छ दशकमा काठमाडौं उपत्यकाको जनसंख्या ४ सय ८४ गुणाले बढ्यो
गणेश राई
काठमाडौं- केन्द्रीय तथ्याकं विभागले माघ १२ मा सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाले पुरुषभन्दा महिलाको जनसंख्या बढी देखाएको छ । प्रारम्भिक नतिजाअनुसार लैगिंक अनुपात ९५.८ पाइएको छ । जसअनुसार प्रति सय महिलामा पुरुषको संख्या ९५ दशमलब ९१ छ । मुलुकभरको जनसंख्याको लैगिंक अनुपातको त्यस्तो रहे पनि काठमाडौं उपत्यकाका तीन जिल्लामा भने विगतका जनगणनामा जस्तै यसपटक पनि महिलाको तुलनामा पुरुषको जनसंख्या नै बढी देखिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरको जनसंख्या २९ लाख ९६ हजार ३ सय ४१ रहेको छ । उपत्यकामा बितेको दस वर्षमा ४ लाख ७९ हजार ३ सय १८ जना बढेको छ । यो संख्या पाँच दशकअघि काठमाडौं जिल्लाको जनसंख्या बराबर हो । लैंगिक हिसाबले पाँच दशकयताका प्रत्येक जनगणनामा उपत्यकामा महिलाभन्दा पुरुषको संख्या बढी देखिने गरेको छ ।
सातौं राष्ट्रिय जनगणना– २०२८ मा उपत्यकाको तीन जिल्लाको कुल जनसंख्या ५ लाख १२ हजार ६ सय ९० जना थियो । त्यसअनुसार यही वर्ष सम्पन्न १२औं जनगणनाको प्रारम्भिक नतिजाले छ दशकमा काठमाडौं उपत्यकाको जनसंख्या ४ सय ८४ दशमलब ४३ गुणाले बढेको देखाएको छ । हरेक दशकमा पुरुषको संख्या बढी देखिएको छ ।
जनसंख्याविद्हरु प्रमुख रुपमा आन्तरिक बसाईसराईको कारण उपत्यकामा पुरुषको संख्या बढी देखिएको बताउँछन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि शैक्षिक अवसर, वैदेशिक रोजगारीमा पुरुष बढी जाने तथा त्यसनिम्ति काठमाडौंमै आउनु पर्ने भएकाले पुरुषको संख्या बढी देखिएको उनीहरुको भनाई छ । पढाइ, रोजगारीजस्ता अवसरका निम्ति गाउँघर या अरु सहरबाट काठमाडौं आउनु आन्तरिक बसाईसराई हो । त्यसमा महिलाको तुलनामा पुरुष बढी अग्रसर हुने मानिन्छ ।
बसाईसराई गर्नेमा पन्ध्र वर्षदेखि ४९ वर्ष उमेर समूहलाई ठानिएको छ । जनगणना नीतिअनुसार व्यक्तिको अक्सर बसोबास अर्थात् छ महिनाभन्दा बढी जहाँ बस्छ त्यहींबाट गन्ती गर्ने गरिएको छ । तर, उपत्यकामा २०२८ सालयताका सबै जनगणनामा पुरुषको संख्या बढी पाइएको छ ।
१२ औं जनगणनाको प्रारम्भिक नतिजाले काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५ सय ३२ देखाएको छ । त्यसमा पुरुष १० लाख २५ हजार ७ सय २७ छन् भने महिला ९ लाख ९१ हजार ८ सय ५ जना छन् ।
यसैगरी ललितपुरको जनसंख्या ५ लाख ४८ हजार ४ सय १ रहेको छ । जसमा पुरुष २ लाख ७५ हजार ५ सय ३७ छन् भने महिला २ लाख ७२ हजार ८ सय ६४ छन् ।
त्यस्तै भक्तपुरको जनसंख्या ४ लाख ३० हजार ४ सय ८ रहेको छ । त्यसमा २ लाख १७ हजार ९ सय ४२ पुरुष छन् भने २ लाख १२ हजार ४ सय ६६ महिला छन् । प्रारम्भिक नतिजाअनुसार भक्तपुर देशभरिकै सबैभन्दा धेरै ३ दशमलब ३२ वार्षिक जनसंख्या वृद्धिदर रहेको जिल्लामा परेको छ ।
तर, जनसंख्याविद् प्रा. योगेन्द्र गुरुङ काठमाडौं उपत्यकामा आन्तरिक बसाईसराई गरेकाहरूको संख्या बढी रहेको बताउँछन् । ‘गुरुङ उपत्यकाको जनसंख्या अझै छुटेको अनुमान गर्छन् । ‘हामीले दस वर्ष अगाडि नै काठमाडौं उपत्यकाको जनसंख्या ५० लाख छ भन्थ्यौं,’ उनी भन्छन्, ‘बढ्नु स्वभाविकै छ । जनसंख्या अझै बढी हुनुपर्ने हो ।’ उनकै भनाइमा माओवादी युद्ध सुरु भएपछि काठमाडौंको जनसंख्या तीव्ररूपमा बढेको हो ।
उपत्यकामा पुरुषको संख्या बढी हुनुमा भ्रुण हत्या पनि एक कारण हुनसक्ने विज्ञहरु आशंका गर्छन् । उपत्यकामा अस्पताल तथा स्वास्थ्य प्रदायक संस्थाको उल्लेख्य संख्यामा भएकाले पनि छोराको चाहनामा भ्रुण पहिचान गर्न सहज भएको उनीहरुको भनाई छ ।
‘त्यस्तो खालको ठोस अध्ययन भएको छैन, भ्रुण हत्या भयो भनेर किटान गरेरै भन्न गाह्रो छ,’ केन्द्रीय तथ्यांक विभागका पूर्वउपमहानिर्देशक डा. रुद्र सुवाल भन्छन्, ‘तर पनि हाम्रो पितृसत्तात्मक समाज हो । छोरालाई प्राथमिकता दिने चलन अझैं पनि छँदैछ । अलि छोरा या छोरी समान भन्ने अवधारणा आए पनि भित्रि रूपमा छोरा नै चाहिने मानसिकता छँदैछ ।’ परम्परागत सामाजिक धारणाले असर गरिरहेको हुनसक्ने सुवालको कथन छ ।
तर, जनसंख्याविद् गुरुङ भने प्रारम्भिक नतिजाकै आधारमा कुनै ठोस निष्कर्समा पुग्न नसकिने बताउँछन् । ‘पढ्न, जागीर खान, रोजगारी, विदेश जान काठमाडौं आउने बढी पुरुष हुन्छ,’ गुरुङ भन्छन्, ‘उमेरअनुसार केलाउन पाएमा बढी छोरामात्र जन्माएको छ । लिंग पहिचान गरी एबोर्सन गराएको छ कि भन्ने हुन्थ्यो ।’
जनगणना साल, जिल्ला, जनसंख्या र पुरुषको संख्या
जिल्ला २०२८ २०३८ २०४८ २०५८ २०६८ २०७८ (प्रारम्भिक नतिजा)
काठमाडौं २९५६५६ ४२२२३७ ६७५३४१ १०८१८४५ १७४४२४० २०१७५३२
(पु.१५४९९०) (पु.२२७९३४) (पु.३५१३१६) (पु.५७६०१०) (पु.९१३००१) (पु.१०२५७२७)
ललितपुर १२७५०२ १८४३४१ २५७०८६ ३३७७८५ ४६८१३२ ५४८४०१
(पु.६४९६२) (पु.९७६७८) (पु.१३०३२६) (पु.१७२४५५) (पु.२३८०८२) (पु.२७५५३७)
भक्तपुर ८९५३२ १५९७६७ १७२९५२ २२५४६१ ३०४६५१ ४३०४०८
(पु.४६२२१) (पु.८१८३३) (पु.८६८१८) (पु.११४७९८) (पु.१५४८८४) (पु.२१७९४२)
(स्रोत : केन्द्रीय तथ्यांक विभाग)
जनसंख्याविद् प्रा. योगेन्द्र गुरुङ काठमाडौं उपत्यकामा आन्तरिक बसाईसराई गरेकाहरूको संख्या बढी रहेको बताउँछन् । ‘पढ्न, जागीर खान, रोजगारी, विदेश जान काठमाडौं आउने बढी पुरुष हुन्छ,’ प्रारम्भिक नतिजामा उमेर समूह उल्लेख नरहेकाले विस्तृत केलाउन नसकिएको उल्लेख गर्दै गुरुङ भन्छन्, ‘उमेरअनुसार केलाउन पाएमा बढी छोरामात्र जन्माएको छ । लिंग पहिचान गरी एबोर्सन गराएको छ कि भन्ने हुन्थ्यो ।’
गुरुङ उपत्यकाको जनसंख्या अझै छुटेको अनुमान गर्छन् । ‘हामीले दस वर्ष अगाडि नै काठमाडौं उपत्यकाको जनसंख्या ५० लाख छ भन्थ्यौं,’ उनी भन्छन्, ‘बढ्नु स्वभाविकै छ । जनसंख्या अझै बढी हुनुपर्ने हो ।’ उनकै भनाइमा माओवादी युद्ध सुरु भएपछि काठमाडौंको जनसंख्या तीव्ररूपमा बढेको हो । पैसा हुने मान्छे गाउँमा बस्न सकेनन् ।
मुलुक संघीय संरचनामा गएपनि केन्द्रीकृत मानसिकताले काठमाडौं उपत्यकामा देशभरिको मानिस रहेको जनसंख्याविद् गुरुङ उल्लेख गर्छन् । ‘त्यसमा रुपान्तरण भएन भने यो क्रम अझै बढिरहन्छ,’ संघीयता कार्यान्वयनमा राज्य संचालकहरूको इच्छाशक्ति नदेखिएको उल्लेख गर्दै उनले भने, ‘अघिल्लो सरकारले काठमाडौं उपत्यकालाई सातवटा स्याटलाइट सिटीको प्रस्ताव त्यसको उदाहरण हो ।’
अर्का जनसंख्याविद् बालकृष्ण माबुहाङ सशस्त्र द्वन्द्वले मेची–महाकाली प्रभावित भएको उल्लेख गर्छन् । ‘सुरुमा राज्य र माओवादीका कारणले गर्दाखेरी विस्थापितहरू काठमाडौंमा आए,’ सुरक्षाको कारणले राजधानी पस्ने क्रम ह्वात्तै बढेको उल्लेख गर्दै माबुहाङ भन्छन्, ‘माओवादीसँग जोडिएका द्वन्द्वबाट विस्थापित, द्वन्द्वबाट पीडित, द्वन्द्वले प्रभावित, द्वन्द्वकारी सबै आए । १२ बुँदे सम्झौतापछि द्वन्द्वपीडितलाई फर्काउन प्रस्ताव आयो । तर कोही मानेनन् ।’ यसबारे खुद अध्ययन नभए पनि मुलुक संघीय संरचनामा बदलिएपछि जनसंख्या व्यवस्थापनमा चुनौती थपिएको माबुहाङको कथन छ ।