सातामै १३ करोडको तरुल कारोबार

अर्थ / वाणिज्य

काठमाडौं  ।  माघे संक्रान्ति नजिकिँदै जाँदा तरुलको व्यापार उच्च भएको छ। एक साताको अवधिमा उपत्यकामा मात्र करिब १३ करोड मूल्यबराबरको तरुलको व्यापार भएको छ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार ६ दिनको अवधिमा (पुस २५ गतेदेखि ३० गतेसम्ममा) झण्डै १३ करोड मूल्यबराबरको करिब एक हजार टन विभिन्न प्रकारका तरुलको कारोबार हुने अनुमान गरिएको छ।

‘गत वर्षभन्दा यो वर्ष दुई करोडभन्दा बढी मूल्यबराबरको कारोबार हुँदैछ’, महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘अघिल्लो वर्ष केही सीमित बजारबाट १२ करोड मूल्यबराबरको तरुल बिक्री भएको थियो। तर, यो वर्ष बजार थपिएको छ। यो वर्ष थप एक करोड मूल्यबराबरको बढी कारोबार हुँदैछ।’

उनका अनुसार तरुलको मुख्य कारोबार हुने बजार सरकारी स्वामित्वको कालिमाटी तरकारी बजार हो। यो बजारमार्फत ६ दिनको अवधिमा नौ करोड ५० लाख मूल्यबराबरको साढे सात सय टनको हाराहारीमा तरुलको कारोबार हुने गर्छ। बाँकी बल्खु, बानेश्वर, तीनकुने, कोटेश्वर, बालाजुलगायत अन्य साना तरकारीबजारबाट तीन करोड ५० लाख मूल्यबराबरको दुई सय ५० टन तरुलको कारोबार हुन्छ। ‘व्यवसायीले बाहिरबाट ल्याएको सबै तरुल आइतबार साँझसम्म बिक्री हुन्छ’, अध्यक्ष घिमिरेले भने,‘सोमबार बिहान त फाट्टफुट्ट रूपमा मात्रै केही व्यवसायीसँग तरुल बाँकी हुन्छ।’

उनका अनुसार पछिल्लो ४/५ वर्षयता तरुलको व्यापार निकै फस्टाएको छ। पहिले नरुचाउने उपभोक्ता पनि स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले खान पल्केका छन्। यसले गर्दा कारोबार ह्वात्तै बढेको हो। उपत्यकामा हुने तरुलको कुल कारोबारमध्ये ९५ प्रतिशत स्वदेशी र पाँच प्रतिशत भारतको उत्तर प्रदेशबाट आयातीत तरुलको हिस्सा छ।

Leave a Reply

Your email address will not be published.