ब्ओकुला खेलमैदानबारे पोखरावासी वाम्बुले राईको ध्यानाकर्षपत्र वडाध्यक्षलाई

समाचार

लिभु संवाददाता
पोखरा– पोखरावासी वाम्बुले राई समुदायले ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ वामद्यालको रिनुवालस्थित ब्ओकुला खेलमैदानको विकासबारे ध्यानाकर्षण गराएका छन् । पर्यटकीय नगरी पोखरा भ्रमणमा रहेका वडाका अध्यक्ष जितेन्द्र राईलाई औपचारिक समारोहबीच यही २०७९ फागुन ९ गते मंगलबार यसरी ध्यानाकर्षण गराएका हुन् ।


वाम्बुले राई समाज कास्की जिल्ला कार्यसमितिले मुलथलोमा बन्दै गरेको ब्ओकुला फुटबल मैदानको विषयमा सल्लाह सुझाव सहितको लिखित ज्ञापनपत्र बुझाएका हुन् । मापदण्डअनुसार खेलमैदानको विकास हुनुपर्ने र त्यसलाई नियमित खेलकुद संचालन व्यवस्था गर्नुपर्ने भनेका छन् । मैदानको थप विकासका निम्ति पोखरामा बसोबास गर्दै आएका वाम्बुले राई समुदायले चन्दा संकलन गरी १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।


वाम्रास कास्कीका अध्यक्ष तुलारास राई र उपाध्यक्ष देवेन्द्र राईले वडाध्यक्ष राईलाई तीनबुँदे ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रको पहिलो बुँदामा ‘ब्ओकुला फुटबल मैदानको मौलिक नाम यथावत राख्नु पर्ने र कुनै राजनीतिक नेताको नाममा बनाउन नहुने’ भनेको छ ।

यसैगरी दोस्रो बुँदामा ‘ओखलढुगाको प्रतिष्ठित फुटबल प्रतियोगिता व्याकुल माइला गोल्डकपको ट्रफी उचाल्न सफल उँबुको महिला फुटबल टिमलाई बाइपास गरेर उँबुमा पुरुष फुटबल प्रतियोगितामात्र आयोजना गरिएकोले आगामी दिनमा हुने प्रत्येक खेलहरूमा पुरुष र महिला टिमको समान सहभागिता हुनेगरी खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्ने’ उल्लेख छ ।

तेस्रो बुँदामा ‘उँबुमा सन्चालित विभिन्न विकास निर्माण आयोजनाहरूमध्ये विद्युत प्रसारण लाइनको काम पोल गाडेर अलपत्र रहेको अवस्था छ । यो गाउँपालिका र वडापालिकाले विधिसम्म ढंगले वडावासीलाई सेवा दिइनुपर्ने ।’ भनेको छ ।

वडाध्यक्ष राईले ज्ञापनपत्र बुझ्दै चाँडै विद्युत प्रसारण लाइनको काम सम्पन्न गरेर वामद्याललाई ‘उज्यालो वामद्याल’ बनाउने बताए । स्थानीयवासी नागरिकको सल्लाह सुझावअनुसार वडाको विकास निर्माण कार्य गर्ने बताए । विशेष अतिथि हिराकाजी तामाङ, अतिथि पुरामाया राईलगायतले विचार व्यक्त गरेका थिए भने सचिव रबि अटल राईले कार्यक्रम संचालन गरेका थिए । साथै, वाम्रासको तर्फबाट वडाध्यक्ष राईलाई मायाको चिनो प्रदान गरिएको थियो ।

 

1 thought on “ब्ओकुला खेलमैदानबारे पोखरावासी वाम्बुले राईको ध्यानाकर्षपत्र वडाध्यक्षलाई

  1. खेल मैदान निर्माण सङ्गै खेल कुद आयोजना गर्न सक्नु पर्छ वाम्ड्याल बासीहरुले ।

Leave a Reply

Your email address will not be published.