शुभचन्द्र राईको संस्मरण : ४३ वर्षअघि यस्तो थियो एस.बि. होस्टेल

विचार / ब्लग
-शुभचन्द्र राई-

उत्तरमा विशाल महाभारत डाँडाको पर्वतीय शृंखला, दक्षिणमा पूर्व–पश्चिम लमतन्न पसारिएको चारकोसे झाडी अनि पूर्व र पश्चिममा सर्दु र सेउती खोलाले सीमा बाँधेको पूर्वी नेपालको एउटा सानो तर सफा र सुन्दर सहर हो– धरान । शिक्षा र स्वास्थ्यको राम्रो पूर्वाधार भएको यो सहरमा थुप्रै थुप्रै सपना र कल्पनाहरु साँचेर पहाडबाट पहाडियाहरु तल झर्छन् । मधेसबाट मधेसीहरु माथि चढ्छन् । धरानले यसको कत्तिको हेक्का राखेको छ कुन्नि ?

आजभन्दा ३४ वर्ष अघि (४३ वर्षअघि वि.सं.२०७९) ओखलढुंगा जिल्लाको उँबु गाविसबाट म पनि पिठ्यूँमा सानो पन्तुरो बोकेर बुबाको हात समाउँदै धरान झरेको थिएँ, पढेर ठूलो मानिस बन्न । धेरै नाम र दाम कमाउन । मेरो सप्पै स्कूले जीवन धरानको तत्कालिन ब्रिटिस घोपाक्याम्पको सुल्तान अफ ब्रुनाई होस्टेल (S.B. Hostel) मै बित्यो । ब्रिटिस आर्मीका छोराहरुले मात्र बस्न पाउने एसबि होस्टेल ब्रुनाई सरकारको सहयोगमा तत्कालिन ब्रिटिस घोपाक्याम्पमा बनाइएको थियो । लडाइँमा गोर्खा पल्टनले ब्रुनाईको सुल्तान सरकारलाई बचाएकोले गोर्खालीहरुको बहादुरीको कदर गर्दै गोर्खाली प्रति कृतज्ञ बनेर सुल्तानले सो सहयोग गरेको रहेछ । हाल पनि सुल्तानको सुरक्षाको लागि भूपू गोर्खा सैनिकहरु ब्रुनाईमा कार्यरत छन् ।

हट स्टाइल (टहरो तरिका) ले बनाइएका जम्मा तीनवटा गोलाकार घरहरु जसमा चारैपट्टि सिसै सिसाको ठूलाठूला चारवटा ढोका र एक आपसमा खप्टिएका उघार्न र बन्द गर्न मिल्ने भ्mयालहरु (यस्ता भ्mयालहरु आज भोलि त्यत्ति देखिंदैन) हटको भित्र बीचमा एउटा चारपाटे इँटाकै उठाइएका खम्बा र गोलाकार टेबल अनि एउटा बिल्डिङमा जम्मा १६ जना सुत्ने ८ वटा फलामको स्प्रिङवाला दुई तले फोल्डिङवाला पलङ र १६ वटा काठका गजबको दराज । बस म बसेको होस्टेलको हुलिया ठ्याक्कै यस्तै थियो । बाँकी दुईवटा लम्बाकार बिल्डिङ थिए ।

पश्चिम पट्टि हाम्रो खाना खाने डाइनिङ हल र किचेन अनि होस्टेल सुपरिटेन्डेन्ट बस्ने एटेज बाथरुम सहितको कोठा भएको लामो बिल्डिङ थियो भने उत्तरपट्टि टोइलेट, बाथरुम र लुगाधुने वास रुम सहितको बिल्डिङ थियो । बिल्डिङहरुको छाना सायद बिदेशमै बनेको या क्यम्पमै बनाइएको हो सिमेन्टकै खबटाका थिए । सबै बिल्डिङको आआप्mनै नम्बर थियो त्यो चै ठ्याक्कै सम्झना सकिन । होस्टेललाई चारैतिरबाट काँडेतारले घेराबेरा गरिएको थियो । बिल्डिङहरुको बीचमा पूmलबारी थियो । दक्षिण पट्टि खुल्ला चौर र डाइनिङ हलको उत्तरपट्टि खाली चौर थियो । त्यहाँ सागसब्जी लगाइन्थ्यो । यत्ति भए एसबि होस्टलको रूप पुरा हुन्छ ।

यो होस्टेलमा बस्न पाउन निकै गाह्रो थियो । प्रत्येक वर्ष एसएलसी दिएर जानेहरुको ठाउँमा मात्र भेकेन्सी खाली हुन्थ्यो । मेरो बुबाले निवेदन चढाउनु भएको दुई वर्षपछि मात्र मैले पनि सो होस्टेलमा बस्ने अवसर पाएको थिएँ । मैले पहाडमा कक्षा ३ उत्तीर्ण गरेर झरेको थिएँ । त्यसैले कक्षा ४ बाट ब्रिटिस लाहुरेहरुकै एक दिनको पारिश्रमिकबाट बनेको डिपो माविबाट मेरो पढाईको यात्रा अगाडि बढ्यो । गाउँमा आप्mनो मातृभाषा मात्र बोल्ने नेपाली भाषा राम्रो बोल्न नजान्दा हास्टेलमा पाउनु दुःख मैले पाएको छु । मलाई दाइहरुले हेपेर पहाडे, कोदे, ढाक्रे भनेर बोलाउथे । मेरो नामै राईमाइला राखिदिएका थिए जुन मलाई साह्रै मन पर्दैनथ्यो । ए राईमाइला भात खाइस् भन्दा नखाइस् भन्थे । मैले भन्न खोजेको चाहि खाइन÷खाएको छैन भन्ने हो । मेरो बोली सुनेर मलाई सबैले जिस्क्याइ रहन्थे ।

एकपल्ट त मलाई एकजना लक्ष्मी लिम्बु भन्ने छुचो दाइसँग (जसलाई चुप्पे पनि भन्थे) साह्रै रिस उठ्यो । र ‘मलाई धेरै नहेप् तेरो कुरा सरलाई वाउम्’ (भन्न खोजेको मलाई धेरै नहेप्नुहोस् तपाईको कुरा म सरलाई भनिदिन्छु) भन्दै कस्सेर भागें । होस्टलको मूल गेट पुग्नै लागेको थिएँ अरुले छेकारा मारेर करापकुरुप पारिहाले त्यसपछि भने मैले हनुमान धुलाई खाएको छु ।

कक्षा ४ मा भर्ना भएता पनि मलाई ठूलो सानो अग्रेजी अक्षर छुटाउन आउँदैनथ्यो । होस्टेलकै प्रकाश राई भन्ने एकजना दाइले सिर्कनो लिएर मलाई अग्रेजी सिकाउनु हुन्थ्यो । ए, बी, सी भन्दै जाँदा ‘डब्लु’ भन्नु पर्नेमा ‘डब्लुक’ भनिहाल्दो रहेछु एक सिर्कनो खाइहाल्थें । यसरी कुटाई खाएरै होला मैले चाँडै सिकें र कक्षा ४ मा पहाडदेखि आउने बित्तिकै ४ नम्बरमै निस्केर पास भएँ । कक्षा ५ देखि मैले प्रथम स्थानलाई कक्षा १० सम्मै छोडिन ।

यो होस्टेलमा गज्जबको चालचलन र परिपाटीहरु थिए । त्यतिबेला फिलिमहरुको निकै नक्कल गरिन्थ्यो । लामो कपाल पाल्ने, पेन्टको मुनी ह्वाङलङ्गै पार्नु पर्ने स्टाइल थियो । होस्टेलमा चन्द्रशेखर राई दाइ (हाल धरान–१८ रत्नचोक) बिगबोस थिए । उनको राइट ह्यान्ड टेकराज राई दाइ (उनी पछि भर्ती भएर हाल सायद युकेतिरै होलान्) थिए । मैले चन्द्रशेखर दाइको शासनकाल भेटिन । एसएलसी पश्चात् उहाँले होस्टेल छोड्नु भएपछि भने टेकराज दाइ बिगबोस भए । बिगबोसलाई सबैले मान्नु पथ्र्यो ।

बिगबोसले ‘ग्याङ्ग’ भनेर कराउने बित्तिकै बत्तिसै काम छोडेर सबै खराप खुरुप एस बिगबोस’ भनेर कराउँदै बिगबोसको अगाडि हाजिर हुनुपथ्र्यो । एकपल्ट देशमान राई (सोलुखुम्बुको भएकोले उसलाई सबैले भोटे, दुङदुङ्गे भन्थे) अलि ढिलो आइपुगे । बिगबोसले किन ढिलो आइस भनेर सोध्नु भो । भोटेले हग्दै थिएँ बिगबोस भन्यो । बिगबोसले पनि मलाई नसोधी किन हगिस् भनेर दिनभरि चौरमा कुद्न लगाउनु भयो । यस्ता घटना त कयौ छन्, लेखेर साध्य छैन ।

बिगबोस स्कूलबाट मूल गेटमा आइपुग्नु भएपछि ‘ग्याङ्ग’ भनेर कराउनु हुन्थ्यो र ‘साले हो म लडें भने खाईस्’ भन्दै यस्सो लडेभैंm गर्नुहुन्थ्यो । त्यत्ति बेला हामी टुप्पी ठाडो पारेर कुद्दै उहाँछेउ पुग्थ्यौ । र लड्न नदिई भ्mयाइँकुटी पारेर बोकी उहाँको बिस्तरामा ल्याई सुताउँथ्यौं । कसैले उहाँको ड्रेस फुकालेर ह्याङगरमा झुण्ड्याउने, कसैले जुत्ता फुकालिदिने कसैले मालिस गर्ने गथ्र्यौ । त्यति बेलाको डिपो स्कूलको छात्रको स्कूल पोशाक खाकीको सर्ट, हाफप्यान्ट र सेतो क्यान्वस जुत्ता थियो । त्यसैगरी छात्राको जामा थियो । बिगबोस होस्टेलबाटै भर्ती गएपछि भने होस्टेलमा बिगबोस प्रथाको अन्त्य भयो ।

हाम्रो होस्टेल सुपरिटेण्डेन्टको नाम हर्कबहादुर राई थियो । (उनी दार्जिलिङका, त्यो पाको उमेरमा पनि अविवाहित, दाइहरु उहाँको पुरुष सामानै छैन भन्थे खै के हो ?) सबैले उहाँलाई एचबी सर भन्थे । उनी भूपू सार्जन थिए र घोपाक्याम्प भित्रकै चिल्ड्रेन स्कूलमा पढाउथे । हामीले चै उहाँको नाम ‘खोपडे’ राखिदिएका थियांै । खोपडे सर असाध्य स्ट्रिक थिए । जहिल्यै बिहान ५ बजे वाइकप ब्वाइज वाइकप भन्दै होस्टेल राउड लाउनुहुन्थ्यो । मिठो निन्द्राबाट हामी जाराकजुरुक उठ्थ्यौं । त्यति नै बेला कुकले चियाको घण्टी ठटाउथे आर्मीको हरियो मग लिएर हामी चिया थाप्न कुद्थ्यौ । दुईतले बेडमा माथि तल सिनियर दाइहरु बस्ने चलन थियो र मुनिको जुनियरले उहाँहरुलाई ओछ्यानमै चिया लगिदिनु पथ्र्यो ।

बिहान उठ्ने बित्तिकै सबै भन्दा पहिले बेडलाई तनक्कै तन्काउनु पथ्र्यो । नरियालको सरकारी गद्धामाथि सेतो च्याँदर र सरकारी कालो कम्बल चटक्कै कम्मरे पारेर मिलाउनु पथ्र्यो । त्यसपछि आप्mनो आप्mनो बिल्डिङ्गको सिसाको भ्mयाल ढोका पानीले धुनुपथ्र्यो । गोपाल भन्ने एकजना कामदार दाइ थिए (जो हामीलाई केटीको कुरा र छाडा कुरा सुनाइरहनु हुन्थ्यो । उहाँकुरा सुनेर हामीलाई सेनिमा हेरेभंैm हुन्थ्यो ।) उहाँले नाली सोहर्ने, पूmलबारीहरु गोड्ने गर्नुहुन्थ्यो । उहाँलाई पनि नाली सोहर्न बाल्टीमा पानी बोक्न सघाउनु पथ्र्यो । साना ग्रुपले चाहिं ढ्वाङ बोकेर होस्टेललाई एक फन्को मारी सबै कागज, पूmलको पत्ताहरु टिप्नु पथ्र्यो । सदाबहार भनेर होला होस्टेलको गेट छेउमै कर्बीको ठूलो बोट रोपिएको थियो । प्रत्येक बिहान त्यसको पूmल, गेडा भूइँभरि झरेर टिप्दाटिप्दा हामी हैरानै हुन्थ्यौं ।

सेनिटेसन सकिएपछि हाम्रो रोलकल हुन्थ्यो र करिब आधा घण्टा जति खोपडेको लेक्चर तनक्कै तन्केर सुन्न पथ्र्यो । त्यसपछि हामी छ्याप्पै पढ्न बस्थ्यौ । त्यति बेला डिपो स्कूलमा पढाइ, खेलकुद सबैमा प्रायः हामी होस्टेलकै विद्यार्थीहरु अग्रस्थानमा हुन्थ्यौं । हाम्रो अनुशासन कडा थियो । हप्ता या महिना दिनमा एक पल्ट गोरखा मेजर, सिओ, डिआरओ, कहिले काँही त ब्रिगेडियरजस्ता ठूला साबहरुकै विशेष भिजिट हुन्थ्यो । भिजिट राम्रो भयो भने खोपडेले हामीलाई मासु खुवाउनु हुन्थ्यो । त्यतिबेला हामी हुनसम्म रमाउँथ्यौं ।

होस्टेलमा हामीलाई हप्ताको एक पल्ट बेलुका मात्र मासु ख्याइन्थ्यो । प्रायः सुँगुरकै मासु हुन्थ्यो । भागमा चार–पाँच चोक्टामात्र पथ्र्यो । मासुको दिन हाम्रो मन निकै रमाएको हुन्थ्यो । हामी चोक्टा बाजी राखेर फुटबल खेल्थ्यौं । कसले कसलाई तिर्ने पहिल्यै निर्धारण गथ्र्यौ । हारियो भने साह्रै नरमाइलो हुन्थ्यो । जितियो भनेचैं सन्सारै जितेभैंm लाग्थ्यो । मासु भएको दिन खुब चलाख हुनुपथ्र्यो । कसै कसैले थापेको मासु भातले पुरेर फेरि थाप्न खोज्थे तर कुकले थाहा पाइहाल्थे । त्यति बेला हाम्रो कुक धनसिं मामा थिए । (हाल तरहरमा फेन्टास्टिक सेकुवा कर्नर चलाएर बस्नु भएको छ) उनलाई हामी धनपुडिक भनेर बोलाउँथ्यौ । खुब कडा हुनुहुन्थ्यो । उहाँलाई फकाएर, मोलमलाई गरेर खुशी पार्न सके भागमा एक–दुई चोक्टा बढी पनि हालिदिन्थे ।

मासुको दिन कहिले कसैले उपद्र गरेर अचानक भ्mयाप्पै बत्ती मार्थे । त्यतिबेला आप्mनो मासु छ्याप्पै छोपेन भने बत्ती बल्दा थालदेखि मासु गायब भइसक्थ्यो । कुनै कुनै दाइहरु गीत गाउँदै आउँथे र गीत सुनिस् भनेर सोध्थे । सुनें भनेमा किन सुनिस् गीत सुनेको ट्याक्स ले भन्थे र एक चोक्टा मासु लगिहाल्थे । सुनिन भन्यो भने किन सुनेनस् नसुनेकोमा जरिवाना तिर भन्थे र जसरी भए पनि एक चोक्टा लगिछाड्थे । यो नयाँ आउनेहरुमा लागू हुन्थ्यो ।

रुटिनअनुसार सप्पै खेलहरु खेल्नै पथ्र्यो । गर्मी महिनामा हप्ताको तीनदिन पौडी खेल्न पर्ने रुटिन हुन्थ्यो । त्यो दिनचैं मलाई नआइदिए हुन्थ्योभैंm लाग्थ्यो । पहाडमा भ्यागुते आहालमा पौडी खेल्ने म होस्टेलमा पौडी खेल्न नजान्दा सुइमिङपुलमा थुप्रै पल्ट चोबलिएको छु । टन्न पानी खाएको छु । पछि चाहिं पानी खाँदा–खाँदा मैले पनि पौडी खेल्न सिकें । कहिले काहीं दाइहरुले बिहान ४ बजे उठाएर जिरो माइलसम्म कुद्नु पठाउथे बीचमा गोराहरुको चिहानघारी भएको जंगल पर्ने हुनाले कुद्न नसक्ने भाते साथीहरु त ग्वाँग्वांँ नै रुन्थे ।

समय–समयमा शनिबारको दिन हामी सबैलाई दाइहरुले जंगल घुम्न लान्थे । जान्न भनेर अल्छी गर्नेहरुलाई सबैको भएभरको लुगा धुन लगाउथे । होस्टेलमा खुब भोक लाग्थ्यो । बिहान र बेलुकाको खाना बाहेक खाजाको व्यवस्था थिएन । हप्ताको १० रुपैयाँ पकेट खर्च पाइन्थ्यो त्यो पनि दाइहरुलाई एक रुपैयाँ, दुई रुपैयाँ बाँड्दा–बाँड्दा सानोहरुको हातमा त जिरो नै पथ्र्यो । हामी घरबाट पठाइदिएको या कतैबाट पाएको पैसालाई रुखको फेदमा या पूmलबारीमा कसैले नदेख्ने गरी सलाईको खोलभित्र हालेर गाडेर लुकाउँथ्यौ र भोक लागेको बेला या चाहिएको बेला सुटुक्कै झिकेर पल्टन बजारमा गएर खाजा खान्थ्यौं ।

कुनै कुनै शनिबारको दिन दाइहरुले हामीलाई फाइट खेलाउँथे । त्यतिबेला त्यसलाई ‘स्ट्रेट फाइट’ भनिन्थ्यो । वारिपारि चप्पलले घेरा हाल्थे र बीचमा समकालिन बीच भिड्न लगाउँथे । सुरु सुरुमा सल्लाह गरेरै बिस्तारै फाइट खैल्थ्यौं तर लागेपछि भने मारामार नै हुन्थ्यो ।

एकपल्ट सप्पैलाई दाइहरुले आपूmले मन परेको केटीको नाम लेख् भनेर लेख्न लगाए । त्यति बेला कक्षा ७ मा पढ्ने होस्टेलको दुईजना मात्र थियौ, योगराज राई र म । (योगराज पनि भर्ती भएर गए सायद हाल युकेमै होलान् ।) हाम्रो कक्षामा शोभा र सोबिन भन्ने दिदी–बहिनी थिए । उनीहरु दुवै राम्री र हामीसँग खुब मिल्ने साथी पनि थिए । सोबिन शोभाको बहिनी र अलि पातली थिइन् । मैले योगराजले शोभाको नाम लेख्ला म सोबिनको लेख्नु प¥यो भन्ने सोचें र सोबिनको नाम लेखें । योगराजले पनि शुभले पक्कै शोभाकै नाम लेख्छ म सोबिनको लेख्नु प¥यो भनेर सोबिनको नाम लेखेछ । दुवैको मन पर्ने केटी एउटै नामको भएपछि दाइहरुले लु फाइट खेल जसले जित्छ उसैको हुन्छ भनेर हामीलाई फाइट खेलाए । साह्रै रड्डी भो ।

होस्टलमा कैयौ उपद्रोहरु पनि भइरहन्थ्यो । राति निदाएपछि हात खुट्टा टनटनी बाँधी दिन्थ्यौ र ठिक्क नाकको सामु गन्हाउने जुराब वा जुत्ता झुण्डाइ दिन्थ्यौ । कलमको मसी गालामा टप्प चुहाइ दिन्थ्यौ एकछिन पछि त्यो मसी लगाएको गाला चिलाउँथ्यो र निन्द्रामै कन्याउदा मसी अनुहारमा पोतिएर बिहान हेर्न लायकको हुन्थ्यो र एक आपसमा हेराहेर गरेर खुब हाँस्थ्यौं । फोल्डिङवाला दुईतले बेडलाई बिस्तारै फोल्ड गरेर चौरमा पु¥याउँथ्यौं । राति या बिहान उठ्दा ऊ पर चौरको कुनाको बरको फेदमा हुन्थ्यो ।

आँप फलेपछि राति हामी आँप चोर्न जान्थ्यौ । आरपीहरु डुलिरहन्थे तर कहिल्यै होस्टेलका केटाहरुलाई पक्रन सकेनन् । आरपीले देखिहाले हामी सिभिललाइनतिर कुद्थ्यौं, सिभिललाइनका केटाहरुलाई दोष देओस् भनेर । उनीहरुलाई आँपचोर होस्टलकै केटाहरु हुन् भन्ने चाहिं थाहा हुन्थ्यो । कहिले काही होस्टेलमा आएर ‘त्यँरिमा आइतबारे हो, ककसले कति कति आँप चोरिस् हँ भनेर भन्थे ।’ हामी चोरेको आँप ताछेर फायर ब्रिगेडको रातो बाल्टिमा नुन लगाई मोलेर खुब रमाई–रमाई खान्थ्यौं ।

होस्टेलको उत्तरपट्टि डिल थियो । त्यहि डिलबाट मानिस हिंड्थे । हामी पनि त्यही बाटो स्कुल जान्थ्यौं । दक्षिणतिर भने पक्की रोड थियो । उत्तरतिरको डिलबाट प्रायः कुनै केटीहरु हिड्दैनथे । दाइहरुले जिस्काएर हैरान पार्थे । तल बाटोमा सिभिललाइनको या कुनै राम्री केटीहरु हिडेको देखेमा दाइहरुले हामीलाई नाङ्गै पारेर चौरमा कुद्न लाउथे । नकुदे कुटाइ खाइहाल्नु पथ्र्यो । हामी पनि नाङ्गै कुदेर जात्रा देखाउँथ्यौं ।

हामी होस्टेलका केटाहरु बेलुकाको खाना खाइसकेपछि नाइटवाक गर्न क्याम्प एक फन्को माथ्र्यौं । हामीलाई अपसरलाइनमा हिड्नचैं प्रतिबन्ध थियो । अपसरहरुको छोरीहरुलाई जिस्काउछन् भनेर । कडा आर्मी शासन थियो । स्कूल जान मन नलागे बिरामी भएको बहाना बनाउँथ्यौं । खोपडे सरले अस्पताल जान स्लिप लेखिदिनु हुन्थ्यो । अस्पतालमा प्रायः हामी खोकी लागेको बहाना गथ्र्यौ किनकि खोकीको दबाई गुलियो पाइन्थ्यो । गुलियो दबाई पाइएन भने त्यो दबाईको सिसी नालीमै चड्याम्मै फुटाउँथ्यौं । त्यतिबेला शाक्य भन्ने पुड्के डाक्टर थिए क्याम्पमा ।

होस्टेलमा सजाय दिने तरिका किसिम–किसिमको थियो । सबैभन्दा कडा सजाय ब्यान्डडाउन भन्ने थियो । यो सजाय खुट्टा दराज माथि र हातले तलदेखि शरीरलाई थामेर उँधोमुन्टे भएर आधाघण्टा पैतालीस मिनेट बस्नु पर्ने थियो । हुन सम्मको गाह्रो सजाय थियो त्यो । अर्को सजाय थियो– अखम धुलाई । यो सजाय पाउनेलाई घम्लङ्गै कम्मले छोपिन्थ्यो र सबैलाई वरिपरि राखिन्थ्यो त्यसपछि सजाय दिने कमाण्डरले ‘अखम’ भनेर खोकेपछि सबैले आपूmले सक्दो, लात्ती मुड्की सजाय पाउने माथि बर्साउनु पथ्र्यो । कमाण्डरले ‘हल्ट’ भनेपछि रोकिनु पथ्र्यो । त्यसपछि कम्बल उघार्दा सजाय पाउने व्यक्ति अधमरो भएको कुखुरा जस्तै भएको हुन्थ्यो । यो सजाय पनि डेन्जर सजाय नै थियो । अर्को सजाय थियो– ‘कान समातेर उठबस गर्ने’। यो सजाय चाहि सामान्य नै थियो तर फिला दुखेरचैं हुरुक्कै नै हुन्थ्यौं ।

होस्टेलमा दाइहरुले विभिन्न प्रतियोगिता गराइरहन्थे । जस्तै– खेलकुद, दौड, छेलो हान्ने, लङजम्प हान्ने, पौडी खेल्ने, वक्तृत्व कला, हाजिरी जवाफ, गीत गाउने, कविता भन्ने र अभिनय गर्ने आदि । त्यतिबेला सोले फिल्मको खुब चर्चा थियो । होस्टेलमा एकजना टंक सुनुवार भन्ने दाइ थिए । (हाल रत्नचोकतिर बस्नुहुन्छ क्यारे) उहाँले गब्बरको राम्रो अभिनय गर्ने । दाइहरुले ए गब्बर एक्टिङ्ग देखा भनेपछि उहाँ पनि पेटी लिएर खैनी माड्दै गब्बरसिंको अभिनय गरिहाल्ने–.. अरे हो शाम्भा….कितने आद्मी थे..?
हाम्रो होस्टेलको खाना पकाउने मेसिन बिग्रेपछि हामीलाई ९ नम्बर क्यान्टिनमा खान खुवाउने सम्झौता भएछ ।

हाम्रो मेसको खानाको गुणस्तर खस्किदो थियो । नयाँ क्यान्टिनमा खाना पाउँदा हामीलाई सुरुमा निकै रमाइलो नै लाग्यो । चामल पनि राम्रो, झानेको दाल, मिठो तरकारी, मासु पनि मनग्गे । लु गज्जब रहेछ भन्ने लाग्यो । भिजिटमा आउनु हुने साबहरुले खाना कस्तो छ ? त्यही खाने कि आप्mनै मेसमा फर्कने भनेर सोधे । हामीले खाना राम्रो छ, ९ नम्बर क्यान्टिनमै खाने भनेर रिपोर्ट ग¥यौ । तर ९ नम्बर क्यान्टिनमा खाना खाएको हप्तादिनमै खानाको गुणस्तर घटेर सुँगुरको चारोभैंm भयो । पहिलेको दाल, चामल, तरकारी बेपत्ता भो । त्यो त हामीलाई पासो थापेको पो रहेछ ।

होटल मालिक दार्जिलिङका थिए । (त्यतिबेला डार्जिलिङ्गेहरुलाई बगडे भन्ने गरिन्थ्यो) एकपल्ट मालिकको भाइसँग होस्टेलका दाइहरुबीच डिस्कस भएछ । मालिकको भाइले पनि ‘तिमीहरुजस्तो चारो खाने हो ? हामी त काँसको थालमा व्यान्जन खाने हौ’ भनेर धमास दिएछ । त्यसै राति दाइहरु गएर मालिकको भाइ, मालिक र मालिकको स्वास्नीसमेतलाई राम धुलाई, हनुमान धुलाई गरेछन् । धेरै दिनसम्म उनीहरुको अनुहार देखाउन लायकको थिएन तर त्यो कुरा सिओ अफिससम्म पुग्न पाएन । राति नै उहाँहरुबीच सम्झौता भएको रहेछ त्यसलाई ‘दार्जिलिङ र एसबी होस्टेलबीचको मैत्री सम्झौता’ भनिएको रहेछ । पछिमात्र गाइँगुइँ बाहिर हल्ला सुनियो । यसपछि भने खानाको गुणस्तर केही उकासियो ।

एकपल्ट त्यतिबेलाका साह्रै नामी बत्तीसपुतली भन्ने महिला होस्टेलभित्र छिरिन् । होस्टेलकै एकजना दाइलाई खोज्दै उनी जाँडको सुरमा त्यहाँ आइपुगेकी रहिछन् । खोटाङ बाक्सिलका साह्रै रिसाहा एकजना दाइ सयकुमार राईले ( उहाँ हाल काठमाडौंमा इन्जिनियरिङ्ग पेसामा हुनुहुन्छ रे) ती महिलालाई पेटी नै पेटीले हिर्काउनु भयो । केही समयपछि आरपीहरु आएर ती महिलालाई लगे । तर भोलिपल्ट स्कूलमा यसबारे खुब हल्ला चल्यो । हामी लाजले रातोपिरै भयौं ।

होस्टलबाटै भर्ती जाने हाम्रो कोटा हुन्थ्यो । केही बाहेक होस्टेलमा बस्ने ठीक शरीर भएकाहरु भर्ती भइहाल्थे । होस्टलबाट भर्ती भएका दाइहरु छुट्टीमा आउँदा होस्टेलमा अनिवार्य निस्कन्थे । हामीलाई मासु खुवाउथे । यतिबेला हाम्रो दसै पल्टिन्थ्यो । (दसै पल्टिन्थ्यो शब्द वाम्बुले भाषाशैलीअनुसार बुनिएको वाक्य) उसले पहिले हामीलाई कुटेको सब बिर्सन्थ्यौ । मासुले उसको सबै कसुरहरु फच्चे हुन्थ्यो ।

समयचक्रसँगै एस.बि. होस्टेलको रीतिथितिहरु पनि परिवार्तन हुँदै गए । होस्टेलको व्यवस्थापकीय पक्ष पनि खस्कँदै गयो । होस्टेलको लोकप्रियता पहिले जस्तो रहेन । होस्टेलको व्यवस्थापनको कमजोरीले गर्दा समयमा उपचार नहुँदा पश्चिमको एकजना गुरुङ विद्यार्थीको ज्यानै गयो । २०४२ सालमा म कक्षा १० मा पुग्दा होस्टेलमा बस्ने केटाहरुको संख्या पनि घट्दै गएको थियो । हामीले पनि जुनियरमाथि सामान्य प्रशासन चलायौ नै । यो होस्टेलमा बस्ने छात्रहरुको लागि सामान्य कुरा थियो ।

२०४२ सालमा एसएलसी सकेर होस्टलबाट निस्केपछि एक दुई पल्टबाहेक कहिल्यै म बसेको त्यो होस्टेलमा फर्केर गइन । तर सपनामा सधै त्यही होस्टेललाई देखिरहन्थे । अभैm पनि कहिले काही देख्छु । ब्रिटिस घोपाक्याम्पको अवसानपछि त्यो होस्टल डिपो माविको मातहतमा आयो भन्ने सुनेको थिएँ । तर पछि त्यसलाई भत्काइयो । अहिले त्यो ठाउँमा बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ( द्यएएप्ज्क्ष्क् )को विशाल भवनहरु निर्माण भएका छन् ।

ब्रिटिस घोपाक्याम्पको त्यो सुल्तान अफ ब्रुनाई होस्टेल अब मात्र एउटा सम्झना बनेको छ, त्यस होस्टेलमा बस्ने होस्टेल ब्वाइजहरुको लागि । मैले मेरो बाल्यकाल र स्कूले जीवन बिताएको एसबी होस्टेलको सम्झनामा यत्ति लेखें । वस् ।

हाल– धरान । २०६९ चैत्र ५ गते
(लेखक लिब्जु–भुम्जुको सल्लाहकार हुनुहुन्छ । यो लेख लिब्जु–भुम्जु पूर्णाङ्क ५३, २०७० वैशाख–असार (किरात येले संवत् ३७९२/सन् २०१३ बाट साभार गरिएको हो । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *