बुङ्वाखा मासिकका सम्पादक राईसहित पाँचजनालाई फोनिज पत्रकारिता पुरस्कार

समाचार

लिभु संवाददाता
काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले पाँच पत्रकारलाई ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । फोनिजको २३औं वार्षिकोत्वसका अवसरमा साउने २७ गते शुक्रबार उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

पुरस्कृत हुनेमा सुनसरीका गोपाल देवान, काठमाडौंकी अनिता गुरुङ, चितवनका राजु चौधरी र उदयपुरकी अप्सरा समाल छन् । त्यस्तै ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ बुङ्वाखा मासिकका सम्पादक पदम राईलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, फोनिजका अध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल लगायतले उक्त पुरस्कार तथा सम्मान प्रदान गरेकाहुन् । त्यसैगरी फोनिजका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ, पूर्वअध्यक्षद्वय खिम घले र मोहनसिंह लामालाई सम्मान गरिएको थियो ।

पुरस्कृत पत्रकारहरू
१. गोपाल देवाल, सुनसरी
(आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९)
सुनसरी कर्मथलो बनाएर २०४२ सालबाट साहित्यिक पत्रिका ‘काँचुली’बाट पत्रकारिता सुरु गर्नुभएका गोपाल देवानले पत्रकारितामा तीन दशक बढी समय व्यतित गरेका छन् । हाल उनी ‘विश्वस्त सूत्र साप्ताहिक’को सम्पादक तथा प्रकाशक छन् । दृष्टि साप्ताहिकलगायत दर्जनभन्दा धेरै सञ्चार माध्यममा काम गरेको अनुभव देवानसँग छ । उनले धरानको ब्लाष्ट टाइम्स दैनिकका संस्थापक सम्पादक भएरसमेत काम गरेका थिए । साहित्यमा ‘अविराम क्रान्ति’ नामले परिचित उनी ‘आरम्भ नाट्य डबली’को अध्यक्षसमेत हुन् । उनको ‘दमको राप’ नाटक कृति प्रकाशित छ ।

२. अनिता गुरुङ, काठमाडौँ
(आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९)
हाइलाइट्स टुरिजम डटकमको कार्यकारी सम्पादक अनिता गुरुङले २०५६ सालमा ‘रेडियो सगरमाथा’बाट पत्रकारिता सुरु गरेकी हुन् । सगरमाथा टेलिभिजनमा करिब १० वर्ष नेतृत्वदायी भूमिकामा काम गरेकी उनी लामो समयदेखि गोरखापत्र दैनिकको गुरुङ भाषा पृष्ठ संयोजक छिन् । फोनिजका निवर्तमान सल्लाहकार गुरुङले रेडियो नेपालमा मिडियाविज्ञ भएर काम गरेकी छन् । पत्रकारिता क्षेत्रमा बहुआयामिक छवि बनाएकी अनिता गुरुङले सञ्चारजन्य विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छिन् ।

३. राजु चौधरी, चितवन
(आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९)
चितवनलाई आधार बनाएर पत्रकारितामा क्रियाशील राजु चौधरीले २०६७ सालमा कायाकैरन दैनिकबाट पत्रकारिता सुरु गरेर २०७२ सालसम्म त्यसैमा रहेका थिए । त्यसपछि अभियान टेलिभिजन, रेडियो अर्पण, नमस्ते टेलिभिजन र रेडियो ध्रुवतारामा समेत उनेले काम गरेका थिए । २०७० देखि २०७५ सालसम्म चितवनबाट इमेज टेलिभिजनमा आवद्ध भएर काम गरेका थिए । हाल कान्तिपुर टेलिभिजनको चितवन संवाददाताका रूपमा कार्यरत छन् । उनी फोनिजको निवर्तमान संघीय सदस्य हुन् ।

४. अप्सरा समाल, उदयपुर
(आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९)
अप्सरा समाल उदयपुरमा रहेर लामो समयदेखि रेडियो पत्रकारिता गर्दै आएकी छिन् । समालसँग सामुदायिक रेडियो उदयपुरमा पाँच वर्ष कार्यक्रम संयोजक तथा समाचार प्रमुखका रुपमा काम गरेकी थिइन् । सोही रेडियोमा चार वर्ष स्टेसन मेनेजर भएर कुशलतापूर्वक नेतृत्व सम्हालेकी थिइन् । फोनिज उदयपुरको अध्यक्ष हुँदै हाल प्रदेश १ को उपाध्यक्ष छिन् । उनी विभिन्न पत्रकारजन्य संस्थामा आबद्ध छिन् ।

५. बुङ्वाखा मासिक
(फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७९)
बुङ्वाखा बान्तावा राई भाषामा प्रकाशन भइरहेको मासिक पत्रिका हो । २०६१ मङ्सिर २४ गते स्थापना भई पुसदेखि निरन्तर प्रकाशनमा रहेको बुङ्वाखाको हालसम्म २०९ पूर्णाङ्क प्रकाशित छ । बुङ्वाखामार्फत् बान्तावा भाषा, साहित्य र मातृभाषा पत्रकारिताको विकासमा टेवा पुगेको छ । मातृभाषा पत्रकारितामा उल्लेख्य योगदान गरेवापत ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार–२०७० प्राप्त गरिसकेको बुङ्वाखा प्रेस काउन्सिल नेपालको वर्गीकरणमा १० वर्षदेखि नियमितरूपमा ‘क’ वर्गमा रहँदै आएको छ । यस पत्रिकाका सम्पादक पदम राई भाषासेवी, भाषाविद् हुन् । उनी किरात राई पत्रकार संघ (२०६४)का संस्थापक उपाध्यक्षसमेत हुन् ।

 

Leave a Reply

Your email address will not be published.