उपसचिव दशरथ वाम्बुले राईको निजामती सेवामा अनुभव

विचार / ब्लग
उपसचिव दशरथ राई तथा श्रीमती तारादेवी राई र छोरा तायाहाङ राई परिवार

(राज्यको स्थायी सरकार भनिने निजामती सेवामा वाम्बुले राई समुदायको उपस्थिति निकै कम रहेको छ । यसै सन्दर्भमा इलाम जिल्लाको सूर्योदय नगरपालिका–१० याङ निवासी दशरथ वाम्बुले राई (बोड्वाम)ले निजामती सेवामा दशक बढी बिताए । ओखलढुंगा जिल्लामा बढी बसोबास गर्ने वाम्बुले राई जातिका दशरथ कसरी इलाम पुगे ? भन्ने सबैको स्वाभाविक जिज्ञासा हुन्छ । उनका पुर्खाहरू पाँचथरको भारपा/मूलडाँडाबाट इलाम पुगेको सातौं पुस्ता भएको कुरा स्वर्गीय पिताले बताउनु भएको उनी सम्झना गर्छन् तर पाँचथर चाहिँ कुन ठाउँबाट पुगे भनी अनुमान गर्न सकेनन् ।

वाम्बुले राई समुदायबाट प्रशासनको अधिकृतस्तरमा सरकारी सेवा प्रवेश गर्ने अविनाथ राई पछि उनी दोस्रो कर्मचारी उपसचिव हुन् । लोक सेवा आयोगको २०६६ सालको शाखा अधिकृतको परीक्षा उत्तीर्ण गरेका उनले हालसम्म सरकारका विभिन्न पाँचवटा निकायहरूमा उपस्थित भए । नवनियुक्त शाखा अधिकृतहरूलाई प्रदान गरिने आधारभूत प्रशासनिक तालिमअन्तर्गत प्रहरी प्रशिक्षणमा टोली कमाण्डरको रूपमा छानिएका उनको २०६७ सालमा प्रथम राष्ट्रपति (नेपालको प्रथम राष्ट्रपति डा.रामवरण यादव)को कार्यालयमा पदस्थापना भएको थियो ।

त्यहाँ निरन्तर सातवर्ष बढी काम गरेका उनले पचास हजार राशि र ताम्रपत्रसहितको निजामती सेवा पुरस्कार समेत २०७३ सालमा प्राप्त गरे । त्यसपछि गृह मन्त्रालयअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा करीब अढाई वर्ष अध्यागमन अधिकृत पदमा काम गरे । त्यसैगरी राष्ट्रिय सतर्कता केन्द्र साथै जिल्ला समन्वय समिति हुम्ला र पुनः गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय, हुम्लामा सहायक प्रमुख जिल्ला अधिकारीको पदमा काम गरेका छन्। अहिले सुनसरीको इनरुवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्। यसरी पाँचवटा कार्यालयहरूमा उनले सेवा प्रदान गर्दा करिब बाह्र वर्ष बितेको पत्तै पाएनन् । सम्पादक गणेश वाम्बुले राईसँग भएको कुराकानी प्रस्तुत गरिएको छ ।)

ती कार्यालयहरूमा के के काम गर्नुभयो त ?

राष्ट्रपतिको कार्यालयमा मूलतः सम्माननीय राष्ट्रपतिले सम्पादन गर्ने कामहरूलाई सहयोग, समन्वय र सहजीकरण गर्ने रहेछ । यसका लागि कार्यालयको संरचना अनुसार सूचना समन्वय, प्रशासन लगायतका शाखाहरूमा रहेर दैनिक रूपमा गर्नुपर्ने कामहरू गरियो । त्यसपछि अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा विदेश जाने र आउने नेपाली यात्रुहरूलाई प्रस्थान र आगमन अनुमति दिने तथा नेपाल आगमन र प्रस्थान गर्ने विदेशी नागरिकहरूलाई प्रचलित कानून बमोजिम नेपाल बसाइ तथा फर्किने काममा सहजीकरण गरियो ।

सम्माननीय प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा रहेको राष्ट्रिय सतर्कता केन्द्रभने कर्मचारी आचरण र भ्रष्टाचार विरुद्ध कार्य गर्ने निकाय भएकोले सोही बमोजिमका कामहरू गरियो । यस कार्यालयमा छ महिनामात्र काम गरेपछि नेपालको सबैभन्दा उच्च स्थानमा रहेको सदरमुकाम हुम्ला सरुवा भयो जिल्ला समन्वय समितिमा । समन्वय समितिमा हाजिर गरेको करीब एक हप्तापछि जिल्ला प्रशासन कार्यालय, हुम्लामा सहायक प्रमुख अधिकारीको रूपमा भयो । समन्वय समितिमा करिब एक हप्ताको बसाइ भएकोले त्यहाँको वातावरण बुझ्दा नै खासै केही काम गरिएन । हुम्लाको सहायक सिडिओ भएर झन्डै एक वर्षको कार्यकालमा भने जिल्लाको जागिरको अनुभव लिइयो ।

सरकारी जागिरको बाह्र वर्ष लामो अवधिमा विदेश भ्रमणको अवसरहरू पनि त पाइयो होला नि ? 

हो, राष्ट्रपति कार्यालयमा हुँदा सन् २०१२ मा चीनको राजधानी बेइजिङ र सोही देशको चिङहाइ प्रान्त जाने अवसर मिलेको थियो । सोह्र दिनको कूटनीति सम्बन्धी सेमिनारमा उक्त देशको विभिन्न स्थानहरू जस्तै ग्रेटवाल, समर प्यालेस, पर्ल मार्केट, फरबिडन सिटी, सांस्कृतिक झलक, जिनिङ शहर, चिङहाइ ताल आदिको दर्शन गर्न पाइयो । तर विदेशी विश्वविद्यालयको शैक्षिक उपाधिका लागि भने अध्ययनको अवसर जुटाउन सकेको छुइनँ ।

आदिवासी किरात राई जातिको प्रतिनिधि पात्रका रूपमा परिचित दशरथ राई र श्रीमती तारादेवी राई

निजामती सेवामा उनको विगत सरसर्ती थाहा पाइए पनि सबैलाई जान्न मन लागेको कुराचाहिँ तलब कति हुँदोरहेछ भन्ने हो । भन्न मिल्छ भने बताउनुस् न ।

किन नमिल्नु ? यो त सार्वजनिक नै हुन्छ । हाल शाखा अधिकृतको बेसिक पे पैँतिस हजार नौ सय नब्बे छ, ग्रेड, दशैँ खर्च, दुर्गम भत्ता, भ्रमण र पोशाक भत्ता बाहेक र मेरो लेभलको मात्र नभएर निजामती, आर्मी, प्रहरी, स्वास्थ्यकर्मी, शिक्षक सबैको तलब त गुगलमा सर्च गर्दा सजिलै थाहा पाइन्छ । अब यसले आफ्नो र परिवारको गुजारा चल्छ कि चल्दैन भन्ने चाहिँ व्यक्ति विशेषमा पनि भर पर्दछ ।

अब वाम्बुले राई समुदायका आफ्ना भाइबहिनीहरूलाई तपाई सरकारी सेवामा आउनुस् भन्नुहुन्छ या यो त्यति उपयुक्त पेशा होइन भन्ने के हो ?

कुनैपनि पेशा आफैमा राम्रो नराम्रो, उपयुक्त अनुपयुक्त भन्ने हुँदैन । यसमा आ–आफ्नो दृष्टिकोण के हो त्यसमा भर पर्दछ । तर म निजामती सेवामा एक दशक बढी बिताएकोले यसको बारेमा भन्न सक्छु कि यो क्षेत्र हाम्रो समुदाय, हामीजस्ताका लागि अत्यन्तै आकर्षक र उपयुक्त छ जसमा कसैको सोर्सफोर्स, भनसुन, नातावाद, कृपावाद चल्दैन र वृत्ति विकास हुनाको साथै समाज र देशका लागि काम गर्ने सुनौलो अवसर जुर्छ । आत्मसन्तुष्टि र सम्मान मिल्दछ ।’ लोक सेवा आयोगले २०७८ माघ २६ गते गरेको निर्णयअनुसार उपसचिव पदमा बढुवा भएको छु । र अहिले सुनसरीको इनरुवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छु ।

अन्तमा, आफू र लिब्जुभुम्जु परिवारको बारेमा केही भन्नु छ ?

सर्वप्रथम म वाम्बुले राई समुदायको सदस्य भएकोमा गर्व गर्दछु । वाम्बुले राई समाजको यो प्रकाशनको म नियमित पाठक हुँ । नेपालमा विगत लामो समयदेखि हालसम्म नियमिति रूपमा प्रकाशन भइरहेका सिमित भाषिक पत्रिकाहरूमध्ये यो पर्दछ र यो त्रिभाषिक पत्रिका भएको हुनाले यसले आफ्नो छुट्टै विशिष्ट स्थान बनाउन सफल भएको छ । यसका लागि लिब्जुभुम्जुका सम्पादक श्री गणेश राईज्यू लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवादका साथै बधाइ ज्ञापन गर्दछु ।
(‘इक लिब्जु–भुम्ज’ु त्रैमासिक, वर्ष ८ अंक १५, पूर्णाङ्क ८८, २०७८ माघ–चैत (किरात येले संवत् ३८०१÷सन् २०२२)मा प्रकाशित आलेखलाई थोरै सम्पादन गरिएको छ । सम्पादक)

Leave a Reply

Your email address will not be published.