मोहनकुमार खड्का (हिमशिखर)द्वारा इतिहास खोजीः ओखलढुंगाको भोल्टेकोट गढी पुनःउत्थान (भिडियोसहित)

प्रदेश १ बिशेष विचार / ब्लग

इतिहास खोजीः ओखलढुंगाको भोल्टेकोट गढी पुनःउत्थान

मोहनकुमार खड्का (हिमशिखर)

ओखलढुंगा जिल्लाको पश्चिम सीमाना भएर लिखु नदी बगेको छ । यस नदीकै नामले लिखु गाउँपालिका रहेको छ । लिखु गाउँपालिका वडा नं.२ मा कुवापानी (सिंहदवी) पर्दछ । यसकै शिर डाँडाको टुप्पामा भोल्टेकोट गढी रहेको छ ।
यो गढी कहिलेको हो ? कसका पालाको हो ? यसको इतिहास के हो ? खोजीको विषय बनेको छ । भोल्टेकोट गढी त्यही इतिहास खोजीमा पर्खिरहेको जस्तो लाग्छ ।


इतिहासलाई खोतल्दा ऐतिहासिक रूपमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व दोलखादेखि ओखलढुंगाको भूगोलसम्म वल्लो किरात थियो । दोलखाको कहाँदेखि र ओखलढुंगाको कहाँसम्म भन्ने सीमाना यकिन भेटिदैन । त्यसबखत दोलखाको मेलुङमा वल्लो किरातको केन्द्र राजधानी थियो र विभिन्न स्थानमा किल्ला थिए भनिन्छ । यस मेलुङदेखि उत्तर तामाकोशी नदीको पश्चिमपट्टि किराती छाप भन्ने स्थान आज पनि प्रसिद्ध छ । यस वल्लो किरातमा सुनुवार (कोइँच) समुदायका किरातीको शासन र बसोबास थियो । सँगै जिरेल, सुरेल, थामी, हायु, किराती समुदाय पनि बसोबासको आदिम थलो थियो । नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहले बनाएको प्रादेशिक संरचनामा वल्लो किरात, माझकिरात र पल्लो किरातलाई मिलाएर किरात प्रदेश बनाएको इतिहास भेटिन्छ ।


पृथ्वीनारायण शाहले बनाएको प्रादेशिक संरचना उनको मृत्युपछि टिकेन । यस वल्लो किरात क्षेत्रका कपितय नाम आज पनि सुनुवार भाषामा नै छन् । लिखु, पोकली, खिम्त जस्ता नदी तथा मेलुङ, खिजी, भुजी, काति, सत्लुङ जस्ता गाउँ र नामहरू किराती (सुनुवार) भाषाबाटै आएका हुन् । यस क्षेत्रमा किराती सुमदायले विशेष रूपमा मनाउने उधौली र उभौली पर्वको विशेष स्थान चण्डीथान प्रत्येक गाउँबस्तीमा रहेको भेटिन्छन् । आज त्यहाँ चण्डी स्थानको रूपमा नरहे पनि चण्डीडाँडा, चण्डीभन्ज्याङ, चण्डीस्थानका नाममा स्थानहरूको नाम छ । सुनुवार वस्तीमा भने चण्डीस्थान कै रूपमा पर्वहरू मनाइने परम्परा कायमै छ ।


नेपाल एकीकरणपछि शाह वंशीय राज्य संचालकहरूले आफ्नो राज्यमा गाभेका स्थान (राज्य) र त्यहाँका जनतामा अनेकौं दाउपेच, दमन तथा धार्मिक, सांस्कृतिक हस्तक्षेप गरेको देखिन्छ । सम्भावित विद्रोहलाई नियन्त्रण गर्न सूचना संकलन गर्न अनेकौं उपाय सृजना गरी काम गरेको देखिन्छ ।


झन्डै विसं. १८२७ तिर नै वल्लो किरातको भूगोल नेपाल राज्यमा एकीकरण भएको देखिन्छ । एकीकरणपछि केहीलाई शासन सत्तामा स–साना इकाइमा समावेश गरी समुदाय विभाजन गर्ने, केहीलाई लडाकुमा भर्ना गरी अर्को राज्य विरुद्ध लडाउने, जमिन र कुत (भूगोल र अर्थमा) नियमन गर्न वितरणमा आफ्नो सहित दोहोरो नियन्त्रण प्रणाली अपनाएको देखिन्छ । विजयपछि सुनवारहरूलाई मुखिया उपाधि र किपटको मालिक बनाएको पाइन्छ भने यस क्षेत्रको नियन्त्रणका लागि र हिन्दु धर्म प्रचारलाई ध्यान दिदै बाहुनहरूलाई विर्ता, लडाकुहरूलाई खान्गी तथा अन्य जातिलाई समेत किपटका रूपमा जमिन बाँडफाँड गरी बस्ती बसालेको र सूचनाका लागि योगीहरूलाई विना रोकतोक जोकसैको घरभित्र पस्न पाउने अधिकारसहित ठाउँ ठाउँमा राखेको देखिन्छ ।


विसं. १८६५ तिर सुनुवार (कोइँच) समुदायभित्रका केही चाटुककारलाई हस्ताक्षर गराई आफ्नो धर्म संस्कृतिसँगै बाहुन लगाउन पाउने भन्दै हिन्दु बनाएको भेटिन्छ । त्यसपछि सुनुवार समुदायले आफ्ना केही चण्डी (उधौली, उभौली)जस्ता पर्व संस्कृति मनाएपनि घरमा बाहुन लगाउने गरेको पाइन्छ । यहाँसम्म कि पितृसंस्कार आफनो सँगसँगै बाहुन लगाएर रुद्री पूजा, बिहे आदिमा बाहुन लगाउने, सराद्धे गर्ने गरेको पाइन्छ । त्यसपछि सुनुवार समुदायभित्र आफ्नो इतिहासको खोजीको पाटो ओझेल परेको हो कि जस्तो लाग्छ ।

मैले यी उल्लेखित विषयहरू उठाउनुको मुख्य लक्ष्य इतिहासको खोजीका लागि मात्र हो । वास्तविक वल्लो किरातको वास्तविक इतिहास के हो त ? यसका किल्ला र गढीहरू कहाँ कहाँ थिए ? कस–कसले कहाँ–कहाँ शासन गरे ? लिखित इतिहास भेटिदैन । किरात संस्कृति र सभ्यताका खोजकर्ता नि हुनुहुन्छ, सुनुवार समुदायभित्रै पनि बौद्धिक व्यक्तित्वहरू हुनुहुन्छ । यसको खोजी गरिदिन अनुरोध समेत गर्दछु ।

यो पंक्तिकारले यसमा लेख्न खोजको विषय भोल्टेकोट गढीकै विषयमा हो । भोल्टेकोट गढीकै फेदीमा जन्मिएर हुर्किएको हुँ । म यसको वरपरको स्थितिबारे केही उल्लेख गर्न चाहन्छु । नेपालको पुरानो मानचित्रमा स्थान लोकेसनमा लिखु नदी नजिकै सतलुङ भन्ने स्थान किटान छ । जुन किराती भाषाको नाम हो । यसको फेदीमा लिखु नदी नजिकै नर्मदेश्वर महादेवस्थान छ । जुन झन्डै २०० वर्ष पुरानो मानिन्छ । शक संवत् १७७० को दशकतिर स्थापना भएको देखिन्छ ।

मैले सानो छँदादेखि सुनेको यस मन्दिरमा रहेको महादेवको शिवलिंग भोल्टेकोट गढीको भोका महादेवको लिंग भाँचेर मानिसले बोकेर ल्याएर स्थापना गरिएको रे । मेरो मनमा उठिरहेको प्रश्न एउटा मन्दिरको शिवलिंग भाँचर किन अर्कोमा लगेको होला ? कुवापानी गाउँको अग्लो स्थान भोल्टेकोटमा यो गढी छ । यसको केही तल भोका महादेवको मन्दिर र स्थान लिंग भाँचिएको रूपमा आज पनि छ । मानिसहरू पूजाआजा गर्दछन् ।

महादेव मन्दिर र गढीका बीचमा जंगली देवीको स्थान छ । यी १६ बहिनी जंगलीको मन्दिर सिंहदेवी गा.वि.स.का भुतपूर्व अध्यक्ष भिमबहादुर सुवेदी (जंगलीका धामी हुनुहुन्छ)ले स्थापना गर्नु भएको हो । जुन जंगली देवीलाई किरातीका छोरीहरू भनिन्छ । यो सँगै यसका आसपास सिंहदेवी, सेतीदेवी, पुनादेवी, रक्तमालादेवी, जति देवीस्थान छन् । उनीहरू सबै किरातसँग जोडिएको पाइन्छ । भोल्टेकोटको पश्चिम फेदी चमेरेमा झाँक्री गुफा छ, जुन गुफा भोल्टेकोटको दक्षिणपट्टि रहेको च्युरीडाँडाको झाँक्रीथानसम्म थियो भन्ने किम्वदन्ती छ । र यो किरात संस्कृतिसँगै जोडिन्छ ।

यो गढी सिन्धुली गढी जत्तिकै पुरानो गढी हो भन्ने भनाइ छ यहाँ । एकीकरणपछि कुवापानीको भेगको जमिन तामाङ जातिलाई किपट, दाहाल र तिमल्सिनालाई बिर्ता दिएको पाइन्छ । गढीकै छेउमा तामाङ जातिको पुरानो माने छ भने गढीमा एउटा घण्टा झुन्ड्याएर एकजना दाहाल थर भएका व्यक्तिले जानुका देवीथान स्थापना गरेको रे भनिएको छ । मेरो विचारमा यो किरात किल्लाको इतिहास मेट्ने योजनाअन्तर्गत नै गरिएको हुनुपर्दछ ।

मैले १ नं. प्रदेशको संस्थापक प्रदेशसभा सदस्यको रूपमा जनप्रतिनिधि भई काम गर्ने अवसर पाएँ । त्यसपछि गढीको संरक्षण, इतिहास खोजमा चासोका साथ गढीको पूर्वाधार निर्माणका लागि प्रदेशको पर्यटन मन्त्रालयमार्फत् बजेट क्रमागत रूपमा राख्न पहल गरें । भत्किएर यत्रतत्र छरिएका ढुंगाहरू सँगालेर सामान्य गढीको संरक्षण, मन्दिर संरक्षण, बाटो निर्माण, गेट निर्माण, पोखरी तथा अन्य पूर्वाधार निर्माणको काम हुँदैछन् । कान्तिपुरका पत्रकार गणेश राई (इक लिब्जुभुम्जु पत्रिकाका सम्पादक)सँग पनि यसको विषयमा धेरैपटक कुरा गरेको छु । धामी भीमबहादुर सुवेदीकै नेतृत्वमा हरेक वर्ष वैशाख पूर्णिमाका दिन जंगलीथानमा बलिपूजासहित हजारौं मानिसको उपस्थितिमा मेला लाग्दछ । भोल्टेकोटकै उत्तर सत्लुङमा चण्डी भन्ज्याङसमेत छ ।
यो गढीको भू–स्थिति हेर्दा लडाइँको दह्रो ऐतिहासिक किल्ला रहेको देखिन्छ र यस वरपरका देवीस्थानहरू तिनै लडाइँका वीरंगनाहरू हुनुपर्दछ भन्ने पंक्तिकारको शंका छ । तर यो गढी कसको हो ? कुन मितिबाट हा¥यो । यसको इतिहास खोजेर वर्तमानमा उठेका जिज्ञासा मेटाउन पहल गरिदिन पुरातत्व विभाग, सुनुवार समुदायको बौद्धिक व्यक्तित्व, किरात भाषा, संस्कृति खोज अनुसन्धानमा संलग्न व्यक्ति तथा संस्थाहरूसँग आग्रह गर्दछु । अरु सरोकारवाला सरकार, राज्यका व्यक्ति तथा संस्थाहरूलाई यसको संरक्षण र प्रवद्र्धन तथा इतिहास खोजमा लाग्न र थालिएको पुनःनिर्माणलाई सम्पन्न गराउन पहल गरिदिनसमेत पंक्तिकार अनुरोध गर्दछ ।

यस भोल्टेकोट गढीको वास्तविकताको पुनःनिर्माण र संवद्र्धनमा सबै लागौं । जय भोल्टेकोट गढी । जय किरात ।

२०७९ चैत १५ गते
लिखु–२, ओखलढुंगा

तस्बिर स्रोत : विष्णु रिजालको युटुब भिडियो

https://www.youtube.com/watch?v=DE8wu6QRQOc&feature=youtu.be

(लेखक मोहनकुमार खड्का (हिमशिखर) नेकपा माओवादी केन्द्र संवद्ध रही प्रदेश–१ को प्रदेशसभाका पूर्व सांसद हुनुहुन्छ । यो लेख इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष १० अंक १, पूर्णाङ्क २०, (लिब्जुभुम्जुको ९३औं शृंखला), २०८० वैशाख–असार (किरात येले संवत् ३८०२÷सन् २०२३)मा प्रकाशित छ ।)

Leave a Reply

Your email address will not be published.