एकतासँगै घोषणा भयो– नेपाल कम्युनिस्ट पार्टी

राजनीति

लिभु संवाददाता
काठमाडौँ — नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा कार्यक्रम सुरु भएको छ । बिहीबार (२०७५ जेठ ३ गते) काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा घोषणा भएको छ ।
२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुनुअघि दुई नेकपा एमाले र माओवादी केन्द्रबीच संयुक्त तालमेल (६० र ४० प्रतिशत)का आधारमा उम्मेदवार घोषणा गरेका थिए । त्यसपछि लामो समयसम्म एकताको घोषणा हुने भनिए पनि हुन सकेको थिएन ।
बिहीबार अपराह्न दुई पार्टीका नेता, कार्यकर्ता र सञ्चारकर्मीको ठूलो समुह उपस्थिति माझ एकताको घोषणा गरिएको हो । पार्टी एकतासँगै नेपाल कम्युनिष्ट पार्टीको घोषणा गरिएको छ । पार्टीको अध्यक्षमा प्रधानमन्त्रीसमेत रहेका केपी ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दुवैजना रहने छन् । एकीकरण घोषणा सभामा अध्यक्षद्वय ओली र प्रचण्डलगायत नेताले सम्बोधन गर्नु भएको थियो ।
दुवै अध्यक्षको समान हैसियत रहनेछ र निर्णयमा दुवै उत्तिकै शक्तिशाली हुनेछन् । प्रधानमन्त्रीसमेत भएका कारण ओलीले सरकार र दाहालले पार्टीका काम हेर्नेछन् । केन्द्रीय समिति ४ सय ४१ सदस्यीय हुनेछ । यसमा एमाले पक्षबाट २४१ र माओवादी पक्षका २०० रहनेछन् । केन्द्रीय समिति सदस्यले बिहीबार नै शपथ लिएका छन् । स्थायी कमिटी ४५ सदस्यीय बनाइएको छ । त्यसमा एमाले पक्षका २६ र माओवादी पक्षका १९ जना रहेछन् ।

पार्टीको नियमित कार्यसञ्चालनका लागि नौ सदस्यीय सचिवालय गठन भएको छ । सचिवालयमा दुई अध्यक्षसहित माधवकुमार नेपाल र झलनाथ खनाल वरिष्ठ नेताका रूपमा रहनेछन् । त्यसबाहेक वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सचिवालयमा रहनेछन् । पार्टी प्रवक्ताको जिम्मेवारी श्रेष्ठलाई दिइएको छ । पौडेल महासचिव भएका छन् । सचिवालयले पार्टी पोलिटब्युरो, जनवर्गीय संगठनलगायतको एकता र व्यवस्थापन गर्नेछ । पार्टीभित्र सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी केन्द्रमा रहनेछन् । त्यसबाहेक प्रादेशिक कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, नगर गाउँ कमिटी, वडा कमिटीलगायत संरचना हुनेछन् ।

आयोगलाई पार्टी एकीकरणको जानकारी
नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएको औपचारिक जानकारी निर्वाचन आयोगलाई गराइएको छ । दुई दलका शीर्ष नेताहरु अपरान्ह ५ बजे बहादुरभवनस्थित आयोग पुगेर जानकारी गराएका हुन् । एमाले अध्यक्ष प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवै जना आयोगमा पुगेर आयोगका प्रमुख आयुक्त सहितका पदाधिकारी समक्ष एकीकरण भएको जानकारी गराउनु भएको थियो । दुई पार्टी मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ नाम राख्न खोजेको तर, आयोगमा उक्त नामको पार्टी पहिल्यै दर्ता रहेकाले आयोगका पदाधिकारीले नाम फेर्न पर्ने सुझाएका छन् । ऋषिराम कट्टेलको नाममा यसअघि नै नेपाल कम्युनिष्ट पार्टी दर्ता प्राप्त छ । कानून अनुसार आयोगले कागजातहरुको अध्ययन र नपुग कागजातहरु मगाएर ४५ दिनभित्र एकीकरण सम्बन्धमा निर्णय दिनुपर्ने भनेको छ ।

Leave a Reply

Your email address will not be published.