‘मनोकांक्षा–२’ गीतिएल्बम लिएर गीतकार मुकेश राई

कला साहित्य -संस्कृति

गणेश वाम्बुले राई
काठमाडौं– गीतकार मुकेश राईको गीतिएल्बम ‘मनोकांक्षा–२’ सार्वजनिक भएको छ । राष्ट्रगानका सर्जन व्याकुल माइलाको प्रमुख आतिथ्यमा बिहीबार ललितपुरको मानभवनस्थित बिएफबिएस रेडियोको स्टुडियोमा सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको ‘मनोकांक्षा–२’ एल्बममा आठवटा गीत समेटिएका छन् । जसमा ‘मेरो प्यारो नेपाल’, ‘अनमोल मायाको’, ‘दुःखमा झर्ने’, ‘अनमोल मायाको’, ‘साथी तिमी मेरो’, ‘तिमी मेरो संसार’, फिक्का फिक्का भाको छ’ र ‘के कुरा बसन्तको’ बोलका गीत रहेका छन् । यसमा क्रमशः ताराप्रकाश लिम्बु, राजेशपायल राई र बानिका प्रधान, मेलिना राई, मिलन अमात्य, प्रमोद खरेल र अमृता लिम्बुले गाउनु भएको छ । ती गीतहरूमा ताराप्रकाश लिम्बु र हरि लम्सालले संगीत दिनु भएको छ ।

गीतकार राई बेलायतमा रहेर कविता र गीत विधामा कलम चलाउँदै आउनु भएको छ । ‘मनोकांक्षा–२’ उहाँको चौथो कृति हो । यसअघि ‘अनुभूतिका रङहरु’ (कविता संग्रह, २०६८), मनोकांक्षा (गीतिएल्बम, २०७०) र रङ जिन्दगीको (गीतिसंग्रह, २०७२) प्रकाशित छन् ।

बिएफबिएस रेडियोमा प्रत्यक्ष प्रसारणमा सार्वजनिक गरिएको गीतिएल्बमबारे बोल्दै स्टेसन म्यानेर विनोदध्वज खड्काले ब्रिटिस सैनिकमा अवकाशप्राप्त राईको सिर्जना अब्बल रहेको बताउनु भयो । ‘पल्टनघरको अनुभव जस्तो भएपनि सिर्जना शक्ति महत्वपूर्ण हुन्छ, जुन काम मेरा पल्टने भाइ मुकेश राईको गीतले साबित गरेको छ,’ उहाँले भन्नुभयो, ‘मुकेश भाइको पहिलो एल्बम पनि रेडियो बिएफबिएसमै सार्वजनिक गरिएको थियो । अर्को अवसर जुराउनु भएकोमा उहाँलाई हार्दिक बधाई छ ।’

एल्बमबारे कवि÷गीतकार स्वप्निल स्मृतिले समीक्षा गर्दै गीतिलेखनमा प्रयोगका दृष्टिसमेत ‘मनोकांक्षा–२’ नयाँ रहेको बताउनु भयो । प्रमुख अतिथि माइलाले नेपाली गीतिआकाशमा मुकेश राईको छवि अब्बल सावित भएको बताउनु भयो । बिएफबिएस रेडियोका तुल्सी बस्नेतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । त्यसैगरी एल्बमबारे वरिष्ठ गायक गणेश पराजुलीले मुकेश राई आफ्नो अनुज भएको उल्लेख गर्दै इलामे स्रष्टाको सराहना गर्नुभयो । त्यस अवसरमा गीतकार राईका आमा, बुवालगायत नेपाली गीत तथा संगीत क्षेत्रका युवा गायक, गायिकाहरूको उपस्थिति रहेको थियो ।

गीतकार राईको जन्म ४९ वर्षअघि पूर्वी नेपालको इलाम जिल्ला पशुपतिनगर– ४ मा भएको हो । उहाँ आमा रत्नकला राई र पापा जसबहादुर राई (थुलुङ)को जेठा छोरा हुनुहुन्छ । उहाँ एसएलसी सम्मको अध्ययनपछि सन् १९९० मेईमा भर्ती हुनु भएको थियो । उहाँ ब्रिटिस गोर्खा सेनाका क्वीन्स ओन गोर्खा लजिस्टिक कोरमा १७ वर्ष सेवा गरी सन् २००७ मा अवकाश लिनु भएको थियो । अवकाशपछि बेलायतमा बसोबास गर्दैआएका छन् । उहाँका साथमा जीवनसंगीनी सुशीला लाबुङ राई र छोरा मनिष हुनुहुन्छ ।

विद्यार्थी जीवनमै साहित्य रचना गर्नमा रुचि राख्नु हुने मुकेश राई सैनिक जीवनमा पनि आफ्नो रुचिलाई निरन्तरता दिदैआउनु भयो । उहाँको रचनाहरु ‘पर्वते’लगायत विभिन्न पत्रपत्रिकामा छापिदैआएका छन् ।

उहाँको पहिलो कृति ‘अनुभूतिका रङ्गहरू’का लागि ‘सुप्रमा (स्व. सुन्दर प्रसाद मानन्धर) स्मृति पुरस्कार’ बेलायतबाट सन् २०१४ मा पुरस्कृत हुनु भएको छ । मुकेश राई संस्थागत रूपमा अन्तर्राष्ट्रिय नेपाली समाज बेलायत च्याप्टर, किरात राई सांस्कृतिक कलाकार संघ युके, नेपाल गीतकार संघ, नेपाल र इलाम समाज बेलायतको को आजीवन सदस्य हुनुहुन्छ ।

उहाँ कवि तथा गीतकारका रुपमा परिचित हुनुहुन्छ । उहाँको कृति उहाँका अन्य गीति रचनाहरू संगीतवद्ध भई विभिन्न गायक÷गायिकाको गीतिएल्बमहरूमा समेटिएका छन् । ती गीतहरू विभिन्न चलचित्र, वृत्तचित्रमा तथा विभिन्न पत्रपत्रिकाहरुमा फुटकर रचनाहरु प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published.