बिस्टले बिर्सेका चतुरे दर्जीप्रति हार्दिक श्रद्धान्जली

समाचार समाज
लिभु संवाददाता
काठमाडौं– बिस्टले त बिर्से नै, संसारै बिर्से चतुरे दर्जीले ।
 
चतुरे दर्जीका साथ सलिल सुबेदी, व्याकुल माइला, दिवाराज राई र गणेश राई जयरामघाटमा

 

२०६२ सालको कुनै एक शनिबारको कान्तिपुर कोसेलीमा ‘बिस्टले बिर्से’ शीर्षकमा छोटो लेख छापिएको थियो । ओखलढुंगाको दक्षिण टोक्सेल गाउँका एक इमानदार चतुरे दर्जीको बारेमा थियो । त्यो छोटो लेख पढेपछि गुरुकुल नाटकघरको निर्देशक वरिष्ठ नाटककार सुनील पोखरेलले चासो लिनुभयो । प्रस्ताव आयो– चतुरे दर्जीको जीवन वृत्तचित्रमा उतार्ने । जिम्मेवारी पायौं– क्यामरा पर्सन सिन्धु पोखरेल र मैले (गणेश राईले) ।
 
हामीले दुधकोसी किनारा जयरामघाट बजार, जहाँ चतुरे दर्जी लुगा सिलाएर जिविकोपार्जन गर्नुहुन्थ्यो । उहाँलाई बजाउन आउने जति सहनाईको राग बजाउन लगायौं । दुधकोसी नदी तटमा साँच्चै रमाइलो गरी बजाइदिनु भयो । एकसाता लगाएर उहाँको दिनचर्या भिडियोमा कैद ग¥यौं । जयरामघाटदेखि उहाँकै जन्मथलो टोक्सेल गाउँसम्म ।
 
युवा पलायनको जमाना आयो– सिन्धुजी विदेश भासिनु भयो । यता गुरुकुल नाटकघर साविक ठाउँ छाडेपछि निशानै हरायौं । तैपनि सुनील दाजुको जाँगर नेपाली समाज परिवर्तनमै टड्कारो छ । उहाँले लौन फेरि चतुरे दर्जी जिवित छँदै वृत्तचित्र पूरा गरौं भनिरहनु भयो । लोकवार्ता अध्यता, लेखक सलिल सुबेदीजी र मैले फेरि २०७४ सालमा चतुरे दर्जीलाई भेट्न पुग्यौं । साथमा राष्ट्रगानका रचनाकार व्याकुल माइला पनि ।
 
केही थप खिच्यौं– उही दिनचर्या । ८० टेक्नै लाग्नु भएको बुढा दर्जी भन्नुहुन्थ्यो– ‘बाबु अब त दम बढ्यो । यत्ति चुरिप्प पा¥यो अनि त्यसैको भरमा ज्यान तँग्रिन्छ । मेराबारेमा चासो राख्नु भयो । म धरतीमा छँदै देख्न पाउँछु त ?’
 
प्रश्न अनुत्तरित नै रह्यो । चतुरे दर्जी २०७५ हिउँद महिनामा संसार छोडिसक्नु भएछ । आफ्नो जन्मथलो टोक्सेलमै प्राण त्याग्नु भएको कुरा स्थानीय समाजसेवी भबिलाल राईले सुनाउनु भयो । दुःखद समाचार ढिलो गरी सुनेर साह्रै दुःख लाग्यो । स्वर्गीय चतुरे दर्जीको आत्माप्रति चिर शान्तिको कामना तथा हार्दिक श्रद्धान्जली । 

Leave a Reply

Your email address will not be published.