वाम्बुले प्रतिभा : न्युरो दृष्टिविज्ञानमा विद्यावारिधि गर्दै मिलन राई

जीवनशैली

गणेश वाम्बुले राई
दि हङकङ पोलिटेक्निक युनिभर्सिटी अध्ययन अनुसन्धान केन्द्रित विश्वविद्यालय हो, जसले विश्वस्तरीय अनुसन्धान गराउँछ । सन् १९३७ मा स्थापित हङकङको उत्कृष्ट विश्वविद्यालय त हो नै दक्षिण एसियाको पनि । टाइम्स हायर एजुकेसनले सन् २०२२ मा गरेको सर्वेक्षणले विश्वका उत्कृष्ट सय युनिभर्सिटीमध्ये ९१औं स्थानमा परेको छ ।

यही विश्वविद्यालयमा एकजना वाम्बुले युवा वैज्ञानिक अध्ययनरत छन्, भन्ने सुन्दा गर्वले छाती पुलिन्छ । त्यतिमात्र होइन, विद्यावारिधि शोध नै गर्दैछन् । विषय छ– न्युरो दृष्टिविज्ञान (Visual Neuro Science), उमेर २७ वर्ष ।


….
बुवा रुद्रबहादुर राई (२०२७)ले चार कक्षामात्र पढ्नु भएको छ । उहाँ भक्तीमान राईको नाति, धनध्वज वाम्बुले बोड्वाम राईको छोरा हुनुहुन्छ । स्थायी ठेगाना उदयपुर जिल्लाको ताप्ली गाउँपालिका–४ वानाम्ला हो । रोजगारीको खोजी गर्दै २०४९ सालमा काठमाडौं पस्नु भयो । रहँदाबस्दा खोटाङ च्यास्मिटारकी निरम राई (तिलुङ)सँग प्रेम विवाह गर्नुभयो । मजदुरी गर्दै जिन्दगी गुजार्दै गर्दा छोराको जन्म भयो, २०५१ मंसिर १९ गते । नाम जु¥यो– मिलन राई ।

२०५५ असार २७ गते कान्छो छोरा जन्मियो । उनको नाम जितेन राई हो । रुद्र–मिरन दम्पतीको अहिलेसम्म काठमाडौंको बौद्ध नारायणटारमा डेरामै जिन्दगी चल्दैछ । दुई छोराको बौद्धिक तीक्ष्णताले पखेटा लागेकाले आमा–बाबुभन्दा टाढा बसेर पढ्दैछन् । केही वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा पनि दुई छोराकै शिक्षामा लगानी गरेको उहाँ सुनाउनु हुन्छ ।
….

प्रसंग कोट्याउन खोजेको जेठो मिलनको हो । तर कान्छोबारे छोटकरीमा भनियो भने राम्रो हुनेछ । कान्छो जितेन नेपाल सरकारको छात्रवृत्तिमा त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पश्चिमाञ्चल क्याम्पस पोखरामा सिभिल इन्जिनियरिङ विषय अध्ययनरत छन् ।

कुरो मिलनकै गरौं । उनले २०६८ सालको एसएलसीमा ८९ प्रतिशत लिएर उत्तीर्ण गरे । त्यसपछि विज्ञान विषय लिएर कक्षा ११ र १२ पढे । माक्र्स ८२.५ प्रतिशत हासिल गरे । त्यसपछि भारतको मुरादाबादस्थित तीर्थङ्कर महावीर विश्वविद्यालयमा क्लिनिकल अप्टोमेट्री विषयमा स्नातक पढ्न पुगे । चार वर्षे कोर्स छात्रवृत्तिमै त्यो पनि । सन् २०१९ मा नतिजा आउँदै गर्दा मिलनले चमत्कार गरिदिए, कि उनी युनिभर्सिटी टप भए । कोभिड–१९ विश्वव्यापी महामारी फैलिएपछि गोल्ड मेडल लिन भ्याएनन् । भव्य दीक्षान्त समारोहमा गोल्ड मेडल लिनुअघि नै उनले थप उच्च अध्ययनको बाटो पहिल्याइसकेका थिए । कुरियरमार्फत् मेडल लिए ।

हो, नतिजा आउनुअघि नै मिलनले दि हङकङ पोलिटेक्निक युनिभर्सिटीमा आवेदन दिएका थिए । जहाँ यतिखेर अनुसन्धानरत छन् । ‘टप क्लास युनिभर्सिटीले राम्रा विद्यार्थीलाई उसको क्षमताको आधारमा सिधै पिएचडी अध्ययनको अवसर दिन्छन्, जुन मैले पनि पाएको छु,’ मिलनले १३ मार्च, २०२२ को दिउँसो म्यासेन्जरमा भने, ‘अहिले विद्यावारिधि गर्दैछु । अनुसन्धान अपार छ । भारतमा पनि हस्पिटलमा काम गरें । दैनिक रुटिनमा विरामीको जाँच गर्नु फरक कुरो हो । त्यसबाट नयाँ कुरो दिन सकिदैन । मैलेचाहिं नयाँ कुरो पत्तालगाउन अध्ययन अनुसन्धान कार्य रोजेको छु ।’

हङकङबाट प्रकाशित बगैंचाडटकम अनलाइनमा (२३ फाल्गुन २०७८) नरेश सुनुवारले ‘पिएचडी स्कलर राई उत्कृष्ट २०० युवा वैज्ञानिकमा, नोबेल लौरियटको अगाडि वैज्ञानिक कार्यपत्र प्रस्तुत गर्ने’ शीर्षक समाचार लेखेका छन् । ‘हङकङ पोलिटेक्निक विश्वविद्यालयमा विद्यावारिधिका लागि अध्ययनरत डा. मिलन राई उत्कृष्ट २०० युवा वैज्ञानिक छनौटमा परेका छन् ।

हङकङ पोलिटेक्निक विश्वविद्यालयका प्रेसिडेन्ट एवम् वरिष्ठ प्राध्यापक र हङकङ विश्वविद्यालयका पूर्व उपकुलपति एवम प्राध्यापक लगायत अन्य वरिष्ठ प्राध्यापकहरू रहेको साइन्टिफिक रिभ्यु बोर्डले उत्कृष्ट २०० युवा वैज्ञानिक छनौट गर्दा राई चिकित्साशास्त्र र जीवविज्ञानबाट उत्कृष्ट २०० मा पर्न सफल भएका हुन् ।

हङकङ लौरियट फोरम परिषदले विश्वभरिबाट खगोल विज्ञान, चिकित्साशास्त्र र गणितशास्त्र विषयमा अध्ययनरत र विद्यावारिधि सकेका ३५ बर्ष मुनिका युवाहरूबाट आवेदन माग गरेको थियो । छनौट प्रकिया अनुसार पहिलो चरणमा खगोल विज्ञान, चिकित्साशास्त्र र गणितशास्त्रका वरिष्ठ वैज्ञानिक र प्राध्यापकहरू सम्मिलित साइन्टिफिक रिभ्यु कमिटिले उत्कृष्ट आवेदकहरू छनौट गरेको थियो र पहिलो चरणमा छनौट भएकाहरू मध्येबाट दोस्रो चरणको लागि हङकङ पोलिटेक्निक विश्वविद्यालयका पूर्व प्रेसिडेन्ट एवम् वरिष्ठ प्राध्यापक र हङकङ विश्वविद्यालयका पूर्व उपकुलपति एवम् प्राध्यापकलगायत अन्य वरिष्ठ प्राध्यापकहरू रहेको साइन्टिफिक रिभ्यु बोर्डले उत्कृष्ट २०० युवा वैज्ञानिक छनौट गरेको थियो । हङकङ लौरियट फोरम हङकङ सरकारको सहयोगमा यही नोभेम्बर ७ देखि १२ तारिखमा हङकङ साइन्स पार्कमा वैज्ञानिकहरूको सम्मेलन हुनेछ ।’

पिएचडि स्कलर राई उत्कृष्ट २०० युवा वैज्ञानिकमा, नोबेल लौरियटको अगाडि वैज्ञानिक कार्यपत्र प्रस्तुत गर्ने

‘मिलन राई भतिजको प्रगति समाजको निम्ति नयाँ सन्देश हो,’ हाल दक्षिण कोरियामा रहनु भएका राई सुरज किराती भन्नुहुन्छ, ‘जादूजस्तो लाग्छ । गाउँको दयनीय अवस्थाबाट गुज्रिएको रुद्र दाइ अवसर खोज्दै काठमाडौं पस्नु भयो । दाइ र भाउजुले मजदुरी गरेर दुई छोरालाई पढाएर आज मिलन र जितेन भनिज शिक्षाको उच्च तहमा पुग्दैछन् । यो गौरवको विषय हो ।’
बा–आमामात्रै सबैथोक होइन । बालमनोविज्ञानमा पुगेको ठेसले पनि काम गर्छ ।

मिलन सम्झिन्छन्, ‘कक्षा ३ मा पढ्दा मेरो एकजना शेर्पा साथी थियो । त्यो साथीको किराना दोकान थिएछ । उसले पैसा चोरेर ल्याउँथ्यो । हामीलाई पनि दिन्थ्यो । हामी स्टिकर किन्थ्यौं । एक दिन अभिभावकले थाहा पाएछन् । खोज्दै आएर मलाईसमेत चोर भनेर हेपे । गाली गरे । यतिसम्म कि मेरा गुरुहरूले समेत हेपेर बोलेपछि मेरो इज्जतमा धक्का लाग्यो । अनि मैले उपाय सोचें । मेरो गएको इज्जत फर्काउने एकमात्र उपाय भनेको राम्रो पढेर देखाउनु पर्छ । त्यसपछि चार कक्षा पुग्दा दोस्रो भएँ । पाँच कक्षाबाट फस्ट भएँ । मैले पढेको स्कुलबाट एसएलसीमा डिस्टिङ्सन ल्याएर रेकर्ड राखें । त्यसरी त्यो घटनाले मलाई पढ्नै पर्ने प्रेरणा दियो ।

अहिले मेरो मुख्य काम पीएचडीको निम्ति कम्तिमा तीनवटा अनुसन्धान गर्नुछ । एउटा गरिसकें । दुईवटा थप अनुसन्धान गर्नेछु । म एक वैज्ञानिक भएर चिनिनु नै छ । त्यसैले समय निश्चित छ । त्यो निश्चित समयमा गर्नु पर्ने वैज्ञानिक क्षेत्रको काम जसरी पनि गर्नुछ ।’ हो त जीवन छोटो छ । समय सीमाभित्र कुनै पनि काम गर्न सकिएन भने पछाडि परिन्छ । सफलताको शुभकामना छ– वैज्ञानिक डाक्टर मिलन वाम्बुले राईलाई ।

(प्रस्तुत लेख : इक लिब्जुभुम्जु वर्ष ८ अंक १५, पूर्णाङ्क ८८, २०७८ माघ–चैत (किरात येले संवत् ३८०१÷सन् २०२२) मा प्रकाशित छ ।)

Leave a Reply

Your email address will not be published.