सम्पादकीय – पहिचानको जोहो

कला साहित्य -संस्कृति

‘कुनै जातिको मास्नु छ भने उसको भाषा र संस्कृतिबाट विमुख बनाऊ’ नीति नेपालको पुरानो राज्यसत्ताले अपनाएको थियो । ‘एक जाति, एक धर्म, एक भाषा, एक भेष’ नीतिले नेपालका आदिवासी जनजाति समुदाय हुँदैआएका छन् । त्यो चेपुवामा किराती वाम्बुले राईहरूसमेत चेपिदैआएका छन् ।

नेपालको संविधान (२०७२)को प्रस्तावनामा छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै, राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै, सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै… विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौं ।

भाग ३ मौलिक हकअन्तर्गत धारा २६ मा धार्मिक स्वतन्त्रताको हक उल्लेख छ । (१) धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नोे आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ । (२) प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ । तर धार्मिक स्थल तथा धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्न तथा गुठी सम्पत्ति तथा जग्गाको व्यवस्थापनका लागि कानून बनाई नियमित गर्न बाधा पुगेको मानिने छैन । (३) यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ ।’

वाम्बुले राईले आफ्नो उत्पत्ति थलो ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–३ वामद्याल (उँबुगाउँ)को ढ्वाङकुमटारलाई प्रमुख धार्मिक तथा सांस्कृतिक थलो मान्दछन् । यहाँ २०१७ सालमा हालको राज्यलक्ष्मी माध्यमिक विद्यालय स्थापना गरी धार्मिक तथा सांस्कृतिक थलोलाई अतिक्रमणमा पारिदैआएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २०७२ फागुनमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले विद्यालयलाई अन्यत्र सारेर ढ्वाङकुमो सामा स्थलको संरक्षण गर्ने घोषणापत्र जारी ग¥यो । त्यसैअनुरुप वैकल्पिक व्यवस्थासहित संरक्षण पहल अघि बढ्दै आएको छ ।

२०७२ वैशाखको महाभूकम्पपछि एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यस विद्यालयको नयाँ भवन संरचना निर्माण हुने भएको छ । वाम्बुले राई समुदायको धार्मिक थलो बचाउने चाहनालाई बेवास्ता गर्दै वि.व्य.स. र छिमेकी समुदायले यथास्थानमै विद्यालय बन्नुपर्ने नत्र नहुने भन्ने प्रतिशोधको भावना राखेपछि द्वन्द्व बढ्न गयो । अन्ततः हामी उहिल्यैदेखि आपसी सद्भावका साथ रहँदै, बस्दै आएको र अब पनि सँगै रहनुपर्ने तथा सामाजिक सांस्कृतिक परम्परालाई अक्षुण्ण राख्नु पर्ने विषयमा दुईमत रहेन । समाजका व्यक्तिले विद्यालयलाई जग्गा निःशुल्क उपलब्ध गराएका छन् । तसर्थ नयाँ ठाउँमा विद्यालयको भवन निर्माण गर्न राज्य सरकार र अगुवाहरूले गम्भीरतापूर्वक लिएर अघि बढ्न जरुरी छ ।

२०७६ सालको दसै, तिहार, छठ लगायत चाडहरूको उपलक्ष्यमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
(‘इक लिब्जु–भुम्जु’ त्रैमासिक वर्ष ६ अंक ४ र ५ संयुक्त, २०७६ वैशाख–असोज (किरात येले संवत् ३७९८÷सन् २०१९)

Leave a Reply

Your email address will not be published.