निजामती सेवामा सफल युवा अधिकृतको संघर्ष कथा

विचार / ब्लग

अनुभूति :

निजामती सेवामा मेरो यात्रा


लोकेन्द्रबहादुर राई

यस धर्तीमा मानिस भएर जन्मेपछि केही न केही कर्म गर्नु नै प¥यो । जीवहरूमध्ये मानिस नै हो फरक फरक कर्म गर्ने प्राणी । जन्मदेखि मृत्युसम्म मानिसहरूले विभिन्न कर्म गरेका हुन्छन् । कर्म गर्ने क्रममा कोही मानिसले वस्तु प्रदान गर्ने खालका कर्म गर्ने व्यापारी, उद्यमी, व्यवसायी, होलसेलर जस्ता पेशामा आवद्ध भएका हुन्छन् । धेरै मानिसहरू सेवा दिने खालका राजनीतिकर्मी, प्रशासक, चिकित्सक, इन्जिनियर, प्राध्यापक, अनुसन्धानकर्ता, शिक्षक, परामर्शदाता जस्ता पेशामा आवद्ध रहेका हुन्छन् । यसैगरी मैले पनि एक कर्म गर्नु नै थियो । जीवन निर्वाहको लागि भनौं कि सेवाको लागि भनौं, जे होस् कर्म गर्नु नै भनौं । कर्म गर्ने सन्दर्भमा मैले निजामती सेवा रोजें । निजामती सेवामा प्रवेश यात्रामा भोगिएका पक्षमा लेख्ने कोशिस गरेको छु ।

जन्म र बाल्यकाल
ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा नं. ५ धिमिले गाउँमा वि.सं. २०५२ साल असोज २२ गते पिता गोठबहादुर राई र माता चन्द्रमाया राईको जेठो छोराको रूपमा मेरो जन्म भयो । हामी जम्मा ८ छोरी र ३ छोरामध्ये अहिले ३ छोरी र ३ छोरा जिवित छौं । गरिबी, अशिक्षा, अन्धविश्वासको कारण मभन्दा माथिको ४ दिदीहरू र १ बहिनीको बाल्यकालमा मृत्यु भएको थियो । मैले जन्मिंदा परिवारमा धेरै खुसी छाएको भन्ने सुन्छु किनकि पहिला छोराको महत्व धेरै थियो । मभन्दा माथि ६ बहिनी जन्मिदा पनि छोरो नभएको भनी बुबा धेरै जनासँग गुनासो गर्नुहुन्थ्यो रे । छोरा होस् भनेर बाटो बनाउने काम, पानी खाने कुवा खन्ने काम, देवी देउराली भाकल गर्ने काम र सामाजिक सेवा गर्ने काम धेरै गर्नुहुन्थ्यो रे । मेरो जन्मपछि दुईजना भाइ पनि जन्मे । गरिब परिवारमा जन्मेको कारण दुखमै मेरो बाल्यकाल बित्यो ।

शिक्षा
मैले श्री धिमिले प्रा.वि. (हाल– धिमिले आधारभूत विद्यालय) मा २०५८ सालमा भर्ना भएर कक्षा ५ सम्म पढें । त्यसपछि २०६३ सालमा मानेभन्ज्याङस्थित भगवती माध्यमिक विद्यालयमा कक्षा ६ मा भर्ना भएँ । २०६७ सालमा एसएलसी प्रथम श्रेणीमा पास गरें । त्यसपछि मोरङ जिल्लाको पथरीस्थित श्री पञ्चायत माध्यामिक विद्यालयमा कक्षा ११ र १२ पढें । मानविकी संकायअन्तर्गत गणित, अर्थशास्त्र र अंग्रेजी मूल विषय लिएर पूरा गरें । त्यसपछि उच्च शिक्षाको लागि काठमाडौ आएँ । २०७० सालमा काठमाडौको केन्द्रमा रहेको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्नातक पढ्न भर्ना भएँ । गणित र अर्थशास्त्र मूल विषय लिएर अध्ययन गरी २०७३ सालमा पूरा गरें । त्यसपछि आरआर क्याम्पसमै स्नातकोत्तर अध्ययनका निम्ति २०७४ सालमा अर्थशास्त्र विषयमा भर्ना भएँ र २०७६ सालमा पढाइ पूरा गरें ।

निजामती सेवा
निजामती सेवा सरकारी सेवा हो । निजामती सेवा योग्यतामा आधारित स्थायी रूपमा निश्चित तलब लिने व्यावसयिक समूह हो । यसलाई स्थायी सरकार पनि भनिन्छ । निजामती सेवामा दश सेवा र त्यसमा पनि समूह÷उप–समूह छन् । प्रशासन सेवा, परराष्ट्र सेवा, न्याय सेवा, लेखा परीक्षण सेवा, वन सेवा, कृषि सेवा, इन्जिनियरिङ सेवा, आर्थिक योजना तथा तथ्याङ्क सेवा, शिक्षा सेवा र विविध सेवा गरी जम्मा दश सेवा निजामती सेवामा पर्छन् । यिनै सेवाहरूमध्ये मैले नेपाल प्रशासन सेवाको सामान्य प्रशासन समूहको नायब सुब्बा पदमा २०७४ माघ २३ गते सेवा प्रवेश गरें । वन तथा वातावरण मन्त्रालयमा नायब सुब्बा पदमा चार वर्ष काम गरें । २०७८ माघ २० गते सोही सेवा÷समूहको शाखा अधिकृत पदमा पदोनन्ति भए ।

लोकसेवा आयोग परीक्षा तयारी
लोकसेवा आयोग एक संवैधानिक निकाय हो । यस संस्थाले सार्वजनिक सेवा तथा सरकारी सेवाको लागि जनशक्ति नियुक्तिको लागि भर्नादेखि सिफारिससम्मको काम गर्दछ । निजामती सेवाको लागि परीक्षा र अन्तर्वार्ता लिई सिफारिस गर्ने काम आयोगले गर्दछ ।
मैले लोकसेवा आयोगको परीक्षा तयारी २०७३ सालबाट थालेको थिएँ । २०७२ सालमा नायब सुब्बा तहको परीक्षामा सामेल भएपनि तयारी राम्रो नभएकोले सफल भइनँ । २०७३ सालमा नायब सुब्बा पद तहको तयारी गरेको कारण २०७४ सालमा निजामती सेवा प्रवेश गर्न सफल भएँ । २०७३ सालमा शाखा अधिकृत पदको आवेदन दिएपनि तयारी गरेको थिइनँ, नायब सुब्बा पदको तयारी गरेकोले शाखा अधिकृत पदको प्रथम चरणको प्रथम पत्र मात्रै पास गरेको थिएँ । त्यसपछि मास्टर डिग्री पढ्न लागेकोले २०७४ सालमा कुनै पनि पदमा आवेदन दिइनँ ।

२०७५ सालमा परराष्ट्र अधिकृतको आवदेन दिएर जाँचमा सामेल भएँ तर तयारी नपुगेर प्रथम चरणमै अड्किएँ । २०७६ सालमा आवेदन दिएर तयारी गर्दैगर्दा कोरोना महामारीले जाँच स¥यो । साथै समायोजन मुद्दा परेकोले ढिलो गरी २०७८ माघमा शाखा अधिकृतको नतिजा आउदा सफल भएँ । २०७६ सालको नतिजा ढिलो आएको तर २०७७ र २०७८ सालको शाखा अधिकृत पदको विज्ञापन भएकोले आवेदन दिई २०७७ सालको विज्ञापनको प्रथम चरण पास भएको र २०७८ सालको विज्ञापनमा चाहिं आवेदन दिने काम गरियो ।

संघर्षका यादहरू
मानिसका आ–आफनै भोगाइहरू हुन्छन् । यादहरू हुन्छन् । र संघर्षका पलहरू पनि हुन्छन् । मेरो पनि त्यस्तै छन्, जसलाई यहाँ लेखन गर्दैछु ।

स्कुल जान घरको झ्यालबाट हामफालें
म त्यसबेला दुई कक्षा पढ्थें । एक दिन मेरी दिदीले स्कुल नजानू भन्नुभयो । मलाई स्कुल एकदिन पनि छुटाउन मन पर्दैनथ्यो । स्कुलमा पढ्न मजा र साथीहरूसँग खेल्न रमाइलो हुन्छ । तर घरमा काम गर्नुपर्ने थियो । दिदीले नजान भन्नुभयो । मैले मानिनँ । मलाई घरभित्र थुन्नु भयो । घर होचो भएकोले तलामाथि चढेर झ्यालबाट किताब बाहिर फ्याकें । र त्यहींबाट हाम फालेर स्कुल गएँ । त्यसरी स्कुल जान नदिएको दिन झगडा गरेर स्कुल गएको धेरै छन् ।

दुःखी र खुसी
कक्षा १ बाट २ मा जाँदाको बेला नतिजा थाहापाएर धेरै दुःखी भएको थिएँ । नतिजा आउनुभन्दा अगाडि मेरो काकाले तँ दोस्रो हुन्छस् भन्नु भएको थियो । तर नतिजा आउँदा म चौथो भएँ । त्यसबेला दुःखी भएको याद छ । कक्षा ३ देखि ४ जाँदा प्रथम भएँ । खुशीले बुरुक्क–बुरुक्क उफ्रेको याद छ । त्यसपछिको नतिजामा सधैजसो प्रथम स्थान हासिल गरियो ।

भगवती माविमा प्रथम हुँदा
२०६३ सालमा मानेभन्ज्याङको श्री भगवती माविमा कक्षा ६ मा भर्ना भएँ । आफ्नै गाउँमा कक्षा पाँचसम्म मात्रै पढाई हुने भएको हुदाँ भगवती मावि जानुको विकल्प थिएन । हुन त भगवती मावि सुरुमा धिमिले गाउँ स्थापना गरिएका र संचालन गर्न नसकेपछि मानेभन्ज्याङ सारिएको भन्ने सुनिन्छ । धिमिलेको वरडाँडामा त्यो स्कुल भवनको अवशेष देख्न पाइन्छ । धिमिलेवासी बालबालिका शैक्षिक गन्तव्य मानेभन्ज्याङ नै हो ।

भगवती माविमा मानेभन्ज्याङ बस्ने वा अरु गाउँ टोक्सेल, माधवपुर, उदयपुरका प्रथम हुन्थे । गाउँमा घाँसदाउरा गरेर जानेले मानेभन्ज्याङमै बसेर, ट्युसन पढेकालाई जित्न गाह्रो थियो । कक्षा ८ सम्म पाँचौ र चौथोसम्म भएँ । मनमा प्रथम हुने चाहना थियो । गाउँका दाजु दिदीहरूले तँ प्रथम हुदैनस् किनकि मानेभन्ज्याङकालाई सर मिसले चिनेको छन् भन्थे ।

त्यसबेला म सुनिरहन्थें, पक्षपात हुन्न भन्ने मेरो मनमा विश्वास थियो । कक्षा ९ मा पढ्दै गर्दा कक्षाका केही साथीहरूले यसपाली तँ प्रथम हुन्छस् भन्थे । मैले पनि गुच्चा, फुटबल, क्यारामबोर्ड सबै छाडेर पढ्न थालें । अन्ततः कक्षा ९ पास गर्दा प्रथम भएँ । यसले मलाई धेरै हौसला मिल्यो । जिम्मेवारी पनि बढ्यो । सायद गणित र विज्ञानमा अरुभन्दा धेरै राम्रो भएको र अरु विषयमा पनि राम्रो भएको हुँदा प्रथम हुन सकें भन्ने लाग्छ ।

काठमाडौमा पढ्ने पहिलो प्रयास असफल
२०६७ चैतमा एसएलसी जाँच सकियो । त्यसपछि अरु पढ्न कता जाने ? घरको आर्थिक हैसियत कमजोर थियो । खान लाउनु धौधौ थियो । बुबा ज्यालामजदुरी गर्नुहुन्थ्यो । बुबा वृद्ध अवस्थामा पुग्न लाग्नु भएको थियो । बुबा मभन्दा ४२ वर्ष जेठो हुनुहुन्छ । मैले १५ वर्ष ६ महिनाको हुँदा एसएलसी दिएँ । उतिखेर उहाँ ५७ वर्ष हुनुभएको थियो । म कक्षा ११–१२ जिल्ला बाहिर पढ्ने योजना बुन्दै थिएँ । घरको काममा खासै ध्यान दिइनँ ।

बुबाले एकदिन मलाई मेरो कपाल काट्दै गर्दा तँलाई दाइले काठमाडौं पढ्न सहयोग गर्ने रे भन्नुयो । काकाको छोरा दाइ काठमाडौंमा सानोतिनो व्यापार व्यवसाय गरेर बस्नु भएको थियो । त्यसपछि म कसरी काठमाडौं र्छिर्ने भनेर मौका कुरिरहेको थिएँ । त्यसैबेला कटारी बस्नुहुने छेमा मेरो ठुलो आमाकोमा आउनु भएको रहेछ । उहाँले मलाई टोलङ (दही राख्ने, मोही पार्ने सल्लाको भाँडो) पुराउन मेरो घर जाउँ भन्नुभयो । त्यसैबेला मैले मनमनमा योजना बनाइहालें । कटारी जाने र त्यतैबाट काठमाडौ पुग्ने । छेमासँग कटारी पुगें । त्यहाँ एक हप्ता बसें । छेमालाई म काठमाडौं जान्छु सहयोग गर्नु है भनें । उहाँले मान्नुभयो । छेमाले दिनुभएको एक हजार रुपैयाँ लिएर काठमाडौं हिंडे । मैले घरबाट एक रुपैयाँ पनि बोकेको थिएनँ ।

कटारीबाट रात्रि बसमा काठमाडौं गएँ । बिहान सातदोबाटोको बि एण्ड बि हस्पिटल नजिकै झरें । ठूलोबुबाको कान्छो छोरा लिन आउनु भयो । ग्वार्को, कोटेश्वर हुँदै बौद्ध पुग्यौं । केही दिनपछि मलाई पढाउँछु भन्ने दाइकोमा गएर बसें । दाइको पसलको काममा सहयोग गरें । असारमा नतिजा आयो । त्यसपछि पढ्नको लागि के गर्ने भन्ने कुरो आयो । दाइले पढ्न सहयोग गर्न नसक्ने भन्नुभयो ।

त्यसैबेला गाउँबाट फोन आयो । काकीले गर्नुभएको थियो । तँ गाउँ आइज विद्यालयबाट तँलाई विज्ञान पढ्न सहयोग गर्ने रे भन्नुभयो । अलि कति बाटो खर्च लिएर गाउँ फर्कें । विद्यालय गएँ । केही सहयोगको कुरा आएन । मलाई विज्ञान पढ्ने रहर थियो । मेरो गणित, विज्ञान र अर्थशास्त्र मनपर्ने विषय थियो । विद्यालयबाट खासै केही प्रतिक्रिया नआएपछि प्रामाणपत्र लिई फेरि काठमाडौंतिर लाग्ने सोचें । घरबाट खर्च दिने हैसियत थिएन । मैले कहिले पनि घरबाट हिंड्ने वा अन्य खर्च माग्दिनँ । किनकि मलाई थाहा थियो, घरबाट मलाई पैसा दिन सक्नुहुन्न भनेर । मलाई बोलाउने काकीले दुई हजार रुपैयाँ दिनुभयो । त्यही पैसा लिएर काठमाडौतिर लागें ।

फेरि काठमाडौ पुगियो । तर कहाँ बस्ने, के खाने, कसरी पढ्ने कुनै टुङ्गो थिएन । काठमाडौंमा एक महिना उतायाता भौतारिरहें । म सानो भएकोले काम गरेर पढ्न सक्ने अवस्था पनि थिएन । नजिकको आफन्त पनि थिएन । भएकाले नसक्ने भनी पहिला नै भनिसकेका थिए । एक दिन ठूलो काकाको छोरा कान्छो दाइले मोरङको पथरीमा पढ्ने व्यवस्था मिलाउनु भयो । मोरङमा ठूलो काकाको छोरा ठूलो दाइको परिवार हुनुहुन्थ्यो । त्यसपछि पढ्न मोरङ लागें ।

विज्ञान पढ्ने इच्छा अधुरै

काठमाडौमा पढ्ने प्रयास असफल भएपनि मोरङमा पढ्ने अवसर मिल्यो । पढ्न पाउने भएपछि म खुसी थिएँ । मोरङको पथरी (हाल पथरी शनिश्चरे)को श्री पञ्चाडयत माविमा भर्ना भएँ । मैले विज्ञान पढ्ने इच्छा व्यक्त गर्दा दाजुले मन गर्नु भएन । त्यसपछि मनपर्ने तीन विषयमध्ये विज्ञानलाई बिदाइ गरें । बाँकी दुई विषय गणित र अर्थशास्त्र रोजें । त्यसमा अंग्रेजी थपें ।
मेहनतसाथ पढें । एसएलसीमा विशिष्ट श्रेणी चाहना पूरा भएन ।

कक्षा ११ र १२ मा प्रयास गरें । कक्षा ११ को परीक्षा राम्रै नतिजाको आशा गरेको थिएँ । तर अंग्रेजी माध्यमको पढाइ र मेजर इङ्लिसमा ३५ अंकमात्र आयो । अर्थशास्त्र पनि भने जस्तो भएन । गणितमा ९० भन्दा माथि र अनिवार्य अंग्रेजीमा ७५ माथि आएछ । चित्त बुझाएँ । त्यसपछि १२ कक्षामा थप मेहनत गरें । अंग्रेजी लेखाइ र पढाइमा सुधार गरें । फलस्वरूप कक्षा १२ मा राम्रै नतिजा आयो ।

काठमाडौंमा पढ्ने दोस्रो प्रयास
मोरङमा १२ कक्षाको पढाइ सकियो । त्यहाँको बसाई धेरै राम्रो थियो । लाहुरेको समाज हा,े खान लाउनको कुनै समस्या थिएन । जिन्दगीको सबैभन्दा सुखको जीवन मोरङमा बिताएँ । तर केही गर्नुपर्छ भन्ने सोचले काठमाडौं जानु नै पर्छ भन्ने लागेको थियो । मोरङबाट नागरिकता बनाउन ओखलढुंगा गएँ । जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाएर काठमाडौको यात्रा गरें । २०७० असारदेखि काठमाडौंमा बसाई र पढाइ भइरहेको छ ।

पढ्न र बस्न संघर्ष
काठमाडौंमा संघर्ष गर्नुपर्ने अवस्था थियो । मामालाई सम्पर्क गरी काठमाडौ आएको थिएँ । १२ को नतिजा नआउँद्रै अघि काठमाडौं बस्ने पढ्ने चाँजोपाँजो मिलाउने योजना बन्यो । तर काठमाडौंमा मैले सोचेजस्तो सजिलो रहेनछ । पत्रिकामा आएको जागिरको विज्ञापन पछ्याउँदै धेरै जब सेन्टर धाएँ । एउटा काम पाइयो । सामान बेच्ने काम रहेछ । साबुन, स्याम्पु बोकेर दुई दिने हिंडे । गाडी भाडा सकियो काम गर्न गाह्रो । त्यसपछि मैले त्यो काम छोडें किनाकि पछि पढ्नको लागि नमिल्ने खालको थियो ।
बाँच्न त केही गर्नै पथ्र्यो ।

आफन्तहरू घर बनाउने काम गर्थे । मैले पनि सोचें ६-७ महिना काम गर्ने । ज्यामी काम गर्न थालें । ज्यामी काम गर्दै गर्दा घर रङगोन गर्ने पेन्टिङ काम पनि गर्न थालें । यस्तै काम गर्दागर्दै १२ को नतिजा आयो । प्रथम श्रेणीमा पास भएछु । दशैं–तिहारमा मोरङ गएँ । त्यतिखेरै १२ पासको प्रमाणपत्र लिएँ । काठमाडौ आएर गाउँको एकजना साथीको कोठामा बस्न थालें । आरआर क्याम्पसमा बिएमा भर्ना भएँ । उही गणित र अर्थशास्त्र रोजें । क्याम्पस धाउन थालें ।

जागिरको आवश्यकता थियो । चिया पसलमा गएर पत्रिकामा जागिरको विज्ञापन पढ्ने र मोबाइल नम्बरमा फोन गर्थे । फाराम भर्ने, अन्तर्वार्ता दिने काम काठमाडौंको जब सेन्टरमा धाएँ । तर जागिर पाइएन । जागिर नपाएपछि पुनः पहिले गरेको ज्यामी वा पेन्टिङ काम गर्ने सोंच बनाएँ । ठेकेदारलाई म काम गर्न आउँछु भनेर फोन गरें । ठेकेदारले अहिले काम छैन काम भएपछि फोन गर्छु भन्यो । फोनको प्रतिक्षा गर्दै क्याम्पस जाने आउने गर्दै थिएँ । एक दिन भिनाजु पर्नेले फोन गर्नुभयो । एउटा काम छ गर्न आउनु भन्नुभयो । काम केक बनाउने र बेच्ने पसलमा रहेछ । थोरै तलब भए पनि पढ्नलाई सहयोग गर्ने रहेछ भनेर काम गरें ।

स्नातक प्रथम वर्ष त्यही केक पसलमा काम गरेर पढें । प्रथम वर्ष सकिन लाग्दा केक पसलको जागिर पनि गयो । परीक्षा दिए दशैं–तिहार मनाउन गाउँ गएँ । गाउँबाट काठमाडौ फर्कें । अब त जागिर पनि छैन । मलाई कामको अति आवश्यकता थियो । फेरि पत्रिका खोजेर विभिन्न कम्पनी, जबसेन्टरमा आवदेन दिएँ । फाराम भर्दा पैसा सकियो तर भनेजस्तो काम पाइएन । त्यसपछि फेरि ज्यामी काम गर्न थालें ।

मेरो स्नातक दोस्रो र तेस्रो वर्ष वर्ष ज्यामी काम गरेरै पूरा गरें । रत्नराज्यलक्ष्मी क्याम्पसमा ९ बजेसम्म पढेर १०–११ बजे इमाडोल क्षेत्रमा काम गर्न पुग्थें । धेरै काम इमाडोल क्षेत्रमा थियो । घर बनाउने काममा ठेकेदार आफ्नै भिनाजु पर्ने भएकोले मलाई ११ बजेसम्म काम गर्न पुग्दा हुने थियो । दुई वर्ष ज्यामी काम गर्दा धेरै घरहरू बनाइयो । पढाइ र काममा समय मिलाउन ज्यादै कठिनाई भयो । स्नातक पढ्दा काठमाडौंको विभिन्न ठाउँमा ज्यामी काम गरियो । बिहान ४ बजे उठेर खाना पकाएर बोकेर हिड्नु पर्ने र बेलुका राति ८ बजे कोठा आएर खाना पकाई खानुपर्ने अवस्था भयो । यही संघर्षमा स्नातक पढाइ सकियो ।

स्नातकपछि निजामती सेवा प्रवेश
२०७३ जेठमा स्नातक पढाइ सकियो । केही समयमा नतिजा आयो । प्रथम श्रेणीमा पास भएछु । त्यसपछि के गरुँ कसो गरुँ भइरहेको थियो । केही साथीहरूले लोकसेवा तयारी गरिरहेका थिए । लोकसेवा निस्पक्ष हुन्छ भनेको सुनेर त्यसको तयारी गर्ने सोंच गरें । यतिबेला मेरो जेठी दिदीको परिवार काठमाडौं आइसकेका थिए । यही मौकामा लोकसेवा तयारी गरें । दिदीसँग बसेपछि मलाई बस्न र खानाको चिन्ता भएन । कडा मेहनतसाथ निरन्तर छ महिनाको पढाइ गरेपछि नायब सुब्बा पदको लोकसेवा परीक्षा दिएँ ।

यसो त लोकसेवाको परीक्षा दिएर मैले शिक्षण पेशा गर्ने विचार गरेको थिएँ । मसँग राम्रो प्रमाणपत्र थियो तर चिनेजानेका मान्छे कोही थिएन । मेलै सीभी र प्रमाणपत्रको फोटोकपी गरेर दर्जन निजी विद्यालयमा आवेदन दिएको थिएँ । धेरै विद्यालयमा मैले परीक्षण कक्षामा पढाएँ पनि तर खासै पत्याएनन् । एक दिन फोन आयो, ९-१० कक्षालाई पढाउनु पर्ने दुईघण्टी छ भनेर एउटा बोर्डिङ स्कुलले बोलायो । पढाउन थालें ।

विद्यालय प्रशासनले राम्रो मानेर थप विषय बढायो र तलब पनि । करिब एक वर्ष शिक्षण गर्दैगर्दा लोकसेवाको नतिजा आयो । २०७४ सालको नतिजामा म सफल भएँ । नायब सुब्बा पदमा नियुक्ति भएँ । नायब सुब्बा पदमा काम गर्दैगर्दा मास्टर डिग्री सकें । फेरि शाखा अधिकृतको निम्ति लोकसेवा तयारी गरें । अन्ततः म सफल भएँ, यही २०७८ माघ १८ गतेबाट नेपाल सरकारको शाखा अधिकृतमा नियुक्त भएको छु ।

अन्तमा, जिन्दगी आफै एउटा संघर्ष हो । यात्रामा अनेकौं बाधा व्यवधान, अभाव, दुःखकष्ट आउँछ । यी सबै चिजहरूलाई सम्हाल्दै अघि बढ्नु पर्ने रहेछ । गन्तव्यमा पुग्न सकिने रहेछ, जहाँ जिन्दगीको सार्थकता हुन्छ । मेरो कथा पढिदिनु हुने सबैजनामा हार्दिक आभार प्रकट गर्दछु । धन्यवाद ।

उही तपाईंहरूकै भाइभतिजा, साथी
लोकेन्द्रबहादुर राई (वाम्बुले बोड्वाम)
शाखा अधिकृत, नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अतिरिक्त समूह, सिंहदरबार, काठमाडौं ।
(यो लेख इक लिब्जु–भुम्जु त्रैमासिक, वर्ष ८ अंक १५, पूर्णाङ्क ८८, २०७८ माघ–चै, किरात येले संवत् ३८०१÷सन् २०२२मा प्रकाशित छ)

1 thought on “निजामती सेवामा सफल युवा अधिकृतको संघर्ष कथा

  1. पत्थरको विचवाट पलाएको एउटा सुन्दर बृक्षको कथा । लोकसेवा आयोग तयारी गर्नेहरुको धेरै कथा ब्यथाहरु मिल्दोजुल्दो नै हुन्छन । शुभकामना लोकेन्द्र सर !

Leave a Reply

Your email address will not be published.