किरात राई यायोक्खा संघीय कार्यसमिति अध्यक्ष जीवन हाताचो राई भन्नुहुन्छ- ‘किरात प्रदेश नामाकरण अभियान निरन्तर छ’

विचार / ब्लग

‘किरात प्रदेश नामाकरण अभियान निरन्तर छ’
जीवन हाताचो राई
अध्यक्ष, किरात राई यायोक्खा संघीय कार्यसमिति
(जीवनकुमार राईको जन्म २०३४ फागुन २२ गते ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–३ रिनुवालमा भएको हो । आमा अममाया र बुवा रामबहादुर राईको जेठा छोरा उहाँ वाम्बुले राईभित्र हाताचो पाछाको हुनुहुन्छ । उहाँ जीवन हाताचो राई भनेर चिनिनु हुन्छ । उहाँको श्रीमती र दुई छोरी हुनुहुन्छ । उहाँले त्रिविबाट एमबिएस (वित्तशास्त्र) र एमए (राजनीतिशास्त्र) स्नातकोत्तर गर्नुभएको छ । अहिले राजनीतिशास्त्रमा विद्यावारिधि (पीएचडी शोधार्थी, २०७८) हुनुहुन्छ । साहित्यमा गीत, सङ्गीत, कविता सिर्जना गर्नुहुन्छ । उहाँका कृतिहरू : १) जीवनको अनुभूति (गीतिएलबम, २०६७) एकल रचना तथा केही संगीत । २) जोजनखो पौलो (गीतिएलबम, २०६६) संयुक्त रचना तथा गायन । ३) फुरी (गीति एलबम, २०६७) संयुक्त रचना । ४) वाम्बुले राडुयोरल्वाम कवितातिड् (वाम्बुले राई भाषाका कविताहरू, २०६५) संयुक्त संग्रह । ५) प्रधान सम्पादक, सुरिम–शिलाखा (वाम्रासको मुखपत्र, २०६९) छन् । उहाँ ललितपुर महानगरपालिका–१५, सातदोबाटो भेल्पाबस्तीमा सपरिवार बसोबास गर्दै आउनु भएको छ । किरात राई यायोक्खाको २०७९ असोज ११ गते सम्पन्न ११औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष हाताचोसँग २०७९ पुस ४ गते किरात राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वर काठमाडौंमा गणेश राई र श्याम राईले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।)


किरात राई यायोक्खाले छैटौं राष्ट्रिय सम्मेलन २०६३ पछि संस्थागत सदस्यताको प्रावधान खुला ग¥यो । त्यसपछि वाम्रास संस्थाको प्रतिनिधि सदस्यको रूपमा यायोक्खामा आउनु भयो । त्यसपछि अर्को कार्यकाल सदस्य, उपमहासचिव, महासचिव, उपाध्यक्ष हुँदै अहिले ११औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष बन्नु भएको छ । यहाँले कस्तो महसुस गर्दै हुनुहुन्छ ?
धन्यवाद, पृष्ठभूमि पनि बताउनु भएकोले धेरै कुरा गर्नु परेन । यो छैटौं कार्यकालमा आइरहँदा सिंगो किरात राई यायोक्खाको नेतृत्वमा पुगेको छु । म वाम्बुले राई समुदायबाट प्रतिनिधित्व गर्दैछु । वाम्बुले राई जनसंख्यामा थोरै, भूगोलको हिसाबले किरात प्रदेश–१ को पश्चिम भेगबाट प्रतिनिधित्व गरेर केन्द्रमा पुगेको छु । आफ्नो समुदायमार्फत् देश तथा विदेशमा रहनु भएका सम्पूर्ण किरात राई यायोक्खाको सर्वोच्च पद र जिम्मेवारीमा पुग्न पाउँदा आफूलाई गर्व महसुस भइरहेको छ ।

तपाईको नेतृत्व रहेको यायोक्खाको वर्तमान कार्यसमितिको तीन वर्षे कार्ययोजना कस्तो बन्दैछ ?
किरात राई यायोक्खा आफैंमा बहुभाषिक, महाजाति पनि भन्ने गरिन्छ । यो २६ वटा भाषा बोल्ने किरात राई जातिको छाता मातृसंस्था हो । एघारौं राष्ट्रिय महाधिवेशनले २२ बुँदे घोषणपत्र जारी गरेको छ । त्यो घोषणापत्रलाई नै कार्यान्वयन गर्ने गरी अल्पकालीन, मध्यकालीन, दीर्घकालीन विषयहरूलाई सफल गर्ने गरी कार्यक्रमहरू बन्ने हो । त्यसलाई प्राथमिकताका आधारमा टुंगोमा पु¥याउने रहेको छ । र दोस्रो, म आफैंको केसमा हेर्ने हो भने नेतृत्वले पनि फरक पर्छ । २२ बुँदे घोषणापत्रअनुसार सिंगो प्रदेश–१ को नामाकरण गर्नुछ । किरात राई यायोक्खाले विगत लामो समयदेखि त्यसलाई भूगोल, संस्कृति, इतिहासको आधारमा किरात पहिचानसहित नामाकरण गरिनुपर्छ भन्ने आन्दोलन र अभियान जारी छ । त्यसलाई सफल बनाउनु छँदैछ ।

सँगसँगै विभिन्न २६ भाषा समुदायको केन्द्रीय संस्थाहरू छन् । ती सबैको साझा संस्था किरात राई यायोक्खा आफूलाई दावी र प्रस्तुत गर्दैगर्दा केही राईहरू यायोक्खाभित्र विशेष गरी बहुसंख्यक चाम्लिङ, बान्तावा उहाँहरूको बढी नै दबदबा साम्राज्य खडा छ । थोरै संख्यामा रहेका भाषिक समुदायको धेरै भूमिका छैन भन्ने खालको बुझाइहरू छन् । म वाम्बुले राई जो चाहिं थोरै जनसंख्या भएको ओखलढुंगा क्षेत्रबाट नेतृत्व गर्दैछु । त्यस्तो पनि होइन रहेछ कि ६ वटा कार्यकाल काम गरेर देखाएपछि सबैको विश्वास जित्न सकें । निरन्तर काम गर्नसके कार्यकारी भूमिकामा आइपुगिन्छ भन्ने प्रमाणित भएको छ । जो चाहिं किरात राई यायोक्खाप्रति संकोच राखेर आवद्ध नहुनु भएकाहरूलाई कम्तिमा मैले भावनात्मक रूपले, भूगोलको रूपले जोड्न सक्छु कि भन्ने मेरो आफ्नो छुट्टै योजना छ । यसमा हाम्रो भाषिक, थरगत संस्था हेर्ने उपसमिति बन्छ । त्यो उपसमितिलाई बलियो तरिकाले चलायमान राखेर केही यायोक्खामा जोड्ने काम हुनेछ । घोषणापत्र कार्यान्वयन गरिनेछ । ती लक्ष्यलाई तीन वर्षे कार्यकालमा सफलतापूर्वक सम्पन्न गर्नेछौं । यायोक्खाको गरिमालाई उँचो राख्ने काम हुन्छ ।

यायोक्खा सामाजिक संगठन हो । र यसको विस्तार र भूमिका अलि राजनीतिकरण भयो भन्ने छ नि ?
यसमा दुईटा कुरा छ । सामाजिक संस्था हो । स्थापनाकालमा विशुद्ध सामाजिक विषयमात्र थियो । अहिलेको एक नम्बर प्रदेश, पहाडी क्षेत्रबाट तराई मधेस, राजधानीमा अवसरको खोजी गर्दै आउँदै गर्दा हामीलाई संस्कार, संस्कृति, समुदायहरू चाहियो । त्यसको संरक्षण गर्ने, संवद्र्धन गर्ने, प्रवद्र्धन गर्ने काम राज्यले गरिदिंदैन । त्यसकारण समुदाय आफैं जागरुक भएर यो यायोक्खा संस्था स्थापना भएको हो । तर संस्कार, संस्कृति, भाषा यी कुराहरूलाई संरक्षण संवद्र्धन गर्ने कुराहरू समुदाय एक्लैले नभएर राज्यले पनि त्यसको अपनत्व ग्रहण गर्नुपर्ने हुन्छ । राज्यसँग पनि सहकार्य गर्ने गरी राज्यलाई खबरदारी गर्ने सन्दर्भमा चाहिं पछिल्लो समयमा अधिकारको कुराहरू, संघीयता, पहिचान, प्रदेश, विकेन्द्रिकरणका निम्ति लड्नु पर्ने भयो ।

त्यसो हुँदैगर्दा किरात राई यायोक्खाले चाहिं एक नम्बर प्रदेशलाई पाँच हजार वर्षअघिको किरात सभ्यताको इतिहास छ, जो आफैं ३२ पुस्ता यो देशको राज्यमात्र होइन, यो देशमा सही तरिकाले शासन संचालन गर्ने पद्धति संस्थापन गरेका थिए । त्यो इतिहासको सम्मान गरिनु पर्छ भनेर किरात राई यायोक्खाले एक नम्बर प्रदेशलाई किरात प्रदेश नामाकरण गरिनुपर्छ भनेर राजनीतिक मुद्दा उठाएको हो ।

त्यस कारणले किरात राई यायोक्खाले पछिल्लो समयमा यो मुद्दा उठाउँदै गर्दा आफैं राजनीति गर्ने होइन । राजनीति गर्नेहरू, राजनीतिज्ञहरू, राजनीतिक व्यक्तित्वहरू र तिनका संस्थाहरूलाई खबदारी गर्ने, आम जनसमुदायलाई सचेत गर्ने काम गर्दै आएको छ । जनचेतना फैलाउने काम पक्कै पनि राजनीति गरेकोजस्तो देखिन्छ ।

तर केही आरोप यस्तो पनि छ कि नेतृत्व चयनको सन्दर्भमा विभिन्न पार्टीगत लबिङ, गुटहरू हुन्छ । त्यो भइरहँदा चलखेल हुनेको मात्रै वर्चस्व रहन्छ भन्ने कुराहरू छ । त्यो सत्य होइन किनभने किरात राई यायोक्खाले अहिलेसम्म कुनै निर्वाचन गर्ने गरेको छैन । किन भन्दाखेरी यो संस्था सबैको साझा हुनुपर्छ । जब निर्वाचन हुन्छ, त्यो लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्ने हो भने राजनीतिक विषयहरू घुसपैठ हुन्छ । त्यसैले गर्दा यायोक्खा स्थापनाको ३५ वर्ष अर्थात् एघारौं राष्ट्रिय महाधिवेशनसम्म नेतृत्व चयन आम सहमतिमा सर्वसम्मत हुने परम्परा कायम छ ।

यायोक्खाको एघारौं महाधिवेशनपछि जारी २२ बुँदे घोषणापत्रको पहिलो नम्बरमै प्रदेश–१ किरात प्रदेश नामाकरणका निम्ति आन्दोलन छेड्ने भनेको छ । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लक्षित गरिएको थियो । निर्वाचन सम्पन्न भइसक्यो । यसको चित्रचाहिं कस्तो आयो, यायोक्खाले चाहेजस्तो भयो त ?
हामीले यो भन्दा अगाडि नै पाँच ठूला दलहरूलाई पहिचानका आधारमा प्रदेश–१ लाई किरात प्रदेश नामाकरण ज्ञापनपत्रहरू बुझाएका छौं । प्रदेश–१ को चौध वटै जिल्लाका दलहरूलाई ज्ञापनपत्र बुझाएका छौं । यायोक्खाले प्रदेश नामाकरण अभिमुखीकरण अभियान चलाएको छ । चौधवटै जिल्लामा केन्द्रको सहजीकरण र प्रदेशको नेतृत्वमा कात्तिक १५ गतेभित्र त्यहाँ उम्मेदवारलाई बोलाएर हाम्रा ज्ञापनपत्र र घोषणापत्र दिएका छौं । निर्वाचन भइसकेपछि तपाईंहरूको जिम्मेवारी यो हुनेछ भनेर यायोक्खाले ध्यानाकर्षण गराएको छ । उपस्थित हुन नसकेका उम्मेदवारलाई तिनका पार्टीका जिल्ला कार्यसमिति, नगर कार्यसमिति, गाउँ कार्यसमितिहरूलाई ज्ञापनपत्र बुझाएका छौं । एक नम्बर प्रदेशको शीर्षस्थ नेतादेखि जति उम्मेदवारहरू छन्, सबैसमक्ष हाम्रा मागपत्रहरू, खबरदारीपत्रहरू पुगेको छ । जो जति निर्वाचित भएर आएका छन्, उहाँहरू सबैले बुझ्नु भएको छ । विजयी भएर आउनु भएकालाई शुभकामना छ ।

एक नम्बर प्रदेश नामाकरण सन्दर्भमा मुख्यमन्त्री माननीय राजेन्द्र राईले जसरी अडान लिएर किरात प्रदेशको विषयमा बोल्नु भयो । उहाँलाई भोजपुरबाट अत्याधिक बहुमत ल्याएर विजयी हुनु भएको छ । त्यसले पहिचान, संघीयता विषयमा बोल्नेहरूले प्रतिनिधित्व गर्नुपर्छ भन्ने अनुमोदन भएको छ । त्यसले एउटा सन्देश गएको छ ।

अब अर्को चरणमा जान्छौं, जब प्रदेशसभाको पहिलो बैठक हुन्छ । त्यो बैठकमा विराटनगरमै गएर त्यहीं सबैलाई बोलाएर हामीले सम्मान गर्छौं । खबरदारी पनि गर्छौं । गृहकार्य दिन्छौं । यसअघि उहाँहरूको प्रतिवद्धता हामीले लियौं । अब काम हेर्नुछ । विभिन्न राजनीतिक अभिष्ट, स्वार्थको कारणले गर्दा प्रतिगमनतिर लाग्ने, हाम्रो आवाज र आन्दोलनलाई बायस गर्ने अवस्था आयो भने कडा खबरदारी गर्छौं । जसरी हिजो मुख्यमन्त्रीको कार्यालय, प्रदेशसभाको कार्यालय घेराउ ग¥यौं । प्रदेशसभा हामीले चल्न दिएनौं ।

किरात राई यायोक्खालगायत पहिचानप्रेमी विभिन्न संघसंस्थाहरू र एक नम्बर प्रदेशका आम प्रदेशवासीलाई विभिन्न संघसंस्थामार्फत् हामीले एकवद्ध गरेर फेरि उहाँहरूलाई दवाव दिने काम गर्छौं । मलाई लाग्छ, अब पनि एक नम्बर प्रदेशको नामाकरण नभई द्वन्द्व निम्त्याएर उहाँहरू अघि बढ्न खोज्नु हुन्छ । पेल्न खोज्नु हुन्छ । कसैले प्रदेश खारेज गर भन्ने लाइनमा जान्छ । कोही चाहिं संघीयताको काम छैन भन्नेतिर जान्छ भने त्यो सिधै द्वन्द्व निम्त्याउनु हो । त्यो काम उहाँहरू (प्रदेश सांसदहरू)ले नगरोस् भन्नेमा किरात राई यायोक्खा खबरदारी गर्दछ ।

यायोक्खाको जिल्ला कार्यसमिति चलायमान राख्न कस्तो रणनीति अपनाउनु हुन्छ ?
यायोक्खाका पच्चिस जिल्ला कार्यसमिति छन् । कोही धेरै चलायमान छन् । कोही अलि कम छन् । बसाईसराई भएर नयाँ ठाउँमा गइन्छ, त्यो ठाउँमा संस्कार, संस्कृतिको अभावहरू, समुदायको अभावहरू खड्किएपछि त्यहाँ संगठन बन्छ । संगठन बनिसकेपछि त्यो संगठन निक्कै क्रियाशील हुनेरहेछ । तर जुन ठाउँमा हामी परापूर्वकालदेखि बसिरहेका ठाउँहरू छन् । ती ठाउँमा स्वतःस्फुर्त भाषा जीवित छ । संस्कृतिहरू, परम्पराहरू जीवित छ । त्यस्तो ठाउँहरूमा भाषा जोगाउनु पर्छ । संस्कृति जोगाउनु पर्छ भनिरहनु पर्दैन । तसर्थ त्यस्ता जिल्ला कार्यसमितिहरू कम चलायमान हुने पाइएको छ ।
एक नम्बर प्रदेशमा सरकारी कामकाजको भाषामा राई समूहको कुनै भाषा पर्न सकेको छैन । चाम्लिङ होस् या बान्तावा होस् कुनै पनि एउटा पर्नुपर्छ । मेरै भाषा पर्नुपर्छ भन्ने छैन । त्यसबारे हामीले खबरदारी गरिरहेका छौं ।
विभिन्न पालिकाहरू छन् । सम्भावना भएका पालिकाहरूमा किरात राई समूहका भाषाहरू सरकारी कामकाजको भाषा हुनुपर्छ । पाठ्यपुस्तक बनाएर सरकारी विद्यालयमा पठनपाठन हुनुपर्छ । जसरी संस्कृत पढाइन्छ, त्यसैगरी पठनपाठन हुुनुपर्छ ।
त्यसैगरी विभिन्न गढिगौडाहरू छन् । ऐतिहासिक पुरातात्विक स्थलहरूको संरक्षण, संवद्र्धन गर्ने कामहरू छन् । यायोक्खा जिल्ला कार्यसमितिहरूले नगरपालिका, गाउँपालिका, वडापालिकाहरूमा संगठन विस्तार गर्दै क्रियाकलाप सुचारु राख्ने हो । स्थानीय सरकार एकदम बलिया छन् । हाम्रो सामाजिक संस्थाले राजनीतिक आकर्षण नल्याउने भएको कारणले गर्दा चुनौती छ । तथापि सामाजिक कामहरू गर्नु भनेको सानो छाती, सानो दिलले हुँदैन । ठूलो छाती भएकाहरू, ठूलो दिल भएका थुप्रै किरात राईहरू छन् । उहाँहरू हामीसँग आवद्ध हुने नै छ । हामी किरात राई यायोक्खाको जिल्ला, नगर, गाउँपालिका, वडा समितिहरूलाई अझ सशक्तिकृत गरी परिचालन गर्नेछौं ।

यायोक्खाका आठवटा भ्रातृसंगठन छन् । यसको कामचाहिं के के हुन्छ ?
यायोक्खा भ्रातृसंगठन भनेको मातृसंस्थाले आवश्यकताअनुसार गठन गर्ने हो । विशेष विषय र विशेषताका आधारमा भ्रातृसंगठनहरू गठन गर्ने हो । किरात राई यायोक्खाको पृष्ठभूमि कस्तो छ भन्दाखेरी विभिन्न विशेषता, विषयहरूसँग सम्बन्धित संगठन बनेका छन् । जो चाहिं किरात राईहरूको पक्षमा काम गर्ने हो । जस्तो किरात राई विद्यार्थी संघले विद्यार्थी सम्बन्धी कलेज, क्याम्पसहरूमा क्रियाकलाप संचालन गर्ने हो । गाउँबाट सहरी क्षेत्र आउनेलाई अध्ययनका निम्ति सहयोग गर्ने हो ।
खेलकुदले खेल प्रवद्र्धन गर्ने र योगदान गर्ने छन् । कर्मचारी लोकसेवा आयोग प्रवेशका निम्ति निरन्तर तालिम संचालन गर्दै आएको छ । कलाकार संघले कलाकारिताको काम गर्दैछ । राई पत्रकार संघले पत्रकारिता क्षेत्रमा प्रवद्र्धन गर्दैआएको छ । लेखकले लेखन क्षेत्रमा प्रवद्र्धन गर्दैछ । उनीहरूको हकहितदेखि विभिन्न ठाउँमा प्रतिनिधित्व गर्ने सन्दर्भमा उहाँहरूले काम गर्दै आउनु भएको छ ।
कर्मचारी मंच हाम्रो गर्विलो भ्रातृसंगठन हो । यायोक्खाले सुरु गरेको लोकसेवा प्रवेश तालिम निरन्तर अभियान सुचारु राख्नु भएको छ । प्रतिफलमा आज तीन सयभन्दा बढी किरात राई अधिकृत हुनुहुन्छ । सुम्निमा संघ, युवा संघ क्रियाशील छन् । किरात राई यायोक्खाले गठन गरेपनि भ्रातृसंठनले विषयसँग सम्बन्धित काम गर्दैआएका छन् । यायोक्खासँग साझेदारी गरेरसमेत समुदायलाई नै फाइदा पुग्ने, हित हुने भ्रातृसंगठनले काम गर्छन् ।

किरात राई प्रज्ञा परिषद् यायोक्खाको कस्तो अंग हो ?
किरात राई यायोक्खाभित्र बौद्धिक वर्ग, विभिन्न विषय, क्षेत्रहरूको माथिल्लो तहमा पुगेकाहरू, विषयविज्ञहरूलाई लिएर प्राज्ञिक व्यक्तित्वहरूको संगठन हो । यो संगठनले किरात राई यायोक्खाको ‘थिङ्क ट्याङ्क’को रूपमा काम गर्छ । विभिन्न विषयको प्राज्ञिक क्षेत्रहरूमा प्रज्ञा परिषदले साथ दिन्छ । निर्देशित गर्छ । सुझावकर्ता, सहयोगीकर्ताका रूपमा प्रज्ञा परिषद् हो भने सँगसँगै प्राज्ञिक क्षेत्रहरू भाषा, संस्कृति, कलाकारिता, सिर्जनशील कामहरू गर्छ । राज्यसँग लड्नु पर्ने अधिकारका निम्ति आवश्यक प्राज्ञिक अध्ययन अनुसन्धान र प्रकाशन कार्यमा टेवा पु¥याउँछ ।
किरात राई यायोक्खाले समुदायका निम्ति गर्नुपर्ने कुराहरू प्राज्ञिक संगठनले गर्छ । यायोक्खाले समग्र विषय सम्हाल्छ । प्राज्ञिक विषय र सिर्जनात्मक काम गर्ने भएको कारणले किरात राई यायोक्खाको विशेष महत्वपूर्ण अंक किरात प्रज्ञा परिषद हो ।

छब्बिस भाषी किरात राई छौं । भाषिक संस्थाहरू छन् । तपाईं स्वयं पनि वाम्बुले राई समाज, नेपाल (वाम्रास) को महासचिव हुनुहुन्छ । भाषिक संस्थालाई चलायमान राख्ने उत्तम उपायहरू के के हुनसक्छ ?
२६ भाषाका संस्था छन्, आ–आफ्नै कार्यसमिति छन् । आफ्नो भाषा, संस्कृति, परम्परा केही न केही फरक छ । स्वतस्फूर्त रूपले गठन भएका संस्था हुन् । यायोक्खाले हामी नेतृत्व गछौं, सबै भाषिक, थरगत संस्थाको छाता संस्था हो भनेर आह्वान गरेपछि आवद्ध भएका संस्था हुन् । यायोक्खाले भ्रातसंगठन, जिल्ला कार्यसमितिको गठन र निर्देशनात्मक कार्य गर्नसक्छ । तर भाषिक, थरगत संस्थालाई त्यसो गर्न सक्दैन ।

भाषिक संस्थाले यायोक्खालाई भाषाहरूको श्रीवृद्धि, विद्यालयमा पठनपाठन, पाठ्यपुस्तक निर्माण कार्यमा सल्लाह दिंदा या आफैंले गरिरहँदा समन्वय, सल्लाह, सुझाव, परामर्श लिनसक्छ । प्रज्ञा परिषद संवद्ध भाषाविद्हरूले वर्णमाला, पाठ्यपुस्तक निर्माणमा सहजीकरण गर्दै आउनु भएको छ । जिल्ला कार्यसमिति, नगर कार्यसमिति, गाउँ कार्यसमितिलाई पठनपाठनको लागि पहल गरिदिन त्यहाँका जनप्रतिनिधिहरूसँग सहजीकरण गर्नेदेखि लिएर समग्रमा भाषिक, थरगत संस्थाले उहाँहरूले गर्ने गतिविधिको समष्टिगत गतिविधिहरू यायोक्खाको आफ्नो हो ।

यायोक्खाले विवेक, बौद्धिकता, जनपरिचालन गरेर साथ दिन सक्छ । गर्दै पनि आएको छ । यायोक्खा सामाजिक संस्था भएको र भाषिक, थरगत संस्था पनि सामाजिक संस्था भएकोले राज्यको विभिन्न अंग जति प्रभावकारीचाहिं छैन । तर यायोक्खा जिम्मेवारीविहीन छाता संस्थामात्रै दावी गरेको अवस्था होइन ।

यायोक्खाले किरात सिरिजङ्गा लिपिलाई स्थापनाकालमै आफ्नो लोगोमा अंकित गरेको छ । अब लिपिलाई कसरी अगाडि बढाउँछ ?
किरात सिरिजङ्गा लिपि सुरुमा आत्मसाथ गर्ने, अपनत्व ग्रहण गर्ने काम भयो । तर बीचमा यो राईको होइन, लिम्बूको मात्र हो भन्ने भयो । लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङ छ । उहाँहरूसँग विभिन्न चरण र कालखण्डमा किरात याक्खा छुम्मा, सुनुवार सेवा समाजको साझाकरण गर्ने कुरा भयो । किरात समन्वय समिति बन्यो । लिम्बूले लिपिलाई इनोभेसन गरे । प्रतिपादन ग¥यो । प्रयोग गरेर बचाउँदै आयो । यसलाई समग्र किरातीको बनाइयो भने बढी चलायमान हुने, जिवन्त, प्रयोग हुने, यसको महत्व पनि बढ्ने भन्ने सन्दर्भमा लामो समयसम्म छलफल गर्दै आयौं । पछिल्लो समयमा चार किरातबीच सहमति भयो ।

लिम्बूले सिरिजङ्गा लिपिमात्र भनेर चलाउँदै आउनु भएको छ । किरात याक्थुङ चुम्लुङले २०४९-५० सालतिर किरात सिरिजङ्गा लिपि नामाकरण गर्ने निर्णय गरेको रहेछ । अहिले फेरि किरात सिरिजङ्गा लिपि भनेर प्रयोग साझा निर्णय गरेर छिनोफानो भएको छ । किरात सिरिजङ्गा अध्ययन कार्यदल, २०७८ निर्माण भई विभिन्न किराती भाषाहरू, जसमा किरात राईको २६ भाषाहरूको विशेषता सम्बोधन गर्ने गरी केही लिपि प्रतिपादन भएका छन् ।

त्यसयता यायोक्खाले प्रज्ञा परिषद्को समन्वयमा किरात सिरिजङ्गा लिपिको एकहप्ते प्रशिक्षण चलाएको छ । यति सुरुवात भइसकेपछि अब क्रमशः पाठ्यक्रम पाठ्यपुस्तकमा प्रयोग हुन सुरु भएको छ । संस्थाको लेटरहेड, ब्यानर आदिमा प्रयोग गर्ने चलन बढेको छ । मुख्यतः विद्यालय तहमै सिकाई कार्यको थालनी भएको छ ।

एकातर्फ हामी राई होइनौं भन्ने दाजुभाइहरू हुनुुहुन्छ । किरात राई एकताको निम्ति यायोक्खाको पहल कस्तो रहन्छ ?
अघि पनि भनें । म किरात प्रदेश भूगोलको पश्चिम भेगबाट थोरै संख्यामा रहेका वाम्बुले राईको प्रतिनिधित्व गर्छु । विशेष गरी राई होइनौं भन्ने मुद्दा छ । त्यो सँगै उहाँहरूको आरोप छ, किरात राई यायोक्खा बान्तावाको नाम हो । र त्यहाँ बान्तावाहरूको हावी छ । अथवा चाम्लिङको रैछाकुले, तायामा, खियामा, वाबु जस्ता उनीहरूकै नाममा मात्र हुने भन्ने आरोप छ । यसरी चाम्लिङ र बान्तावाको हावी भएको हाउगुजी छ । त्यो कुराहरूलाई चिर्नको लागि म आफू पनि नेतृत्वमा आइपुगेको छु ।

दोस्रो कुरा मैले बारम्बार भन्दैआएको छु । अब ठूलो जनसंख्या भएकाहरूले नै अलि ठूलो छाती पनि गर्नुपर्छ । सानो चिजलाई जोगाउन ठूलोहरूले नै पहल गर्नुप¥यो । सानोले गरेरमात्र हुँदैन । हात्तीले मुसालाई नै जोगाउने हो, मुसामात्रै जोगिएर हुन्न । यायोक्खामा थोरै संख्यामा रहेकाहरू पनि नेतृत्वमा आइरहँदाखेरी चाम्लिङका अभिभावकहरू र यायोक्खालाई भित्रबाट एक ढिक्का बनाउन सक्ने धेरै चाम्लिङहरू पनि सोचिरहनु भएको छ । सुझावहरू दिइरहनु भएको छ कि केही कार्यकाल पछाडि तीनवटा कार्यकाल चाम्लिङको मात्र नेतृत्व हुनेरहेछ । त्यसकारण यसलाई चिर्नको लागि विशेष व्यवस्था ल्याउनु पर्छ भनेर चाम्लिङकै अग्रजहरू भन्दै आउनु भएको छ । थोरै संख्यामा रहेका राईहरू र यायोक्खाको दूरी बढ्न नदिनेतर्फ व्यवस्था परिवर्तन गरेर नेतृत्वमा अवसर प्रदान गर्दै जिम्मेवारी दिइएको छ ।

अर्को, राई होइनौं भन्ने मुद्दा छ । यो ऐतिहासिक दस्तावजे, प्रमाण, तथ्यहरू लिएर किरात राई यायोक्खा बसेको छ । जो राई होइनौं भन्छ, उहाँहरूसँग यायोक्खाले असन्तुष्ट बिद्रोही पक्षलाई ल्याउने र मिलाउने काम गर्दैछ । सँगसँगै उहाँहरू यायोक्खाले आह्वान गर्दा उहाँहरूले सुन्ने छातीचाहिं बनाउनु पर्छ । उहाँहरू सुन्नै हुन्न, आफ्नो कुरामात्र सुनाएर जानुहुन्छ । राई पदवी पगरी हो भन्दै हिड्नु हुन्छ भने वार्ता नै नभइसकेपछि निचोड निस्किदैन । टुँगोमा पुगिदैन । त्यसकारण राई हौं, होइनौं भन्ने विषयमा हाम्रो भाषाविद्, इतिहासविद् लगायत किरात राई यायोक्खा यसको लागि तयार छ । राई कुनै कसैले दिएको पदवी होइन । एउटा समुदायले सबैभन्दा आर्जन गरेको, गर्विलो इतिहास बनाएको, गरिमा स्थापित गरेको शब्द समुदायको पहिचान भइसकेको छ ।

उहाँहरू पारुहाङ, सुम्निमा मान्नुहुन्छ । रैछाकुले भनौं खाक्चिलुपा भनौं मान्छे उही नै हो । मुन्दुम उही नै हो सबैको । संस्कार केही फरक होला । कथा उही छ । सभ्यता उही छ । इतिहास सबै त्यही नै छ । त्यसकारण पारुहाङ या कुलपितृले फलना जाति है भनेर दिएको पनि होइन । यो त समुदायले आर्जन गरेको हो । पृथ्वीनारायण शाहले दिएको होइन । हामी सँगै बसेर त्यसको छिनाफानो गर्नुपर्छ । एकले अर्कोलाई बहिस्करण गर्ने हो र टेबुलवार्ता नगर्ने हो भने जिम्मेवार भइन्न । त्यसकारण राई होइनौं भन्नेहरू जति पनि छन् उहाँहरूलाई नेतृत्वका हिसाबले किरात राई यायोक्खाले सोचिरहेको छ । हामी सँगै बसेर निकास दिन सकिन्छ । हामी एक भयौं भनेमात्र किरात प्रदेश नामाकरण हुनसक्छ । हाम्रो सभ्यता, हाम्रो गर्विलो इतिहासले आर्जन गरेको राईको विषयमा यायोक्खा ढुक्क छ । नेतृत्वको सन्दर्भमा हामी गम्भीर छौं ।

प्रसंग बदलौं । किरात राई यायोक्खाको मुखपत्र ‘निप्सुङ’ कहिले कसरी प्रकाशन हुँदैआएको छ ?
निप्सुङ अहिले ३८औं अंक प्रकाशित छ । यसलाई टिम बनाएर प्रकाशित गर्ने गर्छौं । नियमित प्रकाशनको लागि छुट्टै कोष छैन । पत्रिका बेचेर लागत उठाउन सम्भव छैन । जिल्ला कार्यसमितिहरूलाई मूल्यको पचास प्रतिशत छुटमा पठाउन लगाउँदासमेत सम्भव भएन । हाम्रो समुदायमा पुस्तक, पत्रपत्रिका पढ्ने स्वभाव छैन । त्यसकारण हामीले नियमित प्रकाशन गर्न सकेका छैनौं । मूल चुनौती आर्थिक नै हो । तसर्थ आवश्यकताअनुसार हरेक कार्यकालमा एउटा–दुइटा निप्सुङ प्रकाशन गर्छौं ।

यायोक्खाले भावी पुस्ताका लागि के कस्तो पुस्तकहरू प्रकाशन गर्दै आएको छ ?
यायोक्खाको मुखपत्र निप्सुङमा धेरै कुरा अटाएको छ । त्यसबाहेक विशेष समयमा विभिन्न विषयका पुस्तक प्रकाशित छन् । पछिल्लो पटक ‘किरात सभ्यता’ सार्वजनिक गरेको छ । विशेष अभियानहरू, किरात राई अन्तर्राष्ट्रिय सम्मेलनका दस्तावेजहरू प्रकाशित गरेको छ । यायोक्खामा विभिन्न शीर्षकका अक्षयकोषको अभिलेख पुस्तक प्रकाशित छ । प्रज्ञा परिषद्ले गरेको अध्ययन, अनुसन्धान लगायत सिर्जनात्मक कामलाई पुस्तक प्रकाशन गर्ने गरिएको छ । हरेक भ्रातृसंगठनको आ–आफ्नै विषयगत मुखपत्रहरू प्रकाशित छन् । संस्कृति, संस्कार, ऐतिहासिक गढीगौडाहरू लगायत विषयमा प्रकाशित छन् । तर यायोक्खा आफैंले चाहिं योजनावद्ध ढंगले धेरै सिर्जनाका काम सकेको छैन ।

तपाईं व्यक्तिगत रूपमा विद्यावारिधि (पीएचडी) शोधार्थी हुनुहुन्छ । व्यावसायिक रूपमा सहकारी संस्थाको कार्यकारी अध्यक्ष हुनुहुन्छ । सामाजिक संघसंस्थाहरूको नेतृत्व पनि गर्दै हुनुहुन्छ । समय व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
समय व्यवस्थापन एकदमै चुनौतीपूर्ण छ । यो काम यति बेलादेखि यति बेलासम्म भन्ने तालिका छैन । सहकारीमा दशदेखि पाँच–छ बजेसम्म हो । तथापि म त्यहाँको अध्यक्ष हुनुको नाताले अरुभन्दा मलाई अलिक सहज छ । आफ्नो कामहरू पहिलो चरणमा सक्ने त्यसपछि अरु गर्नसक्छु ।

अध्ययनको सवालमा त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र केन्द्रीय विभागले एमफिल÷पीएचडी अध्ययनका निम्ति दुई सेमेस्टर अनिवार्य उपस्थित भएर पढ्नु पर्ने व्यवस्था गरेको छ । उपस्थिति, विषयगत अध्ययन प्रस्तुति, टर्म पेपरहरू बुझाउनु पर्ने काम सकिएको छ । हामी अब शोधपत्र लेख्ने चरणमा पुगेका छौं । त्यसकारण यो बेला यो काम गर्नैपर्छ भन्नेभन्दा समय मिलाएर गर्न सकिने अवस्था छ । यसअघि यायोक्खाको उपाध्यक्ष हुँदाखेरी नै कक्षामा उपस्थित भएर पढ्नु पर्ने काम सकिएको थियो ।
यायोक्खाको सन्दर्भमा कोही कसैको मृत्यु भयो या दुर्घटना भयो कुदिहाल्नु पर्ने हुन्छ । कहीं कुनै पनि मुघालाई लिएर डेलिगेसन जानुपर्ने हुन्छ । मुख्यकुरा यायोक्खालाई आपतकालीन अवस्थामा कुनै पनि बेला तयार भएर हिंडिहाल्नुपर्ने कुदिहाल्नु पर्ने अवस्थामा पनि तयार छु ।

पूर्वयोजना अनुसारका कामहरू गर्दै जानु त छँदैछ । सहजचाहिं छैन । व्यस्तचाहिं छु । तर अस्तव्यस्त छैन । मानसिक रूपमा तयार भएर काम गर्दैछौं । मेरो कार्यसमितिको टिमबीच आपसी तालमेल मिलाउने प्रयास निरन्तर छ । म यायोक्खा केन्द्रीय कार्यसमितिमा आवद्ध भएको १६ वर्ष भइसक्यो । अभ्यस्त भइसकें । त्यसकारण यसलाई त्यस्तो बोझिलो रुपमा लिएको छैन ।

तपाईको कार्यकालमा यायोक्खाले कस्तो फड्को मार्छ भनेर हामी आशा राख्न सक्छौं ?
होइन, एउटा सामान्य मानव हुँ । हामी त्यस्तो एक्कैचोटि क्यारिज्मेटिक खालको क्षमता भएको खालको मान्छे होइन । म केन्द्रीय सदस्य दुई पल्ट, त्यसपछि विस्तारै पद जिम्मेवारी लिदैआएको हो । एक्कैचोटि जम्प गरेरे आएको होइन । सबै जिम्मेवारीहरू पारगर्दै आएको कारणले गर्दा यायोक्खालाई एउटा संस्थागत सुशासन, विधि, पद्धति निरन्त राख्ने हो । यायोक्खा संस्थालाई चलायनमान राख्ने काम हुन्छ ।

दोस्रो, अघि भनें किरात राई एकतालाई टुँगोमा पु¥याउने काम हुन्छ । तेस्रो, घोषणापत्रको पहिलो नम्बरमा भएको किरात प्रदेश नामाकरणलाई बिर्सिन हुन्न । मास्न पाइन्न भन्ने आन्दोलनलाई सार्थक बनाउने पहिलो प्राथमिकता रहेको छ ।

किरात राईभित्रका विभिन्न भाषा स्थानीय तहमा सरकारी कामकाजको भाषा, विद्यालयमा पठनपाठन व्यवस्था, किरात सिरिजङ्गा लिपि प्रयोग, विभिन्न किरात चाडहरूको प्रवद्र्धनमा हाम्रो पहल हुन्छ । सँगसँगै जनगणनामा राई होइनौं भन्ने सवालमा राज्यले वास्तविक तथ्यलाई भन्दा मिथ्यालाई बढी ढल्केको पाएका छौं । तथ्यांक विभागलाई पटक ध्यानाकर्षण गराउँदै आएका छौं । आदिवासी जनजाति आयोग, भाषा आयोगलाई ध्यानाकर्षण गराएका छौं ।

हामी अहिले प्रदेश १ किरात प्रदेश नामाकरणकै विषयले हाम्रो ध्यान खिचेको छ । लोक सेवा आयोगले समावेशिता खारेज गर्न खोजेको विषय छ । यिनै कुराहरूमा संगठित रूपमा संस्थागत सुशासनका निम्ति मैले यायोक्खामा काम गरेको हुँदा महाधिवेशनमा आउने र अरु बेला हराउने कुरालाई निरुत्साहित गर्छु । त्यसको मूल्यांकन कमिटी बनाएर आगामी महाधिवेशनहरूमा अझ सशक्त, यायोक्खाप्रति प्रतिवद्ध जिम्मेवार मान्छेहरूको नेतृत्व विकास गर्नेछु ।

अन्तमा, इक लिब्जु–भुम्जु पत्रिकालाई तपाई के भन्नु हुन्छ ?
लिब्जु–भुम्जु (र पछि इक लिब्जु–भुम्जु) पत्रिका यस्तो पत्रिका हो, जसले सिंगो समुदायलाई गाइड गरेको छ । २०५० सालदेखि लिब्जु–भुम्जु पत्रिकामार्फत् विभिन्न सामग्री निरन्तर प्रकाशन गर्दैआएको छ । यसले समुदायको मातृसंस्था आवश्यक छ भन्ने जागरण पैदा ग¥यो । फलस्वरूपमा २०५४ सालमा वाम्बुले राई समाज, नेपाल (वाम्रास) गठन भयो । अहिले समाजले जति पनि आफ्नो समृद्धिका निम्ति गतिविधि गर्छ, भाषा, संस्कृतिदेखि वाम्रास भवन निर्माणसम्मको कदम एउटा छ ।

सँगसँगै ‘इक लिब्जु–भुम्जु’ पत्रिकामार्फत् कुनाकन्दरामा वाम्बुले राईहरू अरु राईहरू छन्, ती राईहरूलाई मातृभाषामा कविता लेख्नु पर्छ । सिर्जना गर्नुपर्छ । जस्तो भएपनि लेख भन्ने इक लिब्जु–भुम्जु र यसका प्रधान सम्पादक गणेश राई हुनुहुन्छ । हामीले २३औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता सम्पन्न गराइसकेका छौं । यसमा इक लिब्जु–भुम्जुको ठूलो भूमिका छ ।

सगर्वका साथ भन्न चाहन्छु कि इक लिब्जुभुम्जु पत्रिकामा लेख्नु पर्छ भनेर सम्पादक गणेश दाइले प्रेरित गर्नुभयो । मैले कविता कम र गीत केही लेखें । म सराहना गर्न चाहन्छ । अन्तमा इक लिब्जुभुम्जुको अहिलेसम्मको यात्रा छ, पत्रिकाले समुदायले गरेको योगदान छ । ज्यादै प्रशंसनीय, अत्यन्तै सम्मानजनक छ । इक लिब्जुभुम्जुले आगामी दिनमा आफ्नो समुदायलाई चलायमान राख्ने, अगाडि बढाउने, सिर्जनाका कुराहरूमा अग्रसरता दिलाउने, वाम्बुले राईको सारा विषय र किरात राई समुदायको समग्र पहिचानका पक्षमा सामग्री समेट्ने काम अझ सशक्त रूपमा गरोस् । मेरो यही शुभकामना छ ।

(प्रस्तुत अन्तरवार्ता इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष ९ अंक ३, पूर्णाङ्क १८, (लिब्जुभुम्जुको ९१औं शृंखला), २०७९ कात्तिक–पुस (किरात येले संवत् ३८०१/सन् २०२२–२३) प्रकाशित छ । सम्पादक)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *