भीसी लिम्बुले ५७औं ‘भिक्टोरिया क्रस’ दिवस मनाए

जीवनशैली समाचार

लिभु संवाददाता
काठमाडौं– भीसी रामबहादुर लिम्बूले ५७औं ‘भिक्टोरिया क्रस’ (भीसी) दिवस मनाएका छन् । दश गोर्खा राइफल एसोसियसन काठमाडौंको आयोजनामा सोमबार राजधानीमा मनाइएको हो । लिम्बु ब्रिटिस गोर्खा पल्टनमा बहादुरीको तक्मा ‘भिक्टोरिया क्रस’ (भीसी) प्राप्त १३ नेपालीमध्ये एकमात्र जीवित योद्धा हुन् ।

ब्रिटिस गोर्खा पल्टन सन् १९६५ नोभेम्बर २१ मा इन्डोनेसियाको ब्रोनियो लडाइँ लडेका थिए । त्यही क्रममा सेरिकिन भन्ने डाँडामा क्याप्टेन रामबहादुर लिम्बुले साहसपूर्वक लडाइँ लडेर विजय प्राप्त गरेका थिए । त्यही बहादुरीको प्रतिफल बेलायतकी महारानी एलिजावेथ द्वितीयबाट भीसी पदकबाट क्याप्टेन लिम्बु सम्मानित भएका थिए । सोही दिनको सम्झनामा नोभेम्बर २१ तारिख ‘सेरिकिन दिवस’ मनाउने गरिएको छ । दश गोर्खा राइफलले यो दिवस मनाउँदै आएको छ ।

उमेरले ८३ वर्षका भीसी लिम्बुको कमजोर स्वास्थ्य अवस्थाका कारण उनकै निजी निवास ललितपुर–१४ नखिपोटमा समारोहको आयोजना गरिएको एसोसियसनकी सदस्य सरिता राईले जनाएकी छिन् । ‘यो पटक भीसी साहेबको अस्वस्थताले गर्दा उहाँकै अनुरोधमा निजी निवासमा दिवस मनायौं,’ राईले भनिन् । भीसी लिम्बु कान कम सुन्ने, घुँडा लगायत शारीरिक समस्याबाट पीडित छन् ।

समारोहमा भीसी लिम्बु र श्रीमती पुनीमाया लिम्बुलाई फूलमाला पहिराएर दिवसको सम्झना गरिएको थियो । समारोहमा ब्रिटिस क्याम्प काठमाडौंका फुल कर्नेल पल स्मिथको विशेष आतिथ्य तथा लेफ्टिनेन्ट कर्नेल राजीव गुरुङ, एसोसियसनका अध्यक्ष तथा गोर्खामेजर चन्द्रबहादुर लिम्बु, सचिव तीर्थ थापा, लगायतको फूलमाला पहिराएका थिए ।

Leave a Reply

Your email address will not be published.