मास्टर मानबहादुर राईको अन्तरवार्ता – ‘राति दियालो बालेर साथीहरूसित पढ्न सिक्थ्यौं’

विचार / ब्लग

मानबहादुर राईको लिब्जु–भुम्जु त्रिभाषीय त्रैमासिक, वर्ष– २४, अंक– ३, पूर्णाङ्क– ६७, २०७३ कात्तिक–पुस (किरात येले संवत् ३७९५÷सन् २०१६) सम्पादक गणेश वाम्बुले राईले वाम्बुले मातृभाषामा प्रकाशित अन्तरवार्ताको नेपाली अनुवाद–

मानबहादुर राईसँग अन्तरवार्ता लिंदै गणेश वाम्बुले राई । फोटो – व्याकुल माइला

मानबहादुर राई (चहसिं)
पाछा – वाम्बुले द्वा¥वाङ्चा
जन्म – वि.सं. २००३ असोज
स्थान – मानेभन्ज्याङ गाउँपालिका–६ (साबिक– थाक्ले–८) सोक्मटार, ओखलढुंगा
पापा – बीरसिंह राई
मामा – रामेश्वरी राई
योक्का मामा – महेश्वरी राई
दाजु– २ जना (बस्ते न्वा ममिते, योक्काल्वास सामिङ्चिमेइ)
दिदीहरु – जेठि चौसी (बेबाल्वास सिचो), हयु, धरु
बैनीहरु – अकु, कमली न्वा लच्छी
भाइहरु – सोमबहादुर (लहसिं), भबिलाल, लघुधन न्वा अबिनाथ
श्रीमती – जेठि हर्कसरि (राइचिनिम– नरेश न्वा दिलिप)
माइलि धनलक्ष्मी (नानि– रुपा, राइचि– प्रदिप)
कान्छि मैरति (राइचिनानि आदुम्चो)
शिक्षा – नर्मल तालिम (एसएलसी)
पेसा – मास्टर (२५ थोचे)
पूर्वअध्यक्ष – थाक्ले गाउँ विकास समिति (२०४९ साल)
पूर्वसदस्य – ओखलढुंगा जिल्ला विकास समिति (२०५६ साल)
निधन – २०७५ पुस १२ गते बिहीबार राति १ बजे, हिलेपानी सोक्मटार, ओखलढुंगा

पढ्नु पर्छ भनेर कसरी बाटो देखायो तपाईलाई ?
पढ्नु पर्छ भने दिक्तेलका एक जना तामाङ हुनुहुन्थ्यो उहाँले भन्नुभयो । उहाँले अरु कसैले मास्टर बन्न मानेनन् तिमी बन्नुपर्छ भन्नुभयो । अनि मैले पढेको हुँ ।

तपाईलाई पढाउने मास्टरचाहिं को हुनुहुन्थ्यो ?
रिचुवा गाउँका बमबहादुर राई हुनुहुन्थ्यो । अरु पनि थिए । (बमबहादुर राई भूपू ब्रिटिश आर्मी हुनुहुन्थ्यो ।)

पढेर के के कामचाहिं राम्रो भयो भन्ने लाग्छ ?
मैले पढेको क्षणमा गाउँका कसैले पढेका थिएनन् । त्यतिखेर राम्ररी कसैले सिकाउँदैनथे । मैले पढ्न सिकेपछि अंग्रेजी पनि सिकाएँ । नेपाली पनि सिकाएँ । गाउँका बालबालिकालाई वाम्बुले राई भाषामै बुझाएर पढायौं ।

तपाईले पढेको हुँदा घरका भाइहरुलाई पनि सिकाउनु भयो ?
सिकाएँ । भाइ दुई लघुधन र अबिनाथलाई पढाएँ । अनि जयरामघाटका मितभाइ माझीकान्छा अमृतेलाई पनि सिकाएँ । हाम्रै घरमा बसेर पढेका हुन् । मसँग पढ्न नभ्याएका चाहिं तिम्रो बाबु (लहसिं) र काका भबिलाल हुन् । बहिनीहरुले चाहिं त्यतिखेर पढाउने चलन थिएन । त्यसैले पढेनन् ।

यो मास्टरी काम भनेको चाहिं कस्तो पेशा रहेछ ?
मास्टरी काम भनेको पूरै लगानी हो । गाउँघरमा पढ्ने, पढाउने भनेर आँखा देखाउने मान्छे नै मास्टर हो । मास्टरले राम्ररी सम्झाउनु पर्छ । मास्टरले भनेपछि सबैले मान्दछन् । सबैभन्दा जान्ने मान्छे नै मास्टर हुन् भनेर सम्झिन्छन् ।

तपाई एकैचोटि मास्टर बन्नु भयो कि तालिम लिनुभयो ?
मैले मास्टर नै बन्नको लागि नर्मल तालिम लिएको थिएँ । काठमाडौं आएर तालिम लिएको थिएँ । पहिलो वर्ष एसएलसीको कोर्स पढ्यौं नै । अर्को वर्षचाहिं छ महिना पढाउन विद्यालयमा खटाइयो । बाँकी छ महिना फेरि पढ्यौं । पढेको कुरो अरु केटाकेटीलाई कसरी सिकाउने भनेर सिप सिक्ने काम गथ्र्यौं । किताबमा भएका कुरालाई कसरी बुझाएर सिकाउने भन्नेबारे तालिम दिलाउँथे । हामीले लियौं ।

त्यतिखेर तपाईको पढ्ने साथीहरु कोको थिए ?
त्यतिखेर यो ओखलढुंगा दक्षिण भेगको कोही पनि थिएन । म मात्र थिएँ ।

तपाईले नपढेको भए के गर्नुहुन्थ्यो होला ?
खेतिकिसान गर्थें । पढ्दाताका पनि घरको काम भ्याउँथें । त्यतिखेर बिहानभरि हलो जोतेर दिउँसो एकछिन पढ्न जाने चलन थियो । अनि राति दियालो बालेर साथीहरुसित पढ्न सिक्नु पथ्र्यो ।

तपाईले सामाजिक कार्य पनि गर्नुभयो होइन ?
म मास्टर छँदा मेरो बुवा पञ्चप्रधान हुनुहुन्थ्यो । मैले सघाएको थिएँ । धुमधाम साथ सघाएको थिएँ ।

सामाजिक काम भनेको के रहेछ ?
सामाजिक काम भनेको हाम्रो गाउँघरमा जेजस्तो समस्या आइपर्छ समाधान गर्नु हो । जुझोबाझो गर्नेहरुलाई मिलाउने । अर्काको स्वास्नी लैजानेलाई जारी तिराउने । नराम्रो काम गर्नेलाई कचहरी बसेर सजाय दिने । गाउँमा नराम्रो गर्न खोज्नेहरुलाई राम्रो बाटोमा ल्याउने कामहरु हुन् ।

सामाजिक काम र राजनीतिक काम भनेको चाहिं के रहेछ ?
राजनीति भनेको पनि एउटा ब्यबहार नै हो । सामाजिक र राजनीतिक काम भनेको एकैखाले काम हो । बहुदल आएपछि चाहिं राजनीतिक पार्टीको सदस्य भएर काम गर्ने चलन आयो । कांग्रेस, एमाले जस्ता पार्टीहरु आए । म कांग्रेसबाट राजनीतिमा भाग लिएँ । भोट लिने बेलामा मात्र पार्टी चाहिन्छ । म गाउँ विकास समितिको अध्यक्ष भएपछि त कांग्रेस भनेर एमाले भनेर कसैलाई छुटाइन । जनता भनेको सबै बराबरी हुन् । कसैलाई छुटाइन । जिल्ला विकास समितिमा उठ्दा पनि त्यस्तै भयो । म उठ्दा कसैले नराम्रो भनेनन् । म हारिन । ओखलढुंगा इलाका १० बाट सदस्यको चुनाबमा जितें ।

गाविस अध्यक्ष र जिविस सदस्य भएर के के विकास गर्नुभयो ?
यो हिलेपानी गाउँमा २०१६ सालमा एमपी बलबहादुर राईले ल्याएको धारा स्कुल (हाल– महादेवस्थान मावि) थियो । एउटै मात्र स्कुल हुँदा तल सोक्मटार, पारि बाइसी, यही हिलेपानीका बालबच्चा पढ्न जान सकेका थिएनन् । टाढा भएको कारण । त्यसैले हिलेपानी ६ नम्बर र सोक्मटार ८ नम्बरमा प्रावि स्कुल ल्याउने काम गरें । ९ नम्बर जाक्मोगाउँमा पनि प्रावि बन्यो । रिचुवामा पनि बन्यो । त्यसपछि गाउँगाउँका बच्चाहरुले घर छेउमै पढ्न पाए । वरपर पढ्ने बालबालिका धेरै भए । हिलेपानीमा निमाविबाट मावि बन्यो ।
पिउने पानीको बन्दबस्त भयो । पछि चाहिं मुहानै सुकेर भनेजस्तो पानी पिउन पाइरहेका छैनौं । बाटाघाटोहरु सुधार गर्ने काम भयो । मोलुङ खोलाबाट हर्कपुरसम्म कुलो ल्याउने काम भएको छ । बिजुली चाहिं जसो गरेपनि जुटाउन सकेनौं । २०४८ सालको चुनावमा बलबहादुर राई माननिय भए । मन्त्री पनि बने । अनि उहाँले गर्दा कटारी–ओखलढुंगा सडक बन्यो । त्यो काममा हामीले पनि गाउँमा बसेरै भएपनि थोरथोरै सघायौं । एउटै पार्टीको मान्छे । बाबुको हुरीको मान्छे । साइलाबाबु भन्ने साइनो थियो । जिविस सदस्य दुङम्वाल थाक्ले, टोक्सेल, माधापुर, मानेभन्ज्याङ गाविसमा अलिअलि विकास भयो । टेलिफोनचाहिं मानेभन्ज्याङमा एक लाइनमात्रै आयो ।

राजा बीरेन्द्रको वंशविनाशपछि तपाईको कार्यकाल सकियो होइन त ?
२०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । हाम्रो कार्यकाल पनि सकियो । अनि त्यसपछि अहिलेसम्म (२०७३ भदौ २५ गते) गाविस, जिविसको चुनाब हुन सकेको छैन । हामीले जति ग¥यौं त्यसपछि केही भएको छैन ।

बलबहादुर राईलाई के केमा सम्झन सकिन्छ ?
नेता बलबहादुर राईलाई सम्झिने कटारी–ओखलढुंगा रोड नै हो । उहाँले नगरेको भएर यो सडक अहिले पनि बन्दैनथ्यो होला । उहाँको सम्झनामा गोरुमारेभन्ज्याङमा उहाँको सालिक बनाइको छ । यो सडकको नाम पनि ‘बलबहादुर सडक मार्ग’ राख्न पाए राम्रो हुनेथियो । उहाँको योगदानको कदर हुनेथियो ।

नेता गोपाल राईलाई चाहिं कसरी सम्झिन सकिन्छ ?
गोपालको योगदान बलबहादुर राई जत्तिको छैन । भएपनि यी दुवै राजनेता हुन् । गोपालको त्यत्ति चाँडो निधन नभएको भए अरु धेरै राम्रा काम गर्थे ।

२०६२÷६३ को राजनीतिक परिवर्तनपछि नयाँ राष्ट्रियगान बन्यो । तपाईको छोरा प्रदिप (व्याकुल माइला) राष्ट्रियगानका रचयिता बनेपछि तपाईलाई कस्तो लागेको छ ?
यसलाई मैले राम्रो मानेको छु । बाबु भएकोले पनि होला । राजनीतिक व्यवस्था नयाँ नआएको भए हामी जस्ता जनताका छोराछोरीले यस्तो कामहरु गर्ने मौका पाउँदैन थियौं ।

मान्छेले राम्रो सफलता कसरी पाउन सकिने भन्ने ठान्नु हुन्छ ?
एउटा चाहिं मान्छेको भाग्यरेखामै कोरिनु पर्छ । तरपनि पढेन भनेचाहिं देशको लागि धेरै राम्रो काम गर्न सकिदैन । मेरो छोरा प्रदिपले नपढेको भए साहित्य रचना गर्न सक्दैनथ्यो । मिहिनेत नगरेको भए राष्ट्रियगान लेखिदैन थियो । एउटा राष्ट्रियगानमात्रै लेखेर बसेको होइन । अरु बेलामा पनि साहित्य र अरु कुरा लेखिबसेको हुनाले त्यत्रा मानिसहरुमाझ प्रदिपले रचेको रचनाले जित्यो । निधारमा लेखिएरमात्रै पनि हुँदैन । राम्रो हुने राम्रो गर्दै जानु पर्दोरहेछ । कसैले नदेखे पनि राम्रो काम गर्ने मान्छेलाई राम्रै भनिमागिन्छ ।

तपाईले वाम्बुले राईको लागि केके गरेजस्तो लाग्छ ?
वाम्बुले राईको लागि मैले केही गरेकै छैन । मैले त पढाउने काम मात्रै गरेको छु । बरु तिमीहरुले नै पो गरेका छौ । तिमीहरुको माइलाकाका लघुधन, कान्छाकाका अबिनाथ, तिमी, प्रदिप अनि अरु वाम्बुले युवाहरुले गरेका छौ । वाम्बुले राई समाजलाई अघि बढाउने काममा हाम्रो परिवारले अलिअलि भएजस्तो लाग्छ । यो कुरो मैले भन्ने होइन । अरुले भनेको राम्रो ।

तपाई आफ्नो पुर्खाहरु कसकसलाई सम्झिनु हुन्छ ?
पुर्खा सम्झिदा मेरो जिजुबाजे सम्झिन्छु । मेरो बाबुलाई धामी बन्न दिनु भएनछ । बाबुले मेरो मामाले बल्ल मेरा बाटो थुनिदियो भन्नु हुन्थ्यो । बाजेमा परेको प्रभाव अझै हाम्रो परिवारमा बाँकी छ । हाम्रो सन्तानमा धामी बन्ने संकेत अझै बाँकी छ ।

हामीलाई नाक्सोपाटा भन्छन् । कसरी धामी बन्छौं ?
नाक्सो र धामी एकै ठाउँ बस्न हुन्न भन्छन् । तिमीहरुको बाजे (मेरो बाबु) पनि धामी बनेका थिए । हाम्रो जिजुबाजे नाक्सो थिए । नाक्सो र ज्वाम्चो एकै ठाउँ बस्नु हुन्न भनेर तिमीहरुको बाजेलाई छुटाइ दिए । पछि धामी बन्ने बाटो धामीले थुनिदिएपछि हुनु भएन ।

हाम्रो वाम्बुले रार्य भाषा लेख्न थालिएको छ । तपाईलाई कस्तो लाग्छ ?
यो त एकदमै राम्रो काम हो । हाम्रो रितमु मुन्धुमहरु लेखेर राख्न सके राम्रो हुनेछ । पछिपछिसम्म हाम्रा सन्तानदरसन्तानले पनि पढेर जान्न बुझ्न सक्छन् ।

वाम्बुले राई समाज (वाम्रास) संस्था गठन भएपछि लिब्जु–भुम्जु पत्रिकाले संयुक्त रुपमा वाम्बुले भाषाको कविता गोष्ठी हुँदैआएको छ । पहिलो पटकमै तपाई पनि जुट्दै आउनु भयो । कस्तो लाग्छ ?
हाम्रो हिलेपानी गाउँमा २०५५ सालमा पहिलो चोटि कविता गोष्ठी हुँदा म थिएँ । सेकेन्ड मास्टर गजहस्त राई, नन्दलाल राई (अलमले), चन्द्रबहादुर राई पनि हुनुहुन्थ्यो । बुढाहरु बितिसक्नु भयो । यो कविता गोष्ठीले गर्दा नयाँ पुस्तामा पढेलेखेका बालबालिका, तन्नेरीहरुले हाम्रो राई भाषा लेख्न हुने रहेछ । पढेर सुनाउन सकिने रहेछ भनेर जानेबुझेका छन् । लेखेका छन् । पुरस्कृत भएका छन् । हाम्रो पालामा त्यसरी लेख्ने चलन थिएन । तिमीहरुले बोलाएको बेला म पनि आएको छु । तर गर्नचाहिं केही गरेको छैन । हिलेपानीमा मात्र नभएर उदयपुर गाउँमा भएको कविता गोष्ठीमा पनि पुगेको छु । जसले पनि हाम्रै हो भनेर अपनत्व लिएका छन् । अहिले पनि भइरहेको छ । हुँदै जानु पर्छ । म त अब त्यस्तो ठाउँ (समारोह)मा पुग्न सक्दिन । बुढाबुढी भएपछि केकेजाति रोगले छुनेरहेछ । जे पनि बिर्सिहालिने रहेछ । तिमीहरु छँदैछौ । पढेलेखेका छौ । हाम्रो भाषा, रीतिथिति, मुन्धुमहरु लेखेर किताब बनाएर राख्ने गर ।

वाम्बुले राईले के के गर्दा राम्रो होला ?
वाम्द्याल (उँबुगाउँ)मा बस्नेमात्रै वाम्बुले राई होइन । वाम्बुले राई भाषा बोल्ने योसंसारभरिका राई नै वाम्बुले हौं । नयाँ पुस्ताले पढ्न पाएका छौ । पुरानो पुस्ता ढल्दै जाँदैछौं । किरातीको रीतिथिति एउटै हो । वाम्द्यालचाहिं हाम्रो उद्गम थलो गाउँ हो । हाम्रो रीतिथिति सम्हालिरहेका छौं । अरुले पनि हेरेर सम्हालिराख्नु पर्छ ।

हामीले देउताको ठाउँमा होम लगाउँछौं, कुन चाहिं राम्रो हो ?
परम्परागत रीतिथिति नै राम्रो हो । देउता फालेर अलिकति नराम्रो भयो ।

खाउमो गर्दा धेरै खर्च लाग्छ भन्ने छ नि ?
हाम्रो खलकमा धेरै खाउमो गर्ने नै मेरो बाबु थिए । एक साल बिराएर खाउमो गरिन्थ्यो । हाम्रो फुपु मान्झौलिले चासुवा लैजानु हुन्थ्यो । खाउमो गर्न सक्नेचाहिं मेरो बाबु थिए । किरातीको रीतिथिति देउता फाल्दै जाँदा नराम्रो भयो ।
मेरो बाबुले मैले भनेको कुरा मान्नुहुन्थ्यो । एक रात बुँझेर आँगनमा झर्दा सुरिममा ठोकिन पुगेछु । मेरो घुँडा ठोक्कियो । अनि मैले यो देउता फालौ बाबु भनें । बाबुले पनि मान्नु भयो । अनि अरु दाजुभाइले पनि फाले । त्यसरी देउता फालेकोमा धेरै दाजुभाइको चित्त बुझेन । खान्द्यालका कान्छा काका नाक्सोले मानेनन् । उहाँले खाउमो गर्दा हामीलाई बोलाउनु भएन । हामीलाई बोलाउनु भएन । आफ्नै छोरालाई पनि बोलाउनु भएन ।

अब फेरि फकिएन सकिन्न ?
फेरि फर्किदा पनि हुन्छ । त्यो (छिमेकी) अन्तरे, ढ्याकुको बाबुहरु देउता फालेनन् । उनीहरु धनी छन् । केही भएका छैनन् । यो यताउता गरिबस्ने, देउता फाल्ने खालचाहिं केही न केही भइरहेका छौं । रीतिथिति बिना भएका छौं ।
कासिलालकी आमाले गर्दा देउता फालेर होम लगाउने भयौं । कासिलालकी आमाकै गाउँ (दुधकोसी पारि खोटाङ) मै चाहिं देउता फाल्ने धेरै छैनन् । हाम्रो हिलेपानीमा धेरैले फालेछौं । मैले चाहिं हाम्रो परम्परागत भेषमा रहनुचाहिं राम्रो हो भनेर ठह¥याएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *