नयाँ युग
सोनाम सज्जन किराती
आफैंभित्र हराएको
जाँडको छोक्रा
मात विनाको रक्सी बनेर
छक्याएको दुखिया जीवन
जसरी छपनीमा निचोरिएर
कलिलो बैँस आगोको भट्टिमा खारिन्छ
तब थोपा थोपा हुँदै पसिना बग्छ
मान्छेको ठेस परेर दुखेको दर्द मेट्न
भित्री घाउहरू सम्म्याउँन
र उकाली ओराली ढङढग्याउँन
झर्छ अनिवार्य परीको ताल भिजाएर
जबर्जस्त छ उतिखेर
मेरो हराएको इतिहासको पात्र
वालापन ठेलीका ठेली घोप्टिएर
दिमागै रिङ्गिने गरी भेटिन्छन्
नजिक नजिकपनमा समेटिएर ओइरिन्छन्
जतिखेर ऊ रासन
जाँडको छोक्रा बन्न लायक
कप्टेरो ओइरोमा परिणत हुन्छ
र नक्कली पुँजीवादको बुई चढेर
गाँउघरको अनिदा ढिक्की जाँतोहरू
बेकम्मा सावित भएर खोलाहरू पुग्छन्
तब निदाउँछन् बिहान अबेर सबेर बिर्साउने गरेर
अनि म भुल्न बाध्य हुन्छु
पँधेरा तिरको पानी
सबभन्दा पहिले घर भित्राउने छु
कसेर घाँसको भारी
सिरकभित्र उन्नेछु
मेरो देशको अल्छे ठग पुँजीवादको गफ
र सिक्न सिकाउँन स्कुल हुँदै क्याम्पस
क्याम्पस हुँदै विश्वविद्यालयको आँगन टेकिरहनेछु
तब त आउँनेछ आधुनिक
पुँजीवादी जमानाको नयाँ युग
र ठगिने छ छोराबाट आमा बाउ
र समाजमा लुटेराहरूको सपनाले
जताततै बजार पाउने छ
र म त्यही बजार भाउबाट कसिएर
घाँटी थापी दिइरहनेछु
र अन्तत त्यो मेरो आफ्नै
मुटु कलेजोको ब्यापार सावित हुनेछ ।
रचनाकाल : २०७४ माघ १
हार्दिक आभार छ पत्रिका परिवार प्रति ।