स्मृति : ’सेक्रीफाई नेभर डाइज’ एउटा जीवन अर्थात् क्रान्तिनायक रत्नकुमार बान्तावाको खोजी

राजनीति
जसकुमार राई

“Sacrifice-never-dies” रत्नकुमार बान्तावा, बमप्रसाद बान्तावा र निमा शेर्पा २०३५ सालमा इलाममा मारिंदा इलाम जिल्लाको राजनीतिक हैसियत देशव्यापी उँचो भएको थियो । यो तत्कालीन शासकले चेतनालाई मृत्युदण्ड दिएर विचारहरूलाई कफ्र्यु लगाएको घोषणा गरेपनि पञ्चायतको उल्टो दिनगन्ती सुरूवात भएको थियो । यो चेतनाको प्रवाहलाई पञ्चायतले दस वर्ष खेप्न सकेन । यो हत्याको १० वर्षपछि नै ०४६ सालको उदय भयो । प्रजातन्त्रको स्थापना भयो ।

यही दशक इलामकै राजनीतिक सहयोद्धा सुवासचन्द्र नेम्बाङ यो देशको सभामुख बने । सहयात्री झलनाथ खनाल पार्टीको प्रमुख अनि देशकै प्रधानमन्त्री बने । कम्युनिष्ट नै पार्टी सत्ताको संघार अनि घरमा हालीमुहाली बनी रहे । साथै आफ्नै क्लासमेट अनि रूममेट ईश्वर पोखरेल पार्टीका महासचिव र उपप्रधानमन्त्री सम्म बने । यो देशमा जनताको राजनीतिक अधिकार र हैसियत प्राप्त भयो ।

खोला त¥यो लौरो बिर्सियो । यी तीन जना देशका सहिद भए कि भएनन् अहिलेसम्म यो सत्ताले निर्णय दिन सकेको छैन । ३७ वर्षमा देउमाई खोलाको पुलमुनि धेरै पानी बगेर गैसक्यो । अहिले सत्तामा झापाका सहयोद्धा खडगप्रसाद ओली प्रधानमन्त्री छन् । यी तीनजना पाटीको सानो खोपीको देवताबाट राष्ट्र जनताको कहिले सहिद हुने हुन् अझै अन्यौल छ । ’सक्रिफाइस नेभर डाइज’ डकुमेन्ट्रीको मुल प्रश्न रहनेछ ।

इलामको चमैता–७, चित्रे रत्नकुमार बान्तावाको गाउँ हो । यो गाउँमा नै रत्नकुमारको राजनीतिक विराषत फैलिएको छ । २०३५ साल जेठमा रत्नको नेतृत्वमा मोहनकुमार, बम बान्तवा, डिल्लीप्रसाद र पदम राईले इलामको यही गाउँमा युद्धको लागि सुरूङ खने । हाल यो सुरूङ कम्युनिस्टहरूको तीर्थस्थलको रूपमा लिइन्छ । भियतनामी गुरिल्लाहरूको ‘सुरूङ युद्ध’बाट प्रेरित भएर रत्नको कोठाबाट र नजिकै रहेको पुष्पलाल राईको घरसम्म सुरूङ जोडिएको थियो । झण्डै आठ महिना लगाएर बनाइएको सुरूङभित्रै ७ जनासम्म बसेर बैठक गर्न सकिन्छ ।

रत्न तत्कालीन नेकपा मालेका संस्थापक केन्द्रीय सदस्य थिए । नेकपा एमालेको सर्वोच्च पदमा रहिसकेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल रत्नको हत्या हुँदा झापा, चन्द्रगढी जेलमा थिए । खनाल पञ्चायतकालमै तत्कालीन माले महासचिव मात्रै भएनन् २०४६ को परिवर्तनपछि थुप्रैपटक मन्त्री हुँदै प्रधानमन्त्री पनि भए । रत्नसँगै एउटै डेरा गरेर पढेका अर्का नेता ईश्वर पोखरेल पनि मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म भए । हाल एमाले महासचिव छन् । रत्नको हत्यापछि पक्राउ परेर जर्जर प्रहरी यातना भोगेकी सुशीला श्रेष्ठ अहिले संघीय समाजवादी फोरममा छिन ।

२०३२ साल भदौमा चित्रे गाउँमा अखिल नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी कोअर्डिनेसन इलाम जिल्ला कमिटी (माले) गठन भयो । कमिटीमा रत्नका साथै झलनाथ खनाल, गणेश राई र भक्त देवान थिए । झलनाथ खनाल सचिव थिए । त्यही वर्ष फागुनमा रत्नकै सक्रियतामा इलाम जिल्ला कमिटीले आफ्नो मुखपत्र ’कम्युनिस्ट’ को पहिलो अंक हातले स्टेनसिल काटेर प्रकाशित ग¥यो । २०३३ साल असोजमा झापाको काँकडभिट्टाबाट खनाल पक्राउ परेपछि रत्न सचिव भए । २०३३ साल फागुन ९ गते कमिटीको पुनर्गठन भयो । रत्नको नेतृत्वमा गणेश राई, धनकुमार थुलुङ, बसन्त पराजुली र जीवन मगर कमिटीमा रहे । इलाम जिल्ला कमिटीमा रहे पनि रत्नले पुर्वीउत्तर क्षेत्र इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा र भोजपुरको जिम्मेवारी लिएका थिए ।

२०३५ फागुन २० मा तत्कालीन नेकपा माले केन्द्रीय कमिटीको निर्देशन र रत्नको नेतृत्वमा इलाम जिल्ला कमिटीले पञ्चायती सरकारविरूद्ध जनताको आवाजलाई मुखरित गर्दै जिल्लाव्यापी वालिङ, पोस्टरिङ ग¥यो । प्रहरी दमन उग्र बन्न थाल्यो । त्यही फागुन २४ गते जिल्ला कमिटी सदस्य लोकबहादुर लिम्बूको इलामको नामसालिङस्थित घरमा बिहान ९ बजे रत्न प्रहरी घेरामा परे । युद्ध कौशल र अत्यन्त चतुर रत्न प्रहरी घेरा तोडेर आफू र सहकर्मीलाई बचाउन सफल भए । त्यसपछि रत्नलाई पक्रन जिल्लाव्यापी प्रहरी परिचालित भए । रत्नको गाउँ अब युद्ध स्थलको रूपमा परिणत भैसकको थियो । रत्नको कोठाबाट खनिएको सुुरूङको पर्दाफास भैसकेको थियो ।

प्रशासन र गाउँको पञ्चायत समर्थक गाउँले मिलेर परिवारको बिल्लीवाठ बनाइसकेको थियो । गाउँमा लडेर मरेको गोरू काटेर खाएको आरोपमा बुबा र भाइहरू २०३५ चैत पहिलो साता पक्राउ परिसकेका थिए ।

रत्नकै बालसखा र फुटबल खेल्ने साथी निमा शेर्पालाई गाउँमा रत्नकुमार खोज्न जाने निहुले चैत २४ गते चमैतामा राति गोली हानेर हत्या ग¥यो । निमा शेर्पा जो प्रहरीकै करबलमा रत्नलाई खोज्न पठाइएका थिए । यो हत्या तत्कालीन सरकारले झुक्किएर भने पनि यो नियोजित थियो । निमाको बुवा तत्कालीन वडा अध्यक्ष भएको कारणले पञ्चायत समर्थकको छोरालाई डाइरेक्ट मार्न नसकेर परिपञ्च गरी मारिएको तथ्य फेला पर्दछ । किनकि गाउँकै मानिसहरूले पोलझोस गरी आरोप लगाएर मारिएका हुन् उनी । तर यसको मुलपार्टीले पछिसम्म पनि निमालाई आफ्नो भनेको सुनिएको थिएन ।

रत्न यो घटनाको सुचना पाएपनि गम्भीर भने भएका थिएनन् । इभाङमा चैत २७ गते बिहान ४ बजेतिर सुशीला श्रेष्ठलाई ताप्लेजुङ पु¥याउन, बहिनी राममाया राईलाई लिएर रत्न ताप्लेजुङ प्रस्थान गरे । अगम बान्तावा केही पछि थिए । केही अगाडि बढ्नासाथ सदरमुकामबाट आएको प्रहरी टोलीसँग जम्काभेट भयो । केहीबेरको घम्साघम्सीपछि प्रहरीले रत्नलाई ताकेर गोली हाने । उनको त्यही हत्या भयो ।

पछि आउँदै गरेका बगम बान्तवा भाग्न सफल भए । सुशीला श्रेष्ठ र राममाया राईलाई प्रहरीले गिरफ्तार ग¥यो । राममाया राई प्रहरीको निर्मम यातनापछि घेरा तोड्न सफल भइन् । सुशीला श्रेष्ठ जो रत्नको हत्यापछि पक्राउ परेर जर्जर प्रहरी यातना भोगेकी त्यही दिउँसो जंगल दिशा गर्न जाने निहुमा जंगलमा पस्न सफल भइन् । तीन दिनपछि जंगलबाट पार्टीको सम्पर्कमा आइन् ।

हत्याकाण्डको एक महिनापछि २०३६ वैशाख २८ मा साँखेजुङमा रत्नका सहयोद्धा बमप्रसाद बान्तावाको बर्बर यातनापछि हत्या भयो । बम बान्तावा नाताले रत्नको भाइ साथै गाउँको पढालेखा र प्रशिक्षित थिए । रत्न र निमा शेर्पाको हत्यापछि उनी भूमिगत भएका थिए । साखेजुङको ध्वजबहादुर राईको घरमा सेल्टर लिएर बसेको बेला प्रहरीहरूले सुराकी लगाएर दिनभरि यातना दिएर मारिएका थिए । उनीसँगै पक्राउ परेका डम्बरबहादुर राई भने नाम नसुनेको कारण जिउँदो छाडिए ।

रत्नकुमार बान्तावा २००८ साल चैत २७ गते जन्मिएर २७ वर्षकै उमेरमा २०३५ साल चैत २७ गते नै सहादत प्राप्त गरे । हत्या भएको यतिका वर्षसम्म पनि देशले उनीहरूको जीवनको बलिदानलाई आत्मसात गरेको पाइदैन । न उनीहरू आश्रित परिवारको जीवनमा आर्थिक सामाजिक राजनीतिक हैसियतमा नै कुनै परिर्वतन आएको छ । न उनलाई यो देशले सहिद नै भनेको छ ।

सहिद भनेको देशको हुन्छ तर भोट माग्ने र नेताको झोलि भर्ने सहिद भनेर चुनावको बेला गुणगन गाइने एउटा साधनमात्र भएको बुझ्न कठिन छैन । निमा शेर्पा, रत्न बान्तावा र बम बान्तावाहरूको योगदान र कदर फगत गोहीको आँशु बगाउने ठेगानामात्र भएको छ । इलामका मारिएकाहरू अहिलेसम्म नेपाल भन्ने देशको सहिद भएका छैनन् ।

यही विषयलाई नै केन्द्रित गरेर डकुमेन्ट्री निर्माण भएको हो । रत्नकुमार वान्तवाहरूको जीवनमा आधारित डकुमेन्ट्री ’सक्रिफाइस नेभर डाइज’ अमेरिकामा सान फ्रान्सिस्को ग्लोबल फिल्म फेस्टिबल–२०१५ मा प्रदर्शन भैसकेको छ । अमेरिकाकै न्यूयोर्कमा प्रदर्शनी भयो ।

इलामको चिया विश्वमा परिचित छ । चियाको पत्ताले पाएको हैसियत चियाको बुट्टाले कहिले पाएको होला र ? चियाको बुट्टा जस्तै जीवनको नियति बनेका राजनीतिक योद्धाहरूले जे योगदान दिए त्यो योगदानको कदर कतै भएको पाइदैन ।

यो ‘सेक्रेफाइस नेभर डाइज’ डकुमेन्ट्री चियाको जरा खोज्ने प्रयास हो । राजनीतिले इमान्दार बलिदानको माग जहिले गर्दछ । बेइमानहरू त्यही इमान्दारिताको जलप लाएर विज्ञापन भजाइरहेका हुन्छन् । बलिदानको अर्थ विश्वास हो । जो विज्ञापनमा हँुदैन । यो ‘सेक्रेफाइस नेभर डाइज’ डकुमेन्ट्री एउटा जीवनको खोजी हो ।

(राई ‘सक्रिफाइस नेभर डाइज’ डकुमेन्ट्रीका निर्देशक हुन् । सं.)
साभार : http://etimesnews.com/feature-news/item/7730-sacrifice-never-dies-documentry

 

Leave a Reply

Your email address will not be published.