-रेवती थापामगर (लेकाली गिठ्ठा)
काठमाडौंदेखि मुलकोट
बौद्ध स्तुपालाई एक चक्कर लगाएँ । २०७८ कात्तिक २६ गते तदानुसार १२ नोभेम्बर, २०२१ शुक्रबार बिहानको ६ बजे बौद्ध गेटबाट साइकल गुडाएँ । सूर्यको उषा नतग्र्रिदै चाबहिलतिर मोडिएँ । फ्याटफुट्ट भेटिने देखिने बिजुलीका खम्बामा बलेको प्रकाशमुनि साइकलमा गुड्दै गौशाला आइपुग्दा मिरमिरे बिहानीले बिदाइ गरिसकेको देखिन्थ्यो । सवारी साधनले कालो मुुस्लो धुँवा ओकल्दै गरेका देखिन्थे । धुलोको पाउडर छर्किरहेको देखिन्थ्यो । पूर्वतिर जाने गाडीहरूको भेलाले कोटेश्वरको वतावरण कोलाहलमय थियो । ६ः३० बजे कोटेश्वर चोकमा पुग्दा रामकुमार राई र कुमार मगर भाइ आइसकेका थिएन । फोन गरें । आउँदै गरेको बताए ।
‘२०० किलो मिटर व्याकुल माइला माउण्टेन बाइक ट्रेल’ काठमाडौंदेखि ओखलढुंगाको मानेभन्ज्याङसम्म । गुड्नु अगाडि सामुहिक तस्बिर खिच्यौं । पूर्व जाने गाडीको ताँतीलाई छिचोल्दै ६ः५५ बजे कोटेश्वरबाट भक्तपुरतिर सोझियौं । खुल्ला सडक भएता पनि चिसो वातावरणले झापट दिंदै थियो । गन्तव्य पहिल्याउने साधन साइकल भएकाले त्यत्ति धेरै बिघ्न चिसो महसुस भएन ।
हामी ८ बजे साँगा भन्ज्याङ पुग्यौं । बाटो किनारको दोकानमा रारा चाउचाउ, अण्डा र कफी खाजा खायौं । खकुलो भएको पेट डम्म बनायौं । हसेरा होम स्टेमा खाना खाने योजना बनायौं । साँगा भन्ज्याङबाट ९ बजे हिड्यौं । सूर्यको प्रकाश छिप्पिसकेको थियो । तर चिसो वतावरण थियो । सडकमा पूर्वतर्फ जाने सवारी साधनहरूको उछिनपाछिन बाक्लो हुँदै गइरहेको थियो । सावधानीका साथ धुलिखेलका बाङ्गाटिङ्गा घुम्ति अनि उकालो छिचोल्दै गयौं । काभ्रे भन्ज्याङ कटिसकेपछि रहर लाग्दो हिमालहरूको पंक्ति देखिन थाल्यो ।
हसेरा होम स्टेमा पुग्दा बिहानको १० बजेको थियो । सूर्यको किरण चौतर्फी फिजिसकेको थियो । पात्ले गाउँको हसेरा होमे स्टेको शान्त अनि स्वच्छ वतावरणलाई तर्साइरहेको सुनिन्थ्यो छेवैको बिपी राजमार्गमा गुडेका सवारी साधनहरूले । हसेराको दलानबाट क्षितिजसँग कुम जोडेर बसेको देखिन्थे हिमपर्वतमालाको लस्कर । आहा !
खाना खाइयो, साँच्चै मिठो गरी । त्यसपछि साइकल चढ्न लाग्दा थाहा भयो कि ट्युब लेस टायरलाई सिसाले सानो प्वाल बनाएछ । ट्युब परिवर्तन गरें । दुइटा फाल्टो ट्युव बोकेको थिएँ । नबोकेको भए यो ट्रेल बरबाद हुने थियो, भन्दै रामकुमार र कुमार भाइलाई सुनाएँ । त्यतिन्जेल पूर्वतिर हुइँकिन यात्रुवाहक गाडीहरू गइसकेकाले राजमार्ग खाली प्रायः देखिन्थे ।
अबको बाटो पूरै ओरालो थियो । करिब ४० मिनेटमा रोशी खोलामा पुग्यौं । रोशी खोला कन्चन देखिन्थ्यो । वारिपारि काटेर राखेका धानका पाँजा फिजिएको देखिन्थ्यो । थुम्काबाट चिप्लिएर खसेको सूर्यको प्रकाशले न्यानो थपिरहेकै थियो । रोशीखोला तीरैतीर वारिपारिका गाउँले किसानहरू धान झाँटिरहेका देखिन्थे । रोशी खोलाको सुसेली सुन्दै साइकलमा गुडिरहनुका आनन्द बिछट्टै थियो । स्फूर्ति साँच्चै बढिरहेको थियो ।
सँधै गाडी वा मोटर साइकलमा गुड्दाको भन्दा साइकलमा गुड्दाको मज्जा अर्कै हुन्छ । हामी नेपालथोकमा कफी खानका लागि रोकियौं । कफी अर्डर गर्दैगर्दा भाइहरू सूर्य, भिम, नानीबाबु र मिन पनि आइपुगे । भाइहरू हाम्रा सहयोगी हुन् । ट्रेलको व्यवस्थापन हेर्ने समूह, जो मोटरसाइकलमा थिए । हामी सँगै बसेर कफी पियौं ।
रोशी खोलालाई बिदाइ गर्दै सुनकोशी नदीको गड्तीरको दृश्य नियाल्दै साइकलका पाइडल दबाउँदै गर्दा कुमार भाइको प्याडलचाहिं खुस्क्यो । गणेस्थानसम्म नानीबाबुले मोटरसाइकलमा बोके । वेल्डिङ गरेपछि पुनः कुमार भाइ हामीसँग जोडिए । मुलकोट दिउँसो ३ः३० बजे पुग्यौं । १०० किलो मिटर दूरी साइकलबाट छिचोल्यौं भन्दै खुशीको तरंग सबैसँग साट्यौं । मुलकोटको होटल कुपनडोल थकाली किचनमा बस्यौं । कफी, मःम खाँदै आनन्दित हुँदै गफिदै बस्यौं ।
गोधुली साँझको आगमनसँगै सबैले नुहायौं । शुक्रबार भएकाले काठमाडौं र अन्य स्थानबाट आएका आगन्तुकहरूको पनि हल्का चहलपहल देखिन्थ्यो । माछाको सुपसँंग साँझको खाना खायौं । भोलि बिहान ५ बजे उठ्ने सल्लाह ग¥यौं । र ९ बजे बिस्तारा रोज्यौं, जो निद्रादेवीको काखमा लम्पसार भयौं ।
मुलकोटदेखि मानेभन्ज्याङ
कात्तिक २७ गते शनिबार बिहान मुलकोटबाट ५ः२० बजे बाटो लाग्यौं । वातारण चिसो थियो । सुरुमै उकालो बाटो भएकाले सास स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै उक्लिदै थियौं । उज्यालो हुने सुरसार गरेको देखिदैन्थ्यो । सुनकोशी नदीले हल्ला गरेको सुनिदैथ्यो । तीन घुम्ती उक्लिदा बल्ल मिरमिरे बिहानी हुने प्रयास गर्दै गरेको देखिन्थ्यो । फाट्टफुट्ट सवारी साधन ओहोर दोहोर गुडेका भेटिन्थे ।
ऐना राखिएको स्थानमा पुग्दा चिसो सिरेटो चलेको थियो । थुम्का उक्लिनु पर्दा ज्यान थरक्क भइसकेको थियो । मन्दिरमा कुमार भाइले पुजा गर्नका लागि साइकल अड्याए । राम भाइ र मैले ओरालोमा साइकल दबाउँदै गयौं ।
राजमार्गमा सवारी साधन नभएकाले होसियारीका साथ गुडाउन आवश्यकता थिएन । चौतर्फी चिसो र निलो आकाश देखिन्थे । सूर्योदय हुने ताउरमाउर देखिएको थिएन । बाटो पुरै ओरालो र तेर्सा भएकाले ज्यानले राहत हुँदै थियो । फेरि रातमाटे उकालो बाटोमा ज्यानले अर्को मेहनत गर्नु परिरहेको थियो । रातमाटे थुम्का उक्लिसक्दा पसिनाले ज्यान भिजेको थियो । डाँडा थुम्कामा सूर्यको पहेंलो उषा बोकेर ओरालो झर्दै गरेको देखियो । रातमाटेका व्यापारीहरू डोकामा सामान लिएर आउँदै गरेका देखिन्थे । पानी पिउँदै थकान भुलाउँदै १० मिनेट आराम ग¥यौं ।
रातमाटेदेखि बाटो ओरालो भएकाले ४५ किलो मिटर प्रति घण्टाले हाम फाल्न थाल्यौं । खुर्कोट बजार आइपुग्नै लाग्दा ओरालो अनि नागबेली घुम्तिहरूमा सुनकोशी नदीको चिसो हावाको स्पर्स गर्दै थियो । हामी प्रति घण्टा ५० किलो मिटरको दरले ओरालोमा साइकलमा गुड्यौं । खुर्कोट बजार पुग्दा ६ः३० बजेको थियो । त्यहाँ कफी अडर गर्दैगर्दा सूर्य, नानीबाबु र मिन भाइ आइपुगे । अण्डा, रोटी, आलु, चना र माछाको सुप खाएर ज्यान अडिलो बनायौं ।
वातावरण चिसो थियो नै । ८ बजे खुर्कोटबाट अघि बढ्यौं । वीपी राजमार्ग सकियो । त्यसपछि पछ्यायौं, मध्य पहाडी लोकमार्ग । त्यता सवारी साधन गुडेका थिएनन् । सुरक्षाको दृष्टिकोणले सुरक्षित थियो । यसपालीको बर्षाले धेरै स्थानमा पहिरो गएकाले सडक बिगारेको भेटियो । तीन ठाउँमा उकालो थियो । ग्वालटार आइपुग्दा ज्यान हुरुक्क भएको थियो । त्यसपछि बाटो ओरालो भएकाले थकित ज्यानलाई राहत मिलेको थियो । मुर्की बेंसीको उकालो बाटोमा १५ मिनेट साइकल डोराउन थाल्यौं । कुडुलेको ओरालोमा साइकल हामफालेको जस्तै गरी गुडाउँदाको मजा बिछट्टै थियो ।
कुमार भाइको साइकलको प्याडल खुस्केकाले फेरि नानीबाबुको बाइकमा बोक्नु प¥यो । नवलपुरमा वेल्डिङ गराइयो । नवलपुरबाट बाटो सिधै ओरालो तेर्सो भएकाले सोखु खोला पुग्न सजिलो अनुभव भइरहेको थियो । नारिम खोलाको ओरालमा साइकल दबाउनु पाउँदको आनन्द अर्कै हुँदै थियो । कुमार भाइ अगाडि बढे । मिन मगरलाई सोखु खोलामा खाना बनाई राख्नका लागि बिहानै पठाएका थियौं । मोटर साइकलमा ३० मिनेट लाग्ने गाउँबाट ल्याएको लोकल भाले भुटभाट गर्दैछु भन्दै मिन भाइले सुनाए । सोखु खोलामा पुग्दा १२ बजेको थियो । भोकले लोथ भएर जुस खाएर आएको भन्दै राम भाइ पनि १० मिनेट पछि आइपुगे । भोकको जोसमा ६ कोसा केरा खायौं । लोकल भालेको सुपसँग खाना गजबले खायौं । यसरी सोखु खोलाको खान्कीले भोकलाई धपायौं ।
दिउँसो २ बजे बज्यो अनि अघि बढ्यौं । हर्कपुरमा ३० मिनेटमा पुग्यौं । भँडारे खोला पुग्दा ३ बजेको थियो । घामले हैलन्ठु बनायो । पसिनाले आलासतालस बनायो । भँडारे खोलामा मुख धोयौं । घाम ढल्केपछि मात्र उकालो लाग्ने योजना बनायौं । खोलामा एक घण्टा आराम ग¥यौं । घडीको सुईले ४ बजेको देखाएपछि उकालो घुम्तीमा खुइँया गर्दै साइकल डोरायौं । थाकेर लोथ हुँदै मितेरी÷हिलेपानी भन्ज्याङ पुग्दा गोधुली साँझले स्वागत गरिसकेको थियो ।
वातावरण चिसो हुँदै गइरहेको थियो । राष्ट्रगानका रचयिता व्याकुल माइलाको गाउँमा प्रवेश ग¥यौं भन्दै खुशीले हिलेपानीका घुम्ती सडकमा साइकल डोराउँदै उक्लिदै रह्यौं । हिलेपानी गाउँको सिरानको थुम्का आइपुग्दा झम्के साँझ भइसकेको थियो । चकमन्न रातमा बिजुली बत्तीको प्रकाशले हिलेपानी गाउँको सौन्दर्य रहर लाग्दो देखिन्थ्यो । गोगनपानी निस्कनको लागि तीन ठाउँमा बिसाउँदै पुगेका थियौं । बिसाउँदा भुसुक्कै निदाएका पनि थियौं । ज्यादै लोथ भएका थियौं ।
साँझको ८ः३० बजे तल्लो थाक्ले पुग्यौं । त्यहाँको एक दोकानमा वाईवाई खाएर ज्यानलाई फुर्तिलो बनायौं । राति ९ः३० बजे तल्लो थाक्लेबाट मानेभञ्ज्याङतिर लाग्यौं । चकमन्न रातमा आनन्दित हुँदै साइकल दबायौं । जन्मस्थान मानेभन्ज्याङको साँस्पुले भ्याली साँझको १०ः३० बजे पुग्यौं । यसरी २०० किलो मिटर व्याकुल माइला माउण्टेन बाइक ट्रेल सम्पन्न गर्न सक्यौं । रामकुमार राई, कुमार मगर र मैले खुशियाली साटासाट ग¥यौं । तातो पानीमा नुहाइधुवाई गरी लोकल तिनपानेको स्वाद लिदै इन्टरनेट चलाउँदै गफिदै रातको १ बजेसम्म बस्यौं ।
गत अप्रिल ९ तारिख, २०२१ यही बाटोमा ‘२०० किलोमिटर व्याकुल माइला रन’ सम्पन्न गरिएको थियो । काठमाडौं पशुपतिनाथको पश्चिम ढोका अगाडिबाट चार दिनमा ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिकाको मुकामसम्म पैदल (जगिङ एण्ड वाकिङ गरेर) पुगिएको थियो । (उक्त रनबारे मेरो संस्मरण ‘इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष ८ अंक १२, पूर्णाङ्क ८५, २०७८ वैशाख–असार अंकमा छापिएको छ ।) यसपटक माउण्टेन बाइक रोजियो । जिन्दगी नै यात्रा हो । जीवन, जोश, जाँगर रहेसम्म यात्रा निरन्तर रहने छ ।
मानेभन्ज्याङ गाउँपालिका–५ साँस्पुले भ्याली, ओखलढुंगा ।
(प्रस्तुत लेख इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष ८, अंक १४, पूर्णाङ्क ८७, २०७८ कात्तिक–पुस अंकमा प्रकाशित छ ।)