ब्रिटिस आर्मीमा विपन्नलाई अवसर

समाचार

गणेश वाम्बुले राई

काठमाडौं – बेलायती सेना (ब्रिटिस आर्मी)मा नेपाली युवा भर्ती भएर जाने परम्पराले दुई सय वर्ष नाघिसकेको छ । यसबीचमा विश्वमा धेरै प्राकृतिक, सामाजिक, राजनीतिक, वैज्ञानिक उलटपुल आइसकेका छन् । तर, ब्रिटिस आर्मीमा नेपाली ठिटाहरू भर्ती हुने क्रम जारी छ । भर्ती हुनका लागि ब्रिटिस आर्मी भनेर तयार हुने गरिन्छ । जुनियर रिकुटिङ अफिसरले छान्ने बेलामा दुई वर्गमा छान्दछन्– ब्रिटिस र सिंगापुर । नाम दर्ता गर्ने क्रममा सिंगापुर पुलिस वा ब्रिटिस आर्मीको फाराम दर्ता गराउँछ । छानिएका व्यक्ति सिंगापुर पुलिस फोर्स र अर्को ब्रिटिस आर्मीमा ठेगिन्छन् ।

फोटो : क्लासरुमको फेसबुकबाट

अर्काको देशमा ‘भाडाको सिपाही’ बन्न हुन्न भनेर राजनीतिक नारा घन्काउने गरिन्छ । तर, त्यही नारा लगाउनेहरूकै सन्तानहरू भर्ती भएर बेलायत र सिंगापुर जान्छन् । पैसा कमाउँछन् । समाज परिवर्तनमा सहयोग पुर्याउछन् । विरोधले तात्विक असर गरेको छैन । ‘गोर्खाभर्ती’ भर्तीको क्रम निरन्तर छ । पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्ध अनि अन्य युद्धमा ‘बीर गोर्खाली’ले प्रदर्शन गरेको ‘खुकुरी शान’ अजय र अपरम्पार छ । त्यही शानले गर्दा बेलायत सरकारले गोर्खाहरू र तिनका परिवारलाई सन् २००४ देखि आवासीय अधिकारसहित बेलायतमा बसोबास गर्ने अधिकार दिएका छ । ब्रिटिस, सिंगापुर भर्ती हुन ‘आर्थिक लेनदेन हुन्छ’ भन्ने भ्रम सिर्जना गर्ने गरिएको छ । त्यसरी अवफाह फैलाउने काम ‘ठगी धन्दामा लागेका’ले गर्नेमात्र हो भन्ने पुष्टि हुन्छ । किनभने सैनिक या प्रहरी हुन शारीरिक, मानसिक रुपमा तन्दरुस्त हुनु न्युनतम योग्यता हो । शैक्षिक, बौद्धिक प्रतिस्पर्धा उत्तिकै हुन्छ । शारीरिक कसरत, होडबाजीविना भर्ती हुने कल्पना गर्न सकिन्न ।

इन्टेक २०१८ मा भर्ती भएकाहरू
लक्ष्मण राई (२१) घरको दुःखले गर्दा दुबई, कतार, मलेसिया जहाँ भएपनि रोजगारीका निम्ति जाने तयारीमा थिए । दुई–तीनवटा म्यानपावरमा पासपोर्ट बुझाएर अन्तरर्वार्तासमेत दिएका थिए, तर छनोटमा परेका थिएनन् । उनी साथीभाइमाझ दिपेन भनेर चिनिन्छन् । उनी पढाइमा अब्बल नै थिए । उनको धोको एसएलसी पास गरेपछि साइन्स पढ्ने थियो । तर आर्थिक कमजोरीले साइन्स पढ्न पाएनन् । व्यवस्थापन विषयमा कक्षा १२ पास गरे । त्यसपछि वैदेशिक रोजगारीमा जान तम्सिएका थिए । त्यसअघि उनका दाजु दिपकसमेत कतार गइसकेका थिए ।
तर, भाग्यले लक्ष्मणलाई डो¥यायो अर्थात् आफन्तको साथले ब्रिटिस आर्मी बन्न सफल भए । संयोगले उनी ब्रिटिस आर्मी इन्टेक २०१८ मा भर्ती भएर बेलायत पुगिसकेका छन् । यतिखेर ब्रिटिस आर्मीको रेकरुटिङ तालिमको प्रारम्भिक कोर्समा छन् ।
लक्ष्मणको घर इलामको सूर्योदय नगरपालिका–७ अम्बी गाउँमा छ । बुवा मानबहादुर राईको एक वर्षअघि निधन भयो । बुवा पहिलेदेखि नै अशक्त हुनुहुन्थ्यो । उनको संयुक्त परिवार छ । परिवारका बडाबा, बडीआमालगायत हुनुहुन्छ । परिवारका अन्य ३ सदस्य अशक्त छन् । आमा इन्द्रमाया राई, दाजु र दिदी जुनुको भरमा परिवार चल्दैआएको छ ।
घरको कमजोर आर्थिक स्थितिले कक्षा १२ पास गरेपछि अघि बढ्न सकेनन् । त्यसपछि उनले वैदेशिक रोजगारी जाने तयारी गरे । पासपोर्ट बनाए । अनि हाँक्किए राजधानी काठमाडौं सहरतिर । म्यानपावर कम्पनीलाई जुनसुकै देश भएपनि रोजगारीका निम्ति अवसर दिलाउन पासपोर्ट बुझाएर बस्दै थिए । उनको छेमा (आमाकी बहिनी) सञ्जुले छिमेकका भदै ब्रिटिस आर्मीमा भर्ती भएको फोटो फेसबुकमा देखिन् । अनि जानकारी लिइन् । चिनेजानेकै आफन्तले सञ्चालन गरेको लाहुरे तालिम दिइने बुझिन् ।
‘मलाई खबर आयो कि त्यो भाइ (लक्ष्मण)ले बाह्र कक्षा पास गरेर विदेश जान लागेको रहेछ,’ कोटेश्वरस्थित तालिम दिने संस्था क्लासरूम प्रालिका प्रबन्ध निर्देशक विनोद राईले भन्नुभयो, ‘उनलाई मैले मेरै मोटर साइकलमा चढाएर तालिम दिने मेरो अफिस देखाएँ । त्यसपछि तालिममा सहभागी गराएँ । लक्ष्मणको उमेरले अन्तिम मौकामात्र थियो । उसले धेरै मिहिनेत ग¥यो । नभन्दै सफल बन्यो । यो उनको भाग्यमात्र नभई हाम्रो साथ रह्यो । उसैको मिहिनेतले गर्दा अन्तिम मौका र एकै पटकमा सफल भएको छ । यदि उनलाई मैले तालिम दिलाउन नपाएको भए सायद यतिखेर अरबको तातो बालुवामा कहर काटिरहेको हुन्थ्यो होला ।’
यसरी लक्ष्मणले नयाँ फड्को मार्दा परिवारमा खुसीको बहार छाएको छ । ‘कतार कि मलेसिया गएको भए त्यति धेरै भर हुन्नथ्यो,’ लक्ष्मणकी दिदी जुनु भन्नुहुन्छ, ‘भाइ ब्रिटिस आर्मीमै भर्ती भएकोले घरव्यवहार सुधार आउँने र भविष्य पनि सुनिश्चित हुनेमा विश्वस्त छौं ।’ भाइलाई भर्ती हुनुको निम्ति करिब डेढ लाख जति खर्च भएको उहाँ बताउनु हुन्छ ।

फोटो : मञ्जु राईको फेसबुकबाट

इन्टेक २०१८ का निम्ति लक्ष्मण एक उदाहरण हुन् । उनीजस्तै सोनिहाङ लिम्बू (सरोज) पनि यसै पटक ब्रिटिस आर्मीमा भर्ती हुन सफल भएका छन् । घरमा दाजु र दिदी अनि आमा छन् । सूर्योदय नगरपालिका–५ समालबुङका १९ वर्षे सरोज ६ वर्षको हुँदा बुवा देवप्रसाद लिम्बूको निधन भएको थियो । आमा हिमामाया राई (लिम्बू)ले दुई छोरा (सागर र सरोज) अनि एक छोरीलाई हुर्काउनु भयो । सरोजले कक्षा १२ पास गरेका छन् ।
‘सरोज सानैदेखि भर्ती हुन्छु भनेर रहर गथ्र्यो,’ छोरा एकै पटकमा भर्ती लागेको उल्लेख गर्दै आमा हिमामाया भन्नुहुन्छ, ‘उसको इच्छा पूरा गर्न सहयोग गर्नै प¥यो । ऊ सफल भएकोमा म धेरै नै खुशी छु । उसको भविष्य बनियो ।’ उसले काठमाडौंमा बसेर दश महिना तालिम लियो । तालिम, खाने, बस्ने, हिडडुल सबै गरेर करिब डेढ लाख रुपैयाँ जति लागेको आमा बताउनु हुन्छ, ‘भर्ती भएपछि पोखरा ब्रिटिस भर्ती केन्द्रमा भेट्न गएँ । छोराले पहिलो तलब ५० हजार पाएको रहेछ । त्यही पैसा मलाई २६ हजार रुपैयाँ दियो ।’

व्यावसायिक तालिमको भर
उहिले लाहुरे हुन गाउँघरका लोर्के ठिटाहरुलाई छानिन्थे । सहर बजारमा हुर्केकाहरुले कम मौका पाउँथे । लाहुरेहरु फर्केपछि गाउँघरको विकास, निर्माण अनि धरानलगायतका सहरै बसाउन महत्वपूर्ण भूमिका खेलेका छन् । लाहुरेले गरे÷गराएको प्रगतिले सहरमा बसेकाहरूको समेत आकर्षित हुन थाले । उहिले मंगोलियन अनुहारलाई लाहुरे बनाइन्थ्यो । बाहुनलाई पण्डितका रूपमा छानिन्थ्यो । केही दशकयता नेपालका सबै जातजातिका युवाहरूलाई ब्रिटिस आर्मीमा लिने गरिएको छ ।
यो वर्ष (सन् २०१८)मा सिंगापुर पुलिस फोर्समा १ सय जना र ब्रिटिस आर्मीमा २ सय ७० जना भर्ती भएका छन् । ब्रिटिस आर्मीमा ३ हजार ५ सय जना गोर्खाली कार्यरत छन् । जसमा चारवटा बटालियन, तीनवटा कोर युनिट र पाँचवटा इन्जिनियरिङ युनिट छन् । सिंगापुर पुलिस फोर्समा २ हजार कार्यरत छन् । हरेक वर्ष पेन्सन लिने संख्याका आधारमा नयाँ रेकरुट लिने गरिएको छ ।
उहिलेजस्तो कोरा व्यक्ति नभई शारीरिक, शैक्षिक, बौद्धिक युवाहरूबीच अधिकतम प्रतिस्पर्धाबाट छनोट गर्ने गरिएको छ । त्यसका निम्ति देशका विभिन्न ठाउँमा तालिम दिलाउने संस्थाहरू खुलेका छन् । धरान, पोखरा, काठमाडौं, बुटवललगायत गरी सयवटा जति तालिमे संस्था छन् ।

तालिम दिने क्लासरूम
काठमाडौंको कोटेश्वरस्थित तालिम दिने एक संस्था हो, क्लासरूम प्रालि । यस संस्थाका प्रबन्ध निर्देशक छन्, विनोद राई । पुख्र्यौली घर इलामको इभाङ, स्थायी झापाको कमल गाउँपालिका र हाल काठमाडौंमा अस्थायी बसोबास गर्ने विनोद स्वयं एक युवा हुन् । कुनै समयताका ब्रिटिस आर्मीमा दुई पटक भिडेर पोखराबाट फर्किनु परेको त्यो अनुभवसहित तालिमे संस्था क्लासरूम सन् २०१३ देखि सञ्चालन गर्दैआउनु भएको छ । म्याथमेटिक्स विषयमा पोख्त विनोद युवा उद्यमीका रूपमा स्थापित हुने क्रममा हुनुहुन्छ ।
क्लासरूम प्रालिले आर्थिक स्थिति कमजोर युवालाई छुटसमेत तालिम दिलाउने गरेको छ । उक्त संस्थाबाट तालिम लिएकामध्ये इन्टेक २०१७ मा ५ जना भर्ती हुन सफल भए । इन्टेक २०१८ मा ११ जना भर्ती भएका छन् । यहाँबाट तालिम लिएका ब्रिटिस आर्मी या सिंगापुर पुलिसमा मात्र होइन, नेपाल प्रहरी र नेपाली सेनामा समेत भर्ती भएको उहाँ बताउनु हुन्छ । गत वर्ष ४ जना सेनामा भर्ती भएका थिए भने कतिपय इण्डियन आर्मीसमेत हुन पुगेका छन् । तालिम दिनु त छँदैछ, युवाहरूलाई सही समयभित्र मिहिनेत गराउनुचाहिं महत्वपूर्ण पक्ष भएको प्रबन्ध निर्देशक राईको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.