वाचन आचारसंहिताविपरीत मतदान स्थलभन्दा करिब सय मिटरमुनि दलहरूको आआफ्नो पक्षलाई खुवाउन पियाउन दोकान, होटेल यत्रतत्र मद्यपान, धुम्रपान, खानपानको व्यवस्था थियो ।

यो मतदान केन्द्र संविधान सभा सदस्य तथा पूर्वसांसद रामहरि खतिवडाको गाउँको हो । नेता खतिवडाले यस पटक पनि यहींबाट मतदान गरेका थिए । यही केन्द्रबाट राष्ट्रगानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई) मतदान मतदान गर्छन् । तर यो पटक भने उनी अनुपस्थित थिए ।

स्थानीय समाजसेवी उनबहादुर राई हिलेपानीमै मतदान केन्द्र काम गराउन पटक–पटक आवाज उठाउँदै आएको सुनाउँछन् । ‘तर कसै कुनै दलले हाम्रो मागप्रति ध्यान दिएनन्,’ अघिल्लो स्थानीय निर्वाचन एमालेबाट वडाध्यक्षको उम्मेदवार रहेका राई भन्छन्, ‘यो पालि पनि हिलेपानीमा मतदान केन्द्र हुनुपर्छ भन्यौं तर वास्ता गरेनन् ।’ मतदान केन्द्र उकालो र टाढा भएकाले ज्येष्ठ नागरिक मतदाताहरू धेरै जना छुटेको उल्लेख गरे ।

ओखलढुंगाका स्थानीय तथा जनता समाजवादी पार्टी प्रदेश–१ का सदस्य धिरेन्द्र रुम्दालीले मतदान केन्द्र अपाइक परेकोबारे स्थानीय तहले महसुस नगर्नु र ठूला दलको बेवास्ताले मतदान केन्द्रको पुनःसंरचना हुन नसकेको बताउँछन् । ‘हामीले पायक पर्ने स्थानमा मतदान केन्द्र हुनुपर्ने आवाज उठायौं तर ठूला दलले नमानेपछि पुनःसंरचना गराउन सकेनौं,’ उनले भने ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वसांसद खतिवडाले ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाअन्तर्गतका केही वडाका मतदान केन्द्र हेरफेर र थपघट गर्नै पर्ने बताए । ‘जिल्लाको धेरैवटा वडामा मतदान केन्द्र सबैलाई पायक पर्ने ठाउँमा छैनन्,’ मानेभन्ज्याङ गाउँपालिकाको सवालमा वडा ३, ५, ६ र ७ वडाका मतदातालाई मर्का परेको उल्लेख गर्दै उनले भने, ‘मर्का परेको बारे थाहा पाएको छु । त्यसनिम्ति पालिका र वडाबाट बहुमतले निर्णय गर्नुपर्ने हुन्छ । मतदातालाई पर्ने गम्भीर असरबारे जिल्ला प्रशासन कार्यालय, निर्वाचन आयोगले गम्भीर रूपमा लिन जरुरी छ । र चुनावको दिन यातायात बन्द गर्नाले मतदातालाई झन पीडित तुल्याएको छ । चुनावको दिन सरकारले नै मतदातालाई मतदान केन्द्र आउजाउ गर्न निःशुल्क यातायातको व्यवस्था गर्न जरुरी छ ।’ आउँदो निर्वाचनमा पहल गर्नेसमेत उनले जनाए ।

देशभरिमा ७ सय ५३ पालिका छन्, जसमा महानगर ६, उपमहानगर ११, नगरपालिका २ सय ७६ र गाउँपालिका ४ सय ६० वटा छन् । सबैगरी ६ हजार ७ सय ४३ वडा छन् । यो पटक देशभरि १० हजार ७ सय ५६ मतदान केन्द्र विस्तार गरिएका थिए । ओखलढुंगाका मानेभन्ज्याङ गाउँपालिकाको जस्तै धेरै पालिकामा भौगोलिक अवस्थितिले मतदाताहरू मतदान केन्द्रमा पुग्न नसकेको अवस्था रहेको छ । यसतर्फ आगामी निर्वाचनमा पुनःसंरचना गर्न सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ । जसले गर्दा मतदाता विभेदमुक्त हुन सकुन् ।

( मुख्य फोटो मतदान गर्दै पूर्वसांसद रामहरि खतिवडा, पूर्वसांसद खतिवडाको फेसबुकबाट)

Leave a Reply

Your email address will not be published.